स्वास्थ्य उपचारप्रति सजग बन्दै बाँके ग्रामिण भेगका महिलाहरु

सिराजुद्दिन खान

नेपालगञ्ज, पुस १० गते । कुनै रोग लाग्दा, विरामी पर्दा वा स्वास्थ्य समस्या हुँदा केही बर्षअघिसम्म वास्तै नगर्ने र अस्पताल समेत नजाने बाँके खजुराखुर्द लईनपुरका महिलाहरु अहिले अलिकति केही हुने बित्तिकै स्वास्थ्य जाँचका लागि तत्काल अस्पताल पुग्न थालेका छन् ।  परिवारका सदस्यहरु विरामी पर्दा उपचार खर्च नभएर विगतमा समस्या ब्यहोरेका उनिहरु हाल आएर खर्च जोहो गर्ने चिन्ताबाट पनि धेरै हदसम्म मुक्त भएका छन् ।
आर्थिक रुपले विपन्नहरुलाई लक्षित गरि समुदायमा आधारित लघु स्वास्थ्य सुरक्षा कार्यक्रम (सन्जिवनी) संचालनमा आएपछि उनिहरु आफ्नो स्वास्थ्यप्रति सजग हुनुका साथै उपचार खर्चको चिन्ताबाट समेत मुक्त भएका हुन् । खजुराखुर्द–९ लइनपुरस्थित नमुना स्वावलम्बी महिला समूहकी गंगा बुढाथोकीले संजिवनी कोषबाट ३७ पटक स्वास्थ्योपचारको खर्च पाईसक्नु भएको छ । उहाँले ६ बर्षको अवधिमा करिब १० हजार रुपैयाँ जम्मा गर्दा २८ हजार रुपैयाँ उपचार खर्च पाउनु भएको हो ।  १२ बर्षिय छोरी विरामी परेर नेपालगञ्जदेखि काठमाडौंसम्म बारम्बार धाउँदा लघुस्वास्थ्य कार्यक्रमले निकै राहात दिएको बुढाथोकीले बताउनु भयो ।
यस्तै लईनपुर–८ की बृद्धा रामप्यारी शर्माले पनि समूहमा आवद्ध आफु र आफ्ना पतिका लागि उपचार खर्च पाएको बताउनु भयो । कमाउने छोरा छोरी कोही नभएपनि संजीवीनीमा जोडिएपछि उपचार खर्चको समस्या टरेको उहाँको भनाई छ । उहाँले थप्नुभयो–बुढाबुढी भईयो, रोगब्याधीले सताईरहन्छ । यस्तो बेलामा स्वावलम्बी कोषबाट उपचार खर्च पाउँदा ठूलै समस्या टरेझैं लाग्छ ।
खजुराखुर्दको नमुना स्वावलम्बी महिला समूहका ३९ जना सदस्यमध्ये अहिलेसम्म ३८ जनाले आफु र आफ्ना परिवारका सदस्यहरुका लागि सन्जिवनी कोषबाट उपचार खर्च लिईसकेका छन् ।
६ बर्षयता नमुना समूहका सदस्यहरुले स्वास्थ्योपचारका निम्ति भनेर बार्षिक रुपमा नियमित रकम संकलन गरिरहेका छन् । स्वास्थ्योपचार खर्च पाउन ३ जनासम्मको परिवारले प्रतिबर्ष ५ सय ४० रुपैयाँ र त्योभन्दा बढी सदस्य भएका परिवारले प्रतिबर्ष ४ सय ९० रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने हुन्छ । mahila
सो समूहका सदस्यहरुले सन्जिवनी कोषबाट अहिलेसम्म १९ लाख रुपैयाँभन्दा बढी उपचार सहयोग पाईसकेको लघुस्वास्थ्य सुरक्षा कार्यक्रमका कार्यक्रम व्यवस्थापक जिताराम गौतमले बताउनु भयो ।
यसअघि केही बर्षपहिलेसम्म विरामी परेपछि वास्ता नै नगर्ने र गाउँमै झाडफुक गराउनेहरु पनि लघुस्वास्थ्य सुरक्षा कार्यक्रमा आवद्ध भएपछि केही हुने बित्तिकै अस्पताल जान थालेको ब्यबस्थापक गौतमको भनाई छ ।
ब्यबस्थापक गौतमका अनुसार बाँके जिल्लाका १५ वटा गाविस र २ वटा नगरपालिकामा संचालित लघुस्वास्थ्य सुरक्षा कार्यक्रम संजीवनीमा २० हजार बढी घर परिवारका ६२ हजार ४ सय बढी सर्वसाधारण प्रत्यक्ष रुपमा सहभागि भएका छन् । उनिहरु सो कार्यक्रमका सदस्य हुन् ।
स्वास्थ्य उपचारको चेतना नभएका विपन्न र मध्यम वर्गका सर्वसाधारणको स्वास्थ्यमा सुधार ल्याउनुका साथै उनिहरुको उपचारलाई सहज बनाउने उदेश्यले संचालन गरिएको सो कार्यक्रमबाट हालसम्म जिल्लाका १९ हजार २ सय ५५ जनाले १ करोड ६३ लाख १६ हजार रुपैयाँ उपचार खर्च बापत प्राप्त गरिसकेका छन् ।
सो कार्यक्रममा सहभागीहरुले बिभिन्न अस्पताल र मेडिकलबाट १० देखि ४० प्रतिशत सम्मको छुट समेत पाइरहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना