रामपुर दामाचौर पुल निर्माण अलपत्र

रामपुर (पाल्पा), पुस ११ गते  । कालीगण्डकी नदीको प्याक्लुकघाटमा निर्माण गर्न लागिएको रामपुर दामाचौर मोटरेबल पुलको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । पाल्पाको रामपुर नगरपालिका–९ र स्याङ्जाको चापाकोट नगरपालिका–४ जोड्ने रामपुर दामाचौर मोटरेबल पुलको डिजाइन परिवर्तनका लागि मन्त्रालयले अनुमति स्वीकृित नगरेका कारणबीचमै रोकिएको हो ।

इलाइट एस बिए जेभी कम्पनीले आव २०६७÷०६८ मा रु १५ करोड ६८ लाखको लागतमा तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । पुल निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा जमिनको सतहदेखि सात मिटरको गहिराइमा चट्टानसहितको ढुङ्गा आएपछि काम रोकिएको ठेकेदार रमण थापाले बताउनुभयो ।

“माटो खन्ने क्रममा ढुङ्गा आएपछि काम गर्न सकिएन, मन्त्रालयको अनुमति बिना कम्पनी आफैँले डिजाइन परिवर्तन गर्न नपाइने भएकाले निर्माण कार्य रोकिएको छ” उहाँले भन्नुभयो । मन्त्रालयबाट अब छिट्टै नै डिजाइन परिवर्तनको अनुमति स्वीकृत हुने क्रममा रहेको र स्वीकृत भएपछि निर्माण कार्य अगाडि बढ्ने कम्पनीका ठेकेदार थापाले जानकारी दिनुभयो ।

सो पुलको लम्बाइ १८१ मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको हो । यहाँ शिलान्यास भएको लामो समय सम्म पुल निर्माणका काम अगाडि नबढ्दा पुल बन्छ या बन्दैन भन्ने स्थानीयमा अन्यौलता छाएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताउनुभयो ।

पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर नगरपालिका सहित मित्याल, झिरुवास, बाकामलाङ, सिलुवा, सहलकोट, गल्धा, नवलपरासीको डेढगाउँ, रकुवा, रुचाङ, तनहुँको गजरकोट, स्याङ्जाको चापाकोट, वालिङ, गल्याङ, केवरेभन्ज्याङ, पकवादी, साँखर, सेखामलगायतका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना