राष्ट्रिय एकता दिवसको सन्दर्भ

hari adhikariहरि अधिकारी



गैरआवासीय नेपाली महासङ्घको संयुक्त राज्य अमेरिका शाखाले यस वर्षको पृथ्वी जयन्ती (पुस २७) लाई राष्ट्रिय एकता दिवसका रूपमा बडो धूमधामका साथ मनाउने निर्णय गरेर यहाँ हामी मुख्यभूमिमा बसिरहेका नेपालीलाई झक्झकाइदिएको छ ।  भुइँफुट्टा सोचबाट ग्रसित हाम्रा केही नेताले केही वर्ष पहिले राष्ट्रनिर्माताको कीर्तिलाई ओझेलमा पार्ने जुन धृष्टता गरेका थिए, त्यसमा सुधार गर्न ढिलो भइसकेको छ भन्ने सन्देश पनि दिएका छन्– अमेरिकामा बस्ने नेपालीले ।  हामी नेपालीलाई आफ्नो सम्पूर्ण अस्तित्वको आधार उपलब्ध गराउने पृथ्वीनारायण शाहलाई विस्मृतिको गर्तमा धकेल्न खोज्ने व्यक्ति नेपाली हुन सक्दैन ।  
अमेरिका– नेपालीको सङ्गठनद्वारा गरिएको त्यो निर्णयको स्वागत संसारको जुनसुकै कुनामा बसेको भए पनि प्रत्येक नेपालीले गर्नेछ ।  नेपालको सरकार चलाएर, नेपाली झण्डा हल्लाउँदै, गरिब नेपालीको टाउकोमाथि गिर खेलिरहेका नेपालका प्रधानमन्त्री, मन्त्रीहरूले पनि अमेरिका–नेपालीले पृथ्वीनारायण शाहको महत्तालाई पुनस्र्थापित गर्न गरेको त्यस सत्प्रयासबाट पाठ सिक्नेछन् र त्यसलाई यहाँ पनि तुरुन्तै पछ्याउने छन् भन्ने विश्वास पङ्क्तिकारले गरेको छ ।  विश्वास छ– यस वर्षको पृथ्वी जयन्ती नेपाल सरकारको तŒवावधानमा राष्ट्रिय एकता दिवसका रूपमा भव्यताका साथ मनाइने छ ।  नेपालमा रहेका मुख्य–मुख्य धर्म र सम्प्रदायका सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिन कन्जुस्याइँ नगर्ने हाम्रो सरकारका कर्ता–धर्ताले पृथ्वी जयन्तीका दिन पनि सार्वजनिक बिदा दिने घोषणा गर्नेछन् र नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धा प्रकट गर्नेछन् ।  
खेदको विषय– एनआरएन अमेरिकाले गरेको पृथ्वी जयन्ती मनाउने निर्णयको अमेरिकामै बसोबास गर्ने नेपालीहरूको एउटा सानो समूहले विरोध गरेको छ ।  विरोधको माध्यम फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जाललाई बनाइएको छ र विरोध गर्नेले पृथ्वीनारायणलाई आक्रमणकारी युद्ध सरदारको रूपमा चित्रित गर्दै उनले गरेको मुलुकको एकीकरणलाई नै नकार्ने चेष्टा गरेका छन् ।  विरोधको स्वर चर्को रूपमा गुञ्जाउन खोज्नेमा जनजाति समूहमा पर्नेहरू छन् ।  उनीहरूको गुनासो अढाइ सय वर्षभन्दा पहिले पृथ्वीनारायण शाहले आफ्ना पुर्खाको राज्य जितेको कुरालाई लिएर छ जस्तो बुझिन्छ ।  
इतिहासको यो कस्तो खाले व्याख्या हो ? जुनबेला राज्यहरू बन्ने, विखण्डन हुने कुराको छिनोफानो नै त्यस्ता राज्यहरूका बीच हुने लडाइँबाट हुन्थ्यो, जुन राज्य शक्तिशाली हुन्थ्यो वा जुन राज्यको राजा युद्धकुशल र सफल रणनीतिकार हुन्थ्यो उसले नै विजय हासिल गर्दथ्यो र उसको नै राज्यविस्तार हुन्थ्यो भने अहिले आएर त्यस्तो सफल राजाले मेरो पुर्खाको राज्य हरण गरेको थियो भनेर रोइलो गर्नुभन्दा हास्यास्पद कुरो के हुन सक्छ ? पृथ्वीनारायण शाहले पनि प्रारम्भमा गोरखाको राज्य–विस्तार नै गरेका हुन्– बाइसे–चौबीसे र नेपाल खाल्डोका राजाहरूलाई हराएर तर उनले गरेको गोरखाको राज्य–विस्तार नै पछि गएर नेपाल राष्ट्रको आधारशीला बन्नपुग्यो र हामीले स्वतन्त्र राष्ट्रका स्वाधीन नागरिकको पहिचान पायौँ भने शाहको यत्रो ठूलो योगदानलाई कसरी बिर्सन मिल्छ र ?
पृथ्वीनारायण शाहले जीवनको अन्तिम समयमा आफ्ना भाइ–भारदारलाई बोलाएर राजकाजका मुख्य–मुख्य विषयमाथि जुन गहन र दूरगामी महŒवका उपदेश अभिलेखन गरेर गएका छन्, तिनका आलोकमा हेर्दा उनलाई फगत एउटा युद्ध सरदार मात्र भन्न मिल्दैन ।  उनी अत्यन्त दूरदृष्टि भएका राजनेता थिए र उनले गोरखाबाट विजय अभियान सुरु गर्दा निश्चय नै पनि हिमालयको काखमा रहेको यो सम्पूर्ण भू–भागलाई एउटै सूत्रमा गाँसेर यसको प्राचीन गौरवको पुनर्जागरण गर्ने सपना देखेका थिए भन्ने अनुमान लगाउन गाह्रो पर्दैैन ।  जुन–जुन राज्यमाथि उनले विजय हासिल गरे, ती–ती साज्यका सम्पदा र त्यहाँका जनताका सांस्कृतिक आधारलाई संरक्षण गर्ने नीति अपनाएर उनले सानो गोरखा राज्यको राजाको स्थानबाट आफूलाई सम्पूर्ण र सुदृढ नेपालको अधिपतिको स्थानमा उकालेका पनि थिए ।  
विजय अभियानका क्रममा पृथ्वीनारायण शाहका तर्फबाट विजित राज्यका जनता अथवा पराजित सेनाका कमाण्डरमाथि क्रूर व्यवहार गरिएको थियो भन्ने जुन आरोप लगाउँदै आएको छ, तिनमा वहुधा अतिशयोक्ति छ भन्ने कुरा अहिले आएर प्रमाणित भएको छ ।  कीर्तिपुरको पतनपछि त्यहाँका प्रजाहरूको नाक काटेको भन्ने जुन आरोप उनीमाथि लाग्दै आएको छ, त्यो त्यतिबेला उनीद्वारा देश निकाला गरिएका इसाई पादरीहरूको दुष्प्रचारको उपज मात्र थियो भन्नेमा वस्तुनिष्ठ इतिहासकारहरू एकमत भएका छन् ।  इतिहासको गलत लेखन र व्याख्या कुनै नौलो कुरो होइन ।  हाम्रो जस्तो इतिहासको वैज्ञानिक अभिलेखन नभएको मुलुकमा यसलाई निहित स्वार्थ भएका तŒवहरूले भाँचकुँच पार्नु स्वाभाविक नै हो ।  
नुवाकोट क्षेत्रको रक्षाका लागि कान्तिपुरका राजा जयप्रकाश मल्लले खटाएका कमाण्डर परशुराम थापामगरलाई बेलकोटमा हराएर पक्रिएपछि ज्यूँदै छाला काढेर मारिएको जुन प्रसङ्ग छ, त्यसमा पृथ्वीनारायण शाहको चरित्रको क्रूर पक्ष प्रतिबिम्बित छ भन्ने कुरामा दुईमत हुँदैन ।  वास्तवमा त्यतिबेलाको दण्ड–विधान नै त्यस्तै खालको थियो ।  त्यसमाथि एक–दुई जनालाई क्रूरतम विधिमा दण्डित गरेर पृथ्वीनारायण शत्रुपक्षका अरू सैन्य अधिकृतहरूको मनोबल तोड्न चाहन्थे होलान् ।  आजको नजरले हेर्दा भने उनको त्यो कृत्य पाशविक नै ठहरिन्छ तर इतिहासमा भएका घटनालाई आजको नजरले मूल्याङ्कन गर्न मिल्दैन ।  युद्धको स्थितिमा सदैव न्याय र धर्मको पालना हुन्छ भन्न पनि सकिँदैन ।  त्यस्तो हुनसकेमा राम्रो हो तर यथार्थमा संसारमा जति पनि ठूला लडाइँ लडिएका छन्, त्यहाँ कहीँ न कहीँ अधर्म, अन्याय र अतिरिक्त क्रूरताको प्रयोग भएको नै देखिन्छ ।  त्यसैले जानिफकारहरू युद्धलाई नै सधैँका लागि मानव समाजबाट हटाइदिनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छन् ।  
जे होस्, पृथ्वीनारायण शाह नेपाली राष्ट्रका सन्दर्भमा सबैभन्दा सम्मानका साथ लिइनुपर्ने नाम हो र उनको कीर्तिलाई बिर्सिएर कुनै पनि नेपालीले आफ्नो पहिचानलाई साबुत राखिरहन सक्दैन ।  इतिहासको अपव्याख्या गर्ने र युगौँ पहिलेको समयमा पुगेर अडिन चाहने केही रुढाग्रही तŒवले बाहेक अरू कसैले पनि पृथ्वीनारायण शाहलाई बिर्सने भूल गर्न सक्दैनन् ।  केही वर्ष अगाडि त्यो भूल भइसकेको छ हामीकहाँ तर भूलहरूमा सुधार गर्दै जानु र आफ्नो राष्ट्रका विभूतिहरूको यथोचित सम्मान गर्नु नै बुद्धिमानी हो ।  एनआरएन अमेरिकाले त्यो बुद्धिमानी देखाएको छ र देशका अहिलेका कर्ता– धर्तालाई पनि मौन आह्वान गरेको छ– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको यथोचित सम्मान गर र आफू नेपाली भएको तथ्य प्रमाणित गर ।  पङ्क्तिकार आगामी पुस २७ गते पर्ने पृथ्वी जयन्तीलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारले कुन रूपमा मनाउँछ, त्यो हेर्न लालायित छ ।  पङ्क्तिकार मात्र किन ? नेपाली राष्ट्रको छत्रछायाँमा बसिरहेका सम्पूर्ण नेपालीले पनि वर्तमान गठबन्धन सरकारको पृथ्वीनारायण शाहलाई हेर्ने दृष्टिकोणप्रति जिज्ञासु नजर दिइरहेका छन् ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना