उखु नगदे कि उधारो बाली ?

 

dipendra pokhrelदीपेन्द्र पोखरेल

 

उखु चिनी उत्पादनका लागि खेती गरिने एक प्रमुख बाली हो । यस वर्ष नेपालमा करिब ६१ हजार ८ सय ९८ हेक्टर जमिनमा गरिएको उखु खेतीबाट २६ लाख ९७ हजार ८ सय मेट्रिक टन उत्पादन हुने नेपाल उखु तथा चिनी विकास समितको छ । गत वर्ष ७७ हजार ३ सय ७३ हेक्टर जमिनमा करिब ३३ लाख ३२ हजार ९ सय मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष उखु लगाइएको क्षेत्रफल २० प्रतिशतले घटेको देखिन्छ । उखुको उत्पादन सन् १९८५ मा करिब २३१० हेक्टर मात्र रहेकोमा तत्पश्चातका वर्षहरूमा बढ्दै आइरहेको थियो तथापि विगत २–३ वर्षदेखि कृषकहरूले उखुको यथोचित मूल्य र समयमा नपाउनुले चिनी मिलप्रति र उखुखेतीप्रति मोह घट्दै गएको देखिन्छ ।
देशका छवटा जिल्ला महोत्तरी, रौतहट, बारा, सर्लाही, नवलपरासी र सुनसरीमा नौवटा चिनी मिल सञ्चालनमा छन् । यी मिलमार्फत करिब पाँच हजार नेपाली कर्मचारी एवम् कामदार र करिब ६० हजार कृषक परिवारले प्रत्यक्ष रोजगार पाएका छन् भने करिब दुई लाख कामदारले अप्रत्यक्ष रोजगारी पाएका छन् । कृषकले उत्पादन गरेको प्रति क्वीन्टल उखुबाट ९ के.जी. चिनी उत्पादन हुने गर्छ । देशमा उत्पादित चिनीले राजस्व सङ्कलन गरी देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ ।
नेपालको प्रमुख नगदे बाली भनेर भन्ने गरे पनि विगतका केही वर्षदेखि उखुबालीलाई नगदे वा उधारो कुन बालीको रुपमा लिने बहस भइरहेको पाइन्छ । उखु खेतीमा संलग्न कृषकहरूले उखु मिलबाट कच्चा उखु पु¥याएपश्चात् बालीको रकम पाइहाल्ने, अन्य बालीको तुलनामा उत्पादकत्वसमेत बढी रहेको, कम व्यवस्थापनबाट पनि उत्पादन हासिल गर्न सकिने, छोटो बालीभन्दा लामो बाली भएकाले कृषकहरू अन्य समय अन्य व्यवसायमा सञ्चालन गर्न पाउनाले उखु बालीप्रति तराईका कृषकहरूको आकर्षण बढेको हो । यद्यपि नेपालमा तराई, भित्री मधेस र पहाडका बेंसीहरूमा समेत उखुबालीलाई सुहाउँदो मानिन्छ ।
उखु खेती गर्ने अन्य देशहरूको तुलनामा नेपालको औसत उत्पादकत्व धेरै नै कम देखिन्छ । प्रति एकाइ क्षेत्रफलमा उखुको सङ्ख्या कम, वा प्रति उखुको औसत तौल कम वा दुवै कम, परम्परागत खेती प्रणालीका कारण उखुको उत्पादकत्व नेपालमा अन्य देश र छिमेकी भारतका विभिन्न प्रान्तहरूको तुलनामा अत्यन्तै कम छ । अन्य देशमा उखु खेतीका लागि चाहिने कृषि यन्त्रहरू जस्तै ट्रयाक्टर, हेरो, प्लाउ, रिजर, कल्टिभेटर, प्लान्टर, स्प्रे मेसिन, केन हार्भेस्टर इत्यादीको प्रयोग गरी श्रमशक्तिको प्रयोग घटाउदै आधुनिकीकरणतर्फ उन्मुख भइरहेकोमा नेपालमा तिनको अभावले उत्पादन लागतमा वृद्धि भइरहेको छ । अर्कोतिर चिनी मिल र कृषकबीच मूल्यसम्बन्धीको समस्या, समयमा रकम भुक्तानी नहुनु, महँगो श्रम खर्च, आदिले गर्दा कृषकहरूमा उखुबालीप्रति मोह घट्दै यसलाई नगदे बालीभन्दा पनि उधारो बालीको रुपमा लिन थालेको पाइन्छ ।
नेपालमा उखुबालीको वैज्ञानिक व्यवस्थापनका लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका तर्फबाट केही कार्यहरू भइरहेका छन् तथापि कृषि विकास मन्त्रालयको तथ्याङ्क केलाउँदा सन् १९९०÷९१ र सन् २०१३÷१४ को क्षेत्रफल, उत्पादन तथा उत्पादकत्वमा क्षेत्रफल विस्तारमा २ दशमलव ४ गुणा, उत्पादनमा २ दशमलव ९ गुणा र उत्पादकत्वमा १ दशमलव २८ गुणामात्र वृद्धि गर्न सकिएको देखिन्छ । यसबाट उखुबालीको क्षेत्रफल विस्तार गर्न सफल भइएको तर उत्पादकत्व वृद्धि यथेष्ट मात्रामा गर्न नसकिएको देखिन्छ । एकातिर उत्पादकत्व वृद्धि गर्न नसक्नु र अर्कोतर्फ उत्पादन लागत दिनानुदिन बढ्नुले गर्दा उखुको मूल्य निर्धारणमा विगतका केही वर्षयता समस्या देखिन थालेको छ ।
उखुबालीलगायतका अन्य बालीको वैज्ञानिक मूल्य पद्धति अनुरुप मूल्य निर्धारण गर्न नसक्दा विक्री वितरण गर्न कृषकहरूलाई समस्या परिरहेको छ । आर्थिक वर्ष २०७१÷७२ मा नेपाल सरकारले उखुको मूल्य रु. ४६१ प्रति क्वीन्टल तोकेको थियो तर चिनी उद्योगीहरूले प्रति क्वीन्टल
रु. ४३६ भन्दा दिनै नसक्ने भन्दै सोहीअनुसार नै भुक्तानी गरेका थिए । उक्त वर्ष नेपालका नौवटा चिनी मिलमा जम्मा १ करोड ८३ लाख क्वीन्टल उखु क्रसिङ भएकोमा नेपाल सरकारले प्रति क्वीन्टलमा फरक परेको रु २५ का दरले कुल जम्मा ४५ करोड ७५ लाख रुपियाँ भुक्तानी गरेको थियो । गत आ.व.मा अनेकौँ विवादका बाबजुद रु.४४८ प्रति क्वीन्टलमा सहमति भई उखु बिक्री वितरण भएको थियो ।
गत वर्षको उखुको मूल्य रु ४४८ प्रति क्वीन्टल हँुदा चिनीको मूल्य रु ५८ देखि ६० रुपियाँ प्रति के.जी. रहेको थियो तर यस वर्ष चिनीको मूल्य रु ८० प्रति के.जी. रहँदा अनुपातमा रु ५८५ प्रति क्वीन्टल हुनुपर्ने विभिन्न जिल्लाका उखु कृषकहरूको माग छ भने चिनी मिलहरूले भारतका केही चिनी मिलहरूलाई हेर्दै त्यहाँको अनुपातमा गत वर्षको रु. ४४८ मा रु. ४० थप गरी प्रति क्वीन्टल रु. ४८४ दिन तयार भएको देखिन्छ । मूल्य शृङ्खला विश्लेषण गरी चिनी व्यावसायमा संलग्न सम्पूर्ण पात्रलाई समुचित लाभ दिलाउन वैज्ञानिक तवरले मूल्य निर्धारण गर्ने परिपाटी नबसेसम्म नेपालमा उखुको मूल्यमा कृषकहरू र चिनी मिलबीच विवाद भइरहनेछ ।
सुनसरीलगायतका पूर्वी तराईका जिल्लामा अहिले उखु उत्पादनका लागि रु. ३५० देखि ५०० सम्म प्रति क्वीन्टलका लागि उत्पादन लागतपर्ने देखिएको छ । उत्पादन लागत बढ्नुमा मुख्यतः मानवीय श्रममा आश्रित खेती नै मुख्य कारण हो । अझै उखु काट्ने मेसिन विभिन्न चिनी मिलहरूले खरिद गरी आफ्नो कार्यक्षेत्रमा उपभोग गर्ने हो भने ठूलै रकम घटाउन सकिन्छ । अहिले रु. ४३ प्रति क्वीन्टलको जोडघटाउ नमिल्दा उखु कृषकहरूले मार खेप्नु परेको छ । औसत रुपमा अहिले अवलम्बन गरिरहेका मेसिनहरूको अलावा उखु काट्ने कार्य मात्र मेसिनबाट गर्दा
रु. ४० प्रति क्वीन्टल घट्छ तर कृषकहरूले उखुको उत्पादन लागतमा उखु काट्ने कार्यका लागि मानव ज्यालावापत करिब रु ६० प्रति क्वीन्टल खर्च गरिरहेको अवस्था छ ।
उखुबालीको उत्पादनको लागत अनुरुपको वैज्ञानिक मूल्य नपाउने, समयमै मूल्य निर्धारण नभएर उखु खेतमै सुकेर जाने, चिनी उद्यमीहरूले कृषकहरूलाई समयमा भुक्तानी दिन आनाकानी गर्ने, उन्नत बीउ तथा सेट उपलब्ध नहुनु, नयाँ नवीनतम प्रविधि विकासमा पहल नगर्नेजस्ता कारणले गत वर्षको भन्दा यस वर्ष २० प्रतिशत क्षेत्रफल घटेको तथ्य चिनी उद्यमीहरूले ध्यान दिनुपर्ने भएको छ ।
जलवायु परिवर्तनले समेत विभिन्न बालीको उत्पादन एवम् उत्पादकत्वमा ह्रास ल्याइरहेको वर्तमान सन्दर्भमा उखुबालीको मौसम अनुकुलन क्षमतासमेत भएकोले हाल आइपरेका समस्याहरूको वैज्ञानिक समाधान गर्दै उखु कृषकहरूलाई थप आकर्षण बढाइ यसलाई नगदेबालीको रूपमै कायम गराउन जरुरी देखिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना