युवा पलायन अँध्यारोतर्फको यात्रा

mina marasiniमीना मरासिनी

 


वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिएकाहरूको तथ्याङ्कको आधारमा अहिले दैनिक एक सय जना नेपाली युवा सुरक्षा गार्डको रूपमा काम गर्नमात्रै खाडीलगायतका मुलुकमा जान्छन् । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार स्वदेशमा रोजगारी नपाउँदा दैनिक करिब १३ सयभन्दा बढी युवा जनशक्ति विदेशिने गरेका छन् । पछिल्लो १० वर्षमा ३७ लाखभन्दा धेरै नेपाली युवायुवती छाक टार्नकै लागि सस्तोमा श्रम बेच्न विदेशिएका छन् । यद्यपि पछिल्ला तीन आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको दर घटेको पाइएको छ ।
विगत द्वन्द्वकालमा युवा विदेशिनुपर्ने कारकतŒवको दोष सशस्त्र द्वन्द्वको थाप्लोमा हालिदिए पुग्थ्यो तर शान्ति सम्झौतापछि पनि झण्डै ३७ लाख नेपाली युवा परिवारको हातमुख जोर्नका लागि विदेशिएको तथ्याङ्कले युवा पलायनको खास कारण द्वन्द्वमात्र रहेनछ भन्ने देखाएको मात्र छैन, अवसर र विकास विनाको मुर्दा शान्ति बेअर्थी हुँदोरहेछ भन्ने देखिएको छ । वास्तवमा एक दशकसम्मको रक्तपातपूर्ण द्वन्द्वको अन्त्य भएर शान्ति प्रक्रियाको समापन र संविधान निर्माण भइसक्दासम्म पनि राजनीतिक सङ्क्रमण र अस्थिरताको अन्त्य हुन नसक्दा देशमा आशातित विकासका कार्य हुन सकेनन् । यसले गर्दा देशभित्र रोजगारीका अवसर छोटिँदै गएपछि युवा पलायन डरलाग्दो गरी बढेको छ । ऊर्जाशील तथा देश विकासका लागि अत्यावश्यक युवाशक्ति सुरक्षित भविष्यको खोजीमा श्रम तथा विवेक बेच्नका लागि विदेशिने क्रम बढ्नुले नेपाली समाजको भविष्य निकै कमजोर बनिरहेको तथ्यलाई इङ्गित गरिरहेको छ ।
सरकारी तथ्याकअनुसार नेपालको श्रम बजारमा वार्षिक पाँच लाख १२ हजारभन्दा बढी सक्रिय युवा श्रमशक्तिको प्रवेश हुने गर्छ । यी युवामध्ये ८० प्रतिशतभन्दा बढी रोजीरोटीको खोजीमा विदेशिन बाध्य छन् । देशमा श्रमको माग तथा आपूर्तिको बीचमा ठूलो खाडल रहेको तथा दक्ष जनशक्ति र रोजगारी सिर्जना समेत आशातित रूपमा वृद्धि हुन नसकेको अवस्था छ । नेपाली श्रम बजारमा रोजगारीको अवसरको कमी, न्यून पारिश्रमिक, बढ्दो महँगी, सबै प्रकारको श्रमको कदर नगर्ने नेपाली संस्कार, शिक्षा, सूचना र प्रविधिको विकासले नेपाली युवामा बढाएको महŒवाकाङ्क्षा तथा वैदेशिक रोजगारीप्रतिको मोहका कारण नेपाली युवा विदेशिने क्रम बढेको बढ्यै छ । संविधान निर्माणपछि सङ्घीयता र राज्य पुनर्संरचनाको नाममा बढेको राजनीतिक किचलोसँगै लम्बिएको सङ्क्रमणकालले युवालाई निरुत्साही गरिरहेको छ । देशको जिम्मा लिएका दलहरू राजनीतिक स्वार्थमा लिप्त हुँदा शान्ति स्थापनापछिका सरकारहरू आर्थिक एजेण्डामा प्रवेश नै गर्न सकेका छैनन् । युवा पलायनलाई रोक्नका लागि कुनै पनि सरकारले ठोस कार्यक्रम ल्याउन सकेका छैनन् । भूकम्पपछिको पुनर्निर्माणका लागि देशभित्रै पर्याप्त जनशक्ति चाहिने अवस्थामा समेत सरकारले पूर्वाधार निर्माणको क्षेत्रमा युवाको श्रमको सदुपयोग गर्न सकेन वा खोजेन ।
कुल गार्हस्थ उत्पादन अनुपातको झण्डै ३० प्रतिशत रहेको विप्रेषण आय नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । विप्रेषण आयको अधिकांश हिस्सा विदेशमा जोखिमपूर्ण श्रममा संलग्न युवा जनशक्तिको कमाइ नै हो । सरकारको बढ्दो चालू खर्च धान्न सक्नेसम्म पनि देशभित्र राजस्व आम्दानी नभएको अवस्थामा सरकारको खर्च धान्ने युवा विदेश नजाँदा वा विदेशबाट उनीहरूले कमाएर पठाउने पैसाको परिमाण घट्दा सरकारको टाउको दुख्ने अवस्था सिर्जना भएको छ । यो निकै दुःखद विषय हो । वैदेशिक रोजगारीबाट देशभित्र पैसा भिœयाउनु र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनुलाई नराम्रो भन्न सकिन्न तर जुन रूपमा देशका कर्मशील युवाको पलायन बढ्दै गएको छ, यसले अन्धकार भविष्यतर्फ देशलाई डो¥याइरहेको छ ।
अहिले युवाको पौरखले डलर प्राप्त भएर सरकार मख्ख बने पनि उर्वर युवाशक्ति विदेश पलायन हुनुले देशको अर्थतन्त्र र समग्र विकासमा निकै नकारात्मक दीर्घकालीन असर पु¥याउने पक्का छ । यसले हाम्रो आम्दानी र अर्थतन्त्रलाई परनिर्भर बनाउँदै लगेको छ । देशको उत्पादनशील श्रमशक्ति स्वदेशी श्रमबजारबाट पलायन हुँदा औद्योगिक उत्पादन पनि नराम्ररी खस्केको अवस्था छ । आयात बढेर निर्यातमा बढोत्तरी भएका कारण व्यापार घाटा पनि चुलिँदै छ । यसअर्थमा वैदेशिक रोजगारी राष्ट्रिय अर्थतन्त्रका लागि कृत्रिम हर्मोन त हो तर यसका ‘साइड इफेक्ट’ निकै धेरै छन् । अझ वैदेशिक रोजगारीको दिगो गन्तव्यको अभाव, प्रतिस्पर्धी बन्दै गइरहेको अन्तर्राष्ट्रिय श्रम बजार र नेपाली श्रमिकमा दक्षताको कमीले गर्दा तत्कालको लागि गर्जो टारिदिएको वैदेशिक रोजगारीको बाटो समेत थुनिने खतरा बढ्दैछ । अस्थिर तथा भ्रष्ट राजनीतिक संस्कार, धरासायी बन्दै गएको राष्ट्रिय अर्थतन्त्र तथा विकास निर्माणमा आएको सुस्तताका कारण दक्ष तथा शिक्षित युवाले समेत देशमा काम पाउन कठिन छ । हातमा शैक्षिक योग्यताका प्रमाणपत्र बोकेर जागिर खोज्दै दिनभर सडक नापिरहने युवाले देशभित्र भविष्य देखेका छैनन् । यसले दक्ष तथा शिक्षित युवाशक्तिको ‘ब्रेन ड्रेन’
(बौद्धिक पलायन) बढिरहेको छ । पढ्ने निहुँमा युरोप तथा अस्ट्रेलिया पुगेका हजारौँ युवा यसका साक्षी हुन् । देशभित्र सक्षम र शिक्षितलाई समेत अवसर छैन भन्ने दृष्टान्तका सक्कली प्रमाण हुन्– पढ्ने भन्दै अस्ट्रेलिया र बेलायतलगायतका देशमा पुगेर निकृष्ट श्रम गर्दै जेनतेन दिन काटिरहेका युवायुवती ।
असक्षम सरकार, स्पष्ट युवानीतिको अभाव, राजनीतिक अस्थिरता तथा अशान्ति र युवा परिचालन तथा रोजगारीको क्षेत्रमा पनि दलगत स्वार्थ मौलाउनु पनि युवा बेरोजगारीको मुख्य कारण हो । दलीय स्वार्थका कारण सक्षम युवाले समेत काम नपाउने र नेताको चाकडी गरेकै भरमा असक्षमले पनि राम्रै ठाउँ बनाउने प्रवृत्तिले समाजलाई भ्रष्टिकृत गर्दै लगेको छ । औपचारिक शिक्षासमेत केवल सैद्धान्तिक, गुणस्तरहीन, अव्यावाहरिक तथा अनुत्पादनशील भएका कारण शिक्षित बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । शिक्षित युवाको लागि कि त हातमा सर्टिफिकेट बोकेर भौतारिरहनु कि त जसोतसो सिमाना काट्ने चाँजोपाँजो मिलाउनु, यिनै दुई विकल्प बाँकी छन् । रोजगारीका लागि विदेशिनेमध्ये अधिकांश युवा अदक्ष वा अर्धदक्ष भएका कारण विदेशमा समेत भनेअनुसारको तलब नपाउने तथा धेरै दुःख पाउने अवस्था छ । युवाकै पौरखबाट धानिएको सरकारले वैदेशिक रोजगारीमा गएका युवाको सुरक्षामा ध्यान दिन सकेको छैन ।
देशभित्र भविष्य नदेखेर विदेशिने श्रम तथा बौद्धिक शक्तियुक्त युवावर्गलाई देशभित्रै सुन्दर भविष्यको छनक पाउने अवस्था सिर्जना गर्न सकिएन र देशभित्रै श्रम, सीप, क्षमता र विवेकको उपयोग गरी राष्ट्रनिर्माणमा योगदान गर्ने अवसर सिर्जना गरिएन भने राष्ट्रको भविष्य कमजोर तथा पराधीन हुने पक्का छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना