तमोर जलाशययुक्त जलविद्युत बन्नुपर्नेमा जोड

नारायण तुम्बापो

फिदिम, पुस १३ गते । युगौदेखि बगेर खेर गइरहेको तमोरको पानी उपयोगमा आउने सम्भावना बढेको छ । तमोर जलाशययुक्त जलबिद्युत आयोजना निमार्णका लागि सम्भाव्यता अध्ययनपछि तमोरले फाइदा दिने आशा पलाएको छ । यसले पाँचथर, तेह्रथुम र ताप्लेजुङवासीलाई खुसी तुल्याएको छ । देशकै गौरवको ७६२ मेगावाट क्षमताको विद्युत आयोजना पाँचथर तेह्रथुम सिमा लुम्बुघाटमा बनाउन सकिने सुझाइएको छ । तमोर जलाशययुक्त जलविद्युत निर्माणका लागि सरकारले प्राभमिकताका साथ अग्रसरता समेत देखाएको छ ।
नेपाल बिद्युत प्राधिकरण (नेविप्रा)ले प्रारम्भीक सम्भाब्यता अध्ययन गरि सकेपछि आयोजना निर्माण हुनेमा पनि विस्वास पलाएको छ । तमोर जलाशययुक्त जलविद्युत स्थानीय पाँचथर सरोकार समिति संयोजक नरबहादुर खड्काले सो योजना बन्नु पर्नेमा जोड दिनुभयो । उहाँले परियोजना निर्माणमा आफूहरुको भरमग्दुर सहयोग रहने पनि बताउनुभयो । आफूहरुको पनि सहयोग रहने यसोकका देवेन्द्र लावतीले बताउनुभयो । अध्ययनले पाँचथर स्यवरुम्बा–९, भाङ्टार जोरामौरे र तेह्रथुम ओख्रे–५ नौढुङ्गे बिचमा बाँध बाँधेर परियोजना निर्माण गर्न सकिने देखाएको छ । बाँध बनाइने क्षेत्र लुम्बुघाट झोलुङ्गे पुल छेउ पर्छ । सरकारले परियोजनाको थप सम्भाव्यता अध्ययनको लागि चरणबद्धले बजेट समेत छुट्याइरहेकोे बताइएको छ । परियोजना निर्माणको पहल आफूहरुबाट पनि भइरहेको तमोर जलाशय जलविद्युत आयोजना सरोकार तथा समन्वय समिति संयोजक बसन्तकुमार नेम्बाङले बताउनुभयो । नेम्वाङ संयोजकत्वको समितिले सरकारलाई परियोजना निर्माणका लागि अनुरोधात्मक दवाव समेत दिइरहेको छ । tamor river

फोटो क्याप्सन : तेह्रथुमको ओख्रे र पाँचथर स्यावरुम्भा सिमानामा अवस्थित तमोरको लुम्बुघाट । यहाँ बाँध बनाएर तमोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणको लागि पहिलो चरणको सम्भाव्यता अध्ययन सकिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि तमोर जलाशययुक्त जलविद्युत परियोजना निर्माणमा प्रतिबद्ध रहनु भएको संयोजक नेम्बाङले बताउनुभयो । परियोजना निर्माणमा समन्वयात्मक सहयोग गर्न तीन जिल्लाका पूर्व तथा वर्तमान मन्त्री, सांसद सम्मिलित ३३ सदस्यीय समिति बनाइएको हो । २ सय मिटर उचाइको बाँध बनाएर ७ सय ६२ मेगावाट बिद्युत उत्पादन गर्न सकिने देखिएको हो । १ हजार ३०० मेगावट उत्पादन हुन सक्ने बुढी गण्डकीपछि नेपाल कै दोस्रो ठूलो परियोजना तमोर जलाशय हुने बताइएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार यहि परियोजनाको बाँधको उचाई तीन सय मिटर बनाउन सके २५ सय मेगावट विद्युत उत्पादन गर्न सकिने दावि गरिएको छ । यो परियोजना वने यसले प्रमुख आर्थिक स्रोतको मेरुदण्ड बनेर प्रदेश नम्बर एकलाई नै समृद्ध पार्ने बताइएको छ । यसले देशको अर्थतन्त्रलाई समेत उकास्ने देखिएको छ । तमोर जलाशाययुक्त जलबिद्युत परियोजना निर्माण गर्न एक खरब ५० अरब रुपियाँ बजेट लाग्ने भनिएको छ । ७६२ मेगावाट अर्थात तीन अरब ३३ करोड यूनिट विद्युत प्रति युनिट १० रुपियाँले विक्री गर्दा बार्षिक रु. ३३ अरब आम्दानी हुन्छ । यस परियोजनाको थप बिस्तृत अध्ययन सर्बे ३ वर्ष र निर्माण अवधि ७ बर्ष लाग्ने बताइएको छ ।
यसरी जन्म्यो तमोर जलाशययुक्तको परिकल्पना
अपार जलविद्युतको उच्च सम्भावना रहेरपनि नेपालले चरम विद्युत अभाव खेप्ने गरेको छ । बर्तमानमा विद्युत उच्च माग एक हजार ३०० मेगावाटसम्म छ । उत्पादन भने हालसम्म ७३३ मेगावाटसम्म मात्र भइरहेको छ । लोडसेडीङ समस्या ५८५ मेगावाटसम्म भोग्नु पर्ने अवस्था छ । देशको ६७ प्रतिशत नागरिकले मात्र विद्युत सेवा प्राप्त गरिरहेका छन् । नागरिकलाई उपलब्ध भइरहेको विद्युत पनि भरपर्दो छैन । घन्टौ लोडसेडीङको मार सर्वसाधारणले खेप्नु परिरहेको छ । विद्युत क्षमताको माग क्रमिकताले वृहत्तरले वृद्धि भइरहेको अवस्था छ । मागपूर्ति गर्ने गरि विद्युत उत्पादन भने हुन सकिरहेको छैन । कतिपय आयोजनाहरु सफल रुपमा कार्यान्वयनमा छैनन् । परिणाम त नेपालले विकराल रुपमा विद्युत समस्या भोगिरहेको छ । नेपालले हिउद याममा बढी उर्जा संकट भोग्नु पर्छ । विद्यमान उर्जा संकट हल गर्न नेपाल सरकारले जलाशाययुक्त जलविद्युत परियोजनाहरुको परिकल्पना ग¥यो । सरकारले यसैलाई मुल नीति तथा योजना बनाएर तमोर जलाशययुक्त आयोजना ल्याएको हो । यसको विद्युत विकास विभागको अनुमतिले नेपाल विद्युत प्राधिकरणले अध्ययन गरेको हो ।
पहिलो अध्ययन जापानी जाइकाबाट
मार्च १९८५ मा नै जापानी जाइकाले तमोर जलाशययुक्त जलविद्युत परियोजनाको सम्बन्धमा अध्ययन गरेको थियो । उसले लुम्बुघाट छेउमा १५३ मिटर उचाईको बाँध बाँघेर ६९६ मेगावाटको उक्त परियोजना बनाउन सकिने सुझाएको थियो । उपरोक्त अध्ययन समेतलाई आधार बनाएर सो क्षेत्रमा ५३० मेगावाटको सम्भाव्यता सर्भेक्षण अनुमतिका लागि निवेदन बढाइयो । निवेदन नेविप्राले २०६८ माघमा विद्युत विकास विभागमा बढाएको बताइएको छ । उक्त आवेदन अनुसार कारवाही बढाए सो क्षेत्रमा विद्युत उत्पादन अनुमतिका लागि प्रक्रियारत आयोजना प्रभावित हुने देखिएपछि सो प्रस्ताव पुनराबलोकन भएको बताइएको छ । हाल निर्माणाधिन रहेका ३७.६ मेगावाटको कावेली ए र २१.६ मेगावाटको तल्लो हेवालाई प्रभावित नपार्न पुनरावलोकन भएको हो । यसको विकल्पमा १२० मिटर उचाइको मात्र बाँघ बाँधेर २०० मेगावाटको परियोजना निर्माण गर्न समेत अध्ययन भएको जनाइएको छ । १२० मिटर उचाई बाँधको जलाशयको आयु तीन वर्ष मात्र हुने देखिएपछि ७६२ मेगावाटको प्रस्ताव बढाइएको हो । पछिल्लो अध्ययन अनुसार निर्माणाधिन तल्लो हेवा र कावेली ‘ए’ लाई उचित क्षतिपूर्ति दिएर तमोर जलविद्युत निर्माण गरे यो आकर्षक परियोजना बन्न जाने बताइएको छ । यसबाट ठूलो लाभ लिन सकिने प्राविधिक भनाई छ ।
कम प्रभाव
तमोर जलाशययुक्त जलविद्युत निर्माण गर्दा यसवाट कम वातावरणीय प्रभाव पर्ने देखिएको छ । यस क्षेत्रमा अति न्यून कृषि योग्य जमिन रहेको छ । यस क्षेत्रबाट १२६ घरधुरी तथा गोठ मात्र विस्तापित गर्नु पर्ने देखिन्छ । त्यसैले आयोजना निर्माण गर्ने क्रममा त्यति सामाजिक समस्या नआउने देखिएको छ ।
हानी
सरकारको ठूलो लगानीमा बनेका दुईटा पुलमा भने तमोर जलाशयले हानी गर्ने देखिएको छ । लुम्बुघाट स्थितको झोलुङ्गे पुल र माझीटारमा रहेको मध्यपहाडी लोकमार्ग अन्तरगतको मोटरएवल पुल भने डुब्ने छन् । यी दुई पुल पुननिर्माणमा भने केही आर्थिक भार खेप्नु पर्ने देखिन्छ ।
पहुँच मार्ग उपलब्ध
यो आयोजना निर्माण स्थल लुम्बुघाट पुग्ने तेह्रथुम म्याङ्लुङ र फिदिमदेखि सडक सुविधा पुगीसकेको छ । धनकुटाको मुलघाटदेखि आइरहेको तमोर कोरीडोर सडकको पहुच पनि त्यहाँसम्म पुग्न लागेको छ । यसले गर्दा आयोजनाका लागि पहुच मार्गका लागि खर्च भार समेत व्यहोर्नु पर्दैैन ।
जलाशयबाट थप फाइदा
तमोर जलाशयबाट पाँचथरका सुख्खग्रस्त क्षेत्र स्यावरुम्बा, यासोक र रानीगाउँ गाविसवासी बढी लाभान्वित हुने सभ्भावना रहेको छ । यस क्षेत्रमा सुकेर गएका पानीका मुलहरुले तमोर जलाशयका कारण पुनर्जीवन पाउने आशा बढाएको छ । मुलै नफूटे पनि खानेपानी व्यवस्थापन गर्न सहज हुने भएको छ । यहाँका सुख्खा क्षेत्र ओसिलो भूभागमा परिणत हुने विस्वास पनि गरिएको छ । यसबाट सिंचाई अभावमा बाँझिएर रहेका सयौं हेक्टर जमीन कृषि योग्य भूमि बन्ने आँकलन गरिएको छ । तमोर जलाशयले ठूलो जल पर्यटन भित्र्याउने छ । यसबाट सयौंको लागि जल पर्यटनजन्य उद्योग, उद्योम, रोजगारी खुल्ने छ ।
उल्लेखित आर्थिक, प्राविधिक, प्राकृतिक सुचकाङ्कहरुको आधारमा गरिएको प्रारम्भिक आँकलनले तमोर जलाशययुक्त अति उपयुक्त रहेको मानिएको छ । यसको निर्माण स्वादेसी लगानीबाट सम्भव नहुने देखिएकोले विदेसी कम्पनी आब्हन गर्नु पर्ने औल्याइएको छ । यस सम्बन्धमा सरकारले चाँडै आवस्यक नीति तय गरेर थप गृहकार्य थाल्नु पर्ने यहाँका सरोकारवालाको माग छ ।

फोटो क्याप्सन : तेह्रथुमको ओख्रे र पाँचथर स्यावरुम्भा सिमानामा अवस्थित तमोरको लुम्बुघाट । यहाँ बाँध बनाएर तमोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणको लागि पहिलो चरणको सम्भाव्यता अध्ययन सकिएको छ । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना