स्थानीय तहको चुनाव गराउन तीन दल सहमत

सुरेशकुमार यादव

काठमाडौँ, पुस १४ गते ।  प्रमुख तीन दल स्थानीय तहको चुनाव गराउन सहमत भएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रको बैठकले चुनाव गराउने सहमति गरेको हो ।  यद्यपि व्यवस्थापिका संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई के गर्नेबारे अन्योल कायमै छ ।  काँग्रेस र माओवादी केन्द्र संविधान संशोधन र निर्वाचन प्रक्रिया सँगसँगै अगाडि बढाउनेमा छन् भने एमाले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर मात्र चुनावमा जानुपर्ने पक्षमा छ ।  संशोधन प्रस्ताव पारित नगरीकन चुनाव हुन नदिने मधेसी मोर्चाले दिएको चेतावनीका कारण पनि तीन दललाई स्थानीय तहको चुनाव मिति घोषणा गरेर अगाडि बढ्न गाह्रो भइरहेको छ ।  
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन दल चुनावका लागि एकमत भएको जानकारी दिँदै अर्को साता चुनावको मिति घोषणा हुने बताउनुभयो ।  “चुनाव गराउने विषयमा तीन दलबीच सहमति भइसक्यो, अब संविधान संशोधनबारे सहमति बनाउन मात्र बाँकी छ”, उहाँले भन्नुभयो, “संशोधन प्रस्तावबारे मधेसी मोर्चासँग छलफल गरी टुङ्गो लगाइनेछ । ”
मधेसी मोर्चासँग कुरा भइसकेपछि प्रतिपक्षी दल एमालेसँग एक चरण बसेर चुनावको मितिबारे छलफल गर्ने कुराकानी भएको उहाँले जानकारी गराउनुभयो ।  अहिलेको अवस्थामा चुनाव पनि छाड्न सकिँदैन, संविधान संशोधनलाई पनि छोड्न मिल्दैन भन्दै नेता श्रेष्ठले दुइटैलाई प्राथमिकतामा राखेर सहमतिका आधारमा अगाडि बढ्ने कुराकानी भइरहेको बताउनुभयो । three dal
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा संशोधन प्रस्ताव र निर्वाचनको प्रक्रिया सँगसँगै लैजाने प्रस्ताव गरेपछि एमालेका नेताले अस्वीकार गरेका थिए ।  सरकारले ल्याएको संशोधन प्रस्ताव देशका लागि उपयुक्त नरहेकाले त्यसलाई फिर्ता लिएर निर्वाचनको कार्यक्रम घोषणा गर्नुपर्ने धारणा एमालेले राखेको सो पार्टीका उपाध्यक्ष भीम रावलले जानकारी गराउनुभयो ।  
संशोधन प्रस्ताव फिर्ता नलिएसम्म एमालेले व्यवस्थापिका संसद् अवरोध गरी नै राख्ने उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामी स्थानीय निर्वाचनमा जान तयार छौँ किनभने स्थानीय पुनःसंरचना आयोगले प्रतिवेदन तयार गरिसकेको छ, प्रतिवेदन तयार भइसकेको अवस्थामा चुनावमा जान नेपाली काँग्रेस र माओवादी पनि तयार भएका छन् । ”  
काँग्रेस र माओवादी केन्द्रले एमालेलाई संसद् खोल्न आग्रह गरेका थिए ।  बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन गराउन वा संशोधन प्रस्ताव पास गराउन पनि संसद् चाहिन्छ नै, ती सबै विषयमा छलफल गर्नका लागि संसद् खोलिदिन आग्रह गर्दा एमालेले नमानेको बताउनुभयो ।  संशोधन प्रस्तावका बारेमा के गर्ने विषयमा कुरा नमिले पनि स्थानीय निकायको चुनाव गराउनेमा तीनवटै दल एकमत रहेको उहाँले बताउनुभयो ।   
मङ्गलबार मधेसी मोर्चासहित सत्तारूढ दलबीच भएको छलफलमा काँग्रेसले चुनावको मिति घोषणा गरौँ भनी प्रस्ताव गर्दा मधेसी मोर्चाले अस्वीकार गरेको थियो ।  संशोधन प्रस्ताव पारित नगरीकन चुनाव घोषणा गर्न नहुने अडान मधेसी मोर्चाले लिएपछि बैठक स्थगित भएको थियो ।   बुधबार भने काँग्रेस र माओवादी केन्द्रले तीन दलको बैठकमा चुनावमा जाने कुरामा सहमति गर्दै संशोधन विधेयकबारे मधेसी मोर्चालगायत अन्य दलसँग छलफल गर्ने निष्कर्ष निकालेका छन् ।   बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, प्रधानमन्त्री प्रचण्ड, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रवक्ता पम्फा भुसाल, नेता रामबहादुर थापा ‘बादल’, नेता टोबहादुर रायमाझीलगायतको उपस्थिति थियो ।
प्याकेजमा सहमति गर्ने माओवादीको निर्णय
तीन दल बैठकअघि बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकले संविधान संशोधन विधेयक, चुनाव र महाअभियोग लगायतका विषयमा प्याकेजमै सहमति गर्दै स्थानीय तह वा निकायको निर्वाचनको मिति घोषणा गर्ने निष्कर्ष निकालेको थियो ।   
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकमा निर्वाचन र संविधान संशोधनको विषयबारे दलहरूबीच छलफल गरी चाँडै टुङ्गोमा पुग्ने कुरा भएको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।  “संशोधन विधेयकबारे दलहरूबीच केही कुरामा असमझदारी छ, त्यसलाई सहमतिका आधारमा टुङ्गो लगाउन प्रयास गर्ने सहमति नभए संसदीय प्रक्रियाको माध्यमद्वारा टुङ्गो लगाउने बैठकले निष्कर्ष निकालेको छ”, उहाँले भन्नुभयो ।  बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै एमाले चुनावका लागि तयार भए पनि सविधान संशोधनका लागि तयार नभएकाले सहमति बन्न नसकिरहेको कुरा राख्नुभएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना