सिरियामा असदविरुद्धको आन्दोलन पराजयको डिलमा

Ram prashad Acharya रामप्रसाद आचार्य


पश्चिम एसियाली मुलुक सिरियामा चरम मानवीय सङ्कट उत्पन्न भएको छ ।  त्यहाँका राष्ट्रपति बसर अल असदलाई हटाउन विपक्षी राजनीतिक दलहरूको नेतृत्वमा गरिएको सशस्त्र आन्दोलन विफल बन्दै गएपछि सरकार र विपक्षी दुवैतर्फबाट चरम हिंसात्मक घटना गराउँदा चरम मानवीय सङ्कट उत्पन्न भएको हो ।  
विपक्षी आन्दोलनकारीले कब्जा जमाई आन्दोलन सञ्चालनको प्रमुख केन्द्र बनाएको सिरियाको प्रमुख सहर अलेप्पोलाई सरकारी सेनाले नियन्त्रणमा लिएपछि असदविरुद्धको आन्दोलन नै पराजयको डिलमा पुगेको छ ।  यो सहर नियन्त्रण लिने क्रममा भएको डरलाग्दो सङ्घर्षमा हजारौँ मानिसको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् ।  दोहोरो आक्रमणको मारमा परेका त्यहाँका बासिन्दा अलपत्र परेका छन् ।  त्यहाँका अधिकांश भौतिक संरचना ध्वस्त भएका छन् ।
अमेरिकालगायत पश्चिमी मुलुकहरूको आर्थिक तथा हतियार सहयोगमा सञ्चालित विपक्षीहरूको आन्दोलनले असदलाई हटाउन नसकेपछि विपक्षी नेता, लडाकू तथा उनीहरूको परिवारको सुरक्षा खतरामा छ ।  यही विषयमा केन्द्रित भई पश्चिमी नेताले गम्भीर चिन्ता र चासो देखाएका छन् ।  महिनौँको सङ्घर्षमा विपक्षीहरू अलेप्पोमा पराजित भएपछि उनीहरूले त्यहाँबाट अन्यत्र जान सुरक्षित मार्गको माग गरेका छन् ।  संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले एक प्रस्ताव पारित गर्दै अलेप्पोमा सरकारी सेनाको घेराबन्दीमा परको विपक्षी नेता, लडाकू र उनीहरूको परिवारलाई त्यहाँबाट सुरक्षित ढङ्गले बाहिर जान दिन सिरिया सरकारलाई आग्रह गर्दै त्यहाँको भयावह अवस्थाको अवलोकन गर्न एक टोली पठाउने निर्णय गरेको छ ।
विपक्षीहरूले आफ्नो कब्जामा लिई केही वर्षदेखि राजधानीको रूपमा प्रयोग गर्दै आएको अलेप्पो सहरलाई रुसी सेनाको सहयोगमा सिरियाली सेनाले आफ्नो नियन्त्रणमा लिन सफल भएपछि निकै उत्साहित राष्ट्रपति असदले विपक्षी आन्दोलनकारी नेता तथा लडाकूलाई हार स्वीकार गर्दै आत्मसमर्पण गर्न केही समय दिनुभएको छ ।  उहाँले आत्मसमर्पण गरे आममाफी दिन सक्ने सङ्केत पनि दिनुभएको छ ।  सरकारी सेनाको घेराबन्दीमा परेका विपक्षी नेताहरू तथा लडाकूहरूले आत्मसमर्पण गर्ने कि नगर्ने भनी द्विविधामा छन् ।  आत्मसमर्पण नगरे धेरैको ज्यान जाने सम्भावना रहेकाले उनीहरूले आफ्नो जीवन सुरक्षाका लागि आवाज उठाइदिन भनी अन्तर्राष्ट्रिय समुदाय तथा मानव अधिकारवादी संस्थालाई आग्रह गरेका छन् ।  
अलेप्पो सहरलाई नियन्त्रणमा लिने क्रममा ठूलो सङ्ख्यामा गैरकानुनी हत्या भएको भन्दै छानबिन गर्न मानव अधिकारवादी संस्थाले आवाज पनि उठाएका छन् तर युद्ध जितेका उन्मादमा असद सरकारले त्यहाँ विपक्षीमाथि थप दमन गर्ने अवस्था देखिएकाले र विपक्षी लडाकू पनि पराजित मानसिकताको अवस्थामा पुगेकाले अब विपक्षी नेतालाई सशस्त्र आन्दोलनलाई पुनः गति दिन सजिलो छैन ।  सङ्गठित सशस्त्र विद्रोेहले अलेप्पोमा पराजय भोगेसँगै आन्दोलन नै छिन्नभिन्न अवस्थामा पुगेको छ ।  यस्तो अवस्थामा थप जनधनको क्षति हुन नदिन विपक्षी नेताहरूले सरकारसँग सम्झौता गरी आन्दोलन स्थगित गर्नु नै उत्तम विकल्प हो तर पश्चिमी मुलुकहरू आन्दोलन रोकाउने पक्षमा छैनन्, जसले गर्दा त्यहाँ अझै ठूलो रक्तपातको अवस्था देखापर्दै छ ।
युद्धमा फसेका हजारौँ मानिसको अवस्था अत्यन्तै दयनीय अवस्थामा पुगेको छ ।  कतिपय अलेप्पो प्रान्तका सहर, इलाका तथा गाउँमा आफ्नो सुरक्षा लागि विपक्षी लडाकूले स्थानीयवासीलाई मानवढालका रूपमा पनि प्रयोग गरेको दाबी सरकारले गरेको छ ।  यसले गर्दा स्थानीयवासीको जीवनसुरक्षा थप खतरामा परेको छ ।  विपक्षीहरूको आन्दोलनलाई समाप्तै पार्ने पक्षमा रहनुभएका राष्ट्रपति असदले त्यहाँ मानवीय व्यवहार देखाउने सम्भावना कम छ ।  श्रीलङ्काको तामिल विद्रोह अन्त्य गराउने क्रममा गरिएको अन्तिम सैन्य कारबाहीका करिब ४० हजार मानिस अनाहकमा शिकार भएजस्तै अलेप्पोमा पनि शिकार हुने अवस्था रहेकाले विपक्षी नेताले त्यो अवस्था आउन नदिन उपयुक्त विकल्प खोज्नु नै बुद्धिमानी हुनेछ ।  अन्यथा विपक्षीले चलाएको आन्दोलन तुहिने, नेता, लडाकू र सर्वसाधारणको ज्यान जाने परिस्थिति बन्दै छ ।  त्यो अवस्था आउन नदिन सिरिया सरकार र विपक्षी नेताबीच संवाद गराई उपयुक्त निकास निकाल्न अन्तर्राष्ट्रिय समुदाय र पश्चिमी मुलुकले रचनात्मक भूमिका खेली त्यहाँको हिंसा, अराजकता रोक्नुपर्छ नत्र अर्को ठूलो नरसंहार हुने अवस्था छ ।  
राष्ट्रपति असदलाई हटाउन विपक्षीहरूले सुरु गरेको सिरियाली आन्दोलनले यो साढे पाँच वर्षको अवधिमा गृहयुद्धको रूप लिँदा साढे तीन लाखभन्दा बढी मानिसको ज्यान गयो, करिब एक करोड मानिस विस्थापित भए ।  दशौँ हजार मानिस घाइते भए, अर्बौं डलरको भौतिक संरचना ध्वस्त भए तर अन्त्यमा अहिले आन्दोलन नै पराजित हुने अवस्थामा पुग्यो ।  आन्दोलनले राष्ट्रपति हटाई राजनीतिक परिवर्तन ल्याउन सकेन ।  सिरियमा राजनीतिक परिवर्तन चाहनेका लागि यो आन्दोलन प्रत्युपादक बन्दै छ ।  
यही अराजकता र अन्योलतबीच फाइदा उठाउँदै सुन्नी इस्लामिक आतङ्कवादी सङ्गठन ‘आईएस स्टेट’ ले सामाजिक शान्ति र सद्भाव खलबलिने गरी सिरियाको केही महŒवपूर्ण भूभाग कब्जा गरी नरसंहार मच्चाएको छ, आईएस इस्लामिक स्टेटको घोषणा गरेको छ ।  जसले गर्दा छोटो समयमै त्यहाँका दशौँ लाख मानिस ज्यान जोगाउन विस्थापित भएका छन् ।  जोखिममा परेका विस्थापित लाखौँ मानिसको पुनस्र्थापना र उनीहरूको सुरक्षा सबैभन्दा बढी चुनौतीपूर्ण बनेको छ ।  संयुक्त राष्ट्रसङ्घले सिरियाको मानव विस्थापन अहिलेसम्मकै सबैभन्दा डरलाग्दो भएको भन्दै यसलाई पुनस्र्थापना गर्न सबैको सहयोग आवश्यक भएको बताएको छ ।
सिरियाली निहत्था जनता अनाहकमै सरकारी सेना, विपक्षी सेना र आईएस स्टेट गरी त्रिपक्षीय द्वन्द्वको जाँतोमा पिसिएका छन् ।  उनीहरूको बाँच्न पाउने अधिकार खोसिएको छ ।  सिरियाली नेतृत्व आईएस स्टेटको आतङ्कमा आँखा चिम्लिदियो ।  उसले आईएसको आतङ्कभन्दा विपक्षीहरूको आन्दोलन आफ्ना लागि प्रमुख खतरा भएको ठान्यो र सम्पूर्ण शक्ति विपक्षीलाई दमन गर्न केन्द्रित ग¥यो ।  अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको अलेप्पोमाथिको विजयसँगै सरकारलाई अब आईएस स्टेट अर्को चुनौती बनेको छ ।  
आन्दोलनकारीलाई राष्ट्रविरोधी तŒव र आतङ्वादीको संज्ञा दिएर चरम सैनिक दमन गरेका असदलाई सत्तामोहले मुलुक नै इतिहासकै सबैभन्दा ठूलो रक्तपातमा होमियो ।  अर्कोतर्फ आफू सत्तामा पुग्ने मोहले विपक्षी आन्दोलनकारी नेताहरू विदेशी सैन्य हस्तक्षेप गराएर भए पनि असदको सत्ता ढाल्ने निष्कर्षमा पुगी विदेशी हस्तक्षेपलाई आह्वान गरे ।  उनीहरूले विदेशबाट डलर सहयोग र हातहतियारसमेत ल्याई आन्दोलन चर्काए ।  मुलुकले ठूलो मूल्य चुकाउँदा पनि आन्दोलन सफल भएन ।  
साढे पाँच वर्षदेखि जारी सिरियाली आन्दोलन सफल हुन यति लामो समय लम्बिएला भन्ने धेरैलाई लागेको थिएन ।  अरब क्रान्तिबाट उत्साहित भएर सन् २०११ को मार्चदेखि विपक्षीहरूले असदलाई सत्ताच्युत गरी लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने र आफू सत्तामा पुग्ने सपना बोकेर आन्दोेलन थालेका हुन् तर असदको सत्ता ट्युनेसिया, इजिप्ट, लिविया र यमनमा जस्तो गरी छिटो ढाल्न सकिएन र ढलेन ।  विपक्षीहरूको आन्दोलन कमजोर बन्दै गएपछि पश्चिमी मुलुकहरूले हतियार र डलर सहयोग गरे ।  सरकारी पक्ष र विपक्षी दुवैले हतियार चलाउन थालेपछि जनआन्दोलन जनआन्दोलनजस्तो भएन गृहयुद्धमा परिणत भयो ।  
एकाएक चरमोत्कर्ष हिंसामा होमिएको सिरियाली यो सङ्कट समाधान गर्न संयुक्त राष्ट्रसङ्घ र अरब लिगले मध्यस्थताका लागि पटक–पटक प्रयास गरे तर सफलता मिलेन ।  सन् २००० देखि सत्तामा आएका असदको सत्ताले जनताको लोकतान्त्रिक परिवर्तनको भावना र चाहनालाई बेवास्ता ग¥यो ।  
आन्दोलनको दबाबले कुनै हालतमा पनि सत्ता नछाड्ने असदको जिद्दी नै अहिलेसम्मको विनाशका लागि प्रमुख कारण बन्यो ।  लोकतन्त्रका लागि आन्दोलनमा होमिएका सिरियालीका लागि यो अत्यन्तै पीडादायक र दुःखद घटना हो ।  अब असदको इच्छाविना सिरियामा परिवर्तनको सम्भावना कम बन्दै छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना