राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न आग्रह

prachand 2काठमाडौँ,  पुस १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गनुभएको छ ।

प्रधानमन्त्रीले आज शुभकामना सन्देश दिँदै सांस्कृतिक परम्पराको धनी नेपालका तमु जातिले सदियौँदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका सन्दर्भमा नेपालका तमु जातिले नयाँ वर्षको आगमनको खुसीयालीस्वरुप विशेष उत्साह र उमङ्गताका साथ मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने बताउनुभयो ।

“संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो ”प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।
प्रधानमन्त्री दाहालले सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको जानकारी दिँदै राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

यस पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीका बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा प्रधानमन्त्रीले गर्नुभएको छ ।

यसै उपलक्ष्यमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज विज्ञप्तिमार्फत नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्दै यस पर्वले समाजमा सद्भावना बढाउँदै मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “वर्तमान संविधानको निर्माणमार्फत नेपाल नयाँ युगमा प्रवेश गरेको छ । हाल देखिएका सङ्क्रमणकालका समस्याहरु आपसी संवाद, सहमति र एकताका माध्यमबाट समाधान हुनेमा म विश्वस्त छु ।”

उहाँले जनताको भावनालाई आत्मसात् गरेको वर्तमान संविधान नेपालको राष्ट्रिय एकताको महत्वपूर्ण आधार भएको जनाउँदै संविधानको कार्यान्वयन र समायानुकूल परिमार्जनबाटै राष्ट्रिय एकताको भावना मजबूत बनाउन सकिने उल्लेख गर्नुभएको छ ।

यसै अवसरमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान संविधानको कार्यान्वयन गरी मुलुक सामु देखिएका समस्या आपसी संवाद, सहमतिबाट समाधान गरी आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माणमा लाग्न यस प्रकारका चाडपर्वले प्रेरणा दिने उल्लेख गर्नुभएको छ ।
रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना