जातीय छुवाछूत र उपचार विधि

 tc wagleत्रिभुवनचन्द्र वाग्ले

ओखलढुङ्गाको सिद्धचरण नगरपालिकामा विश्वकर्मा समाज गुठीले लगाएको सप्ताहव्यापी महापुराणले जातीय मेलमिलापको सन्देश दिएको छ ।  यसरी जातीय मेलमिलापको सन्देश दिने यो कार्य पहिलो होइन ।  त्यहाँ दलितले लगाएको महापुराण वाचन गर्ने ब्राह्मण ओमप्रकाश सुवेदी र रञ्जन सुवेदी हुनुहुन्थ्यो ।  यस्तो काम विगतमा भोजपुर, झापालगायतका ठाउँमा पनि भएका थिए ।  आयोजक मानबहादुर विश्वकर्माका अनुसार महापुराणमा अन्य जातका व्यक्तिहरूको उपस्थित, सक्रिय सहभागिता र प्रसाद दिने खाने गरिएको छ ।  झापामा दलित पण्डितले महापुराण लगाउँदा पनि यस्तै भएको थियो ।
२००७ को जनक्रान्तिको छेउछाउबाट नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले ‘जातपात मान्दैनौँ, हलो जोत्न बार्दैनौँ’ भनेर एक प्रकारको सन्देश दिए ।  यस्ता कार्यक्रममा उनीहरू आफैँं सहभागी हुन्थे ।  कसैलाई जबरजस्ती गरिएको हुन्नथ्यो ।  माओवादी सशस्त्र द्वन्द्वका बेला उनीहरूको प्रभाव क्षेत्रमा जातीय छुवाछूत  गर्न नपाइने गरिएको थियो ।  त्यसले पनि जातीय विभेद अन्त्यका लागि केही सकारात्मक काम गरेको थियो तर माओवादीले यस्तो काम करकापमा गराएका थिए ।  कुरो एउटै ठाउँमा पुगेर रोकिन्छ ।  काँग्रेसले चलाएको ‘जातपात मान्दैनौँ, हलो जोत्न बार्दैनौँ’ भन्ने अभियान ऊ सत्तामा पुगेपछि समाप्त भयो ।  काँग्रेसले यसलाई बृहत् अभियान बनाउन सकेन वा चाहेन ।  यसले राजनीतिक उद्देश्यका लागि मात्र यसो गरिएको भन्ने स्पष्ट हुन्छ ।  यस्तै माओवादीको करकापमा जातपात नमान्ने भनिए पनि माओवादी गाउँ छोडेर शहर आएपछि त्यस्ता जवर्जस्तीका नियमको अर्थ रहेन ।  त्यस्ता ठाउँमा जातीय छुवाछूतको प्रथा कायमै छ ।  माओवादीले पनि जातीय विभेदको अन्त्यलाई राजनीतिक उद्देश्य मात्र बनायो ।  
पञ्चायतकालमै नयाँ मुलुकी ऐन बनाइयो, छुवाछूत गर्न नहुने भनेर ।  मुलुकी ऐन पञ्चायतलाई लोकप्रिय बनाउन ल्याइएको थियो ।  यसका कतिपय प्रावधान जनताले थाहै पाएनन् ।  यो ऐनले छुवाछूत गर्न हुँदैन त भन्यो तर गरेमा के गर्ने नभनेकाले यो अर्को प्रकारको राजनीतिक चालवाजी मात्र थियो ।  २०४७ को परिवर्तनपछि आजसम्म आइपुग्दा संविधान, कानुन, सरकार, नागरिक समाज, दलित सङ्घसंस्था, अन्तर्राष्ट्रिय निकायका पहलमा जातीय विभेदविरुद्ध संवैधानिक कानुनी, वैचारिक पहल तथा साधनस्रोत परिचालन भएका छन् तर परिणाममा अपेक्षाकृत सुधार आएको छैन ।  यही मङ्सिर २४ गते काभ्रे, सानो बाङथलीकी–७ की लक्ष्मी परियारको हत्या जातीय कारणले भएको केहीले बताएका छन् ।  केहीले यसलाई बोक्सीको कुप्रथासँग जोडेका छन् ।  जातीय वा बोक्सी जे भने पनि आखिर दुवै अमानवीय, अवैज्ञानिक र गैरकानुनी हर्कत हुन् ।  यस्ता मनोसामाजिक समस्याको उपचारमा हामी चुकेका छौँ ।  
यसैगरी गतहप्ता गुल्मी अर्बेनीका अन्तरजातीय जोडी लालबहादुर सुनार र सावित्रा न्यौपाने गाउँलेको प्रताडन सहन नसकेर जङ्गलमा बस्न पुगेका समाचार प्रकाशित भए ।  यस्ता अति असभ्य समाचार पढ्दै गर्दा यस क्षेत्रमा गरिएका सारा प्रयास असफल भएका हुन् कि भन्ने लाग्न सक्छ तर हतास हुनुपर्ने छैन ।  दलितका अधिकार संरक्षण गर्ने सन्दर्भमा राजनीतिकरूपमा नेपालले भारतको तुलनामा धेरै उपलब्धि गरेको छ ।  विधायकी निकाय, प्रशासनिक अङ्गदेखि राज्यका तमाम संरचनामा दलितको उपस्थितिलाई संविधानले प्रत्याभूत गरेको छ ।  त्यसअनुसारको व्यवहारमा पनि नेपाली नै उदार देखिनुपर्छ ।  नेपालमा सबै प्रकारका विविधता अटाउन सक्छन् भन्ने सन्देश नेपालीले नै दिनुपर्छ ।  
विगतमा यस्ता धेरै घटना हुन्थे कम मात्र समाचारमा आउँथे ।  यसो हुनुको कारण त्यतिखेर जातीय छुवाछूतका घटनालाई स्वाभाविक रूपमा लिइन्थो ।  साधारणतयाः स्वभाविक घटनाहरू समाचार बन्दैनन् ।  त्यसै भएर सञ्चारविद फेन्बाइले ‘सयौं रेल गन्तव्यमा पुगेको घटना समाचार हुँदैन तर एउटा रेल दुर्घटनामा परेको घटना समाचार बन्छ’ भन्नुभएको हो ।  यसो भन्नुको अर्थ अपवादका घटना समाचार बन्छन् भनिएको हो ।  हामीले अझँै पनि दलितले लगाएको पुराणमा बाहुन वाचक, सहभोज, सहपूजाजस्ता समाचार छाप्नुको अर्थ यस्ता घटनालाई अपवाद मानिएको छ र यी अपवादका घटना समाचार बन्छन् वा बनाइन्छ ।  बाहुनले लगाएको पुराणमा बाहुन वाचक भन्ने घटना किन समाचार बन्न सक्दैन भने समाजले यसलाई स्वाभाविक घटनाका रूपमा लिएको छ ।  अहिले पनि दलितले लगाएको पूजामा बाहुनले कर्मकाण्ड गराएका घटना समाचार हुनु भनेको हामी अझैँ यस्ता घटनालाई अस्वाभाविक वा अपवाद मानिरहेका छौँ ।  जबकि यस्ता घटना समाजमा स्वभाविक बन्दै जानुपर्छ ।  समाचार बन्नु हुँदैन ।
यसो हुन नसक्नुका केही सामाजिक, मनोवैज्ञानिक धार्मिक तथा व्यक्तिगत कारण छन् ।  समस्याको सही उपचार हुन सकेको छैन ।  गाउँमा जातीय छुवाछूत हुन्छ, शहरमा त्यसका बारेमा मौसमी बेमौसमी व्यक्तव्यवाजीको खेती गरिन्छ ।  जातीय छुवाछूत मनोविज्ञानमा घुसेको छ ।  कानुन देखाएर उपचार गरिन्छ मानौँ यो ज्वरो हो जसलाई सिटोमोलले काम गर्छ तर असली डाक्टरले ज्वरोलाई सिटामोल दिँदैनन् बरु विभिन्नमध्ये के कारणले ज्वरो आएको हो निदानपट्टि लाग्छन् र ‘यकिन समस्या सही उपचार’ गर्छन् ।  हाम्रोमा रहेका जातीय छुवाछूत वा छाउपडीजस्ता कुंसस्कार शहरी कोलाहलबाट निमिट्टान्न पार्न सकिन्न ।  यसका कारण खोज्नुपर्छ ।  छाउगोठमा बस्नुको कारण के होला ? के विशुद्ध सांस्कृतिक कारण मात्र होला त ? जसकहाँ पर्याप्त लुगा छैन, सफाइका लागि पानी र संरचना छैन, ‘डिग्निटी किट’ छैन, उनीहरू अभिभावकसँगको लाज वा अपशोचले पनि छाउगोठमा लुक्नुपर्ने अवस्था हुनसक्छ ।  त्यता ध्यान नदिई छाउगोठे प्रचलनको विरोध मात्र गरेर समस्या समाधान हुँदैन ।  समस्याको कारण र परिणाम नखेजेसम्म वैज्ञानिक उपचार पनि सम्भव छैन ।  
जातीय छुवाछूत योभन्दा केही भिन्न भए पनि यसका लागि हामीले गरेका उपचार सीमित, एकाङ्की र प्रचारात्मक मात्र देखिएका छन् ।  अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँ निकाला गर्नेलाई पढाएर, सम्झाएर, चित्त बुझाएर मात्र यो समस्यामा कमी ल्याउन सकिन्छ यसका लागि वाध्यात्मक र स्वेच्छिक उपचार गर्न सकिन्छ, न कि शहरमा बसेर विज्ञप्तिको खेती गरेर ।  समस्या र उपचार विधि नमिले पनि पछिल्ला वर्षमा नेपालले सबै प्रकारका विभेदमाथि विजय प्राप्त गर्दैछ ।  वर्षौंको समस्या एकैदिन हल हुँदैन तर मुलुकले संविधानतः यस्ता विभेदको अन्त्य गरेको छ ।  व्यवहारतः अन्त्य गर्ने जिम्मेवारी नागरिकले लिनुपर्छ ।  आज कुनै पनि नागरिकले जातीय छुवाछूत र विभेदलाई जायज भन्न सक्दैन ।  यो राम्रो उपलब्धि हो ।  यसका पछाडि कानुनको डर होला तर वर्तमान ठूलो जमात जातपात नमान्ने गरी उभिएको छ ।  यही हाम्रो सफलता हो ।  यद्यपि सफलता अपेक्षाकृत छैन तर यो पनि बिर्सन हुँदैन, अपेक्षाकृत सफलता पाउन अपेक्षाकृत उपचार अपनाउनुपर्छ ।  अल्सरलाई ग्यास्ट्रिकको औषधिले छँुदैन ।  हुँदैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना