पूर्वराजा ज्ञानेन्द्रको नियति र नियत


kusum bhattaraiकुसुम भट्टराई

हाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण नागार्जुन दरबारमा बसोबास गरिरहनुभएका ज्ञानेन्द्र शाहलाई सम्बोधन गर्दा ‘पूर्व राजा’ भन्ने गरिएको छ ।  राजतन्त्र समाप्त भएका मुलुकहरूको इतिहासमै यो नौलो प्रयोग हो ।  राजतन्त्र समाप्त भएपछि राजाहरू या त मारिएका छन् या देश निकाला भएका छन् ।  ‘पूर्व राजा’ को उपाधिसहित सुरक्षा, यथोचित सम्मान र सामाजिक स्वीकारका साथ संविधानले दिएको अधिकार उपभोग गर्न पाउने छुट ज्ञानेन्द्र शाहलाई मात्र छ ।  यस्तो छुट विश्वका अन्य राजाले विरलै पाएका छन् ।  
    नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय बन्नुको कारण के हो भने राजतन्त्रबाट गणतन्त्रमा छलाङ लगाउने सङ्क्रमणकाल रक्तपातपूर्ण हुन पाएन ।  २०६२÷०६३ सालको संयुक्त जनआन्दोलनका क्रममा लाखौँ जनताले राजधानीको चक्रपथ घेराउ गरेपछि राजा ज्ञानेन्द्र १९औँ दिनमै आफ्नो हठ त्याग्न तयार हुनुभयो ।  आन्दोलनकारी दलबाट मस्यौदा गरिएबमोजिमकै शाही सम्बोधनमार्फत प्रतिनिधिसभा पुनस्र्थापना गरी ‘सात दलको मार्गचित्र बमोजिम मुलुक अघि बढ्न’ देशवासीलाई आह्वान पनि गर्नुभयो ।  अन्ततः केही समयपछि तत्कालीन नारायणहिटी राजदरबार छाडेर सहजै निर्मल निवासतर्फ जानुभयो ।
    सङ्क्रमणकालको त्यो अन्योलमा ज्ञानेन्द्र शाहबाट उक्त निर्णय गरिएको भए जनधनको ठूलो क्षति हुनसक्थ्यो ।  सायद राजा रहँदाका अन्तिम दिनहरूमा उहाँको भूमिकाको कदर गरेर नै परिवर्तनकारी शक्तिहरूले उहाँलाई स्वदेशमै सुरक्षा र सम्मानका साथ बस्न पाउने परिस्थिति निर्माण गरिदिए ।  उहाँका बन्द व्यापार पनि चालू रहे ।  सामान्य नागरिक सरह घुम्न, देशबाहिर जान, निजी सम्पत्ति राख्न, धार्मिक अनुष्ठान र समारोहमा सहभागी हुन उहाँलाई कुनै रोकटोक भएन ।  त्यसमाथि सबैले उहाँलाई ‘पूर्व राजा’ भनेर विशेष सम्बोधन पनि गर्दै आए ।  
    भाषाकै कुरा गर्ने हो भने ‘पूर्व’ भन्ने शब्दले ‘वर्तमान’ को पनि अस्तित्व दर्शाउँछ ।  जस्तै, ‘पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा’ भनेर हामी किन भन्छौँ भने मुलुकमा मौजुदा प्रधानमन्त्री प्ुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि हुनुहुन्छ ।  अर्थात् वर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री देउवा ।  प्रश्न उठाउन सकिन्छ– पूर्व राजा ज्ञानेन्द्र हुन् भने वर्तमान राजा को हुन् ? वर्तमानमै अस्तित्व समाप्त भइसकेको राजतन्त्रलाई भूत, वर्तमान र भविष्य अर्थात् समयको तीन चक्रे निरन्तर सिलसिलामा जोड्न मिल्दैनथ्यो ।  अतः ज्ञानेन्द्रलाई ‘पूर्वराजा’ होइन, ‘शाहवंशीय राजतन्त्रको अन्तिम राजा’ भनेको भए इतिहासप्रति न्याय हुन्थ्यो ।  तैपनि, हाम्रा सञ्चार माध्यमले उहाँलाई पूर्व राजाभन्दै आए, आखिर त्यही प्रचलनमा आयो र सबैले मानिदिए ।  यसमा विवाद रहेन ।  
    नेपाली समाज सहिष्णु छ, क्षमाशील छ ।  हिन्दुहरू ‘क्षमा नै धर्म हो’ भन्ने मान्यतामा विश्वास गर्छन् ।  नेपाली समाजको क्षमाशील स्वभावकै कारण हुन सक्छ, २००७ सालमा १०४ वर्षे राणा शासन ढलेर बनेको सरकारमा मोहन शमशेर राणालाई नै प्रधानमन्त्री बनाइएको थियो ।  प्रजातन्त्रको बहालीपछि बरु भरत शमशेर आदिले उपद्रव मच्चाए तर प्रजातन्त्रवादीहरूबाट राणा शासक र तिनका सन्तानलाई उनीहरूका अत्याचारप्रति क्षमा दिइयो ।  व्यक्तिगत प्रतिशोध साँधिएन ।  चार सहिदलाई मार्नेहरूसमेत दण्डित भएनन् ।  
    पञ्चायतकालमा नमिता सुनिता काण्ड, सुखानी काण्ड, सुरजपुरा काण्ड, विमान काण्ड आदि अनेक काण्ड भए ।  २०४६ सालको जनआन्दोलनमा व्यापक दमन भयो ।  प्रजातन्त्र बहालीपछि आन्दोलनका दोषी छानबिन गरी कारबाहीका लागि सिफारिस गर्न जनार्दनलाल मल्लिकको संयोजकत्वमा आयोग बन्यो ।  आयोगले आन्दोलनका दोषीहरूको लामो फेहरिस्त नै बनायो तर सत्ताको राजनीति र चुनावी गणितमा लागेका तत्कालीन दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) ले ‘दरबारलाई नचिढाउन’ मल्लिक आयोगको प्रतिवेदन रद्दीको टोकरीमा मिल्काए ।  जनस्तरबाट त्योबेला कारबाही चलाउनका लागि सशक्त आवाज उठेन किनकि नेपाली समाज ‘क्षमाशील’ छ ।
    २०६२÷०६३ सालको आन्दोलनका क्रममा भएको व्यापक दमनका दोषीमाथि कारबाही चलाउन ‘रायमाझी आयोग’ गठन गरियो ।  त्यो आयोगको प्रतिवेदनले दोषी ठहर गरिएका धेरै मानिस अहिले राज्यका महŒवपूर्ण निकायमा छन् ।  कतिपय बदनाम अनुहार त बढुवा पाएर नेतृत्वदायी तहमै पुगेका छन् ।  त्यसो किन हुन गयो भने व्यवस्था नै परिवर्तन भइसकेपछि पुरानो व्यवस्थाका नाइकेहरूको आदेश मान्नेहरूमाथि प्रतिशोध साँधिएन ।  मुख्य नाइके ज्ञानेन्द्र शाहले नै ‘आम माफी’ पाइसकेपछि उहाँको आदेश मान्नेहरूलाई दण्डित गर्नु न्यायपूर्ण हुने थिएन ।  
    यही क्षमाशील संस्कारका कारण यतिबेला मुलुकको राजनीतिमा ‘पुरानो सत्ता’ मा रजाइँ गरेका शक्ति र व्यक्तिहरू पनि अस्तित्वमा छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले खुला रूपमै राजतन्त्र, हिन्दु राष्ट्र र एकात्मक राज्यको पुनस्र्थापनाको माग गर्न पाइरहेको छ ।  अर्कोतिर नेत्रविक्रम चन्द विप्लव चर्को क्रान्तिकारी नारा लगाउन पाइरहेका छन् ।  नेपाली समाजको सहिष्णु स्वभावकै कारण हुनसक्छ– रत्नपार्कमा बसेर सुन्तला र बदाम खाँदै उग्रदक्षिणपन्थी, उग्रवामपन्थी, यथास्थितिवादी र अग्रगामी सबै खाले भाषण सुन्न पाइन्छ ।  अनि त्यही मेसोमा शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रका अर्ति, उपदेशले भरिएका विज्ञप्ति पनि सञ्चार माध्यममार्फत सुन्न पाइन्छ ।  
    अढाई सय वर्ष पुरानो राजतन्त्र आफ्नै पालामा ढल्नु र आफू शाहवंशीय राजतन्त्रकै अन्तिम राजा हुनु ज्ञानेन्द्र शाहको नियति हो ।  भाग्यवादमा विश्वास गर्ने हो भने यही नै उहाँको भाग्य÷दुर्भाग्य हो ।  नियतिलाई आत्मसात् गर्नु नै विवेकशील प्राणीको कर्तव्य हो ।  निश्चय नै कर्मले भाग्यलाई बदल्न सकिन्छ तर कर्मले बदल्न सकिएन भने नियतिलाई स्वीकार गर्नुको विकल्प छैन ।  राजतन्त्र टिकाउनका लागि एउटा राजाका रूपमा ज्ञानेन्द्र शाहबाट यथोचित कर्म त भएकै हो ।  काली बाबादेखि अनेक साधु सन्तलाई डाकेर यज्ञ–यज्ञादि अनुष्ठान पनि भएकै हुन् ।  देशव्यापी रूपमा नागरिक अभिनन्दन र दौडाहा पनि भएकै हुन् ।  ‘स्वच्छ छवि’ का ‘भ्रष्ट’ हरूको क्याविनेटको अध्यक्षता पनि ग्रहण गरिएकै हो ।  ‘बुबा महाराज’ को पथमा हिँड्ने कोसिस पनि भएकै हो तर उहाँको कर्ममा कहाँ के चुक भयो कुन्नि, त्यसले नियतिलाई बदल्न सकेन, राजतन्त्र ढलिहाल्यो ।
     यो नियतिलाई स्वीकार गर्नु नै ज्ञानेन्द्र शाहको हितमा छ तर नियतिलाई बदल्न उहाँले हिजोआज फेरि नियत बाँगो बनाउन थालेको त होइन भन्ने प्रश्न उहाँका गतिविधिबाट उब्जिएको छ ।  लोकतन्त्रमा सबैलाई आ–आफ्नो धारणा व्यक्त गर्न पाउने अधिकार छ ।  ज्ञानेन्द्र शाहलाई पनि मनका व्यथा, पीडा, आत्मग्लानी र चिन्ता व्यक्त गर्न पाउने अधिकार छ ।  यसमा कसैको दुईमत छैन ।  नियति बदल्नका लागि नियत बाँङ्गो बनाउने चलखेल भएमा भने जनता भड्किन सक्छन् र अहिले प्राप्त गरेको ‘पूर्वराजा’ को सम्मान पनि खोसिन सक्छ ।  
    यो मुलुकमा राजतन्त्र फर्काउने सपना देख्नु मुर्खता हो ।  नेपालमा अढाई सय वर्ष पुरानो राजतन्त्र हठात् ढलेको होइन ।  सात सालअघि र पछिका क्रान्ति, २०१४ सालको भद्र अवज्ञा आन्दोलन, बीसको दशकको झापा विद्रोह, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह र बम विष्फोट, २०४६ सालको जनआन्दोलन, २०५२–२०६२ सालको सशस्त्र युद्ध, २०६२÷०६३ को दोस्रो जनआन्दोलन र मधेस विद्रोहको प्रतिफल हो गणतन्त्र ।  इतिहासमा पटक–पटक भएका क्रान्तिको सिलसिलाकै अन्तिम कडीका रूपमा गणतन्त्र स्थापना भएको हो ।  अतः यसलाई कसैले चाहँदैमा एकै झट्कामा खोस्न सक्दैन ।  विभिन्न जाति, वर्ग, समुदाय, तह र तप्काका जनतामा जागृत उच्च चेतनाका कारण अब मुलुकलाई कसैले पनि पछाडि फर्काउन सक्दैन ।  
    यो युग जनताको हो ।  कसैलाई फेरि तानाशाह बन्ने रहर लाग्न सक्छ ।  कसैमा विगतको राजसी ठाँट, भोग, विलास, दासहरूको धनुष्टङ्कार नमस्कारको स्मरणले पुनः त्यही हैसियत फर्काउने उत्कट अभिलाषा जाग्न सक्छ ।  जिजीविषा र जिवेषणा मानिसका स्वभाव हुन् ।  केही सीमित मानिसका विषयभोग, बासनाको तृप्तिका लागि सिङ्गो समाज र देश पछाडि फर्कन सक्दैन ।  त्यो सम्भव पनि छैन र त्यो प्रकृतिको नियम र स्वभाव पनि होइन ।  
यतिबेला ज्ञानेन्द्र शाहबाट राजतन्त्र फर्काउने भूमिका पक्कै निर्वाह नहुनु नै उपयुक्त हुन्छ ।  आफ्नो नियतिलाई बदल्ने नाममा नियत खराब नहोस् ।  हामी सबैैलाई
थाहा छ – उहाँ धनका पनि धनी हुनुहुन्छ ।  अब मनको पनि धनी हुनुप¥यो ।  नेपाललाई समृद्ध बनाउन जलस्रोतको विकास अपरिहार्य छ ।  नेपालमा ठूला जलविद्युत् परियोजना सम्पन्न गर्न हामीले किन विदेशीको मुख ताक्ने ? बरु ज्ञानेन्द्र शाहकै पहलमा नेपालका सयौँ राष्ट्रिय पुँजीपतिलाई गोलबन्द गरी स्वदेशमै मेगा हाइड्रो प्रोजेक्ट किन सुरु नगर्ने ? यस्ता काममा उहाँ किन नलाग्ने ?


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना