शिक्षा रोजगारीमूलक हुनुपर्छ: प्रधानमन्त्री

शेषकान्त पण्डित

 

काठमाडौं, पुस १५ गते । त्रिभुवन विश्वविद्यालयले स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि (पीएच.डी) उपाधि हासिल गरेका ८३ हजारभन्दा बढी विद्यार्थीलाई विशेष समारोहबीच दीक्षित गरी उपाधि एवं प्रमाणपत्र प्रदान गरेको छ ।
२०७२ जेठ १२ गतेदेखि २०७३ असार १ गतेसम्म विश्वविद्यालयका आंगिक एवं सम्वन्धन प्राप्त क्याम्पसबाट उपाधि प्राप्त गर्न सफल विद्यार्थीलाई विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीक्षित गरिएको घोषणा गर्नुभएको हो ।
विश्वविद्यालयको इन्जिनियरिङ क्याम्पस पुल्चोकको खेल मैदानमा आयोजित ४२ औँ दीक्षान्त समारोहलाई सम्वोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय नेपालमा पुरानो ठूलो र न्यून आय भएका जनताका छोरोछोरीहरुको पहुँचभित्रको विश्वविद्यालय भएको बताउनुभयो ।
मुलुकमा बहुविश्वविद्यालयको अवधारणापछि पनि त्रिविले यस परम्परालाई धान्दै आएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । विश्वविद्यालयबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । kundan_kabita

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार त्रिभुवन विश्वविद्यालयको ४२औँ दीक्षान्त समारोहमा आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि गर्नुहुने कुन्दन अर्याललाई दीक्षित गर्नुहुँदै । तस्बिर : कविता थापा

शिक्षा रोजगारमुलक हुनुपर्छ भन्दै प्रधानमन्त्रीले नेपालको संविधानले शिक्षा र रोजगारीलाई मौलिक हकको रुपमा सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभयो । त्यस अवसरमा विश्वविद्यालयका कुलपति प्रचण्डले विभिन्न तहमा उत्कृष्ट स्थान ल्याउन सफल विद्यार्थीलाई दीक्षान्त पदक, पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यस अवसरमा बरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले बुद्धको देशमा जन्मेका नेपालीले आफ्नो भावना, चिन्तन र कर्ममा बुद्धलाई प्रवाहित गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपालका शैक्षिक संस्थाका साथै अन्य कार्यक्षेत्रहरु पनि शान्ति क्षेत्र हुनुपर्छ भन्दै संस्कृतिविद् जोशीले यसका लागि सबै क्रियाशील हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
विगतमा गुरुकुल शिक्षाका माध्यमबाट पठनपाठन गर्ने गरिएकोमा हाल विद्युतीय माध्यमबाट अध्यापन गराउन सुरु गरिएको सन्दर्भ उल्लेख गर्दै उहाँले उच्च शिक्षामा सबै नेपालीको समान पहुँचको विकास गरिनुपर्ने बताउनुभयो । धेरै विश्वविद्यालय स्थापना भए पनि शिक्षाको समान वितरण हुन नसकेको उहाँको भनाइ छ । विश्वविद्यालयले ज्ञान विज्ञान, प्रविधि, कला, साहित्य र संस्कृतिका अनन्त सम्भावनाको खोज र विकासमा ध्यान दिनुपर्ने खाँचो उहाँले औँल्याउनुभयो ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री धनीराम पौडेलले उच्च शिक्षा नै देश विकासको मुल आधार भएको र नेपालको उच्च शिक्षामा ८० प्रतिशतभन्दा बढी हिस्सा राख्न सफल त्रिविको परिवर्तित मागलाई सम्वोधन गरी उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न सक्नुपर्ने बताउनुभयो । यसका लागि विश्वविद्यालयलाई पहलकदमी लिन आग्रह गर्दै शिक्षामन्त्री पौडेलले यस कार्यमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो । विश्वविद्यालयबाट दीक्षित विद्यार्थीको अनुहारमा सुन्दर नेपाल प्रतिविम्वित भइरहेको छ भन्नुहुँदै उहाँले विश्वविद्यालयबाट सिकेको ज्ञान र सीपलाई उत्पादनशील कार्यमा लगाउन आग्रह गर्नुभयो ।
अनुशासन र मर्यादा कमजोर भइरहेको वर्तमान नेपाली समाजमा विश्वविद्यालयबाट दीक्षित विद्यार्थीले आफ्नो योग्यता, क्षमता र सीप मुलुकको शैक्षिक उत्थान र विश्वविद्यालयको गरिमा अभिवृद्धिमा लगाउने विश्वास शिक्षामन्त्री पौडेलले व्यक्त गर्नुभयो । shree kabita

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार त्रिभुवन विश्वविद्यालयको ४२औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्नुहुने श्रीराम खनाललाई दीक्षित गर्नुहुँदै । तस्बिर : कविता थापा

समारोहलाई सम्वोधन गर्दै त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले विश्वविद्यालयका ६० वटा आंगिक क्याम्पस र एक हजार ८४ वटा सम्वन्धन प्राप्त क्याम्पसबाट यस अवधिमा ८३ हजार ४२५ जना विद्यार्थी दीक्षितका लागि योग्य भएको र त्यसमध्ये नौ हजार ७३४ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएको जानकारी दिनुभयो ।
त्रिविमा हाल मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन गरी चारवटा संकाय र चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, कृषि तथा पशु विज्ञान र वन विज्ञान पाँच वटा अध्ययन संस्थान रहेका छन् । यस वर्ष मानविकी तथा सामाजिक शास्त्र संकायबाट ३६ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट १५ जना, कानुन संकायबाट एकजना, शिक्षाशास्त्र संकायबाट पाँच जना, व्यवस्थापन संकायबाट सात जना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट चार जनाले पीएच.डी उपाधि प्रदान हासिल गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना