उत्तरआधुनिक राजनीति, ह्वेल र कित्थे माछा

प्रा.डा. पदमलाल देवकोटा / भेषराज आचार्य



उत्तरआधुनिक बहसमा राज्य संयन्त्रलाई विनिर्माण गर्दा ‘नागरिकबाट धेरै लिने र उनीहरूलाई थोरैभन्दा थोरै दिने प्रणाली’ भन्ने बुझिन्छ ।  राज्य जहिले पनि आफू सशक्त र नागरिकलाई असक्त बनाएरै चलिरहेको हुन्छ ।  कुनै पनि राज्यका नागरिक राज्यबाट धेरै अपेक्षा गर्ने र थोरैभन्दा थोरै मात्र पाउने गर्दछन् ।  त्यसैले राज्यलाई एक विशाल, शक्ति सम्पन्न र डरलाग्दो आकृति भएको अधिकारी तन्त्र मानिन्छ ।  राज्यको निश्चित भौगोलिक सीमा, राज्य सञ्चालन प्रणाली र सञ्चालनकर्ताहरू हुन्छन् ।  उत्तरआधुनिक बहसमा राज्य आम नागरिकको वरिपरि घुम्नुपर्नेमा आमनागरिक राज्यको वरिपरि घुमिरहेको हुन्छन् भन्ने कुरामा विशेष जोड दिइन्छ ।  यस बहसअनुसार राज्य सञ्चालन गर्ने नेता र अभिनेताहरूको एक समूह हुन्छ ।  नेताहरूलाई घेरेर अभिनेताहरूले राज्य संयन्त्रलाई आफ्नो पकडमा राखेका हुन्छन् ।  अभिनेताहरू चलायमान, सत्तामुखी, स्वार्थी र विचार विचलन भएका हुन्छन् ।  शक्ति सञ्चय, पद र स्वार्थका लागि आफ्नो विचार, दल र नेतासमेत परिवर्तन गर्दै जान्छन् ।  अभिनेताहरू आमनागरिकलाई शब्द जालमा पारेर आफ्नो वरिपरि घुमाउन खप्पिस हुन्छन् ।  यस प्रकारको परिवेशबाट आमनागरिक दिक्क र वाक्क भएर निर्मित राज्य संरचनाको विनिर्माणतर्फ प्रेरित हुन्छन् ।  राज्य निर्माण र विनिर्माणको प्रक्रियाले राज्य अस्थिर, तरल हुँदै राष्ट्रियतासमेत कमजोर हुन्छ ।  त्यसको मार पनि आमनागरिकले खेप्नुपर्ने हुन्छ ।  नेपालका आमनागरिकले यसको अनुभूति गरिरहेका नै छन् ।
आधुनिक राजनीतिक बहस र उत्तरआधुनिक विनिर्माण
उत्तरआधुनिक बहसले राजनीतिक अवधारणा, सिद्धान्त र विधिको विनिर्माण गरिरहेको हुन्छ ।  यो विनिर्माणको फाइदा उठाएर नेता तथा अभिनेताहरू भर्खर जन्मिएको र सिंगसमेत नउम्रिएको बाख्राको पाठोजस्तै आमाको वरिपरि उफ्रने, आमाको आङमाथि नै चढेर खेल्ने र उट्पट्याङ गर्छ ।  विचारी आमाले आफ्नो सन्तानले गरेको कामलाई अञ्जानको शिशु भुल ठानी सहँदै जान्छे ।  यसको परिणाम स्वरूप पछि त्यो दादा बोकाले वथानलाई नै दुःख दिन थाल्छ ।  ऊ वथानको झक्का लालमोहरिया दादा हुन्छ ।  नेपालको ‘चियाशास्त्र र गफशास्त्र’ (टियोलोजी र गोसिपोलोजी) मा यस्ता राजनीतिक दादाहरूको विषयमा पनि अविरल बहस चलिरहेकै छ ।  यसले कुनै निकास दिने नै छ ।
चियाशास्त्र र गफशास्त्र
नेपालको परिप्रेक्ष्यमा हेर्दा २००४ सालबाट खुला समाजको बहस बी.पी. कोइराला र पुष्पलालबाट थालनी भयो ।  त्यतिखेर नेपालका माओवादीहरू आमाको गर्भमा पनि थिएनन् ।  पञ्चायत कालमा पञ्चहरूका लागि खुलासमाज र इतरहरूका लागि बन्द समाज थियो ।  यसरी खुला र बन्द समाजको बहस चल्दै गर्दा २०३६ सालपछि बन्द समाजमाथि खुला समाज हाबी हुने प्रक्रियाको थालनी भयो ।  देशका मुख्य मुख्य शहर र गाउँगाउँमा समेत जनकेन्द्रित बहस स्थलको स्थापना भयो ।  ती जनकेन्द्रहरू गाउँका र शहरका चिया पसलहरू थिए ।  ती पसलहरूमा चेतनामुक्त नागरिक जम्मा भएर समसामयिक राजनीति र त्यसको अभ्यासको विषयमा छलफल, तर्क, वितर्क मात्र होइन, अब आउँदा दिनमा के हुँदैछ भन्ने भविष्यवाणीसमेत गर्ने क्षमता राख्दथे ।  यसरी आम नागरिकको घर नजिकै रहेका चिया पसलहरूले बहस केन्द्रको स्वरूप लिन थाले ।  यी बहस केन्द्रहरूबाट नै राज्यले नागरिक निर्माण गर्ने होइन, नागरिकबाट नै राज्य निर्माण गरिनुपर्छ भन्ने विनिर्माणको प्रक्रियाको थालनी भयो ।  
आज यस्ता हजारौँ चियाकेन्द्रहरू प्रताजन्त्रको धरोहर बनेर देशको कुनाकुनामा अविरल रूपले आफ्नो कार्य गरिरहेका छन् ।  सिंहदरबारको सिंह भएको पटाङ्गिनीबाट दूरदराजका ती चिया केन्द्रमा बहस छेड्ने कर्ताहरू देखिँदै देखिँदैनन् ।  यी खुला समाजका कर्ता, संस्था र लाभकर्ता पनि हुन् ।  यी प्रजातन्त्रका धरोहर पनि हुन् ।  यी बहस केन्द्रहरूले दुईटा शास्त्रहरूको जन्म दिएको छ ।  पहिलो हो चियाशास्त्र (टियोलोजी) र दोस्रो हो गफशास्त्र
(गोसिपोलोजी) ।  यी दुवै एक अर्काका परिपुरक अभिन्न अङ्ग भएर नेपालमा जीवित छन् ।  यी चियास्थलहरूले नेपालमा पूर्ण प्रजातान्त्रिक अभ्यासको सुन्दर उदाहरण पेस गरेको पाइन्छ ।  यहाँ सबै खुला रूपले आउने, समेटिने, सबै बोल्न पाउने, विचारको निर्माण र विनिर्माण गरेर बहसको सन्देश हरेक दिन घरघरमा पु¥याइरहेका छन् ।  यहाँ जनकेन्द्रित, स्वतस्फूर्त र अनुदानमुक्त, परिवेशमा निर्माण र विनिर्माणले गति लिइरहेको छ ।  यो एक सानो जनकेन्द्रित गैरराज्य हो ।  जसले झर्रो राष्ट्रियताको उदाहरण नेपाली समाजमा पेस गरेको छ ।  यसले राष्ट्रियताको र प्रजातन्त्रको चरित्र विचार र अभ्यास खास रूपले दैनिकी जीवनमा प्रयोजनमा ल्याएको छ ।  यसले सिंहदरबारबाट जन्माइएको सुकेनाश लागेको राष्ट्रियता अवश्य पनि बोकेको छैन बरु यसको विनिर्माण गरिरहेको छ ।
ह्वेल र कित्थे माछा
उत्तरआधुनिक राजनीतिक बहसमा नागरिक ठूलो र सानो भन्ने हुँदैन ।  समानता, स्वतन्त्रता, न्याय र खुलापन यसका झ्याट्ट देखिने लक्षण हुन् ।  यस अर्थमा उत्तरआधुनिक राजनीतिक बहस प्रजातन्त्रको नै एक मियो भएर उभिएको पाइन्छ ।  नेपालमा प्रजातन्त्र आए पनि यसको अनुभूति आमनागरिकले गरेको पाइँदैन ।  नेपालमा ठूलो र सानोको भेद हटिसकेको छैन ।  यहाँ चलिरहेको प्रजातान्त्रिक अभ्यास समुद्रमा बस्ने ह्वेल सबभन्दा ठूलो र सानो कित्थे माछासँग दाँज्न सकिन्छ तर सानो कित्थे माछाले आफ्नो नजिक रहेको ठूलो ह्वेल माछाको आनीबानी बुझेर उसको ढाडमा चढेर समुद्र विचरण गर्छ, रमाउँछ, भोक लागे उसको ढाडमा जमेको तेलोपेतो खान्छ, पेट भर्छ ।  आफ्नो ढाडमा चलखेल गरेको हुँदा ह्वेलको पनि चिलाइ मर्छ र आनन्दित भएर कित्थे बोकेर हिँड्छ ।  ह्वेलले अरू प्राणीलाई आवाज र मातले मरिच खुम्चाएजस्तै खुम्च्याउँछ ।  ह्वेलको संरक्षणमा रहेको कित्थे माछा किन डराउने ? ह्वेलको विचरणले ठूलाठूला प्राणी समुद्रमा भागिरहेको देख्दा कित्थे माछाले तिनीहरूलाई ‘पख, देख्लास्’ भनेजस्तो गतिविधि ह्वेलको ढाडमा नै नाचेर देखाउँछ ।  नेपालको उत्तरआधुनिक प्रजातान्त्रिक अभ्याससँग मिल्ने यस्ता हजारौँ उदाहरण छन् ।
उत्तरआधुनिक बहसको सबभन्दा पहिलो चरण राज्य प्रणाली जनकेन्द्रित नभएर सत्ता केन्द्रित भएको भन्ने नै हो ।  सत्ता केन्द्रित राजनीति कुरूप, आकृतिक विहीन र दिशा विहीन हुन्छ ।  यसले तरलताको स्वरूप अङ्गीकार गरिरहेको ‘उत्तरको तेल’ र ‘दक्षिणको मेल’ नीति विफल भएको छ ।  ‘उत्तरको नासो’ र ‘दक्षिणको चासो’ जस्ता चिन्तनले राष्ट्रियता ओझेलमा परेको छ ।  ‘उत्तरको आशावाद’ र ‘दक्षिणको आशिर्वाद’ को घनचक्कर देखेर पश्चिमा मुलुकहरू नेपालका लागि प्रभु यशुको प्रार्थना नेपालभित्रै बसी गरिरहेको सबैको अगाडि छर्लङ्ग छ ।
उत्तरआधुनिक राजनीतिक संस्कार निर्माण र विनिर्माण
विगतमा राजसंस्था विनिर्माणको बहसमा नेपाली काँग्रेस, एमाले र माओवादीहरू एक जुट भए र सो संस्था विनिर्मित भयो ।  राजसत्ता काँग्रेसले निर्माण गर्दा उत्तरआधुनिक बहस ‘टाउकोको मोल तोक्ने र तोकिने’, ‘टाउको काट्ने र काटी माग्ने’, ‘बम हान्ने र बम हनाइबाट पीडित’, ‘पति मार्ने र गुमाउने’ मा केन्द्रित भयो ।  यही परिवेशमा बृहत शान्ति सम्झौताको निर्माण भयो ।  त्यसलाई पछ्याउँदै हाल आएर शक्ति र सत्ताका निर्माण र विनिर्माणको प्रक्रिया अगाडि बढिरहेको छ ।  आज आएर निर्माण र विनिर्माण गर्ने मुख्यकर्ताहरू ‘निर्माण–विनिर्माण’ को विरवली शैलीको खिचडी पकाइरहेकै छन् ।  माओवादी केन्द्र र एमाले राज्य सत्ताको विनिर्माणपछि माओवादी केन्द्र र नेपाली काँग्रेसको सत्तासमीकरणको बहस नेपाली चिया केन्द्रमा चलिरहेको छ ।  यी दुवै दलले आफ्ना अवधारणा, नीति, सिद्धान्त र विधिको विनिर्माण गरेर एक नयाँ राजनीतिक आकृति दिएका छन् ।  यो आकृति महाभारतको युद्धमा अर्जुनलाई श्रीकृष्णले देखाएको विराट रूपजस्तो सरकारी स्वरूप सारा नेपालीले सजग भएर हेरिरहेका छन् ।  विराट रूपमा एक अचम्मको चित्र छ, त्यो हो बोकाको टाउको भएको आकृति– दक्ष प्रजापति ।  चित्र हेर्नेहरू सबैको ध्यान पहिले त्यसैतर्फ जान्छ ।  यो टाउको अरू टाउको भन्दा भिन्न विचार, अवधारणा, सिद्धान्त र विधिबाट निर्देशित भए पनि यस स्वरूपले विश्वलाई एक अति उत्तरआधुनिक राजनीतिक बहसको उदाहरण प्रदान गरेको छ ।  त्यसको मूल भाव हो, उत्तरआधुनिक सत्ता निर्माणमा कुनै पनि वस्तु काम नलाग्ने हुँदो रहेछ ।
उत्तरआधुनिक बहसअनुसार निर्माण गर्दा विनिर्माणबाट प्राप्त जुनसुकै तŒवहरू अनुकूलता र औचित्यको आधारमा खाली ठाउँमा राख्न मिल्दो रहेछ ।  यसैको परिणाम स्वरूप यहाँ विचार, अवधारणा, सिद्धान्त र विधिको प्रयोजनविना नै एउटा अनौठो राज्यसत्ताको आकृति हाम्रो अगाडि खडा भएको छ ।  यो उत्तरआधुनिक प्रजातन्त्रको उत्कर्ष नमुना हो ।  ‘जयनेपाल’ र ‘लाल सलाम’ को यस ‘फ्युजन’ ले संसारलाई उत्तरआधुनिक प्रजातन्त्रको उत्कृष्ट नमुना देखाइदिएको छ ।  यसको बाँकीटाँकी पक्ष ‘चियाशास्त्र’ र ‘गफशास्त्र’लाई नै छोडिदिनु उपयुक्त होला ।
राष्ट्रियता, सङ्घीयता र क्षेत्रीयता
राष्ट्र भनेको देशको सिमानाभित्र र बाहिर रहेका नेपालीहरूको भाषा, संस्कृति, संस्कारसँग जोडिएको एक पहिचान हो ।  राष्ट्रियता भनेको यी कुराहरू आत्मसात गरेर उत्पन्न भएको नेपाली भावना हो, जोस हो, जाँगर हो, पन र पहिचान हो ।  यो एक झर्रो नेपाली स्वरूप हो ।  त्यो पञ्चहरूले बोकेको जस्तो ‘उग्र ओठे राष्ट्रवाद’, एमालेले उठाएको ‘चोइटे राष्ट्रवाद’ काँग्रेसले उठाएको जस्तो ‘विरासती राष्ट्रवाद’ र माओवादीले उठाएको ‘अलमल र ढलमल राष्ट्रवाद’ अवश्य पनि होइन ।
सङ्घीयता भनेको केन्द्रिकृत राज्यको शक्तिको विनिर्माण गरी सत्ता, शक्ति, स्रोत, साधन तथा भौगोलिक स्वरूपको न्यायपूर्ण निर्माण गर्नु भन्ने बुझिन्छ ।  यो प्रजातन्त्रको नै एक अङ्ग मानिएको छ ।  यो विकराल रूप भएको उग्र सङ्घवाद होइन ।  उग्र सङ्घवादसँग भने हामी सतर्क र सजग रहनैपर्छ ।
उत्तरआधुनिक बहसमा क्षेत्रीयताको अर्थ सानासाना राष्ट्र निर्माण, विकास र प्रवद्र्धन गर्नु हो ।  क्षेत्रीयतालाई स्वायत्ततातर्फ लैजानु र यसको निर्माण गर्नु प्रजातन्त्रमा पाच्य नै मानिन्छ तर छोटी राष्ट्रको निर्माण गरी त्यसलाई स्वतन्त्रतातर्फ डो¥याउनुलाई क्षेत्रवाद भनिन्छ ।  क्षेत्रीयता र क्षेत्रवादको बहस पनि चियाशास्त्र र गफशास्त्रबाट नै निक्र्योल हुने अपेक्षा गरिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना