वेदविज्ञान र महर्षि विश्वामित्र

kamal rijalकमल रिजाल









वैदिक वैज्ञानिकहरूमा महर्षि विश्वामित्र पनि अग्रपङ्क्तिमै पर्छन् ।  ज्ञान र विज्ञानका विशिष्ठ धरोहर मानिने यी महर्षि वैदिक मन्त्रद्रष्टा ऋषि पनि हुन् ।  ऋग्वेद संहिता तृतीय मण्डलका द्रष्टा उनी नै मानिएका छन् ।  कुल ६२ वटा सूक्त रहेको यस मण्डलमा जम्माजम्मी ४६० वटा मन्त्र छन् ।  विश्वामित्रद्वारा साक्षात्कार गरिएका मन्त्रहरूको सँगालो भएकाले यस मण्डललाई वैश्वामित्रमण्डल भन्ने गरिएको पनि पाइन्छ ।  इन्द्र, अदिती, अग्नि, उषा, अश्विनिकुमार र ऋभु आदि देवी–देवताको प्रार्थना गरिएका यी मन्त्रहरूमार्फत महर्षि विश्वामित्रले त्यतिबेलै यति बढी वैज्ञानिक रहश्यको द्वार खोलिदिएका छन् कि कतिपय प्रसङ्गमा आधुनिक वैज्ञानिकहरू भरखरै त्यसको वरिपर बामे सर्ने तरखर गरिरहेका देखिन्छन् ।  उनका मधुच्छन्दा, धनञ्जय आदि छोराहरू पनि ज्ञान र विज्ञानले उत्तिकै सम्पन्न रहेका छन् ।  उनीहरूद्वारा लेखिएका मन्त्रहरू ऋग्वेदकै प्रथम, नवौ र दशौँ मण्डलमा प्रशस्तै दृष्टिगोचर हुन्छन् ।  (कल्याण वेदकथाङ्क पृष्ट ३९९)
पुरुषार्थ, लगन, उद्यम, त्याग, तपस्या र परोपकारको सङ्गमका रूपमा रहेका यी महर्षिको चर्चा वैदिक संहिताहरूमा मात्र नभई ब्राह्मण तथा आरण्यक र पौराणिक ग्रन्थहरूमा समेत प्रशस्तै भएका छन् ।  मानव समाजमा गायत्री महामन्त्रको कति ठूलो स्थान र सम्मान छ भनिरहनु पर्दैन ।  प्राकृतिक रहस्यको प्रचुर भण्डार मानिने यस मन्त्रको द्रष्टा पनि उनै हुन् ।  यसको उल्लेख उनले ऋग्वेद तृतीय मण्डलको अन्तिम अर्थात् ६२ औँ सूक्तको दशौँ मन्त्रमा गरेका छन् ।  २४ अक्षरद्वारा गुम्फित यस मन्त्रका २४ वटै मुद्रा, ग्रन्थी, शक्ति, देवता र तिनका फल रहेका छन् ।  
गायत्री मन्त्रमा आउने सवितुरको ‘स’ देखि प्रचोदयात्को ‘यात्’ सम्म २४ अक्षरमा रहेका ग्रन्थीहरूमा तापिनी, सफलता, विद्या, तुष्टि, वरदा, रेवती, सूक्ष्म, ज्ञान, भर्गो, गोमती, देविका, बाराही, सिंहनी, ध्याना, मर्यदा, स्फुटा, मेधा, योगमाया, योगिनी, धारिणी, प्रभवा, उष्मा, दृष्या, निरञ्जन आदि पर्छन् भने तिनका शक्तिमा सफलता, पराक्रम, पालन, कल्याण, योग, प्रेम, धन, तेज, रक्षा, बुद्धि, दमन, निष्ठा, धारणा, प्राण, संयम, तप, दूरदर्शिता, जागृति, उत्पादन, सरसता, आदर्श, साहस, विवेक, सेवा आदि रहेका छन् ।  (गायत्री महा विज्ञान, लेखक श्रीराम शर्मा आचार्य नेपाली अनुवाद कृष्णबहादुर सिंह पृष्ठ ११) त्यस्तै गायत्रीका २४ अक्षरका देवताहरूमा गणेश, नृसिंह, विष्णु, शिव, कृष्ण, राधा, लक्ष्मी, अग्नि, इन्द्र, सरस्वती,, दुर्गा, हनुमान, पृथ्वी, सूर्य, राम, सीता, चन्द्रमा, यम, ब्रह्मा, वरुण, नारायण, हयग्रीव, हंस र तुलसी हुन् भने तिनले दिने फलहरू पनि उनीहरूकै स्वभावअनुसार क्रमशः विघ्ननाश, शत्रुनाश, दया, कल्याण, योग, प्रेम, धनधान्य वृद्धि, प्रकाश, रक्षा, दूरदर्शिता, विजय, कर्तव्यपरायणता, गम्भीरता, निरोगिता, मर्यादा, पवित्रता, शितलता, निर्भयता, सन्तानवृद्धि, भावुकता, संयमी, उत्साहवृद्धि, सन्तोषी र शान्ति आदि रहेका छन् ।  ऐ ऐ पृष्ठ २६३)
तपस्या र योगवलले क्षत्रीय राजा विश्वरथबाट बाह्मण र राजर्षि हुँदै अन्ततः मह्मर्षि बन्न पुगेका महर्षि विश्वामित्रले भगवान् रामलाई शास्त्रविद्या र शस्त्रविद्यामा पारङ्गत गराउने काममात्र गरेका छैनन्, ब्रह्माण्डमा अर्कै स्वर्ग रचना गरी राजा त्रिशङ्कुलाई बसाउने कामसमेत गरेका छन् ।  राम र सीताको स्वयम्बर गराउन पनि उनै पुगेका छन् भने लामो समयदेखि पति गौतमको श्रापको कारण शिला बनेर बसेकी अहल्याको उद्धार गराउन पनि उनी नै तम्सेका छन् ।  राजा हरिश्चन्द्रको यज्ञमा बलि दिन लागिएको अजिगर्त ब्राह्मणपुत्र शुनशेफलाई बचाउने काम पनि उनैले गरेका छन् भने राजा हरिश्चन्द्रलाई सशरीर स्वर्ग पठाउनेजस्ता अलौकिक चमत्कार देखाएका छन् ।  यसबाहेक उनी हालको मन्वन्तरको सप्तऋषिमा पनि पर्छन् ।  उनीबाहेक यस मन्वन्तरका सप्तऋषिमा कश्यप, अत्रि, भरद्वाज, गौतम, यमदग्नि र वसिष्ठ रहेका छन् ।  श्रीमद्भागवतमा उल्लेख भएअनुसार ग्रहमण्डलभन्दा माथि ११ योजन (४४ कोष) पर रहेर ध्रुव लोकको परिक्रममा गर्ने यी सप्तर्षिले त्यहीँबाट अखिल विश्वब्रह्माण्डको गति र स्थिति व्यवस्थित गर्दै आएका छन् ।  
ऋग्वेद ३ ।  २९ ।  १५ मा उल्लेख भएअनुसार विश्वामित्र प्रजापतिको जेठा छोरा कुशिकका वंशज मानिएका छन् तर श्रीमद्भागवतको ९ ।  ४ मा उल्लेख भएअनुसार भने उनी चन्द्रवंशी राजा अजकका छोरा कुशका वंशज मानिएका छन् ।  यहाँनेर कतिलाई यस्तो फरक किन भन्ने पनि लाग्न सक्छ तर यी दुई भनाइबीच ताìिवक भिन्नता छैन र विभिन्न कालखण्डमा आएका भनाइहरूमा त्यति हदसम्मको भिन्नतालाई अस्वाभाविक मान्न पनि हुँदैन ।  जे होस् कुशिकका सन्तान भएकाले उनलाई कौशिक पनि भनिन्छ ।  उनी कौशिक गोत्रका प्रवर्तकमा पनि पर्छन् ।  हाल ढुङ्गाना, डाँगी, पाठक, धिताल आदि झण्डै पाँच दर्जन थर कौशिक गोत्रीय परिवारभित्र देखिएका छन् ।  त्यसैले ती सबै उनकै गोत्रीय परिवार मानिन्छन् ।  उनका धनञ्जय आदि केही छोरा पनि गोत्र प्रवर्तकमै रहेका छन् ।  त्यसैले धनञ्जय गोत्रीय खुलाल, गुरागाईं, हुमागाईं, धमला, पँगेनी, बस्याल, भूसाल, रिजाल, मरासिनी आदि दर्जानौँ अन्य थर पनि उनकै पारिवारिक सदस्यभित्र पर्छन् ।  ऋग्वेद तृतीय मण्डल सूक्त २६ को मन्त्र १ र २ तथा ऐ ऐ ३३ औँ सूक्त र ५३ औँ सक्तमा उनी र उनका पूर्वज कुशिक वंशबारे विशेष उल्लेख भेटिन्छ ।  त्यसमा पनि ३ ।  २९ ।  १५ र ३ ।  ५३ ।  ९ मा तपस्याको बलले संसारको स्वरूप देखाउने वा बदल्न सक्नेदेखि परिआएको बेला समुद्रको गतिलाई नै रोकेर दैवीशक्ति र सत्ताप्रबद्र्दन गर्न सक्नेजस्ता विशेषणद्वारा उनको पराक्रमको जसरी व्याख्या र विश्लेषण भएको छ निःसन्देह त्यो वर्णनातीत छ ।  
वैदिक मन्त्रद्रष्टा ऋषिहरूको सङ्ख्या ४०३ रहेको पाइएको छ ।  यीमध्ये ८८ वटा ऋषि एकल देखिएका छन् भने ३१५ वटा ऋषिको गणना पारिवारिकमा गरिएको छ ।  विश्वामित्र पनि पारिवारिकमै पर्छन् ।  पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार विश्वामित्रका १०० भाइ छोरा छन् ।  यसमध्ये राजा हारिश्चन्द्रको यज्ञबाट बचाएर ल्याइएको शुनशेफलाई दाजु मान्न अस्वीकार गर्दा उनले शुरुका ५० भाइलार्ई म्लेच्छ बनाएर पठाएका थिए भने बाँकी मधुच्छन्दा, धनञ्जय आदि ५० भाइमा केही गोत्रप्रवर्तक र केही वैदिक मन्त्रद्रष्टा ऋषिको रूपमा देखिए ।  
कल्याण धर्मशास्त्राङ्कमा उल्लेख भएअनुसार वैदिक मन्त्रबाहेक विश्वामित्रका ‘विश्वामित्रकल्प’, ‘विश्वामित्र संहिता’ र ‘विश्वामित्र स्मृति’ आदि अन्य ग्रन्थ पनि भेटिएका छन् ।  स्मृति ग्रन्थमा खासगरी कण्वस्मृति, भरद्वाजस्मृति, मनुस्मृति, याज्ञवल्क्यस्मृति, व्यासस्मृति आदि विशेष उल्लेखनीय मानिन्छन् ।  तिनमा पनि गायत्री मन्त्रसाधना र उपासनाको क्षेत्रमा विश्वामित्र स्मृति विशेष आधिकारिक मानिन्छ ।  कुल सात अध्यायमा विभाजित यस ग्रन्थमा ४७५ श्लोक छन्, जहाँ सन्ध्यावन्दन तथा गायत्री साधना र तिनको फलबारे सम्यक् विवेचना भएका
छन् ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना