टिङ्कर नाका वन्यजन्तुको अवैध व्यापार मौलाउँदै

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ , पुस १८ गते ।  अति विकट, मानव बस्तीविहीन र राज्यको समेत उपस्थिति नभएको स्थान चोरी, तस्करी र अवैध व्यापार गर्नेका लागि उपयुक्त स्थान मानिन्छ ।  यो कुरालाई दार्चुला जिल्लाको उत्तरी नाका टिङ्कर क्षेत्रमा पछिल्ला दिनमा भइरहेका चोरी शिकार र अवैध व्यापारका घटनाले प्रमाणित गरिदिएको छ ।  
यातायातको असुविधा, प्रहरी प्रशासनको शून्य उपस्थिति, स्थानीय बासिन्दाको आँखा पर्न नसक्ने स्थानलाई चोरी शिकार तथा अवैध व्यापारमा संलग्न समूहले बढी प्रयोग गर्ने गरेको सरकारी निकायका विभिन्न अध्ययनले देखाए पनि भौगोलिक विकटता र विषम हावापानी कारणले यो नाकामा राज्यका निकायले आफ्नो प्रभावकारी उपस्थिति जनाउन नसक्दा त्यस्ता समूहका गतिविधि बढिरहेका छन् ।
टिङ्कर नेपाल, भारत र चीनबीचको पराम्परागत व्यापार हुने त्रिदेशीय नाकाका रूपमा चिनिदै आएको छ ।  यातायातको सुविधासँगै तीनवटै देशबीच व्यापार गर्न अरू नाका चलनचल्तीमा आएसँगै वैध व्यापार गर्ने व्यक्तिका लागि यो नाका पुरानो र अपायक हुँदै आएको छ ।  यद्यपि यही मौका छोपेर अवैध व्यापार गर्ने र विशेषगरी वन्यजन्तुको चोरी तस्करी गर्ने समूहका लागि भने यो नाका निकै मौलाउँदै आएको छ ।  
सरकारले त्रिदेशीय टिङ्कर नाकासहित अपीनाम्पा क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु, लोपोन्मुख वनस्पति तथा बहुमूल्य जडीबुटी तथा जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले अपीनाम्पा संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  सरकारको उपस्थितिपछि केही मात्रामा चोरी शिकार तथा अवैध व्यापारका घटनामा नियन्त्रण आएको सरकारी अधिकारीले दाबी गरे पनि पछिल्ला केही वर्षमा यस्ता घटनाको सङ्ख्या बढिरहेको छ ।
अपीनाम्पा संरक्षण क्षेत्र र त्यसको मध्यवर्ती क्षेत्रका बासिन्दालाई संरक्षण अभियानमा प्रत्यक्ष र प्रभावकारी सहभागिता गराउन अपीनाम्पा संरक्षण परिषद् गठन गरिएको छ ।  परिषद्मा निर्वाचित पदाधिकारी नै चोरी शिकार र बहुमूल्य जडीबुटीको अवैध व्यापारमा प्रत्यक्ष संलग्न भएको भेटिएपछि यो नाकामा हुनेगरेको अवैध व्यापार अझै कायम रहेको पुष्टि हुन्छ ।  
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीका अनुसार, पूर्वको ओलाङचुङगोला, रसुवा, मनाङ र हुम्ला नाकामा प्रहरी प्रशासनले बढी कडाइ र स्थानीय बासिन्दाले निगरानी गर्न थालेपछि गरेपछि तस्कर समूहले पश्चिम नेपालको टिङ्कर नाकालाई बढी प्रयोग गर्न थालेका छन् ।  tinkar naka
तीन देशको नाका भएकाले एउटा देशबाट चोरी शिकार गरेको वन्यजन्तुका अङ्ग तथा बहुमूल्य सामान अरू देशमा सहजै पार गराउन सकिने भएकाले अरू नाकाभन्दा यो नाका बढी प्रयोग हुनथालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।  
केही महिनाअघि अवैध व्यापारमा प्रत्यक्ष संलग्नता देखिएका परिषद्का पदाधिकारीले संरक्षण क्षेत्र कार्यालयका कर्मचारीलाई मुद्दा नचलाउन चर्काे दबाब मात्र दिएनन्, मुद्दा चलाएको भन्दै संरक्षण क्षेत्र कार्यालयका जिम्मेवार कर्मचारीको सरुवा गर्न मन्त्रालय र राजनीतिक दलका नेतृत्व तहसम्म पुगेको चर्चाले नेपालको संरक्षण अभियानमा धक्का दिएको आभास हुन थालेको छ ।
चोरी तस्करीमा परिषदका जिम्मेवार पदाधिकारीको प्रत्यक्ष संलग्नता देखिएपछि सरकारी अधिकारीले मात्र के गर्न सक्छन् र ? संरक्षण अभियानमा सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको हुन्छ ।  स्थानीय समुदाय सजग नभएसम्म सरकारी निकायले सञ्चालन गरेका सीमित कार्यक्रमले मात्र संरक्षणमा प्रतिफल प्राप्त गर्न सकिँदैन ।  त्यसैले स्थानीय समुदायसँग मिलेर संरक्षण कार्यक्रम सञ्चालनको नीति सरकारले लिँदै आएको छ ।
पाँच वर्षयता वन्यजन्तुका अङ्गको अवैध व्यापारको स्थिति हेर्दा सबैभन्दा बढी परिमाणमा र सबैभन्दा बढी बहुमूल्य वस्तुको ओसार पसार भएको नाका यही मानिन्छ ।  बाघका छाला, हड्डी र दाँत, गैंडाको खाग, कस्तुरी मृगलगायतका दुर्लभ वन्यजन्तुका अङ्ग र बहुमूल्य यार्सागुम्बाको अवैध व्यापारमा संलग्न एक सय जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।  
पक्राउ पर्ने व्यक्तिको सङ्ख्या, परिमाण र त्यसको मूल्य हेर्दा यो नाका नेपालकै सबैभन्दा बढी चोरी शिकार भएका वन्यजन्तुको अवैध व्यापार हुने नाकाका रूपमा देखिएको छ ।  दार्चुलाबाहेक बझाङ, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र बाँकेको कोहलपुरसम्म प्रहरी, वन कर्मचारी, आरक्ष प्रशासनद्वारा अवैध सामानसहित पक्राउ परेकाहरूले बयानका क्रममा टिङ्कर नाकाबाट सामान ओसारपसार गर्ने गरेको बताएको सरकारी अधिकारीले जनाएका छन् ।
यद्यपि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का संरक्षण क्षेत्र कार्यालयको स्थापनापछि चोरी शिकारका साथै अवैध सामानको ओसारपसारका घटनामा कमी आएको दाबी गर्नुहुन्छ ।  उहाँका अनुसार, विभागको उपस्थितिले स्थानीय समुदाय पनि सक्रियरूपमा वन्यजन्तुको संरक्षण र बहुमूल्य जडीबुटीको दोहन रोक्न सक्रिय हुँदै आएकाले विगतका भन्दा पछिल्ला दिनमा संरक्षणमा प्रभावकारी काम भइरहेका छन् ।
उहाँले भन्नुभयो, “भौगोलिकरूपमा निकै विकट र सरकारी निकायहरूको उपस्थिति हुन नसकेको अवस्थामा अवैध व्यापारका लागि मौलाएको यो नाका नेपालको मात्र नभई भारत र चीनका लागि पनि चुनौतीपूर्ण देखिएको छ ।  तीनवटै देशको साझा संयन्त्र निर्माण गरी यो नाकाबाट हुने चोरी शिकार नियन्त्रण, अवैध व्यापार नियन्त्रण र वन्यजन्तु तथा वन, वनस्पति संरक्षण गर्ने कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्नु जरुरी देखिन्छ ।
हाल अपीनाम्पा संरक्षण क्षेत्रमा कैलाश संरक्षण तथा विकास कार्यक्रममार्फत चोरी शिकार नियन्त्रणका लागि प्रशासनिक निकायका साथै स्थानीय समुदाय परिचालन, संरक्षणमुखी कार्यक्रम, सामुदायिक विकास तथा जीविकोपार्जनलगायतका कार्यक्रम सञ्चालन भइरहेको विभागले जनाएको छ ।   
चोरी शिकार हुने र वन्यजन्तुलगायतका अन्य बहुमूल्य वस्तुको अवैध व्यापार हुने चारवटा नाकामा संरक्षण क्षेत्र कार्यालयले सेक्टर कार्यालय स्थापना गरेको छ ।  दार्चुलाको खार, सुनसेरा, दुम्लिङ्ग र गुल्जर क्षेत्रमा सेक्टर कार्यालयका भवन निर्माण गरी सुरक्षा र प्रशासनिक कर्मचारी स्थायीरूपमा बस्नथालेको संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।  



कर्मचारीको अभाव हुन दिन्न
मनबहादुर खड्का
महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

टिङ्कर नेपालको मात्र नभई भारत र चीनसमेतका लागि ज्यादै संवेदनशील नाका हो ।  त्यसैले यो क्षेत्रमा पाइने विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा रहेका वन्यजन्तु, जडीबुटी र समग्र जैविक विविधता संरक्षण गर्ने उद्देश्यले संरक्षण क्षेत्र घोषणा गरिएको हो ।  संरक्षण क्षेत्र घोषणा गरेको पनि धेरै समय भएको छैन ।  हाम्रो उपस्थितिले पहिलेको जस्तो बेथिति यो नाकामा छैन ।  धेरै कुरा नियन्त्रणमा आइरहेका छन् ।  अवैध व्यापार र चोरी शिकारलाई नियन्त्रण गर्ने काममा खटिने कर्मचारीको अभाव नै प्रमुख समस्याका रूपमा देखिएकाले तत्काल कर्मचारीको व्यवस्थापन गर्ने काममा विभाग लागिपरेको छ ।  संरक्षणका लागि कर्मचारीको उपस्थिति अनिवार्य हुने भएकाले विभागले अपीनाम्पामा कर्मचारीको तत्काल व्यवस्था गर्ने योजना बनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना