निर्वाचनको अपरिहार्यता

 laxaman pantaलक्ष्मणदत्त पन्त



प्रमुख राजनीतिक दलहरूले आफू अनुकूल मतपरिणाम नआउने वातावरण नबन्दासम्म निर्वाचनमा जान बहानाबाजी गर्ने विषय निर्वाचनका लागि मात्र होइन, समग्र लोकतान्त्रिक पद्धतिकै लागि घातक छ ।  
स्वतन्त्र, निष्पक्ष तथा अद्यावधिक निर्वाचन लोकतन्त्रको आधार हो ।  अद्यावधिक रूपमा निर्वाचन नहुँदा अराजकता फैलिने, मनपरी बढने, कानुनी शासन र मानवअधिकारका सवाल ओझेलमा पर्ने तथा राज्य संयन्त्र कमजोर भई जनआन्दोलन र बलिदानीमार्फत प्राप्त स्वतन्त्रता नै गुम्ने खतरा रहन्छ ।  झण्डै १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुँदा राज्यका साधनस्रोतको दुरूपयोग भई भ्रष्टाचार र राजनीतिक संयन्त्रका नाममा मनपरीतन्त्र मौलाएको विषयले आमनागरिकमा असन्तुष्टि बढेको छ ।  परिवर्तित सन्दर्भमा नेपालसामु संविधानको मर्मअनुसार आगामी एक वर्षभित्र स्थानीय, प्रादेशिक र केन्द«ीय तहका गरी तीनओटा बेग्लाबेग्लै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी छ तर प्रमुख राजनीतिक दलबीच राजनीतिक सहमति तथा निर्वाचनसम्बन्धी विद्यमान कानुनको समयानुकूल परिमार्जनका लागि ठोस पहल नहुँदा निर्वाचनको मिति तोकिएर प्राविधिक तयारीको प्रक्रिया अघि बढ्ने विषय नै आझेलमा परेको छ ।  
देशभित्र र बाहिरबाट विभिन्न स्वार्थ समूहले राजनीतिक सङ्क्रमणको फाइदा उठाउने अवसर खोजिरहेको र आमनागरिकमा असन्तुष्टि बढिरहेको सन्दर्भमा संवैधानिक प्रावधानअनुसार निर्वाचनको मिति तोक्ने र त्यसअनुसार कार्यतालिका तय गरी अघि बढनुको विकल्प छैन ।  तीनओटै तहका निर्वाचन एकैपटक गर्न सक्ने स्थितिसमेत नरहेको सन्दर्भलाई नजरअन्दाज गर्न मिल्दैन ।  गत हप्ता संसदीय समितिले स्थानीय तहको निर्वाचनको मिति तोकी निर्वाचन सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।  विगतमा संसद् र संसदीय समितिले विभिन्न सन्दर्भमा दिने गरेका निर्देशनको अवमूल्यन भएको इतिहास निर्वाचनजस्तो जनमत सङ्कलन गरिने विषयमा पनि दोहरिए सरकार र राजनीतिक दलहरूप्रति जनविश्वास गुम्नेमात्र होइन्, प्राप्त राजनीतिक उपलब्धिमाथि धावा बोल्नेको सङ्ख्यामा वृद्धि हुनेछ ।  यस परिप्रेक्ष्यमा तीनओटै तहका निर्वाचन सम्पन्न गर्न केही महŒवपूर्ण विषयमा गम्भीर समीक्षा र तयारी गरिनु अपरिहार्य छ ः
 राजनीतिक समझदारी ः संविधानअनुसार निर्वाचनको मिति तोक्न सत्ता साझेदार तथा विपक्षी दलहरूबीच अविलम्ब राजनीतिक सझदारी हुनु जरूरी छ ।  दलहरूले आफ्नो अनुकूलतामा मात्रै समझदारीको रटान गर्ने तर निर्वाचन एक अनिवार्य वैध प्रक्रिया हो र अनुकूल वा प्रतिकूल दुवै वातावरणमा निर्वाचनमा सहभागि हुनुपर्छ भन्ने हेक्का राख्नैपर्छ ।  दलहरूबीच निर्वाचनबारे समझदारी नहुनु र संविधानमा भनिएअनुसार तीनओटै तहका निर्वाचनको मिति नतोकिनुले राजनीतिक अन्योलतालाई प्रसय दिन्छ ।  प्रमुख राजनीतिक दलहरूले आफू अनुकूल मतपरिणाम नआउने वातावरण नबन्दासम्म निर्वाचनमा जान बहानाबाजी गर्ने विषय निर्वाचनका लागि मात्र होइन, समग्र लोकतान्त्रिक पद्धतिकै लागि घातक छ ।  निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया हो भन्ने विषयलाई हृदयङ्गम नगर्दासम्म निर्वाचनको रटान मात्रै रहने र वास्तविक अर्थमा निर्वाचन मिति नै नतोकिने हुन्छ ।  फलस्वरूप जनमत मापन पनि नहुने र राजनीतिक अस्थिरता बढन गई लोकतन्त्रविरोधी आन्तरिक तथा बाह्य शक्तिहरूले राजनीतिक सङ्क्रमणको फाइदा उठाउने वातावरण सिर्जना हुन्छ ।  
कानुन निर्माण तथा परिमार्जन ः संसद्ले निर्वाचनसँग सम्बन्धित ऐन तथा कानुनको अध्यावधिक निर्माण तथा परिमार्जन नगरून्जेलसम्म निर्वाचनको स्वीकार्यता बढाउन सकिँदैन ।  समग्र निर्वाचन प्रणाली र मुख्यगरी समानुपातिक निर्वाचन प्रणालीमा समयसापेक्ष परिमार्जन गरिनुपर्छ ।  संविधान निर्माणका लागि विगतमा गरिएका संविधानसभाका दुईओटै निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ थ्रेसहोल्ड नराखिएका कारण कुनै पनि दलको बहुमत नआउने स्थिति पैदा भई राजनीतिक सङ्क्रमण र अस्थिरता लम्बिएको यथार्थ कसैबाट लुकेको छैन ।  वञ्चित समुदाय र पछि पारिएका वर्ग र क्षेत्रको सहभागिता सुनिश्चित हुने वातावरण कायम नै राखेर पनि विश्वका थुप्रै देशमा समानुपातिकतर्फ थ्रेसहोल्डको व्यवस्था गरिएकै छ ।  निर्वाचन क्षेत्र निर्धारण, निर्वाचनको प्राविधिक व्यवस्थापन, पर्यवेक्षण, राज्यकोषको प्रयोगलगायतका विषयमा समेत आवश्यक गृहकार्य गरी तत्काल कानुन निर्माण र परिमार्जनको बाटोमा अघि बढनुपर्छ ।  
प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण ः अहिले गर्ने भनिएका तीनओटै निवार्चनमध्ये सबैभन्दा जटिलता प्रादेशिक निर्वाचनमा रहेको छ ।  प्रदेशकै सङ्ख्यामा व्यापक विवाद र मतभेद रहेको सन्दर्भमा सहमतिपश्चात् निर्धारण हुने प्रदेशस्तरीय निर्वाचन क्षेत्रका बारेमा यथाशीघ्र आमसहमति कायम नहुँदासम्म अन्योलता जारी नै रहने देखिन्छ ।  यस सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलहरूबीच प्रादेशिक निर्वाचनपूर्व नै व्यावहारिक रूपमा सर्वस्वीकार्य निर्वाचन प्रणालीमार्फत निर्वाचन क्षेत्र निर्धारण हुनु अति आवश्यक छ ।  निर्वाचन क्षेत्र निर्धारणका सन्दर्भमा रहेको विवाद र अन्योलता अन्त्य नगरी प्रदेशस्तरीय निर्वाचन सम्भव छैन ।
निर्वाचनसम्बन्धी नागरिक शिक्षा ः निर्वाचनमा सहभागि हुन योग्य १८ वर्ष पुगेका नेपाली नागरिकका बीचमा निर्वाचनमा सक्रिय सहभागिता वृद्धि गर्न निर्वाचनसम्बन्धी नागरिक शिक्षा कार्यक्रमलाई प्रभावकारीमा रूपमा सञ्चालन गरिनुपर्छ ।  निर्वाचनमा मतदाताको सचेत र सक्रिय सहभागिता सुनिश्चित नहुञ्जेलसम्म जनमत दिगो र स्थायी हुँदैन ।  राजनीति र समग्र राजनीतिक प्रणालीबारे नेपालको युवाजमातमा निरासा रहेको छ, फलस्वरूप निर्वाचनमा सक्षम मतदाताको सहभागिता न्यून रहँदै आएको छ ।  निर्वाचन मिति तोकिँदा मात्रै प्रचारात्मक शैलीमा निर्वाचन सचेतना शिक्षा सीमित सञ्चार माध्यममार्फत सञ्चालन गरिएकाले पनि ग्रामीण तहका योग्य मतदाताले जनमत व्यक्त गर्न नपाएको इतिहास साक्षी छ ।  उमेर पुगेका योग्य मतदाताको निर्वाचनमा सक्रिय सहभागिता सुनिश्चित गर्न दीर्घकालीन रूपमै निरन्तर मतदाता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नेतर्फ सरोकारवाला सबैको ध्यान पुग्नु जरूरी छ ।  
सुरक्षा तथा स्वीकार्यता ः निर्वाचनमा सुरक्षित रूपमा ढुक्क भएर सहभागि हुने वातावरण सिर्जना हुन आवश्यक हुन्छ ।  डर, त्रास र धम्कीकाबीच सम्पन्न हुने निर्वाचनले निष्पक्ष र स्वतन्त्र निर्वाचनको प्रत्याभूति गर्न सक्दैन ।  यसका लागि सबै तहका सुरक्षा निकायसँग समयमै निर्वाचनका विषयमा निरन्तर सुरक्षा संवाद हुनु र त्यसअनुसार कार्ययोजना तयार गरी नागरिक सुरक्षाको रणनीति तय हुनुपर्छ ।  निर्वाचन परिणाम आफ्ना पक्षमा आउँदा स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको प्रचार गर्ने र पराजित भए निर्वाचन परिणाम स्वीकार गर्न आनाकानी गर्ने परिपाटीले राजनीतिक दलहरूप्रतिको नागरिक विश्वास घट्दो छ ।  निर्वाचनमा मतदाता र सरोकारवाला सबैको सुरक्षाको प्रत्याभूति भई निर्वाचन परिणामलाई सहजतापूर्वक स्वीकार गर्ने संस्कृतिको विकास हुनु आवस्यक छ ।  
स्वतन्त्र पर्यवेक्षण तथा अनुगमन ः स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि स्वतन्त्र निकायमार्फत निर्वाचनको पर्यवेक्षण तथा अनुगमन गरिनुको विकल्प छैन ।  कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएका र ती दलहरूको स्वार्थअनुरूप कार्य नगर्ने स्वतन्त्र निकाय र विज्ञ संलग्न पर्यवेक्षण तथा अनुगमन संयन्त्रको तयारीगरिएमात्र स्वतन्त्र रूपमा निर्वाचनको पर्यवेक्षण सम्पन्न हुन सक्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना