विश्व अर्थतन्त्रमा परिवर्तनको बादल

Junar_babuजुनारबाबु बस्नेत





पात्रो फेरियो ।  सन् २०१६ ले बिदा लिएको छ ।  सन् २०१७ प्रारम्भ भयो ।  गएको वर्ष विश्व अर्थतन्त्रमा केही नवीन प्रवृत्ति देखा परे ।  विश्व राजनीतिका केही फरक परिघटनाले अर्थतन्त्रमा भूमरी पारेको छ ।  अमेरिकामा डोनाल्ड ट्रमको राजनीतिक उदय र बेलायतको युरोपेली सङ्घबाट बर्हिगमन दूरगामी महŒवका र कतिपय अर्थमा चिन्ताजनक विषय बन्दै छन् ।  लामो अन्तरालपछि देखिएका यस्ता केही नवीन राजनीतिक प्रवृत्तिले अर्थतन्त्रलाई पनि प्रभावित गरिरहेको छ ।  सन् २०१६ का कतिपय परिघटनाले अर्थतन्त्रको भावी दिन अनौठो दिशानिर्देश गर्नेछ ।  यस्ता कतिपय नवीन परिवेशबाट नेपाललाई समेत अलग रहन सक्ने छैन ।  हाम्रो आफ्नै परिवेशले सिर्जना गरेको हलचल त छँदैछ ।
एसियाली विकास बैङ्क (एडिबी) का अनुसार एसियाली आर्थिक वृद्धि गएको वर्ष पनि औसत अर्थात् ५ दशमलव ७ रहेको थियो र यस्तो आर्थिक वृद्धि नयाँ वर्ष २०१७ मा पनि ५ दशमलव ७ नै रहने प्रक्षेपण छ ।  बाहिरी प्रभावले एसियाको अर्थतन्त्रमा एक वर्ष अघिदेखि नै केही शिथिलता आउन थालेको थियो ।  सन् २०१५ मा एसियाली आर्थिक वृद्धि ५ दशमलव ९ अर्थात् झण्डै छ प्रतिशत थियो ।
विश्वकै पहिलो अर्थतन्त्र बन्न अगाडि बढिरहेको चीनको अर्थतन्त्रमा आएको शिथिलताले एसियाली अर्थतन्त्रलाई केही प्रभाव पारेको छ ।  आगामी दिनमा थप प्रभाव पार्न सक्ने परिघटना विकसित हुँदैछन् ।  भारतमा सन् २०१६ को अन्त्यतिर आइपुग्दा पाँच सय र एक हजारका नोटमा लगाएको प्रतिबन्धले अर्थतन्त्रमा तत्काललाई प्रतिकूल असर परेको देखिएको छ ।  आपूर्ति र रोजगारी खुम्चिएको छ ।  माग पक्ष पनि कमजोर भई आर्थिक वृद्धिदर घट्ने अनुमान अर्थशास्त्रीहरूको छ ।  विश्व जनसङ्ख्याको एकतिहाइभन्दा बढी हिस्सा लिएका भारत र चीनको आउने परिवर्तन विश्व अर्थतन्त्रका लागि पनि खिल बन्न सक्छ ।
अमेरिका र युरोपेली बजारमा चिनियाँ निर्यात नै चिनियाँ आर्थिक वृद्धिको मूल आधार थियो ।  केही वर्ष अघिसम्म चीनको आर्थिक वृद्धि दोहोरो अङ्कसम्मको चामत्कारिक थियो ।  पश्चिमा अर्थतन्त्रमा आएको न्यून आर्थिक वृद्धिले चीन पनि अछूतो रहन सकेन ।  पश्चिमा अर्थतन्त्रमा आएको मागको कमीले चीन अर्थतन्त्रलाई पारिरहेको प्रभाव अझै सघन हुँदैछ ।  अमेरिकामा डोनाल्ड ट्रमको उदय गएको वर्षको उल्लेख्य घटना हो ।  अमेरिकी राष्ट्रपतिको निर्वाचनको आरम्भिक मत सर्वेक्षण ६५ प्रतिशत हिलारीका पक्षमा थिए तर ट्रम्पको चीनप्रति कटाक्ष बढ््दै जाँदा अमेरिकी मत उहाँप्रति बढ्दै गयो ।  चिनियाँ सामान अमेरिकामा प्रतिबन्ध नै लगाउने आरम्भिक भाषण केवल चुनावी मात्र थियो भन्नेहरू पनि छन् तर राष्ट्रपतिमा निर्वाचित भइसकेपछि पनि ट्रम्पका अभिव्यक्तिहरूले निरन्तर तरङ्ग ल्याइरहेको छ ।  खासगरी चीन र अमेरिकाको आर्थिक र कूटनीतिक सम्बन्ध (चाइमेरिका) को अब कस्तो अवस्था हुने हो भन्ने व्यग्र प्रतीक्षा छ ।  जनवरी २०, २०१७ मा ह्वाइट हाउसमा नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्ने ट्रम्पको तयारीलाई विश्व अर्थतन्त्रले असाध्य गहन तवरले हेरिरहेको छ ।
गएको वर्ष नै बेलायत युरोपेली सङ्घबाट जनमत सङ्ग्रहको झिनो मतसहित बाहिर आयो ।  चार दशक युरोपेली सङ्घमा रहेको बेलायत बाहिर आउनु सानो घटना होइन ।  विश्व अर्थराजनीतिमा यसले आयाम परिवर्तन गर्न सक्नेछ ।  खासगरी बितेको चार दशकमा विश्वले खुला र उदार अर्थतन्त्रमा उत्कर्ष हासिल गरेको थियो ।  विश्व व्यापार सङ्गठनको उदयसँगै व्यापार र लगानीले राजनीतिकका सीमा नाघेको थिए ।  विश्वका कतिपय मुलुकले यो उदारताको सबैभन्दा बढी फाइदा लिए ।  चीन, भारत, मलेसिया, ब्राजिल जस्ता मुलुुकको अर्थतन्त्रले ठूलो फाइदा लिए पनि अहिले सङ्कटका ढिलमा छन् ।  
व्यापार उदारीकरण भूमण्डलीकरणको यात्रालाई सहज बनाएको थियो ।  पुँजी, जनशक्ति, ज्ञान र प्रविधिको तीव्रतर रूपमा विस्तार भएको थियो ।  यसले कतिपय साना मुलुकको आन्तरिक उत्पादनमा प्रतिकूल प्रभाव पारे पनि समग्रमा विश्वको समृद्धि बढेको थियो ।  रोजगारी सीमा वारपार फैलिएको थियो ।  औसत आयमा वृद्धि भएको थियो ।  उत्पादन व्यापक बढेको थियो ।  रोजगारी सीमाभित्रमात्र कैद नभई विश्वव्यापी हुँदा कमजोर अर्थतन्त्र भएको मुलुकका नागरिक लाभान्वित भएका थिए ।  चालीस लाख नेपाली रोजगारीका लागि विश्वभर छरिनु विश्वव्यापीकरणको कारण हो ।  देशभित्र यसको विश्लेषण विरलै हुने गर्छ ।
अब विश्वव्यापीकरणमा बे्रक लाग्ने खतरा बढेको छ ।  अनुदार राजनेताको उदय हुने प्रवृत्ति केही वर्ष अघि नै देखिएको हो ।  भारतमा नरेन्द्र मोदीको व्यापक मतले प्रधानमन्त्रीमा आगमन दुई वर्ष अघि नै भइसकेको थियो ।  दुई सय वर्षको उपनिवेशवादी दासत्वबाट (१९४७) मुक्तिसँगै भारत दुई राष्ट्रमा विभाजन भयो ।  स्वतन्त्रतासँगै धर्मका आधारमा हिन्दुस्तानर पाकिस्तान भएको त्यो पीडामा पनि धर्मनिरपेक्ष प्रजातान्त्रिक राष्ट्रको आधार बनेर झण्डै छ दशक शासन गरेको भारतीय राष्ट्रिय काँग्रेसले इतिहासमा सबैभन्दा नराम्रो गरी हार खानुप¥यो ।  हिन्दु राष्ट्रवादलाई आधार बन्ने भारतीय जनता पार्टीको उदय ट्रम्प र ब्रिक्जिटको पूर्व अभ्यास थियो ।  अब यो यात्रा कहाँसम्म पुग्ने हो ?
अनुरदारवादको यो यात्रामा सन् २०१६ ले अझ फड्को मारेको पक्कै देखियो ।  बेलायतको युरोपेली युनियनबाट बर्हिगमन (ब्रिक्जिट) सामान्य परिघटना मात्र थिइन ।  कुनै बेला (सन् १९८० को दशक) बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको उदय उदारवादबाट भएको थियो ।  राज्यभारले थिचिएर कमजोर भइसकेको बेलायती अर्थतन्त्रलाई उदारीकरणबाट गति दिन उहाँ सफल हुनुभएको थियो ।  उदारवादले पूरै युरोपलाई समाएको थियो ।  युरोपेली सङ्घ साझा मुद्रा र साझा कार्यक्रममा परिलक्षित थियो तर बेलायतको बर्हिगमनले युरोपी सङ्घभित्र पनि बिस्तारै अनुदारवाद पम्पिन सक्ने खतरा छ ।  जर्मनीको प्रतिबद्धता र योगदानले अब कति लामो यात्रा हुने हो ? त्यसमा बितेका वर्षमा आएका आप्रवासी समस्यादेखि ग्रीसको नाजुक अर्थतन्त्रसम्मले गहिरो चोट दिइरहेको छ ।  
विश्व अर्थतन्त्रका यी हलचलले आर्थिक वृद्धि पनि माथि उकास्न दिइरहेको छैन ।  अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१६ को अर्थतन्त्रको विश्लेषण गर्दै सन् २०१७ मा पनि विश्व आर्थिक वृद्धि ३ दशमलव ६ प्रतिशतमै अडिने आँकलन गरेको छ ।  सन् २०१६ पनि ३ दशमलव ६ प्रतिशतकै आर्थिक वृद्धि थियो ।  खासगरी रसिया र ब्राजिलजस्ता अर्थतन्त्र गहिरो आर्थिक मन्दीतिर उन्मुख हुँदैछन् ।  पेट्रोलिय पदार्थको भाउको आएको कमीले तेल उत्पादक राष्ट्रहरूको आर्थिक वृद्धिमा नकारात्मक असर परिरहेको छ ।  ती मुलुकहरूको औद्योगिक उत्पादनमा कमी आएको छ ।  संसार विश्वव्यापीकरणतिर गएकै कारण रोजगारीमा विश्वव्यापी असर देखिन थालेको छ ।  खाडीबाट नेपाल, भारत र बङ्गलादेशका लाखौँ मानिस रोजगारीबाट हात धुुनुपर्ने अवस्था अरू व्यापक बन्न सक्छ ।  गएको वर्ष भारतीय विदेशमन्त्री सुष्मा स्वराजले केही महिनाअघि आफैँ जहाज लगेर बेरोजगार भारतीय श्रमिकहरूको उद्धार गरेको ठूलो घटना हो ।  
नवनिर्वाचित अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले अब कसरी काम थाल्नु हुनेछ ? यहीँबाट विश्व अर्थतन्त्रको नयाँ रेखाङ्कन आरम्भ हुनेछ ।  ‘अमेरिका पहिलो’ नाराका साथ निर्वाचन आरम्भ हुँदा मेक्सिकोसित सीमामा पर्खाल लगाउने नारा सबैभन्दा लोकप्रिय भएको थियो ।  आप्रवासी कामदारलाई आफ्नै देश पठाउने नाराले अमेरिका प्रतिघण्टा ज्याला २० डलरसम्म पुग्ने आँकलन कतिपय अर्थशास्त्रीको छ ।  अहिले ८÷१० डलर प्रतिघण्टा ज्याला नै अमेरिकी अर्थतन्त्रको अड्याउने आधार हो भन्ने मान्यता राख्नेका लागि ट्रम्पको राष्ट्रवादी अर्थशास्त्रका नयाँ सिद्धान्त यतिबेला प्रतीक्षाकै विषय छ ।  अमेरिकी सरकारी बण्डमा चीनको ठूलो धनराशि (तीन खर्ब दई अर्ब डलर, २०१४) छ र अमेरिकामा चिनियाँ समानको भन्सार लगाउने प्रावधानले विश्व व्यापारका उदार मापदण्डले कतातिरको यात्रा परिलक्षित गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।  खासगरी उदारीकरणको पश्चागमन यात्राले नेपाल बाहिर गएर काम गर्ने नेपालीको खाइजीविका अर्थतन्त्र भड्खालामा पर्न सक्नेछ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना