प्राथमिक कक्षामा गुरुकुल शिक्षा

Shreeram upadhyaप्रा.डा. श्रीरामप्रसाद उपाध्याय




नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले प्राथमिक कक्षाका निम्ति २०६६ सालमै परीक्षणका निम्ति गुरुकुल शिक्षाको पाठ्यक्रम प्रकाशित ग¥यो ।  उक्त पाठ्यक्रमको भूमिकामा नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश भएकाले यहाँ हिन्दु, बौद्ध, किराँत, इस्लाम, इसाई, जैनसमेतका विभिन्न धर्मावलम्बी रहेका छन् ।  यस्ता धार्मिक मूल्य र मान्यताका साथै सम्बन्धित समाजको आफ्नै मौलिक सामाजिक तथा सांस्कृतिक पक्षबाट प्रभावित भई परम्परागत रूपमा चलिआएका शैक्षिक प्रणालीमध्ये नेपालमा गुम्बा, गुरुकुल र मदरसा मुख्य रूपमा रहेका छन् ।  गुम्बा, गुरुकुल र मदरसाजस्ता शिक्षा प्रणाली मुख्य रूपमा सम्बन्धित शिक्षा प्रणालीकै आफ्नो निजी प्रयासमा व्यवस्थापन हुँदै आफ्नै साधन, स्रोत र आफ्नै विशिष्ट शैक्षिक प्रक्रियाका आधारमा सञ्चालन भइरहेको सन्दर्भमा गुरुकुल पनि एक महŒवपूर्ण शिक्षा प्रणाली हो भनी लेखिएको छ ।  
गुरुकुल शिक्षामा संस्कृत भाषाको महŒव र सान्दर्भिकताको विषयमा पाठ्यक्रममा यसरी लेखिएको छ, संस्कृत भाषा विश्वकै अति प्राचीन भाषा हो, यही भाषामा वेद, पुराण, र बौद्धिकप्रकारको सरल शिक्षा दिन सकिने र चार वर्षको उमेर पूरा भइसकेका बालबालिकालाई एक वर्षको पूर्वप्राथमिक शिक्षा पनि दिन सकिनेछ ।  यस शिक्षाका निम्ति गुरुकुल स्वयम्ले आवश्यकताअनुसारको पाठ्ययक्रम र पाठ्ययसामग्री तयार गरी प्रयोग गर्न सक्नेछ ।  प्राथमिकस्तरका गुरुकुल शिक्षा पाठ्ययक्रममा संस्कृत भाषालाई मातृभाषाका रूपमा शिक्षणको माध्यम बनाइने र अरू भाषा विषयको विषयवस्तुलाई दृष्टिगत गरी नेपाली, धर्मशास्त्र, दर्शन, साहित्य, कर्मकाण्डजस्ता प्राच्यज्ञान विज्ञानका सम्पूर्ण विषय समाहित छन् ।  कालक्रमले यस भाषाले कथ्य रूपभन्दा लेख्य रूपमा आफ्नो वर्चस्व स्थापित गरेको छ ।  यसको व्याकरण र शब्द भण्डार अत्यन्त वैज्ञानिक हुनुको साथै यसलाई शास्त्रीय अभ्ययनको मूलधार बनाउन पनि गुरुकुल शिक्षामा संस्कृत भाषालाई अपरिहार्य मानिन्छ ।  
गुरुकुल शिक्षामा प्राथमिक तहका उद्देश्यमा राष्ट्र, राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कारको भावना पैदा गराउने, गुरुकुल शिक्षाका माध्यमबाट सदाचार, अनुशासन, स्वाबलम्बन र सच्चरित्रको अनुशरण गर्ने प्रवृत्तिको विकास गराउने, विज्ञान, सूचना प्रविधि, वातावरण, प्राकृतिक चिकित्सा, योग र आयुर्वेदसम्बन्धी आधारभूत ज्ञान तथा जीवनोपयोगी सीप विकास गर्ने, पौरस्त्य (पूर्वीय) कला संस्कृतिप्रति अभिरुचि जगाई सिर्जनशील सीप विकासको साथै हिन्दु धर्म संस्कृतलगायत विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र क्षेत्रप्रति सम्मान गराई समावेशी समाज निर्माणमा सहयोग पु¥याउने र मानवअधिकार तथा सामाजिक मूल्य र मान्यताप्रति सचेत भई आध्यात्मिक आचरणको विकास गर्ने कुरा परेको छ ।  
गुरुकुल शिक्षाको पूर्वप्राथमिक शिक्षाको ढाँचा पनि तयार गरिएको छ ।  यस ढाँचाअनुसार चार वर्ष उमेर नभएका बालबालिकालाई शिशु विकास केन्द्र वा गुरुकुलबाट धार्मिक, संवेगात्मक, सामाजिक, शारीरिक र गुरुकुल शिक्षा पद्धतिमा शिक्षण गरी गृहकार्यलाई निरुत्साहित गरी कक्षाकार्यमै बढी जोड दिइन्छ ।  
गुरुकुल शिक्षा शिक्षण पद्धतिमा वर्णानुसार उच्चारण, चित्र प्रदर्शन, अक्षर लेखनको निर्देशन, लेखन अभ्यास, शब्दअनुसार उच्चारण, शब्दको लिङ्गअनुसार एष, एषर र एत्तको प्रयोग गर्ने विधि निर्देश गरिने र सोही आधारमा मूल्याङ्कन तथा स्तरोन्नति गरिने अभ्यास गरिन्छ ।  
प्राथमिकस्तरका गुरुकुल शिक्षाका विषयवस्तुमा संस्कृत रचना, सिर्जनात्मक कला, संस्कृत व्याकरण, वेद, सदाचार शिक्षा अर्थात् नित्यकर्म र नीतिशास्त्रको विशेष चर्चा र अभ्यास गरिन्छ ।  
संस्कृत रचनाअन्तर्गत संस्कृत भाषाका स्वर, व्यञ्जन, अक्षर र शब्दहरू सुनेर स्वाभाविक रूपमा शुद्ध र स्पष्टसँग उच्चारण गर्न तथा स्वाभाविक गतिका साथ लेख्न, संस्कृत भाषाका स्वर र व्यञ्जन सुनेर छुट्टाउन र उच्चारण गर्न, स्थानीय परिचित स्तुति वा भजन व्यक्तिगत वा समूहमा हाउभाउसमेत गराउने कुरा पर्छ ।  
गुरुकुल शिक्षाअन्तर्गत सिर्जनात्मक कलाको अभ्यास गर्दा वटुकहरूले चित्रकला, हस्तकला र सङ्गीतको आनन्द प्राप्त गर्छन् ।  सङ्गीतअन्तर्गत गायन, वादन र नृत्य पर्छ ।  त्यसैगरी, संस्कृत व्याकरणअन्तर्गत स्वर वर्ण र व्यञ्जन वर्णको ज्ञान र उच्चारण गर्ने, महेश्वर सूत्रको उच्चारण र लेखन गर्न, प्रत्याहार निर्माण प्रक्रिया बताउन र वेदअन्तर्गत शुक्ल यजुर्वेद माध्यन्दिनीय शाखाको रुद्री, अङ्ग्रेजी तथा संस्कृत भाषा गरी भाषिक माध्यमका रूपमा त्रयभाषिक वा आवश्यकताअनुसार बहुभाषिक नीति अवलम्बन गरिनेछ भनी स्पष्ट पारिएको छ ।  
प्राथमिक शिक्षामा गुरुकुल शिक्षण पद्धतिलाई अत्यन्त व्यावहारिक बनाउन खोजिएको छ ।  यस विषयमा वैदिक वा पौरस्त्य शिक्षा परम्परालाई पालन गर्दै शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।  यस विषयमा बालबालिकाले व्यावहारिक तथा हिन्दु धर्म दर्शनअनुसार जीवनोपयोगी सीप आर्जन गर्न सक्ने शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने हुन्छ ।  यसका शिक्षण विधि पूर्ण रूपमा बालकेन्द्रित तथा बालमैत्री बनाइने र आवश्यक पूजा विधिबाहेक अन्य विषयवस्तु सरल शिक्षणको माध्यमबाट गरेर सिक्ने शिक्षण विधिमा आधारित हुने परिकल्पना गरिएको छ ।  
प्राथमिकस्तरको गुरुकुल शिक्षा वैदिक धर्म तथा दर्शनमा आधारित भएका हुनाले यस विषयको मूल्याङ्कनलाई विद्यार्थीका आचरणसँग जोडेर हेरिन्छ ।  यस विषयमा विद्यार्थीको प्रगति विवरण अर्थात् कार्य सञ्चायिकाको फाइलको व्यवस्था गरिन्छ ।  यस्ता फाइल वा अभिलेखमा धार्मिक अनुष्ठान तथा क्रियाकलापका आधारमा निरन्तर मूल्याङ्कन पद्धति अवलम्बन गरी कक्षोन्नति गरिने व्यवस्था गरिएको छ ।  
वैदिक परम्पराअनुसार सस्वर पाठ गर्न, शतरुद्रीय मन्त्रहरू परम्पराअनुसार शुद्धसँग पाठ गर्न, वैदिक धर्मसूक्त र कल्याणसूक्तसम्बन्धी मन्त्रजस्ता पाठ राखिएका छन् ।  सदाचार शिक्षा वा नित्यकर्मअन्तर्गत बिहान उठेपछि गर्नुपर्ने सामान्य वैदिक सदाचार, प्रातःस्तुति, श्लोकहरू, शौच, स्नान, सन्ध्यावन्दन, भोजन विधि, वैदिक सदाचार र पाञ्चायन पूजाजस्ता पाठ राखिएका छन् ।  नीतिशास्त्रअन्तर्गत हितोपदेश र पञ्चतन्त्रका नीति कथा, हितोपदेश, पञ्चतन्त्र र महाभारतका नीतिपद्य, हितोपदेश पञ्चतन्त्र र महाभारतबाट आचारपद्यजस्ता पाठ राखिएका छन् ।  
गुरुकुल शिक्षा प्रणालीको प्रारम्भ वैदिककालदेखि नै भएको हो ।  यस शिक्षाले शुद्ध आचरण र उच्च विचारमा जोड दिएको हुन्छ ।  यसका विषयवस्तु, शिक्षण विधि, शैक्षिक सामग्री र मूल्याङ्कन प्रविधिमा समयअनुसार परिवर्तन हुँदै आएका छन् ।  यसलाई कर्मकाण्डको विषयमात्र नबनाएर आदर्श जीवनको सार्थक सूत्रका रूपमा ग्रहण गरिनुपर्छ ।  आजको वैज्ञानिक युगमा पुरेत्याइँको कामलाई आयुर्वेदका दर्शनबाट जोड्न सकेको खण्डमा मात्र गुरुकुल शिक्षाले विश्वव्यापी मान्यताप्राप्त गर्न सक्छ ।  मुत्युपछिको स्वर्ग प्राप्तिको निरर्थक आशभन्दा जीवनभित्रै आनन्दको अनुभूति दिन सक्नु गुरुकुल शिक्षाको मुख्य उद्देश्य हो ।  त्यसैले हाम्रा पुर्खाले हजारौँ वर्षअघिदेखि नै गुरुकुल शिक्षालाई निरन्तरता दिँदै आएका हुन् ।  प्राथमिक कक्षामा गुरुकुल शिक्षाका विषयवस्तुलाई सरल बनाउनु आजको आवश्यकता हो ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना