सूचनाको हकबाट नागरिकले पाउने लाभ

Krishnahari banskotaकृष्णहरि बास्कोटा



सूचनाको हक नागरिकको मौलिक हक हो ।  यसको अधिक प्रचलनबाट प्रत्येक नागरिक सार्वजनिक निकायका काम, कारबाहीसँग सुसूचित हुन पुग्छन् ।  यसबाट एक सजग र क्रियाशील नागरिकको पहिचान बन्छ ।  सूचना नै शक्ति भएकाले अधिक सूचना हासिल गर्ने वा ग्रहण गर्ने नागरिकले आफूलाई आवश्यक परेको सेवा, सुविधा सजिलै हासिल गर्न सक्नु स्वाभाविकै हो ।  हाम्रो जीवनमा जन्मदेखि मृत्युसम्म नै राज्यका सेवा र सुविधा आवश्यक पर्छ ।  सुसूचित नागरिकले नै आफ्ना छोरा–छोरी जन्मिने बित्तिकै जन्मदर्ता गराउन सक्षम हुन्छन् ।  सरकारी वा सामुदायिक अस्पतालमा प्रसूति गराउँदा आमा र बच्चा दुवै सुरक्षित हुन पुग्छन् ।  सो अस्पतालमा प्रसूति गराउँदा नगद नै पाइन्छ ।  यो कुरा सुसूचित नागरिकले दाबी गर्न र प्राप्त गर्न सक्तछ ।  साथै अस्पतालबाट जारी गरिने बर्थ सर्टिफिकेटले जीवनभरि सहयोग पु¥याइरहन्छ ।  
आमा र बच्चाको सुविधामा थुप्रै प्याकेज उपलब्ध छन् ।  पाँच वर्षसम्म बालबालिकालाई आवश्यक पर्ने सबै खोप निशुल्क उपलब्ध छन् ।  यसका लागि जुन कुनै स्वास्थ्यचौकी गएर खोपको सुविधा लिन सकिन्छ ।  बेलाबखतमा सरकारले दिवस नै मनाएर घरदैलोमै यो सेवा उपलब्ध गराउँछ भनी सूचना हासिल गर्नुपर्छ ।  प्रत्येक गाउँ विकास समितिमा स्वास्थ्य स्वयंसेविका रहेको अवस्था छ ।  उनले पनि आमा र बच्चाको स्वास्थ्यमा सुविधा पु¥याउने गरेको स्थिति छ ।  यसबाट प्रसूतिका बखत आमा र बच्चाको मुत्यु हुने दरलाई न्यून गर्न सकिन्छ ।  हाल आम नेपालीले यो विषयमा बढी नै सूचना हासिल गरेको कारण नतिजा सकारात्मक आएको छ ।  नेपालीको सरदर आयुसमेत सत्तरी वर्षको हाराहारीमा पुगेको छ ।  यथार्थमा सूचनाका पहुँचकै कारण शिक्षा र स्वास्थ्यका क्षेत्रमा युगान्तकारी परिवर्तन देखिएको छ ।
केटाकेटीले किण्डर गार्डेनमा अध्ययन गर्न नेपाल सरकारले निः शुल्क बाल विकास केन्द्रहरू सञ्चालनमा ल्याएको छ ।  यस्ता केन्द्रहरू नेपालभरि झण्ड तीस हजार जति छन् ।  त्यसपछि प्राथमिक तहमा स्कुलमा भर्ना गर्दा र अध्ययन गर्दा निशुल्क हुन्छ ।  यस्ता निशुल्क शिक्षा दिने सरकारी र सामुदायिक स्कूलको सङ्ख्या मुलुकभित्र पैतीस हजार जति छन् ।  ती स्कुलमा अध्यापन गराउने सरकारी शिक्षकको सङ्ख्या झण्डै डेढ लाख छ र तिनको तलब राज्यको ढुकुटीबाट निकासा हुन्छ ।  साथै स्कुल र कलेजमा अध्ययन गर्दा कैयौँ प्रकारका छात्रवृत्ति पनि पाइन्छ ।  यी सबै कुराको सूचनासँग साक्षात्कार नागरिकले नै यी सुविधाबाट लाभ लिन सक्तछ ।  
कुनै पनि नागरिक अध्ययन पूरा गरी पूर्ण युवा भएपछि रोजगारीको खोजीमा रहन्छ ।  रोजगारीको एउटा उत्कृष्ट स्थान लोक सेवा आयोग हो ।  त्यसको कुनकुन परीक्षा कहिले हुन्छ र प्रतियोगितात्मक परीक्षामा पाठ्यक्रम के के हुन् भनी सूचना हासिल गरी मिहिनेत गरेमा सरकारी सेवामा प्रवेश पाउन सकिन्छ ।  कुनै युवा स्वरोजगारमा जान इच्छुक भएमा निजले युवा स्वरोजगार ऋण सजिलै र सरल ब्याजदरमा लिन सक्तछन् ।  सीप विकास तालिम केन्द्रहरूले निःशुल्क तालिम दिन्छन् ।  उद्योग विभागअन्तर्गतबाट व्यवसाय विकास तालिम हासिल गर्न सकिन्छ ।  यसबाट नेपालमा के कस्ता क्षेत्र लाभप्रद छन् भनी निःशुल्क जानकारी लिने अवसर प्राप्त हुन्छ ।  साथै आफ्नै खुट्टामा उभिन सक्ने हौसला मिल्छ ।
कुनै युवाले कृषि क्षेत्रको स्वरोजगारमा प्रवेश गर्छु भनेमा प्याकड वा हिमाली आयोजनामा सम्पर्क राख्न सकिन्छ ।  त्यहाँ पचास लाखसम्मको प्रस्ताव पेस गर्दा स्वीकृत प्रस्तावमा प्याकड कार्यक्रमले पच्चीस लाख र हिमाली कार्यक्रमले चालीस लाखको अनुदान दिन्छ ।  बाली वा पशु बीमा गर्दा सरकारले ७५ प्रतिशत प्रिमियम अनुदान स्वरूप उपलब्ध गराउँछ ।  कैयौ नगदेवालीमा कृषि विकास बैङ्कसँग लिने ब्याजमा सरकारले ब्याज अनुदान दिएको छ ।  तथापि कृषि क्षेत्रमा लिने ऋणमा ६ प्रतिशतभन्दा बढी ब्याज तिर्नु पर्दैन, सरकारले अनुदान दिएको छ ।  कृषिमा यान्त्रिकीकरणका लागि जिरो ट्रिलर, हार्भेष्टर र मिनी ट्याक्टरजस्ता उपकरणको आयात र खरिदमा सरकारी सहयोग उपलब्ध छ ।  कृषि उत्पादनमा आयकर तिर्नुपर्दैन ।  सहकारीले कृषि उत्पादन ढुवानी गर्ने सवारी साधन खरिद गर्दा ५० प्रतिशत भन्सार माफी पाउँछ ।  दूध बोक्ने रेफ्रिजेरेटर जडित ट्रक खरिद गर्ने किसानले शतप्रतिशत भन्सार माफी पाउँछन् ।  गोठ सुधार कार्यक्रममा सरकारले छपन्न सय दिन्छ ।  बीउ–बिजन, प्राविधिक ज्ञान र सायनिक एवं प्राङ्गारिक मल खरिदमा अनुदानलगायत किसानलार्ई थुप्रै छुट सुविधा उपलब्ध छ ।  यी सूचनाको सङ्ग्रहबाट नेपालमा युवा वैदेशिक रोजगारीमा जानुको सट्टा नेपालमा स्वरोजगारमा सहभागी हुन मद्दत पुग्नेछ ।  
कुनै पनि नेपाली नागरिकले सरकारी र सामुदायिक अस्पतालमा आकस्मिक सेवा, बहिरङ्ग सेवा तथा अपरेशन सेवा निः शुल्क पाउँछन् ।  सरकारले ७० प्रकारका औषधि निः शुल्क उपलब्ध गराउँदै आएको छ ।  १५ वर्ष मुनिका र ७५ वर्ष माथिका मुटु रोगीको निः शुल्क अपरेशन हुन्छ ।  क्यान्सर, मिर्गौला र अल्जाइमरका बिरामीले राज्यबाट नगद रकम वा डाइलोसिस गर्नेजस्ता सेवा निःशुल्क पाउँछन् तर नागरिकहरू सूचनाको अभावमा नर्सिङ होममा गई शुल्क तिर्न बाध्य छन् ।  ज्येष्ठ नागरिकले मासिक भत्ता पाउने मात्रै होइन, सार्वजनिक यातायात र हवाईजहाजमा यात्रा गर्दा पनि छुट पाउने व्यवस्था छ ।  कैयौँ पुस्तकालयको सदस्यता लिदा, म्युजियममा जाँदा, केवलकार चढ्दा, सिनेमा हलमा प्रवेश गर्दा लगायतका थुप्रै स्थानमा ज्येष्ठ नागरिकले छुट सुविधा पाउँछन् तर सूचनाको अभावमा पूरै सेवा शुल्क तिर्ने गरिन्छ ।
निजामती, सेवा र प्रहरी सेवामा नोकरी गर्नेले पेन्सन र उपदान पाउने व्यवस्था छ ।  सार्वजनिक संस्थानमा पनि विभिन्न सुविधा पाइन्छ ।  किसानलाई पनि पेन्सन दिने कुरा चलेको छ तर धेरैलाई जानकारी नभएको हुन सक्छ ।  नेपालमा पाँच वर्ष मुनिका बालबालिकाले पनि ५ वर्षको उमेरसम्म मासिक दुई सयका दरले भत्ता पाउँछन् ।  यो सुविधा कर्णाली, विपन्न र दलित केटाकेटीका लागि लागू गरिएको छ ।  हिंसामा परेका महिलालाई सरकारले औषधि उपचार, न्याय र स्वरोजगारमा जान ऋण दिने गरेको छ ।  महिला उद्यमशील कोषमा अठार करोड छ ।  जल विद्युत्मा लगानी गर्नेले प्रतिमेगावाट पचास लाख नगद अनुदान पाउने व्यवस्था छ ।  त्यस क्षेत्रमा गरिने लगानीको स्रोत खुलाउनु पर्दैन ।  हिमाली क्षेत्रमा उद्योग स्थापना गर्नेले दश वर्षसम्म आयकर छुट पाउँछ ।  आ–आफ्नो घरमा सोलार जडान गर्नेले सहरी क्षेत्रमा समेत दस हजार अनुदान पाउने व्यवस्था छ  ।  केही जिल्लामा ‘डे मिल’ अर्थात् स्कुल जाने केटाकेटीलाई दिवाखाजा खुवाउने कार्यक्रम लागू गरिएको छ भने केही जिल्लामा छोरीलाई स्कुल पठाएबापत खाने तेल अनुदान दिने व्यवस्था छ ।      
गृह मन्त्रालयले दैवी प्रकोपमा परेकालाई तत्काल दस हजार र कसैको मृत्यु भएमा काजकिरिया खर्च बापत तत्कालै पच्चीस हजार उपलब्ध गराउँछ ।  पर्यटन मन्त्रालयले केही हिमाल आरोहणका लागि खुल्ला गरेको छ, केही बन्द गरेको छ ।  महिलाको नाममा जमिनको रजिष्टे«शन पारित गर्दा तराई र पहाडमा २५ प्रतिशत र हिमाली क्षेत्रमा ५० प्रतिशत राजस्व छुट पाउने व्यवस्था छ ।  वन मन्त्रालयले शिकार खोल्न पाउने वन घोषणा गरेको छ ।  साथै केही प्रकारका जङ्गली जनावरलाई घरमा पाल्न पाइन्छ, केही प्रकारका जङ्गली जनावर पालेमा कारबाही हुने नीति लिएको छ ।  नेपाल कानुन आयोगको वेबसाइटमा सबै नेपालका कानुन नेपाली र अङ्ग्रेजी भाषामा पढ्न र डाउनलोड गर्न पाइन्छ ।  सर्वोच्च अदालतको वेबसाइटमा पन्ध्र सालदेखिका सबै फैसला हेर्न सकिने सुविधा छ ।  आफूलाई असुरक्षा महसुस भएमा नेपाल प्रहरीले व्यक्तिगत सुरक्षामा पनि प्रहरी खटाउँछ ।  भारत र चीनबाट पैठारी हुने सामानमा भन्सार छुट पाइन्छ ।  वैदेशिक रोजगारीमा जाने महिलाले लिने तालिम खर्च सरकारले व्यहोर्ने व्यवस्था छ ।  यस्ता अनगिन्ती छुट सुविधा र नागरिक मैत्री व्यवस्थाबाट लाभ लिन सकिन्छ ।  यसरी सूचनाको हकको प्रचलनका माध्यमद्वारा विभिन्न क्षेत्रमा लाभ लिन सकिने कुरामा कुनै द्विविधा छैन ।  यसर्थ आम नागरिकले संविधान र कानुनले प्रत्याभूत गरेका सूचनाका हकको पाइला, पाइलामा उपयोग गरी लाभ लिनुपर्छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना