सुधारोन्मुख दिशातर्फ सेयर बजार

sarojसरोज अधिकारी




सेयर बजारमा एकपटक पुन उत्साह थपिएको छ ।  गत साताको अन्तिम दिन बिहीबार एकाएक ३० अङ्कभन्दा बढीले बजार उकालो लागेपश्चात् लगानीकर्ताको मनोबल उच्च देखिएको हो ।  जुन क्रम साताको पहिलो र दोस्रो दिन पनि जारी नै रह्यो ।  नेप्से एक हजार ४६५ को बिन्दु नजिक पुगेको छ ।  विगतमा एक हजार ८८१ पुगेर फर्केको बजार केही दिन माथि गएको भए पनि पुनः ओरालो लाग्दै एक हजार चार सयभन्दा कमको बिन्दुमा पुग्दा बजारमा करेक्सन आएको हो वा बजार वियरिस ट्रेन्डतर्फ गएको हो भन्ने चर्को अन्योल नै चलेको थियो ।  सेयर बजारमा सामान्य उतारचढाव हुन वा केही वर्षको अन्तरालमा बुलिस र वियरिसको चक्र चल्नुलाई सामान्य प्रक्रिया नै मान्न सकिन्छ ।  नेपाली सेयर बजारको सन्दर्भमा पनि २०६८ साल जेठ महिनामा देखिएको न्यूनतम २९२ को बिन्दुबाट उकालो लाग्न थालेको सेयर बजार झण्डै एक हजार नौ सयको बिन्दुलाई छोएर हाल करिब २५ प्रतिशतले झरेको अवस्थामा छ ।  नेप्से अबको दिनमा कता जान्छ भन्ने कुरा सहजै अनुमान लगाउन नसकिने विषय भए पनि राम्रा कम्पनीको सेयर जाँचेर पर्खेर किन्ने अवसर भने बन्दैछ ।  
बजार माथि जाने आधार
लगानीकर्ताले बजार सुधारका लागि छ सूत्रीय माग राखी गरेको दबाबमूलक कार्यक्रमको फलस्वरूप नियमनकारी निकाय धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले आफूहरू लगानीकर्ताको हितमा नै रहेको र सुधारका कार्यक्रमहरू यथाशीघ्र लागू गर्दै जाने प्रतिबद्धता जनाउनुको सकारात्मक प्रभाव बजारमा परेको हो ।  दुई क्लियरिङ बैङ्क छिट्टै थपिने सुनिश्चित भएको छ भने लाभांश अब बैङ्क खातामा सोझै जाने व्यवस्थामा भएको प्रगति सकारात्मक छ ।
त्यसैगरी राजनीतिक अन्योल चिरिँदै मुलुकमा स्थानीय चुनाव र संविधान संशोधनमार्फत असन्तुष्ट पक्षको माग सम्बोधन हुने अवस्था अब टाढा देखिंँदैन ।  दलहरूले मुलुकलाई अब ठोस राजनीतिक निकास दिएर नै अघि बढ्ने कुरा सुनिश्चित बन्दैछ ।  त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने देखिन्छ ।  नेपाल राष्ट्र बैङ्कले बजारमा तरलता अभाव हुन नदिन चालेको सकारात्मक कदमले पनि सेयर बजारमा सकारात्मक परिणाम आउने निश्चित छ ।  
भारतमा पाँच सय र हजारको पुरानो भारतीय रुपियाँ साट्ने निर्णयका कारण नेपाल र भारतमा लगानी गर्दै आएका कतिपयले सेयर बजारबाट ठूलो मात्रामा रकम निकालेको भन्ने विषय पनि नोट साट्ने अवधि समाप्त भएसँगै परिस्थिति सहज हुने देखिएको छ ।  नेपाल–भारतबीचको व्यापारमा देखिएको अवरोध समेत अबका दिनमा हट्ने हुँदा नेपाली बजारबाट सेयर बेचेर निस्किएका ठूला लगानीकर्ता भाउ घटेको वर्तमान समयमा पुनः छिर्न सक्ने कारणले पनि बजार माथि जान सक्छ ।  विगतमा ठूला लगानीकर्तामध्ये केहीले सेयर बेचेको जस्तो देखिएको र त्यस्तो सेयरहरू दैनिक ५०–६० करोडका दरले साना लगानीकर्ताले खरिद गरेको ट्रेन्ड बजारमा देखिएकोले पनि पुनः एकपटक पुरानै उचाइतिर नेप्से फर्कने सङ्केत देखापरेको छ ।  
पुस मसान्तसम्मको ब्याज तिर्ने समयको अन्त्य, बैङ्क तथा वित्तीय संस्थाहरूको आर्थिक वर्ष ०७३–७४ को दोस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक हुने दिन नजिकिँदै गर्दाको अवस्था पनि बजार सुधारको दिशामा सहायकसिद्ध हुनसक्छ ।  नेपाली सेयर बजार बैङ्क वित्तीय संस्थापछिको स्थान ओगटेको बीमा समूहको सेयर उकालो लाग्ने दिशामा निर्णयको पर्खाइमा रहेको बीमा समितिमा आएको नयाँ नेतृत्व र उसले लिने नीति पनि आगामी दिनहरूमा बजार सुधारमा सहयोगी हुने देखिन्छ ।  
बजार सुधारका लागि सबैभन्दा महìवपूर्ण कुरा भनेको चाहिँ हाल बजारमा थुप्रै कम्पनीहरूको आर्थिक स्वास्थ्य र त्यसले आगामी दिनहरूमा दिनसक्ने प्रतिफलको तुलनामा बजारमूल्य ‘अन्डरभ्यालुड’ भएकै कारण पनि सेयर खरिदको चाप बढ्दो छ ।  जसले बजार उकालो लाग्न मद्दत पु¥याउने देखिन्छ ।  
सेयर बजार भनेकै सम्भावनाको बजार हो तर त्यसमा खतरा पनि उत्तिकै रहन्छ बजार माथि जान अवरोध हुने आधारहरूलाई पनि हालको मितिमा बेवास्ता गर्न मिल्दैन ।  बजारको बढोत्तरीमा देखिएका विद्यमान अवरोधहरूलाई केलाउँदा भने सबैभन्दा ठूलो पक्ष भनेकै मुलुकको आर्थिक वृद्धिदरसँग बजारको तालमेल नमिल्नु हो ।  गत वर्ष आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम रहँदा पनि बजारमा बढोत्तरी देखिएको थियो तर हाल चार–पाँच प्रतिशतको वृद्धि सुनिश्चित भएको अवस्थामा चाहिँ बजार घट्नुले नेपालमा पुँजी बजार मुलुकको अर्थतन्त्रको ऐना बन्न सकेको छैन भन्ने पुष्टि हुन्छ ।  त्यस्तो हुनुमा सेयर बजारमा रियलस्टक कम्पनीहरूको उपस्थिति नगन्य हुनु नै हो ।  बजारबाट नाफा झिकेर लगानीकर्ता बैङ्कको निक्षेपतर्फ आकर्षित हुने वातावरण पनि बढ्दो बैङ्क ब्याजदरले देखाएकै छ ।  त्यो विषय भने बजारमा माथि जाने कुराको अवरोधको रूपमा रहने देखिन्छ ।  नेपाली पुँजी बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व कायमै छ ।  यस क्षेत्रको पँुजी वृद्धि अनुरूप व्यापार बढ्न सक्छ वा सक्दैन सो हेर्न बाँकी छ ।  यस आर्थिक वर्षको अन्त्यसम्ममा त्यसको परिणाम सही रूपमा आँकलन गर्न सकिन्छ ।  पुँजी वृद्धि अनुरूप व्यापार बढाउँदा जथाभावी लगानी गर्ने सम्भावना बढ्न सक्छ जसले गलत व्यक्ति वा समूहमा कर्जा गएको अवस्थामा खराब कर्जाको मात्रा पनि उच्च हुन जान्छ ।  हालको कडा नियम अनुसार खराब कर्जाका लागि ठूलो मात्रामा ‘प्रोभिजन’ राख्नुपर्ने बाध्यता आएमा बैङ्क तथा वित्तीय संस्थाहरूको नाफा घट्न सक्ने चुनौती पनि छँदैछ ।  कमर्सियल बैङ्कहरूमा चार गुणासम्म पुँजी वृद्धिले व्यापार पनि सोही अनुपातमा बढ्न मद्दत पुग्ला ? त्यसको आधारमा नै आगामी दिनमा बजारको दिशा सुनिश्चित हुने देखिन्छ ।  पुँजी वृद्धिका कारण बजारमा बोनस र हकप्रद सेयरको बाढी नै देखिएको छ ।  त्यसलाई खपत गर्न सक्ने खालको माग आउँछ वा आउँदैन सो भने हेर्न बाँकी नै छ ।  सेयरको आपूर्ति बढ्ने गरी नेपाल राष्ट्र बैङ्कले निर्णय लिने अनि खपत हुने गरी अनलाइन टे«डिङ, एनआरएनको लगानी भित्राउने र ब्रोकर तथा बैङ्कलाई सेयर दलालको लाइसेन्स दिएर मोफसलबाट पनि कारोबार हुने अवस्था सिर्जना गर्न ढिला गर्नाले नै हाल बजारमा अस्थिरता देखिएको हो ।  त्यसको अन्त्यका लागि आवश्यक कदम नेप्से र धितोपत्र बोर्डको सहकार्यमा चाँडै हुन्छ कि पुनः एक आपसमा आरोप प्रत्यारोप लगाउँदै काम हुँदैन हेर्न बाँकी छ ।  त्यसले पनि बजार कुन दिशातर्फ जाने हो निश्चित गर्नेछ ।  
अन्त्यमा
सेयर बजारमा आउने भनिएको सुधारका कार्यक्रमका कारण कारोबार बढ्न अवश्य पनि सक्छ तर त्यसले बजार कहाँबाट कहाँ पुग्छ अनि भाउ बढ्छ वा बढ्दैन भन्ने कुरा भने राम्रो कम्पनीमा हुने लगानीमा मात्र भर पर्छ ।  बजार एकाएक ओरालो लाग्ने आधार पनि छैन ।  तसर्थ अहिलको समय भनेको होसपूवर्क राम्रो आधारभूत (फन्डामेन्टल) अध्ययनसहित विज्ञको सल्लाह सुझावमा लगानी गर्नु नै वेश हुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना