काँग्रेसको विदेश नीतिमा प्रश्न

Surya Subediसूर्य सुवेदी

बीपी कोइरालाले ३५–४० वर्षअघि बोल्नु, लेख्नुभएको थियो – इतिहासले बडो बेगका साथ पाइला चालिरहेछ । यस्तो स्थितिमा हामीहरूको चिन्तनले पनि त्यस्तै बेगका साथ इतिहास सँगसँगै पाइला चाल्नुपर्छ । नत्रभने हामीहरू आफ्नै पुरानो मनोविज्ञानका बन्दी भएर इतिहासले त्यागेको सानो तŒव बन्न पुग्छौं । अहिले प्रजातन्त्रवादीहरूलाई बडो ठूलो अवसर प्राप्त भएको छ । (बीपी कोइराला, इतिहासको हाँक अन्तर्वार्ताको अंश, “बीपी कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता” पेज १२८ बीपी कोइराला समिति, सुन्दरीजल)
हिन्दुस्तानको सुरक्षाको हितमा पनि हामी स्वतन्त्र र बलियो हुनु आवश्यक छ, खाली हामीलाई कमजोर बनाएर थिचेर हिन्दुस्तानको सुरक्षा हुँदैन । पाकिस्तानलाई कमजोर बनाएर र पाकिस्तानमा अरूले नियन्त्रण गर्न सक्ने कमजोरी बढाएर हिन्दुस्तानको सुरक्षा हुन सक्दैन । त्यो कुरा उनीहरूले बुझिरहेका छैनन् । पाकिस्तानलाई गाली नगरिकन इन्दिरा गान्धीले मुख उघार्दिनन् । एकपट्टि वार्ता भइरहेको जस्तो लाग्छ तर कुनै पनि बेला कुनै पनि ठाउँमा उनी बोलिन भने पाकिस्तानलाई गाली गरिरहेकी हुन्छिन् । (भारत र छिमेकीहरू, १९ पुस २०३९)
तर, यति लामो कालखण्डपछि पनि हिन्दुस्तानी नेताहरू ३५–४० वर्ष अघि जसरी छिमेकी विरुद्ध बोल्थे नेपाल र पाकिस्तान विषयमा बोल्नुपर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले पनि आफ्नो कुनै पनि भाषणमा पाकिस्तानविरुद्ध आगो ओकलिरहनुहुन्छ । भारत आकारमा नेपालभन्दा २२ गुणा र जनसङ्ख्यामा ४४ गुणा ठूलो छ । नेपाललाई पारवहनको सुविधा दिन र व्यापार गर्ने जस्ता नेपालको अन्तर्राष्ट्रिय नैसर्गिक अधिकारका विषयमा समेत भारतले नेपाललाई खुम्च्याउन र थिचोमिचो गर्न पटक–पटक नाकाबन्दीको अस्त्र प्रयोग गर्ने गर्छ । वि.सं. २०२७, वि.सं. २०४५ र वि.सं. २०७२ मा पनि भारतले अमानवीय नाकाबन्दी लगाएर नेपालको कमजोर अर्थतन्त्रलाई अझ कमजोर बनाएर दण्ड दियो ।
काँग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वका सरकारले पछिल्लो नाकाबन्दीलाई बहादुरीका साथ प्रतिकार गरे । २०७२ सालको नाकाबन्दीमा नेपालका जनताले ठूलो अभाव र घाटा बेहोरे । भारतले लगाएको नाकाबन्दीलाई हामीले गराएको भनेर जिम्मा लिने तराईका नेताहरू तराईलाई पहाडबाट छुट्टाउने बार्गेनिङ गर्दैछन् । साथमा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको माओ–काँग्रेस सरकारले पाँच नम्बर प्रदेशका पहाडी र तराई जिल्लालाई फुटाउने प्रयास गरेको छ । भारतीय नागरिकलाई ठूलो सङ्ख्यामा नेपाल पठाएर केही वर्षभित्रै नेपालमा नेपालीलाई अल्पसङ्ख्यक बनाउने र नेपालको अस्तित्व खतरामा पार्ने चेष्टामा भारत रहेको आम नेपालीको बुझाई छ । अहिलेको ५ नम्बर प्रदेश टुक्र्याउनुभनेको त्यसको हप्तादिन पछि मेची–कोशी र अर्को हप्तामा कैलाली–कञ्चनपुर समेत पहाडबाट टुक्र्याउने अभियान चलाउन विखण्डतावादीहरू योजनाबद्ध रूपमा लागिपर्ने आधार बनाइदिनु हो । महन्थ ठाकुरलगायतका मधेसवादी नेताले पटक–पटक तराईलाई अलग्याउने धम्की दिइरहेका छन् । सन् १९७७ मा नै भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सिक्किममा भारतको विलयपछि नेपालको तराईलाई टुक्र्याएर भारतमा मिलाउन भारतको ‘रअ’ लाई दिएको निर्देशनकै निरन्तरताको रूपमा नेपालको तराईलाई पहिला एक मधेस एक प्रदेश र त्यसपछि नेपालबाट पूरै टुक्र्याउने नीति भारतको देखिन्छ तर महन्थ ठाकुरहरूको ‘तराई अलग हुने’ चेतावनीलाई गम्भीर रूपमा लिन काँग्रेस र एमाओवादीभित्रका देशभक्तहरूले ढिलो गर्नु गम्भीर चिन्ता र चासोको विषय हो । काँग्रेस नेता चन्द्र भण्डारी र एमाओवादी नेता टोपबहादुर रायमाझीको बाटो अनुसरण गर्न ती पार्टीका नेता तथा कार्यकर्ताले साहस गर्नुपर्छ । देशभन्दा पार्टी ठूलो होइन ।
नेपाली काँग्रेसका संस्थापकले सो पार्टीको उद्देश्य तयार गर्दा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मुख्य एजेण्डाका रूपमा स्वीकार गरेका थिए । काँग्रेसको स्थापना भएको विगत ७० वर्षमा काँग्रेस पार्टी यी मूल एजेण्डामा टसमस भएन तर अहिले माओ–काँग्रेस सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय रूपमा आमजनताले अपेक्षा नगरेको ५ नम्बर क्षेत्र फुटाउने प्रस्ताव जनसमक्ष ल्याएको अवस्था छ । पहिला सङ्घीयताको र त्यसपछि एक मधेस एक प्रदेशको नारा लगाउने तŒव नै पहाड र तराईलाई एकै ठाउँमा बस्न नदिने प्रपञ्चमा लागेको प्रस्ट छ । सबैभन्दा अचम्मको र खतरनाक कुरा के देखिएको छ भने २०७२ असोजमा ९२ प्रतिशत सांसदले बनाएको संविधानलाई भारतले मान्यता नदिने भनेको थियो । तिनै तŒव नै अहिले आएर ५ नम्बर प्रदेश टुक्र्याउने कुरालाई डुक्री–डुक्रीकन समर्थन गर्दैछन् । भारतको विदेश मन्त्रालय र भारतीय राजदूतावासले एकैसाथ ५ नम्बर प्रदेश टुक्र्याउने कुरालाई जोडदार स्वागत गर्नुले नेपालको पहाडी भागलाई तराईसँग छुट्याउने एजेण्डा भारतको भएको र त्यसलाई दाहाल र देउवाले अगाडि बढाउनु संशयपूर्ण रूपमा हेरिनु स्वाभाविक नै हो ।
नेल्सन मण्डेलाले आफ्नो बायोग्राफी ‘लङ वाक टु फ्रिडम’ मा लेख्नुभएको छ, “जब गोराहरू अफ्रिकामा आए त्यतिखेर उनीहरूसँग बाइबल थियो, हामीसँग जमिन थियो । बिस्तारै हाम्रो जमिन उनीहरूसँग भयो हामीसँग बाइबल मात्र रह्यो ।
केही दिनअघि एकजना काठमाडौँ ज्ञानेश्वरका निकै पठित व्यक्तिले भने– केही वर्षअघि काठमाडौँ आउने धेरैजसो भारतीयसँग एउटा लोटा मात्र हुन्थ्यो । अहिले ज्ञानेश्वर डिल्लीबजार क्षेत्रमा बेचिने घर प्रायशः भारतीयहरूले किनेका छन् । ज्ञानेश्वरलाई अहिले आएर ‘माडेश्वर’ भन्न थालिएको छ ।
वि.सं. २०६३ पछि काँग्रेस, एमाले र माओवादीका नेताहरूको अदूरदर्शिता र असिमित लोभले भनौँ २०६४ साल जेठ ४ गतेपछि धर्मनिरपेक्षतालाई नेपालको सबैभन्दा ठूलो धर्म बनाइयो । अनि बाइबल (इसाई) धर्म प्रचार गर्न पश्चिमा चर्चहरूका पैसा, निःशुल्क औषधि र निःशुल्क शिक्षा अनि एक थान बाइबल र एउटा फटिकको सेतो माला र बाइबल बोकेका हजारौँ तलबी भोलेन्टियरहरू रोजगारीको लोभ देखाएर गाउँ–गाउँ र घरघर पुग्ने गर्दैछन् ।
नेपालका पूर्व राजाहरू महेन्द्र र वीरेन्द्र तथा प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्य, बीपी कोइराला र कीर्तिनिधि बिष्टसमेतले नेपालको कूटनीतिक क्षेत्रलाई निकै बृहत् बनाए । महेन्द्र र टंकप्रसादका समयमा चीनसँग दौत्य सम्बन्ध भयो भने महेन्द्र र बीपीको समयमा पाकिस्तान इजरायल जस्तो देशसँग पनि दौत्य सम्बन्ध भयो । २०१२ सालदेखि अत्यन्तै प्रगाढ मित्र राष्ट्र रहेको चीनले अहिले नेपालको एक चीन नीतिप्रति आशङ्का गर्दैछ ।
भारतको रणनीतिक चालमा माओवादी केन्द्रका अध्यक्ष, प्रधानमन्त्री दाहालले नेपालले उप्रान्त भारत अनुकूल परराष्ट्र नीति लागू गर्ने लिखित प्रतिबद्धता जाहेर गरेपछि भारतले देउवालाई दलाई लामाका प्रतिनिधिसँग एउटै मञ्चमा राखेर देउवाका तस्बिर समेतको समाचार प्रचारप्रसार गराएको थियो । यो दिल्लीको नेपाललाई उपयोग गर्ने नीतिको परीक्षण थियो । त्यसैगरी मङ्गोलियाका विदेशमन्त्रीलाई चीनको कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य र पार्टीका प्रचार विभागका प्रमुख काठमाडौँ ओर्लिएकै दिन एउटै समय पारेर झिकाइए । उनलाई एउटै समयमा काठमाडौँमा ओराल्ने र भुटान भ्रमण गराउने चाँजोपाँजो दिल्लीले गरेर नेपालको कूटनीतिक तथा राजनीतिक वृत्तलाई उपयोग गरेको भन्ने टिप्पणी अध्येताहरूको छ ।
राजा महेन्द्र, टंकप्रसाद, बी.पी, राजा वीरेन्द्र, कीर्तिनिधि बिष्ट समेतका नेताहरूले लागू गरेको असंलग्न परराष्ट्र नीतिमा यसरी खेलबाड गर्न आफूलाई बीपीको पार्टी दाबी गर्ने काँग्रेसलाई मिल्छ ? काँग्रेस पार्टीले आफ्नो परराष्ट्र नीति बीपी, किसुनजी, गिरिजाप्रसाद, सुशील कोइराला आदिले लिँदै आएको असंलग्न परराष्ट्र नीति हो कि भुटानजस्तै भारतको संरक्षित देश भएर बस्ने विदेश नीति हो प्रस्ट पार्नु जरुरी छ । नेपाली काँग्रेसका सभापति ‘झुक्यानमा परेर’ गोवामा दलाई लामाको मञ्चमा पुग्नुभएको घटना होस् वा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री विमलेन्द्र निधिले भारतकै विचारको पक्षपोषण गरेर बोल्नुभएको भनी गरिएका टिप्पणीमा काँग्रेसको केन्द्रीय समितिले आफ्नो प्रतिक्रिया दिएको छैन किन ?
बीपी कोइरालाका उच्चतम तीन गुण थिए । उहाँ समयको पदचाप सजिलै थाहा पाएर पनि त्यस्तो परिस्थितिलाई आफ्नो दृष्टिले व्याख्या गर्नुहुन्थ्यो । नेपाली जनताको सामथ्र्यलाई राम्रोसँग चिन्नुभएको थियो । नेपाली जनता अविचलित धैर्य भएका र देशभक्त छन् भन्ने कुरोमा बीपी सदैव विश्वस्त हुनुहुन्थ्यो । विरोधीको क्षमता र शक्तिलाई उहाँ उच्चतम कदर गर्नुहुन्थ्यो । आफ्नो जीवनको अन्त्यतिर आफ्नो अन्तिम सन्देशमा उहाँले भन्नुभएको छ “हामीहरू बडो अप्ठ्यारो परिस्थितिमा छौँ, हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ, जोगाउनुपरेको छ । ... ती विदेशीहरूले हत्याकाण्डको लहर यहाँ ल्याउँछन्, ल्याउँछन्, ल्याउँछन् तर हाम्रो देश रहन्छ, रहन्छ, रहन्छ र त्यसको यस मुलुकमा एउटा आधार छ । एउटा आधार हामीभित्र तराईवासी हुन् वा नेवार हुन् वा पर्वते हुन्, एउटा कता–कता लुकेको राष्ट्रिय भावना छ । त्यसले गर्दा हामीहरू बाँचेका छौँ । (राजा, राष्ट्रियता र राजनीति)
समग्र राष्ट्रिय परिस्थिति हेर्दा अहिलेको नेपाली काँग्रेसको नेतृत्वले लिएको नीतिले नेपाल देशलाई र नेपाली काँग्रेसलाई कता लाँदैछ ? अहिले काँग्रेसले लिएको भारत र चीन नीति सही छ ? काँग्रेसको युवा पुस्ताले यसलाई बहसको रूपमा लैजाउनुपर्छ ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना