मावोहाङका सन्तान

 raj kumar dikpalराजकुमार दिक्पाल


ताप्लेजुङ जिल्लाको सन्थाक्रा र हाङपाङमा प्रमुख रूपमा बसोबास गर्दैै आएका लिम्बू यक्सोहरू मावोहाङका सन्तान हुन् ।   तत्कालीन आठ राई थुमअन्तर्गत पर्ने हाङपाङ यक्सोहरूकै सुब्बाङगीअन्तर्गत पथ्र्यो ।   यक्सोहरूले सुब्बाङगी चलाएको प्रशस्तै ऐतिहासिक कागजपत्र सुरक्षित छन् ।   
यक्सोहरूले आफ्नो वंशावली केलाउँदा मुनातेम्बेतिर पुग्छन् ।   यो क्षेत्र फक्तालुङ हिमाल आसपास पर्छ ।   त्यहाँ लिम्बूहरूको मौलिक युमा धर्म जोगाउन गाह्रो भएको, बौद्ध धर्मको प्रभुत्वले पेल्दै लगेको कारण आफ्नो मौलिक धर्म जोगाउन आफूहरू दक्षिणतिर झरेको मान्यता राख्छन् ।   वंशावलीअनुसार उनीहरूको पुर्खा मुनाफेनहाङ हुन् ।   उनलाई मुनाफेन, मुक्केगुवा वा सिक्केथुक्पा पनि भनिन्छ ।   उनी साह्रै रिसाहा भएका कारण “सिक्केथुक्वा” भनिएको हो ।   
सिक्केथुक्पाका छोरा लासाहाङलाई मौलिक धर्म जोगाउने अभियानमा लाग्दा हत्या गरियो ।   त्यसपछि उनका शक्तिशाली छोरा उवाहाङ (सन् ८४९–८६५) ले राज्यको पुख्र्यौली विरासत थामे ।   इतिहासकार इमानसिंह चेम्जोङले “किराँत इतिहास र संस्कृति” (२०६३ः८२) मा उल्लेख गरेअनुसार उनी शक्तिशाली लिम्बू राजा थिए ।   उनले नयाँ धर्मदर्शनसमेत प्रतिपादन गरेका थिए ।   चेम्जोङ (२०६३ः८९) अनुसार उवाहाङपछि उनका छोरा मावोहाङ सन् ८६५ देखि ८८० सम्म १५ वर्ष राजा भए ।   मावोहाङ निक्कै धार्मिक र प्रतापी थिए ।   आज पनि उनकै प्रतापका कारण आफूलाई मावोहाङका सन्तान वा मावोहाङवंशी भन्ने लिम्बूमध्ये यक्सोहरू पनि एक हुन् ।   लिम्बू मुन्धुममा उवाहाङ र मावोहाङका प्रशस्त उपदेश र वाणी पाइन्छन् ।  
मावोहाङका सन्तान
भर्खरै प्रकाशमा आएको यक्सोहरूको वंशावली “यक्सो ईत्लाम” (२०७३ः६३) ले मावोहाङका सन्तान को–को थिए भनी प्रस्ट पारेको छ ।   वंशावलीअनुसार मुनाफेनहाङका तीन भाई छोरामध्ये जेठा लासाहाङका छोरा उवाहाङ र नाती मावोहाङ हु्न् ।   माइला खालाहाङका सन्तान काङभा, मावखिम, यरङवा, लक्सम र मादेम्बा भए ।   यस्तै कान्छा इमेहाङका सन्तान लेप्चा भए ।  
लासाहाङका चार छोरामध्ये जेठा उवाहाङ, माइला चाङवाहाङ, साइला पारावाहाङ र कान्छा मुरेंगन हुन् ।   तीमध्ये माइलातिर सुवाङसङ र महरेसङ भए ।   साइलातिरका सन्तान फुरुम्बो र पालुङवाहरू भए ।   कान्छा मुरेंगनतिर तवेबुङ, मांयुक, ईजम, पतङवा, लाबुङ र संसंवो भए ।  
उवाहाङका एकै जना छोरा मावोहाङ भए ।   उनका पनि एकै जना छोरा थिए, मुदाहाङ ।   मुदाहाङका तीन भाई छोरामध्ये जेठा थाक्मिया, माइला मुरेंगन र कान्छा काप्पेनहाङ भए ।   मुरेंगनका सन्तान तुम्बाहाम्फे, सर्वन्दुङ, यङदेन र मादेन फेन्दुवाहरू हुन् ।   यस्तै काप्पेनहाङका सन्तान चाहिँ लेचेन्जे, लेखक्पा, थगम्बा, लुङदेपु, हिदुम, फाक्फेक्वा मावोहरू हुन् ।   
जेठा थाक्मियाका सन्तान मुजिवा हुन् ।   उनका सन्तान चेम्जोङहरू हुन् ।   कान्छा थाक्काइनहाङका दु्ई छोरामध्ये तागेहाङका सन्तान इङवादक, सवेइनाम, फुङदित आङछङवोहरू भए भने कान्छा सुल्लिफुङका सन्तान नै यक्सोहरू हुन् ।   
यक्सो वंशावलीको पुराना मूल कागजमा भने उवाहाङलाई देवानाम्जे, मावोहाङलाई देवारोङगे र मुदाहाङलाई देवा फुनजांपा लेखिएको छ ।   विक्रम संवत् १९०९ मा तयार पारिएको वंशावलीको पुरानो कागज यो पङक्तिकारसँग सुरक्षित छ ।   
यक्सोको यक
यक्सोहरूको यक ताप्लेजुङको तमरखोलामा रहेको छ ।   यस क्षेत्रलाई युमासामको तान बुन्ने ठाउँका रूपमा लिइन्छ ।   
खासगरी “यक केगोवा” अर्थात् यकको सुरक्षा गर्ने भएकोले यक्सो भनेको हो भन्ने मान्यता रहँदै आएको छ ।   यक अर्थात् गढीलाई सुरक्षा गर्नका लागि शक्तिशाली हुनुपथ्र्याे ।   यक्सोहरूको मुकुसम्माङ पनि भएकोले उनीहरू कुनै बेला शक्तिशाली थिए भन्ने अनुमान सहजै गर्न सकिन्छ ।   कसैले जित्न नसक्ने र उड्न सक्ने शक्ति थियो, यक्सोहरूसँग ।   उनीहरूको यकलाई यक्चे यक भनिन्छ ।   यक्सोहरूको सन्दर्भमा थाक्मिया र मुरेंगनको गाथा गाउने गरिन्छ ।   
यक्सोहरूको हाङपाङ आगमन
सन्थाक्रा पुगेर अमरबहादुर यक्सोले सङकलन गरी ल्याएको र हाङपाङ छ का बासिन्दा हाल सैबु– ४, भैँसेपाटी, ललितपुर निवासी विष्णुकुमार यक्सोले यस पङक्तिकारलाई सुनाएको यक्सोहरूको हाङपाङ आगमनको लोककथा यस्तो छ ः यक्सोहरू पहिले शक्तिशाली थिए ।   त्यो शक्ति चाहिँ चेलीले भगाइदिए ।   अहिले पनि यक्सोहरूलाई चेलीबेटीको सराप परेको भन्ने मान्यता जीवितै छ ।  
पहिले यक्सोहरूलाई उड्न सक्ने शक्ति बरदानको रूपमा प्राप्त थियो ।   परापूर्वकालमा राजा सरेङहाङलाई उनको शत्रुले साह्रै दुःख दिइरहेका थिए ।   सेरेङहाङ एक्लै लड्न नसक्ने भएपछि पोमुहाङ अर्थात् उड्ने राजालाई मद्दत माग्न पुगे ।   पोमुहाङले “मभन्दा अझ शक्तिशाली यक्सो छन् ।   उनीसँग मद्दत लिनू” भन्ने सल्लाह दिए ।   यो सल्लाहअनुसार सेरङहाङ यक्सोहरूसँग मद्दत माग्न गए ।   दुई भाई यक्सो लड्न तयार भए ।   यी दुईले शत्रु कति शक्तिशाली छ ? आफूभन्दा शक्तिशाली छ भने आफू मरिन्छ, के गर्ने सल्लाह गरे ।   
जोखाना हेरेर पछि जित्छौँ भन्ने लागेर सरेङहाङसँग उनको शत्रु चिनाई मागे ।   दुई भाई शत्रुलाई खोज्दै जाँदा शत्रुको राजा दिउँसो भात खाएर सुतिरहेको रहेछ ।   त्यस्तो बेला उनीहरूले आफ्नो धनुकाँड हानेर मारिदिए ।   शत्रुको राजा मरेपछि उनको सेनाले थाहा पाएर शत्रु सेनाले खेद्दा दुई भाइ भाग्दै आए ।   बीचमा एउटा ठूलो पहरा फाटेको थियो ।   दुई भाइ फाटेको पहरा नाघेर पारी पुगे ।   उनीहरूलाई खेद्दै आउने शत्रु पहरा नाघ्न नसकेर पहरामुनि झरे ।   कोही पनि पारी तर्न नसकेपछि दुई भाई शङका लाग्यो ।   घुमेर भीरमुनि गएर हेर्दा उनीहरू सबै मरेका थिए ।   उनीहरूको लुगा दुई भाइले फुकाएर लगाए ।   लुगा १३ जोर थियो ।   
यी दुई दाजुभाइ सेरेङहाङसँग बस्दै आए ।   त्यही बेला दुई भाइको फुपू पनि भदैहरूलाई पछ्याउँदै आएकी रहिछन् ।   भेट भयो ।   
दुई भाइले तमोर मिया दोभानमा माछा मार्ने ढडिया थापेको रहेछन् ।   त्यहाँ सधैँ एउटा मान्छे माछा चोर्न आउँदा रहेछन् ।   त्यो देखेर फुपूलाई सोधेछन्, “फुपू, त्यो हाम्रो डढियामा माछा चोर्न आउँछन् ।   मारिदिउँ ?”
“मारे पनि मार”, फुपूले भनिछिन् ।  
कान्छाले चाहिँ देवी देवता भाकेर धनुकाँणले हान्दा मान्छे म¥यो तर सोधखोज गर्दा ती मान्छे त फुपूको प्रेमी रहेछन् ।   प्रेमी मारिँदा फुपूलाई चित्त दुख्नु स्वाभाविक भयो ।   त्यसपछि फुपूले उनीहरूको मुकु (शक्ति) छ, त्यो झारिदिने प्रण गरिन्, षड्यन्त्र रचिन् ।   भदैहरूलाई दिउँसो घाम लागेको बेला ढुङगामाथि बोलाई “तिमीहरूको लिखा जुम्रा केलाइदिन्छु” भनिन् ।   फुपूले चाहिँ लिखा तान्ने निहुँमा मन्त्र जप्दै उनीहरूको शिरमा भएको शक्ति फ्याँकिदिइन् ।   
त्यसपछि दुई जनाको शक्ति सकियो ।   जेठो भाइ निरास भए ।   अब यो श्राप लगेको ठाउँमा बस्दिनँ भन्दै पलायन हुन मन भयो, उनलाई ।   सेरेङहाङले उनलाई आफ्नो राज्यमा बस्न भने पनि त्यहाँबाट पलायन हुने निर्णय गरे ।   उसले फुपूलाई सोधे, “म कतातिर जाँदा हुन्छ ?” फुपूले “माथि फुकेको तलतिरमा सुकेको ठाउँमा गएर बस” भनिन् ।   सान्थाक्राबाट त्यस्तो ठाउँ हेर्दै आउँदा चाँगेबाट त्यस्तो ठाउँ देखे ।   त्यो हाङपाङ थियो ।   हाङपाङमा जेठो र सान्थाक्रामा कान्छो बस्न थाले ।   
सान्थाक्राका यक्सोहरू कान्छा सन्तान भएकोले साइनोमा ठूला छन् भने जेठा सन्तान भएकाले हाङपाङका यक्सोहरू साइनोमा साना छन् ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना