घुम्टोभित्रकी सुनैना अमेरिकासम्म

Sureshसुरेशकुमार यादव


केही गर्ने इच्छा मनैदेखि भयो भने त्यो पूरा भइछाड्छ ।   त्यसको पछिल्लो उदाहरण बन्नुभएको छ सुनैना ठाकुर ।   मिथिला चित्रकालामा हालै ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’ उपाधिबाट सम्मानित उहाँले वर्षौंसम्म घुम्टोभित्रै सीमित भएर जीवन जिउने महिलाका लागि एक उदाहरणीय पात्र बन्नुभएको छ ।   मिथिला आर्ट (चित्रकला) बाट उहाँ आफू मात्र होइन, महोत्तरी जिल्लाका सयौँ महिलाको दिनचर्या परिवर्तन गर्न सफल हुनुभएको छ ।   अमेरिकाको न्युयोर्कमा ‘कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’को उपाधिबाट सम्मानित भएर मिथिला आर्टलाई व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय रूपमा चिनाउनु भएकी उहाँ पहिलो मधेसी महिला हुनुहुन्छ ।   चित्रकलामा लागेपछि सुनैनाप्रति नाक खुम्च्याउने घरपरिवार तथा आफन्तले अहिले उहाँका कारण नाक ठाडो पार्न थालेका छन् ।  
उहाँ लेखपढ गर्न जानेका सामान्य घुँघटभित्रको गृहिणी हुनुहुन्थ्यो ।   सर्लाहीको गौरशंकर श्रीनगर–५ मा माइती भएकी सुनैनाले चित्रकला सिक्न कुनै स्कुल, कलेज वा इन्स्टिच्युट पुग्नु भएको छैन ।   न कुनै तालिम नै लिनुभएको छ ।   उहाँका आमा छठिया देवीले घरको भित्ता, आँगनमा चित्र बनाएको हेरेर नै चित्रकलाको पौरखी हुनुभयो ।   आमाले बनाउनु भएको सुग्गा, मयुर, अर्पण, रामसीता लगायतको चित्र हेरेर आफ्नो स्कुलको कापीमा बनाएर देखाउँदा शिक्षकहरू पनि छक्क पर्नुहुन्थ्यो ।   
आफूले सानैदेखि अरूको पर्खालमा चित्रहरू बनाउँदा कतिपयको हप्की, खप्की र परिवारको गाली खानु परेको स्मरण पनि गर्नुहुन्छ उहाँ ।   भन्नुहुन्छ, ‘अन्ततः मैले सोही चित्रको माध्यमले अन्तर्राष्ट्रियस्तरमा अवार्ड हासिल गर्न सफल भएकी हुँ ।  ’ आफूभित्रको कलालाई जीवन्त राख्न घरकै पर्दा, तन्ना लगायतमा चित्र कोर्ने गर्दै आएको बताउने ३२ वर्षीया सुनैना भन्नुहुन्छ, आठ कक्षामा पढ्दा चित्रकला प्रतियोगिता हुँदा म आमाले घरको भित्तामा बनाएका चित्रहरूलाई आफ्नो कापीमा कोर्थें र बेलाबेलामा ती चित्रका कारण स्कुलले सम्मान र पुरस्कार दिँदा म झन् उत्साही हुन्थेँ ।  ’
सङ्घर्षको पाइला
जिल्लाकै सुगाभवानीपट्टिकी गृहिणी सुनैना ठाकुरले चित्रकलालाई नै पेसा बनाउने कुरा घरमा राख्दा सबै हाँस्नु हुन्थ्यो ।   आमा बुबा, सासु ससुराले पनि सुनैनाको त्यो अठोटलाई पत्याएका थिएनन् ।   घरका चेलीबेटी, बुहारीले यस्ता घर बाहिरका कामहरू गर्नुहुँदैन, घरभित्रै घुँघटोमा बस्नुपर्छ भनिन्थ्यो ।   १० कक्षामा पढ्दाकै अवस्थामा महोत्तरीका शम्भु ठाकुरसँग विहे भएको विहेपछि सुनैनाले जसोतसो उहाँले एसएलसी त पास गर्नुभयो तर थप पढ्नका लागि दुई वर्षसम्म सङ्घर्ष गर्नुभयो ।   बाहिर गएर पढ्न र चित्रकला बनाउन नसके पनि घरका पर्दा, तन्नालगायतमा ती चित्रहरू कोर्न छाड्नु भएन ।   उहाँले कोरेको चित्रको चर्चा टोलभरि नै हुन्थ्यो ।   अहिले उहाँले बीएडसम्म अध्ययन गर्नुभएको छ ।   गाउँमा समूह बनाएर महिलाहरूलाई नेतृत्व विकासको तालिम दिँदा सुनैनाको बारेमा विभिन्न टीकाटिप्पणी भएको थियो ।   छोरी, चेलीबेटी बिगारेको आरोप पनि सुनैनामाथि लाग्ने गरेको थियो ।   तर आज उहाँले आफ्नो कला विश्व बजारमा प्रदर्शन गरेर समाजलाई सम्मान दिलाउनु भएको छ ।   
फेरिएको जीवन
सुनैना आफ्नो गाउँमा पढेलेखेकी एक मात्र महिला हुनुहुन्थ्यो ।   फलानो घरमा पढेलेखेको बुहारी छन् भनेर गाउँभरि चर्चा हुनेगथ्र्यो ।   गाविसमा सामाजिक कार्यकर्ताका लागि गठन भएको एउटा सञ्जालमा पढे लेखेकी महिलाको रूपमा सुनैनाको नाम पनि राखिएको थियो ।   त्यो नै सुनैनाका लागि जीवनको उज्यालो मोड हुनगयो ।   ‘सर्च फर कमन ग्राउण्ड’ले पढे लेखेको मधेसी महिला खोज्दै महोत्तरीतिर गएको थियो ।   त्यसलाई कसैले सुनैनाको नाम लेखाइदियो ।   त्यसपछि ग्राउण्डले घरमा सुनैनालाई भेटेर महिलाको नेतृत्व विकासका लागि तालिममा भाग लिन आग्रह गरेको थियो ।   
सो आग्रहपछि सुनैनालाई तालिम लिने इच्छा भयो तर घरका सासु सासुराले इजाजत दिनुभएन ।   जनकपुरमा हुने सो तालिममा बुहारी जस्तो मान्छे कसरी भाग लिन जान्छिन्, त्यो पनि एक्लै, हुँदैन भन्दै उहाँका सासुले इन्कार गर्नुभयो ।   तर पछि उहाँका श्रीमान शम्भुले घरमा सम्झाइबुझाई गरेर उहाँलाई तालिमका लागि जनकपुर पठाउनु भयो ।   
महिलाको नेतृत्व विकास सम्बन्धी लिनुभएको चार दिनको तालिमले नै आफ्नो जीवनमा परिवर्तन ल्याइदिएको सुनैना ठाकुर सुनाउनु हुन्छ ।   तालिम सकेपछि कसलाई के गर्न मन लागेको छ, लेखेर दिनुस् भन्दा उहाँले लेख्नुभयो– ‘मेरो कला नै पहिचान हो, म मिथिला आर्ट गर्न चाहन्छु र गाउँका महिलाहरूलाई अगाडि बढाउन चाहन्छु ।  ’
कमन ग्राउण्डले तालिम लिए अनुसार नै आआफ्नो गाउँमा गएर अन्य महिलाहरूलाई समूह बनाएर तालिम दिनु भनेर सबैलाई पठायो ।   सुनैनाले पनि गाउँमा महिलाहरूको एउटा समूह बनाएर तीन दिनको तालिम दिनुभयो ।   
त्यो १० हजार रुपियाँ
तालिम सकिएपछि कमन ग्राउण्डले १० हजार रुपियाँ सुनैनालाई दिँदै यो रुपियाँ तालिम दिएका महिलाहरूमा खर्च गर्न सक्नुहुन्छ भनिएको थियो ।   उहाँका लागि त्यही १० हजार रुपियाँ नै वरदान साबित भयो ।   उहाँले २५ जना महिलालाई १५ दिनसम्म मिथिला आर्टको तालिम दिन थाल्नुभयो ।   तालिम दिएपछि उहाँ चित्रकलामा झन् रमाउन थाल्नुभयो र विस्तारै व्यावसायिक रूप दिन थाल्नुभयो ।   पछि त उहाँलाई घरपरिवारका मान्छेले पनि सहयोग गर्न थाले र आज सुनैनाको चित्रकला अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ ।   उहाँले चित्रकलाको व्यावसायीकरण र महिलालाई तालिम दिनका लागि वि.सं. २०६६ मा महिला क्षमता विकास केन्द्र पनि दर्ता गराउनुभयो र मिथिला पेन्टिङ गर्ने कार्यलाई अघि बढाउँदै लग्नुभयो ।  
सो केन्द्रमार्फत नियमित तालिम दिनुको साथै चित्रकलाहरू बनाउन थाल्नुभयो ।   त्यसपछि उहाँलाई गाविसले पनि सहयोग गर्नथाल्यो ।   अन्य ठाउँबाट पनि सहयोग आउन थाल्यो ।   पछि त देश विदेशबाट आउने महिला पुरुषहरूले समेत उहाँको समूहमा गएर चित्रकला अवलोकन गर्न थाले ।  
चित्रकलाको प्रदर्शन
त्यसपछि समूहबाट तयार पारेको चित्रकलालाई पहिलोपटक गाउँमै प्रदर्शन गर्नुभयो ।   त्यसपछि उहाँले जनकपुरमा प्रदर्शन गर्नुभयो ।   आफ्नै समूहबाट पोखरा, काठमाडौँलगायतको ठाउँमा प्रदर्शनीहरू गर्दै अन्तर्राष्ट्रिय बजारमा मिथिला आर्टलाई पु¥याउनुभयो ।   उहाँ भन्नुहुन्छ, प्रदर्शनी बाहेक मैले बनाएको चित्रकलाको मार्केटिङ कहिले गरिन ।   यसै बिक्री भयो भने ठीकै छ नत्र बजार खोजेर हिँडिन ।  ’
सुनैनाले मिथिला चित्रकलाको व्यवसायी रूपमा अँगालेको पनि आठ वर्ष मात्र भएको छ ।   यति थोरै समयमा मिथिला आर्टलाई सानो गाउँबाट अमेरिकासम्मको यात्रा गराउन उहाँ सफल हुनुभएको हो ।   उहाँले भन्नुभयो, परिवार र साथीभाइको सहयोग र आफ्नो लगनले गाउँको मात्रै होइन देशकै नाम चिनाउन सफल भएकी हुँ ।   यसमा गर्व छ र मेरा आमा बुबा र सासु ससुराले पनि ममाथि गर्व गर्न थाल्नु भएको छ ।  ’
सुनैना भन्नुहुन्छ, अहिले पनि थुप्रै महिलाहरू यो क्षेत्रमा आउन चाहेका छन् तर यसको राम्रो बजार नभएका कारण मैले तालिममा लिइरहेको छैन, तालिम दिएर मात्र हुँदैन, तालिम दिएपछि काम पनि दिनुपर्छ जुन मसँग छैन ।  ’
घुम्टो ओढेर मात्रै मधेसका महिला बस्छन् भन्ने सोच्नु गलत रहेको बताउँदै सुनैनाले भन्नुभयो, अवसर पाउने हो भने मधेसका महिला पनि सक्षम छन् ।   सुनैनाको निरन्तरको प्रयास र अगुवाइलाई सलाम गर्दै युएनडीपीले पनि यसअघि सन् २०१२ मा उनलाई शान्ति सेवा अवार्ड पत्र प्रदान गरिसकेको छ ।   


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना