जलपक्षी गणना तथा संरक्षण अभियान

krishna p bhusalकृष्णप्रसाद भुसाल


पुस माघमा चिसोको साम्राज्यले मानवीय दैनिकी प्रभावित भइरहँदा ताल तलैया तथा सिमसार क्षेत्रहरूमा भने पानीचराका झुन्डहरू त्यही चिसो पानीमा रमाइरहेका देखिन्छन् ।   यतिबेला खासगरी सिमसार क्षेत्रमा पानी हाँसका प्रजातिहरूको चहलपहल देख्न सकिन्छ ।   नेपालमा ८ सय ७८ प्रजातिका चरा पाइछ ।   तीमध्ये करिब १ सय ३९ प्रजातिका चरा पूर्णतया सिमसारमा आश्रित हुन्छन् जसलाई पानीचरा अथवा जलपक्षी भनिन्छ ।   
अधिकांश जलपक्षीहरू हिउँद यामको सुरुवातसँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईमा अवस्थित ताल, तलैया र नदी आसपासमा बसाई सरी आउने गर्दछन् ।   यसरी बसाइ सरी आउने चराहरूलाई पाहुना चरा अथवा आगन्तुक चरा पनि भनिन्छ ।   खासगरी उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै अनकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनि जल पक्षीहरू उत्तरी मुलुकहरू रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरूबाट नेपालमा आउने गर्दछन् ।   कतिपय चराहरू त नेपालको बाटो हुँदै दक्षिणाी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर पनि पुग्छन् ।   
जाडो छल्न नेपालमा आउने अधिकांश पानीचराहरू हाँसका प्रजाति अन्तर्गत पर्दछन् ।   यी आगन्तुक पानीचराहरूले यहाँ प्रमुख सिमसार क्षेत्रहरू कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरूमा नै मूल रूपमा आफ्नो समय व्यतित गर्दछन् ।   यी चराहरू नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी रहन्छ भने चैतसम्ममा प्रायःजसो आफ्नो स्थायी बसोबासमा फर्किसकेका हुन्छन् ।   यसका साथै नेपालका रैथाने पानीचराहरू पनि सिमसार र त्यस आसपासका क्षेत्रहरूमा आएका पाहुना चराहरूसँग रमाइरहेका भेटिन्छन् ।   आगन्तुक पानीचराहरू केही बीचबीचमा बास बस्दै र केही सिधै उडेर हजारौँ माइलका अनेक जोखिम पार गर्दै नेपाल आउने गर्दछन् ।   गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि यी चराहरू सूर्य तथा अन्य ताराहरू, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्दछन् ।   यसरी बसाई सरी आउने चराहरूमध्ये खोया हाँस त विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा माथि (९ हजार ३ सय ७५ मिटर माथि) बाट आई नेपालको मुख्यतया नारायणी नदीमा बस्ने गर्दछ ।  
नेपालमा विभिन्न सिमसार क्षेत्रहरूमा आश्रित पानीचराहरू पछिल्ला दशकहरूमा बासस्थान सङ्कुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणहरूले सङ्कटमा पर्दै गइरहेका छन् ।   नेपालमा पाइने विश्वका दुर्लभ चराहरूमध्ये १३ प्रजाति जलपक्षी नै छन् ।   नेपाल पक्षी संरक्षण सङ्घको एक अध्ययन अनुसार नेपालमा सङ्कटापन्न अवस्थामा रहेका १ सय ४९ प्रजातिका चरामध्ये चालीस प्रजाति सिमसारमा आश्रित छन् ।   सहरीकरण, औद्योगीकरण, आणविक प्रयोग, अम्लीय वर्षा र जलवायु परिवर्तन जस्ता समग्र विश्वव्यापी पर्यावरणीय चुनौतीहरूले पनि बसाइसराई गर्ने कतिपय प्रजातिहरूको विचरण र जीवन प्रक्रियालाई अप्ठ्यारो पारिरहेको छ ।   
पछिल्ला वर्षमा सिमसारमा आश्रित पानीचराहरूको सङ्ख्यामा कमी आएको विभिन्न अध्ययन प्रतिवेदन र चरा अवलोकनकर्ताहरूको अनुभूतिले बताउँछ ।   जसको प्रमुख कारण बासस्थान सिमसारको विनाशलाई नै ठानिएको छ ।   सिमसार क्षेत्रहरू प्रायस अतिक्रमण भई कतै खेत र कतै घडेरीमा परिणत भएका छन् भने कतै माछा पोखरीमा सीमित छन् ।   वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादी बगी सिमसारमा मिसिनाले र ढल तथा धार्मिक पर्वहरूमा पूजाका सामान विसर्जन गर्नाले पनि सिमसारहरू प्रदूषित भइरहेका छन् ।   बाह्य तथा मिचाह प्रजातिहरू जलकुम्भी, कुम्भीका, जलजम्भु, बेसरम, करौते, लहरे वनमारा आदि वनस्पतिहरूको संक्रमणले सिमसारहरू ढाकिएका छन् ।   भू–क्षय र वरपरबाट बगेर आउने भलसँगै ढुङ्गा, बालुवा, पाँगोमाटो थुप्रिनुका साथै बाढी, पहिरो र हिमतालहरू फुट्ने खतराले पनि सिमसारहरू नष्ट हुने अवस्थामा छन् जसले पानीचरा र समग्र जैविक विविधतालाई ठूलो चुनौती दिइरहेको छ ।   विभिन्न सिमसार क्षेत्र र पर्यावरणको सूचक रूपमा हेरिने पानीचराहरूको सङ्ख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिगँ्रदो वातावरणीय सन्तुलन, प्राकृतिक स्रोतहरूको ह्रास र सिमसारको नासिदो अवस्थालाई जनाउँछ ।  
यिनै सङ्कट झेलिरहेका पानी चराहरूको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ ।   ई.स. १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको यस्तो गणना यस वर्ष पनि गरिँदै छ ।   प्रत्येक वर्ष अङ्गे्रजी महिना जनवरीमा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण सङ्घ संस्थाको सहभागिता हुने गर्दछ ।   यस वर्ष पनि जनवरी ७ देखि २२ (पुस २३ देखि माघ ९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिँदै छ ।   देशभरको जल पक्षी गणना कार्यक्रमको संयोजन तथा संकलित तथ्याङ्कको वैज्ञानिकीकरण नेपालका वरिष्ठ पक्षी विद् डा. हेमसागर बरालले गर्नुहुन्छ ।   
चरा संरक्षण विशुद्ध एकल अभियानले सम्भव हुन सक्दैन यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगोव्यवस्थापन एवं पर्यटन उधोग र विकाससँगसँगै पनि लैजानु पर्दछ ।   चरा र चराको बासस्थान संरक्षणमा जनसहभागिता र जनचासो अपरिहार्य छ साथै दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदाय, परम्परागत जाति, संरक्षण समूहहरू, राजनीतिक शक्ति, सरकारी, गैरसरकारी र निजी क्षेत्रको समन्वयात्मक क्रियाशीलता, एकिकृत सोच, अवधारणा र कार्यक्रमको आवश्यकता छ ।   यसका साथै कतिपय आगन्तुक पानीचराहरू एक देशबाट अर्को देशमा पनि जाने आउने गर्ने हँुदा संरक्षणका लागि अन्तरदेशीय सहकार्य पनि अपरिहार्य छ ।    




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना