कसरी गर्ने मिडिया अनुगमन ?

Dipak khanalदीपक खनाल

मिडिया शब्दको अर्थको क्षेत्र फराकिलो छ ।  देश, विदेश, समाजमा भएका कुनै पनि घटनाक्रमको जानकारी आममानिससम्म पु¥याउने ‘यन्त्र’ नै मिडिया हो ।  अङ्ग्रेजी शब्द ‘मिडिया’ को नाम लिनासाथ ‘सञ्चारमाध्यम’ को सम्झना आउँछ ।  पत्रकार आचारसंहिता– २०७३ ले ‘नेपालमा प्रचलित पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, समाचार एजेन्सी तथा इन्टरनेटका माध्यमबाट समाचार, सूचना तथा विचारमूलक कार्यक्रम उत्पादन, वितरण र सम्प्रेषण गर्ने संस्था र सेवा’ लाई ‘सञ्चारमाध्यम’ भनी परिभाषित गरेको छ ।  अझ गहन रूपमा विश्लेषण गर्दा यीबाहेक सामाजिक सञ्जाल, बिलबोर्ड, प्रत्यक्ष मेल, पुस्तक, चिठीपत्र, एसएमएस, तुल–ब्यानर, होर्डिङ बोर्ड, सूचीपत्र, क्याटलग, फ्याक्स, चलचित्र, डकुमेन्ट्री, गीत–सङ्गीत, साहित्यिक रचना आदि समेत सञ्चारमाध्यम हुन् ।  पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन, इन्टरनेट त प्रभावकारी सञ्चारमाध्यम मात्र हुन् ।  मिडियाको सन्दर्भमा यिनै प्रचलित माध्यमको चित्र कोरिने भएकाले यिनीहरूको अनुगमनलाई मात्रै ‘मिडिया अनुगमन’ भनेर बुझिँदै आएको छ ।  प्रेस काउन्सिल नेपालले समेत छापा र प्रसारणमाध्यमको मात्र अनुगमन गर्दै आएको छ ।  
मिडिया अनुगमन प्रभावकारी बनाउन सर्वप्रथम माध्यमको छनोट गर्नुपर्छ ।  छापामाध्यमभित्र दैनिक, साप्ताहिक, पाक्षिक, मासिक आदि पत्रिका पर्छन् ।  छापामाध्यमको अनुगमन गर्दा पत्रिकाको मूलनाम (मास्ट–हेड, पत्रपत्रिकाको नाम आचारसंहिताअनुसार राखिएको छ कि छैन ? शीर्षक राख्दा आचारसंहिता ख्याल गरिएको छ कि छैन ?, सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पु¥याउने, भेद्भाव हुने वा निजी स्वार्थ पूर्ति गर्ने, हिंसा, आतङ्क र अपराधलाई प्रश्रय हुने, नागरिकको मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर पर्ने, न्याय निरूपणमा प्रभाव पार्ने, जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्य सम्बन्धमा अतिरञ्जना हुने, गोपनियताको हकको हनन हुने खालका शीर्षक छन् कि छैनन् ? भन्ने आधार अपनाउनुपर्छ ।  
यस्तै, समाचार स्रोत वा सन्तुलन
(समाचारको स्रोत उल्लेख भएको–नभएको गरिएको, समाचारमा  सम्बन्धित पक्षको भनाइ वा प्रतिक्रिया राखिएको–नराखिएको, समाचार एकपक्षीय छ कि सन्तुलित छ ?), समाचार परिचय (इन्ट्रो–कसरी तयार पारिएको छ ? यो तयार पार्दा आचारसंहितामा ध्यान दिइएको छ वा छैन), समाचार बढी (समाचारको विस्तृत भाग वा पेटबोलीले आचारसंहिता उल्लङ्घन गरेको छ कि छैन ?), समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गरिएको छ कि छैन, पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने वा घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गरी सूचनाको सम्प्रेषण भएको छ कि छैन ?, विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनका रूपमा प्रस्तुत गरिएको छ कि छैन ?, तस्बिर÷कार्टुन, इलुस्ट्रेसन वा अन्तर्वार्ता, मत सर्वेक्षण यी सामग्रीबाट आचारसंहिता हनन भएको छ
छैन ?, यी सामग्री तोडमोड गरेर वा गलत प्रयोग गरेर आफू अनुकूल सम्प्रेषण गरिएका छन् कि छैनन् ? भन्ने आधारमा गर्नुपर्छ ।  यसैगरी भाषा, लिङ्ग, जाति÷सम्प्रदाय, क्षेत्र, घटना–प्रस्तुति र विज्ञापनको आधारमा गर्नुपर्छ ।  सात प्रदेशका पत्रपत्रिकालाई भाषागत तथा सरकारी र निजी आधारमा छुट्टयाई अनुगमन गर्नुपर्छ ।
प्रसारण माध्यम ः समाचार प्रस्तुति, समाचार स्रोत र सन्तुलन, भाषा, शब्द, बोली, लवज, अन्तर्वार्ता, मत सर्वेक्षण, विज्ञापनलाई आधार मानी सातै प्रदेशका रेडियो र एफएम रेडियोको वर्गीकरण गरी अनुगमन गर्नुपर्छ ।  यस्तै, नेपाल टेलिभिजन र निजीस्तरका टिभीको अनुगमन गर्दा पनि समाचार प्रस्तुति, समाचार स्रोत र सन्तुलन, अन्तर्वार्ता, टक शो, भाषा, शब्द, बोली, लवज, दृश्य, भाषा, लिङ्ग, क्षेत्र, जति–सम्प्रदाय, विज्ञापनलाई आधार मान्नुपर्छ ।  सातै प्रदेशका टिभीको छुट्टाछुट्टै अनुगमन गर्नुपर्छ ।
समाचार समिति ः समाचार, फिचर, श्रव्य, दृश्य वा अन्य तस्बिर सङ्कलन गरी ग्राहकलाई बिक्री गर्ने सेवामुखी समितिलाई समाचार समिति भनिन्छ ।  २०१८ सालमा स्थापित भई सरकारी स्वामित्वमा सञ्चालित हुँदै आएको राष्ट्रिय समाचार समिति (रासस) मा समाचार शीर्षक, समाचार स्रोत, इन्ट्रो, समाचारको सन्तुलन, समाचारको पेटबोली, तस्बिर÷दृश्य वा श्रव्य, भाषा, लिङ्ग, जाति÷सम्प्रदाय, क्षेत्र, घटना–प्रस्तुति आदिका आधारमा अनुगमन गर्नुपर्छ ।  राससका नेपाली–अङ्ग्रेजी सबै सेवाका बुलेटिनको अनुगमन गर्नुपर्छ ।
अनलाइन माध्यम ः अनलाइन मिडिया निकै प्रभावकारी रूपमा विकास हुँदै आएको छ, जसबाट शब्द, श्रव्य, दृश्य तीनै प्रकारको संयोजन भई समाचार प्रवाह हुने गरेको छ ।  कतिपयले यसलाई प्रसारण माध्यममात्रै त कतिपयले कप्युटरको भित्तोमा पत्रिकाजस्तै छापिने हुनाले छापा र प्रसारण माध्यम भन्नुपर्ने तर्क गरेका छन् ।  काउन्सिलको पछिल्लो तथ्याङ्कअनुसार ५०१ वटा अनलाइन सूचीकृत भएका छन् ।  अनलाइनमाध्यमको अनुगमन पनि समाचार शीर्षक, समाचारस्रोत, सन्तुलन, इन्ट्रो, समाचारको पेटबोली, तस्बिर÷कार्टुन, इलुस्ट्रेसन, श्रव्य, दृश्य, भाषा, लिङ्ग, जाति÷सम्प्रदाय, क्षेत्र, घटना–प्रस्तुति, विज्ञापन, पोस्ट डिलिट भए–नभएको, समाचार चोरी गरे–नगरेको आधारमा गरिनुपर्छ ।  
सामाजिक सञ्जाल ः सामाजिक सञ्जाल सञ्चारको अझै सशक्त र एकदमै प्रभावकारी प्रसारण माध्यम हो ।  पत्रकार आचारसंहिताले यसको अनुगमनबारे मुख खोलेको छैन ।  यो विद्युतीय कारोबार ऐनतर्फ आकर्षित छ ।  त्यसैले यसमा पत्रकार र पत्रिकाले राख्ने स्ट्याटस र त्यसले समाजमा पार्ने असरको मात्र अनुगमन गर्नुपर्छ ।
पत्रकार तथा मिडिया सञ्चालक र व्यवस्थापकको अनुगमन ः पेसागत मर्यादा र व्यवहार, भ्रमण वा लेखनवृत्तिमा पारदर्शिता तथा गल्ती सच्याउने तत्परता देखाए–नदेखाएको, राष्ट्रिय विपद्मा संयम भए–नभएको, मत सर्वेक्षण वा अन्तर्वार्तामा सतर्कता र सजगता अपनाए–नअपनाएको, पत्रकारले गोप्य स्रोतको संरक्षण, पेसाको दुरूपयोग, गोपनियताको हकको सम्मान, सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण, सम्पादकीय स्वतन्त्रताको सम्मान, मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान, प्रेस स्वतन्त्रताको संरक्षण र सम्बद्र्धन तथा पेसागत मर्यादा विपरीत उपहार र पुरस्कार ग्रहण गरे–नगरेको, सामाजिक दायित्व पूरा गरे–नगरेको, समाचार तयार पार्दाका सम्बन्धित स्रोत, पात्रसँग अन्ुचित दबाब वा सम्बन्ध राखे– नराखेको आधारमा अनुगमन गनुपर्छ ।  साथै, मिडिया सञ्चालक र व्यवस्थापकले सम्पादकीय स्वतन्त्रताको सिद्धान्तविपरीत समाचार सङ्कलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा हस्तक्षेप गरे–नगरेको वा प्रभाव पारे–नपारेको विषयमा पनि अनुगमन गर्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना