नेपालको अस्तित्व जीवन्त बनाउने दिव्योपदेश

Badri p dahalबद्रीप्रसाद दाहाल


साहसी भएर पनि मस्तिष्कमा समझदारी, योद्धा तथा लडाका व्यक्तित्व भएर पनि हृदयमा इमानदारी र जस्तोसुकै विपत्ति आइलागे पनि काँधमा जिम्मेदारी लिन तयार हुने क्षमताका धनी थिए नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह ।  वि.सं. १७७९ पुस २७ गते गोर्खा दरबारमा आँखा जन्मेका, राजा नरभूपाल शाह र कौश–ल्यावतीका जेठा छोरा पृथ्वीनारायण शाह विशाल नेपालका रचनाकार तथा आधुनिक नेपालका निर्माताको रूपमा अभिलेखीकृत छन् ।  २० वर्षको उमेरमा राजगद्दी सम्हाल्न पुगेका यिनी बहुमुखी प्रतिभाका पुञ्ज, साहसी, दूरवर्र्ती सोच र असल स्वप्नद्रष्टाको रूपमा चिनिन्छन् ।  
पृथ्वीनारायणले  राजगद्दी सम्हाल्दा नेपाल भनेर काठमाडौँ उपत्यकालाई चिनिन्थ्यो भने नेपालको पश्चिमतिरका राज्यहरू गण्डकी र कर्णाली प्रदेशमा बाइसी चौबीसी राज्यको रूपले विभाजित थिए ।  उता नेपाल पूर्व पल्लो किराँत माझ किराँतमा पनि थुप्रै राज्य थिए भने दक्षिणतिर सेन राजाहरूको सत्ता थियो ।  समग्रमा आजको नेपाल थुप्रै भुरे टाकुरे राज्यमा विभक्त भएर पारस्परिक युद्ध, कलह र चरम झगडाले खण्ड–खण्डमा विभाजित थियो ।  भारतमा अङ्ग्रेजहरूले साम्राज्यवादी नीतिअनुसार उपनिवेशवादको  खुट्टा घुमाइरहेका कारण विस्तारै नेपाल पनि असुरक्षित बन्दै जाने अवस्था देखा प¥यो ।  यही आन्तरिक बेमेल र बाह्य हस्तक्षेपको दुर्बल र बेथितिलाई चिर्ने अठोट गरेर तन्नेरी राजा पृथ्वीनारायण शाहले नेपाललाई एकताको धागोमा बाँध्ने जमर्को गरे ।  राष्ट्रिय एकतालाई सुदृढ बनाएर फिरङ्गीहरूका कर्के आँखालाई ठीक गर्न अविच्छिन्न अटल भएर ३२ वर्षसम्म नेपाल एकीकरण अभियानमा आपूmलाई समर्पण गरे ।  
५२ वर्षकै अल्पायुमा  दिवंगत पृथ्वीनारायण शाहले आफ्नो शासन अवधिमा पूरै नेपाल एकीकरण गर्न नभ्याए पनि उनको यो सुन्दर अभियानलाई दोस्रो चरणमा राजमाता राजेन्द्रलक्ष्मी र बहादुर शाहले निरन्तरता दिए ।  एकीकरण क्रम अझ तन्काउँदै यो अभियानलाई गति दिन तेस्रो खण्डमा रणबहादुर शाह र नेपालका प्रथम शक्तिशाली प्रधानमन्त्री भीमसेन थापाको नायकत्वमा स्वप्नदर्शी पृथ्वीको राष्ट्रिय एकताको अभियानले पूर्णता पायो ।  जसको परिणाम स्वरूप आज मेचीदेखि महाकालीसम्मका हामी हिमाली, पहाडी, मधेस र तराईका जनता नेपाली भनेर गर्व गर्न पाइरहेका छौँ ।  आज हामीले जपिरहेको राष्ट्रिय एकताको मन्त्र ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ पृथ्वीनारायणकै उदात्त अवधारणा हो भन्दा अतिसयोक्ति हुँदैन ।  
एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण वि.सं . १८३१  मा नुवाकोट पुग्दा उनको शारीरिक अवस्था पूर्ण रूपमा अस्वस्थ हुन लाग्यो ।  वास्तवमा पृथ्वीनारायण बिजेता व्यक्तित्व मात्र नभएर कुशल राजनीतिज्ञ पनि भएको हुँदा आफ्नो अन्तिम अवस्थाको बोध भई त्यहाँ उपलब्ध भार्दारहरूलाई जम्मा गरी भावी समयमा विशाल नेपाललाई राष्ट्रिय एकतामा सुदृढ बनाउन आन्तरिक नीति र बाह्यनीतिका सारपूर्ण दिव्य–उपदेशहरू दिए ।  लगत्तै १८३१ माघे सङ्क्रान्तिको दिन उनको देहावसान हुन गयो ।  यही अन्तिम समयमा दिएको उपदेश, अर्ती वा दिव्योपदेश नेपालसम्बन्धी दूरगामी चिन्तनसूत्र सुदूरसम्म नेपाली राज्यसत्ता र जनताको मार्गदर्शन बन्न पुगेको छ ।  
मूलतः पृथ्वीनारायणका दिव्य उपदेशलाई दुई तहमा हेर्न सकिन्छ ।   एक, राष्ट्रको आन्तरिक नीति ।  दुई, नेपालले बाह्य राष्ट्रसित अपनाउन पर्ने कूटनीतिक चातुर्य वा विदेश नीति ।  पृथ्वीनारायणले राज्यको आन्तरिक प्रशासनलाई चुस्त दुरुस्त बनाउन सबभन्दा पहिला राजखलकमा एकता, तत्कालीन भारदारहरू पाँडे र बस्नेतहरूमा समन्वय र जनतामा सुशासनको प्रत्याभूति हुनुपर्ने कुरामा सिद्धान्त मात्र हैन व्यवहार नै प्रयोग गरेर देखाएका थिए ।  सबभन्दा पहिला राज्यको बागडोर सम्हाल्ने व्यक्ति जनप्रिय हुनुपर्छ भनेर नै धेरैले रुचाएका कालु पाण्डेलाई काजी पद दिई कारण पनि खुलाए ।  ‘मलाई आसर्जे लाग्यो तर मलाई ता रिझायो, दुनिञा जस्देषि राजी रहन्छन् उसैलाई कजाइ दिनू भन्ने शास्त्रमा पनि कहेको छ, दुनिञामा बुझीहेरुँ भनी बुझिहेर्दा दुनिञाबाट पनि कालुपाँडेको चाहा रहेछ र कालुपाँडेलाई कजाइ दिनुभया हामी दुनिञादारमा छाहारी रहँदो हो भन्न्या सल्लाहा दिया र अब बाइसी चौबीसीले क्या भन्छन् भनी बुझन् हुँदा उनेरुमा पनि पाडेकै चाहा रहेछ र कालुपाडेलाई कजाञि भया घाहाघराइस बलियो राषन्यैछ भन्ने सल्लाहा दिया, मेरा मनमा ता विराज बषेतीलाई कजाइँ दिन आँटेको थियो ।  तर ज्यादा बुध्दि कालुकै ठह¥यो र कालुपाडेलाइ कजाञी भयाको हो ।  ’’ यसरी उनी निरंकुश राजाभन्दा जनभावनाका बलमा राजा हुने क्षमता देखाउन चाहन्थे ।  
न्यायालयलाई विशुद्ध बनाउन आफ्नो उपदेश यसरी पस्किए —  ‘‘ राजाले ठूलो निञानिसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनू ।  निञानिसाप बिगार्ने भन्याका घुस लिने र घुस खाने हुन्, यी दुबैको त धन र जिउ हरि लिए पनि पाप छैन ।  यी राजाका महशतरु हुन् ।  ’’ न्याय प्रशासनमा व्याप्त ढिलासुस्ती र घुसखोरी विरुद्धद्धको उनको मान्यता कतिसम्म विवेक वा ब्रह्मबाट अनुप्राणित छ भन्ने कुराको ज्वलन्त प्रमाण हो यो ।  अदालतलाई साँच्चैको न्यायमन्दिर बनाउन उनले पदीय विभाजनलाई तत्कालीन समयको सन्दर्भमा समावेशितालाई यसरी संरचना गरी निर्देश दिए– ‘अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू ।  अदालतको पैसा दर्बारभित्र नहुल्नू ।  फकीर, फकीरा, सन्यासी, जोगी र ब्राह्मणहरूलाई दान गर्नू ।  ’’
खानी भएको ठाउँ र खेतीयोग्य जमिनमाथि पृथ्वीविचार सारै हृदय हल्लाउने खालको छ– ‘‘ खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू ।  ’’ आजको नेपाली समाज ठीक यसको विपरीत हिँडेकैले विदेशी आयात असी प्रतिशतभन्दा माथिको अङ्कमा छ भने निर्यात नगण्य हुँदै परनिर्भरताको जञ्जालमा फसेको छ ।  खेतीयोग्य जमिन र खानीका स्रोतहरूमा आज भीमकाय कङ्क्रिटका बगर महानगर, उपमहानगर र नगरका विशेषणमा रङ्गिएर ध्वनि, वायु, जल, अन्तरिक्ष र सौर्यमण्डलमा प्रदूषण थपिरहेका छन् ।  हाम्रो यो प्रतिगामी विचारलाई अग्रगामी र आधुनिक भन्दै गर्व गर्नु कतिसम्मको नालायकी हो, आत्मसमीक्षाको बेला आएको छ ।  
विदेशी नाचगान र सङ्गीतले हाम्रो मौलिक संस्कृति मास्न सक्छ भन्दै उनको दिव्योपदेश यस्तो तर्क दिन्छ ‘उप्रान्त मलाई एउटा कुराको सन्देह लागिरहेको छ ।  मुगलान नजिकै रहेछ, त्यस जग्गाका छोकडा (अल्लारे ठिटा) पत्रिया रहेछन् ।  चित्रकार भरेका कोठामा ढोलक सीताराका रागतानमा भुल्नन् ।  रागतानमा बडो ठूलो मोह हुन्छ र दौलत पनि रित्तिन्छ ।  देशको भेद पनि तिनैले लैजान्छन् र हरीपले दगा गर्छ ।   रागको अभ्यास कसैले पनि नगर्नू, ती जात–लाई पहाडमा आमफदरफ (आवतजावत) गर्न नदिनू, अथवा फागुलाई एक दुइ गरी झिकाई चाँडै बिदाइ गराइदिनु र देशको भेद पनि पाउँदैनन् ।  आफ्ना सोखसयललाई त शास्त्रबमोजिम्को तीनै सहर नेपालका नेवारहरूका नाच झिकाई हेरे पनि हुन्छ ।  माथिका यी सूक्तिमय वाणीको गम्भीर आसयभित्र कति गूढतम राष्ट्रवाद लुकेको छ !
नेपालले छिमेकी देशहरूसित राख्नुपर्ने संबन्धलाई उनले सुन्दर सूत्र उपदेश गर्दै भने, ‘उप्रान्त यो राज्य दुइ ढुङ्गाको तरुलजस्तो रहेछ ।  चीनका बादशाहसित ठूलो घाहा (संझौता ) राख्नू ।  दक्षिणका बादशाहसित घाहा त राख्नू तर त्यो महाचतुर छ, हिन्दुस्तान दबाइरहेछ ।  सरजमीनमा पारिरहेछ ।  हिन्दुस्तान मिल्यो भने कठीन पर्ला भनी किल्ला खोज्न आउनेछ । ’’ यसरी पृथ्वीनारायणको विदेशनीतिमा असंलग्नता, तटस्थता, सम्प्रभूताको सम्मान गर्ने ध्वनि गतिलोसित ध्वनित भएको पाइन्छ ।  
अब्बल राजनय (कूटनीति) का प्रणेता पृथ्वीनारायणलाई विश्वराजनीतिक रङ्गशालाका राष्ट्रिय एकताका मानक महान् पुरुषकै हाराहारीमा सम्मान गर्नु र उनका दिव्योपदेशलाई राज्यको जीवनमा सम्बद्ध गराउनु नै आजको नागरिक कर्तव्य हो ।  त्यसै भएर उनले स्वाभिमानपूर्वक हुङ्कार गरेर भने–मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया...,मैले आर्जेको मुलुक सबै जातको पूmलबारी हो, देशी देसमा आया भन्या देश कङ्गाल पारी छाड्न्या छन् ।  उनका दिव्योपदेश देशभक्त, राष्ट्रप्रेमी र नेपालको अस्तित्वमाथि गर्व गर्ने सबैका लागि गीता बनेको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना