राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण


काठमाडौँ, पुस २७ गते । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा उहाँको सालिकमा माल्यार्पण गरिएको छ ।

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण

गर्न सहभागी हुँदै विभिन्न सङ्घ संस्थाका प्रतिनिधि साथै राजनीतिक दलका नेताहरु । तस्बिर ः रासस

विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेताले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानका कारण नेपालले विश्वसामु पहिचान बनाएकाले आज हामी नेपाली भएर बाँच्न पाएको बताउनुभयो ।

मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले “पृथ्वीनारायण शाहको योगदानको कदरस्वरुप यो पर्वलाई सरकारले भव्यरुपमा मनाउनुपर्नेमा सार्वजनिक बिदासम्म नदिनु उचित नभएको उल्लेख गर्नुुभयो ”

राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले मुलुक निर्माण गर्ने इतिहास पुरुषलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयोे ।

उहाँले पृथ्वीनारायण शाहले देशलाई एकीकरण गरेर सिङ्गो राष्ट्र निर्माण गरेजस्तै अहिले सबै राजनीतिक दल एकजुट भई मुलुकलाई निकास दिने बेला आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा २९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाको उपस्थिति थियो ।

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

यसैबीच शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ ।

तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उहाँको २५५ औँ जन्मजयन्ती मनाएको हो ।

विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत उहाँको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए ।

गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।

सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए ।

समाजका संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उहाँलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताउनुभयो ।

राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उहाँको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताउनुभयो ।

शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु हो भन्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना