थप पाँच जिल्लामा स्वास्थ्य बीमाको तयारी

सरोज ढुङ्गेल

काठमाडौँ, पुस २८ गते ।  यस वर्ष थप पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी भएको छ ।  स्वास्थ्य मन्त्रालयका सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले समितिले अब तीन महिनाभित्र तनहुँ, गोरखा, चितवन, भक्तपुर र झापा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।  
यसअघि लागू भएका अन्य जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढेको जानकारी दिँदै कार्यकारी निर्देशक डा. लोहनीले बाँकी पाँच जिल्लामा पनि कार्यक्रम विस्तार गरी लागू गरिने बताउनुभयो ।
पहिलो चरणमा बाग्लुङ, कैलाली र इलामबाट सुरु गरिएको कार्यक्रमलाई थप पाँचवटा जिल्लामा यसअघि नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसकिएको छ ।  स्वास्थ्य बीमा कार्यक्रम लागू भएका ती जिल्लामा अछाम, बैतडी, पाल्पा, म्याग्दी र कास्की रहेका छन् ।
बीमाको प्रिमियम तिर्न नसक्ने गरिब परिवारलाई सरकारले बीमाबापतको रकम तिरिदिने व्यवस्था भए पनि गरिब हो भन्ने परिचयपत्र अझैसम्म बन्न नसकेकाले बीमा लागू भएका जिल्लामा विपन्न वर्ग स्वास्थ्य बीमा सुविधाबाट बञ्चित भइरहेका छन् ।  गरिबीको परिचयपत्र पाउने बित्तिकै सरकारले नै बीमा गरिदिने जानकारी दिँदै कार्यकारी निर्देशक डा. लोहनीले स्वास्थ्य बीमाबापत हालसम्म वार्षिक शुल्क तिर्न नसक्नेले भने बीमा कार्यक्रमको लाभ लिन नसकेको जानकारी दिनुभयो ।
समितिका कार्यकारी निर्देशक डा. लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्वास्थ्य बीमा कार्यक्रम लागू हुने २५ जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रलाई साधनसम्पन्न गराउने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।  सरकारले यस वर्ष २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने जनाएको छ ।  त्यसमध्ये आठ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको छ भने अन्य जिल्लामा लागू हुने तयारीमा छ ।
गत वर्षको चैत २५ गतेबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई जेठ १ गतेदेखि उपचार सेवा दिन थालिएको छ ।  निर्देशक डा. लोहनीले स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने रोगलाई रिफर गरेर केन्द्रीय अस्पतालमा लैजान सक्ने व्यवस्था भएको जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds