राष्ट्रसङ्घमा नयाँ नेतृत्वका लागि पुरानै चुनौती

Ram prashadरामप्रसाद आचार्य


संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव एन्टोनियो गुटेर्रेजले विश्वशान्तिका लागि आह्वान गर्नुभएको छ ।  अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको प्रधान कार्यालयमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०१७ को पहिलो दिन नवौँ महासचिवका रूपमा कार्यभार सम्हाल्दै उहाँले दिनुभएको प्रथम सन्देशमा सबैले शान्तिलाई प्रथम प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको हो ।  महासचिव गुटेर्रेजले शान्ति नै हाम्रो पथप्रदर्शक र लक्ष्य हुनुपर्छ भन्दै द्वन्द्व र युद्धबाट कसैको विजय नहुने स्पष्ट गर्नुभयो ।  उहाँले शान्तिप्रतिको प्रतिबद्धता प्रकट गर्न र सन् २०१७ लाई शान्ति वर्ष बनाउन विश्ववासी सबैलाई अपिल गर्नुभयो ।  
नयाँ महासचिव गुटेर्रेजले शान्तिका लागि अपिल गरिरहँदा र नयाँ वर्षको खुसियाली मनाइरहँदा युरोपेली मुलुक टर्कीको इस्तानबुलस्थित एक रात्रि क्लबमा दुईजना आतङ्ककारीले अन्धाधुन्ध गोली चलाउँदा २७ जना विदेशीसहित ३९ जनाको मृत्यु भयो भने ६९ जना घाइते भए ।  यो क्रूर अमानवीय, त्रासदीपूर्ण आक्रमणले नयाँ वर्षको खुसियालीमा रमाइरहेका विश्ववासीलाई स्तब्ध बनायो ।
अर्कोतर्फ गएको वर्षभरि नै विभिन्न आणविक परीक्षण गर्दै आणविक आक्रमणको धम्की दिइरहेको सानो एसियाली मुलुक उत्तर कोरियाका नेता किम जोङ उनको नयाँ वर्षको सन्देशमा छिट्टै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी भइरहेको जानकारी गराइएको छ ।  विश्वमा बढ्दै गएको विनाशकारी आणविक हतियारको मोह र आतङ्कवादी आक्रमण यी दुई घटना र प्रवृत्ति विश्वशान्तिका लागि अहिलेका प्रमुख चुनौती हुन् ।  महासचिव गुटेर्रेजको सन्देशलाई आत्मसात् गरी सन् २०१७ लाई शान्ति वर्ष बनाउने हो भने परमाणु हतियार र आतङ्कवादको त्रासबाट मुक्त गराउने वातावरण बनाउनुपर्छ ।  यसका लागि सारा विश्व एकजुट हुनुपर्छ ।
टर्कीलाई गत वर्षभरि नै आतङ्ककारीहरूले बढी निशाना बनाए ।  राजधानी अन्करा, प्रमख सहर इस्तानबुललगायत विभिन्न स्थानमा गराइएका आतङ्कवादी आक्रमणमा सयौँको ज्यान गयो, सयौँ घाइते भए ।  गएको फेबु्रअरी १७ मा अन्करामा २८, मार्च १३ मा अन्करामा ३७, अगस्त २० मा विवाहसमारोहमा ३०, डिसेम्बर १० मा इस्तानबुलको रङ्गशालामा ४४ जनाको ज्यान जानेगरी आतङ्वादी आक्रमण भयो ।  यी आक्रमण आईएस स्टेट र कुर्दिस विद्रोहीले गरे ।  यिनै आतङ्कवादी आक्रमणबीच गएको जुलाई १५ र १६ मा सैनिक ‘कू’ को असफल प्रयास भयो ।  यो घटनामा २६५ जनाको ज्यान गयो भने एक हजार पाँच सयभन्दा बढी घाइते भए ।  राष्ट्रपति रिसिप तैयप एर्डोगानलाई सत्ताच्युत गर्न गरिएको यो प्रयास जनताको सहयोगमा विफल भएपछि घटनामा संलग्न ५० हजारभन्दा बढी कर्मचारीलाई कारबाही गरी जागिरबाट बर्खास्त गरियो ।  यी घटनाले अनुदारवादी छवि भएका कट्टर राष्ट्रवादी राष्ट्रपति एर्डोगानलाई झन् बलियो बनायो ।  उहाँले अब संविधान संशोधन गरी आफू कार्यकारी राष्ट्रपति बन्ने सपना देख्नुभएको छ ।  त्यसका लागि संविधान संशोधन प्रक्रिया सुरु भएको छ ।  संशोधनका लागि संसद्ले अनुमति दिए यसै वर्ष जनमतसङ्ग्रह गरिनेछ ।  राष्ट्रपतिको यो कदमको विपक्षीहरूले भने विरोध गरेका छन् ।  
गएको वर्ष आतङ्कवादी आक्रमणमा टर्कीमात्र होइन, बेल्जियमको ब्रसेल्स, इराकको बग्दाद, टर्कीको इस्तानबुल, फ्रान्सको निस, अमेरिकाको ओल्र्यान्डो, नाइजेरिया, पाकिस्तानको इस्लावाद, अफगानिस्तानको काबुल पनि निशाना बने ।  अलकायदा तालिवान, आईएस स्टेट, बोको हरामलगायतका आतङ्कवादी समूहले हिंसा र आतङ्क मच्चाए ।  
गएको वर्ष अनुदारवादले विश्वमा बढ्दोक्रममा रहेको उदारवाद र सुधारवादलाई चुनौती दियो ।  विश्वका प्रमुख देश, राजनीतिक दल र नेताहरूमा प्रजातान्त्रिक संस्कार र संस्कृतिविरुद्ध हैकमवादी र अनुदारवादी प्रवृत्ति हाबी हुँदा विभिन्न आन्दोलन र सङ्घर्षद्वारा प्राप्त गरेका प्रजातान्त्रिक हक र अधिकार कमजोर बने ।  अनुदारवादी नेताहरू नेतृत्वमा पुगे भने उदारवादी नेताहरू विभिन्न आरोपमा दण्डित र पराजित हुने अवस्था सिर्जना भयो ।  
गएको नोभेम्बर ८ मा भएको राष्ट्रपतीय निर्वाचनमा विश्वको सर्वशक्तिशाली मुलुक अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट नाटकीय ढङ्गले डोनाल्ड ट्रम्प ४५औँ राष्ट्रपति निर्वाचित हुनुभयो ।  चुनावमा अनुदारवादी र उग्र नारा दिनुभएका उहाँले आउँदो साता (जनवरी २० मा) देखि कार्यभार सम्हाल्दै हुनुहुन्छ ।  उहाँको चुनाव जिताइले विश्वमै एकखाले हलचल ल्यायो ।  अब उहाँको कार्यकालले समग्र विश्व राजनीतिक व्यवस्थालाई कुन मोड दिने हो व्यग्र प्रतीक्षाको विषय बनेको छ ।  
गएको वर्ष युरोपली सङ्घ (इयु) को प्रमुख हस्ती बेलायतले ४३ वर्षदेखिको नाता तोड्दै अलग हुने निर्णय ग¥यो ।  इयुमा बस्दा बेलायत कमजोर भएको महसुस गर्दै जनमतसङ्ग्रहमार्फत अलग भएपछि इयुको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ ।  बेलायत अलग भएपछि इयुका अन्य सदस्य राष्ट्रहरूले पनि अलग हुने सोच बनाएकाले कतै इयु पनि सोभियत सङ्घजस्तै ढल्ने त होइन भनी चिन्ता व्यक्त गर्न थालिएको छ ।  इयुबाट अलग हुने निर्णयसँगसँगै बेलायतमा पनि अनुदारवाद हाबी हुन थालेको छ ।  
उता ब्राजिलमा पहिलो महिला राष्ट्रपति डिल्मा रुसेफलाई राज्यकोषको दुरूपयोग गरेको आरोपमा संसद्ले महाभियोग लगाएर सत्ताच्युत गरी उपराष्ट्रपति मिसेल टेमरलाई राष्ट्रपति बनायो ।  यतिमात्र होइन, त्यहाँका पूर्वराष्ट्रपति लुइस इनासिया लुला डा सिल्भा र उहाँकी पत्नीलाई अर्बौं डलर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरियो ।  यता दक्षिण कोरियामा पनि पहिलो महिला राष्ट्रपति पार्क गुयन हाईलाई राज्यशक्तिको दुरूपयोग गरेको आरोपमा संसद्ले महाभियोग लगाई निलम्बन ग¥यो ।  अब त्यहाँ नयाँ राष्ट्रपतिका लागि चुनावको तयारी हुँदैछ ।  नयाँ वर्ष आगमनसँगसँगै सेवानिवृत्त हुनुभएका राष्ट्रसङ्घका महासचिव बान की मुनले राष्ट्रपतिको उम्मेदवार बन्ने सङ्केत दिनुभएको छ ।  लामो कूटनीतिक र राजनीतिक छवि बनाइसक्नुभएका उहाँ राष्ट्रपतिमा निर्वाचित भएमा मुलुकले नयाँ निकास पाउने र छिमेकी उत्तर कोरियासितको बिग्रेको सम्बन्धमा केही सुधार हुने अपेक्षा गरिएको छ ।  तैपनि अहिलेसम्म कोरिया प्रायद्वीपको तनावमा कमी आएको छैन ।  
गत वर्ष संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत विश्व समुदायको आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले पाँचौँपटक परमाणु बम, हाइड्रोजन बम र मध्यम दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्नुका साथै १२ हजार किलोमिटर टाढा मार हान्न सक्ने रकेट प्रक्षेपण गरी विश्वमै आणविक सन्त्रास फैलाउने काम ग¥यो ।  
गएको वर्ष दक्षिण एसियामा भारत र पाकिस्तानबीच कास्मिर विवादले उग्र रूप लियो ।  पाकिस्तानको वार्ता प्रस्तावलाई भारतले अस्वीकारमात्र गरेन पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेपछि सम्मेलन नै रद्द भयो ।  सार्क शिखर सम्मेलन नै अनुदारवादको सिकार बन्यो ।  
विगत साढे पाँच वर्षदेखि जारी सिरियाको रक्तपातपूर्ण हिंसा रोकिएन ।  शान्तिवार्ताका लागि गरिएको अन्तर्राष्ट्रिय प्रयास पनि सफल भएन ।  राष्ट्रपति बसर अल असद विद्रोहीविरुद्ध झन् आक्रामक रूपमा प्रस्तुत हुँदा विद्रोहीको नियन्त्रणमा रहेको प्रमुख सहर अलेप्पोमाथि सरकारी नियन्त्रण कायम भयो भने विद्रोहीहरू त्यहाँबाट भाग्न विवश भए ।
द्वन्द्व, युद्ध, हिंसा, अस्थिरता, अराजकताले सिरियालगायत विभिन्न मुलुकका करोडौँ मानिस गरिब, शरणार्थी र आप्रवासी बन्न विवश भएका छन् ।  पीडितलाई न्याय, शान्ति र पुनःस्थापनाका लागि भइरहेका प्रयास पर्याप्त छैनन् ।  यस्तो अवस्थामा विश्वसंस्था राष्ट्रसङ्घका नेतृत्व लिनुभएका नयाँ महासचिव गुटेर्रेजबाट विश्ववासीले ठूलो अपेक्षा गरेका छन् ।  पोर्चुगलको प्रधानमन्त्री, सोसलिस्ट पार्टीको महासचिव, सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष, शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोगको प्रमुखजस्ता महŒवपूर्ण जिम्मेवारी सम्हालेर राष्ट्रसङ्घमा निर्विरोध महासचिव बन्नुभएका उहाँले विश्वमा शान्ति र मेलमिलाप कायम गराउन दूरदृष्टिका साथ सबैलाई समेटेर, सबैको भावना कदर गर्दै रचनात्मक काम गरी विश्वलाई सही निकास दिनुपर्ने बेला आएको छ ।  राष्ट्रसङ्घको बडापत्रले नै निषेध गरेको युद्ध र आणविक हतियारको होडबाजी अन्त्य गर्दै हिंसा, अराजकता, अतिवाद, उग्रवाद, आतङ्कवादलगायत मानवताविरोधी गतिविधि रोक्न हिम्मत गर्नुभयो र यथास्थितिमा रहेको राष्ट्रसङ्घलाई पुनःसंरचना गरी नयाँ जीवन दिन सक्नुभयो भने पक्कै उहाँको कार्यकाल स्वर्णिम बन्नेछ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना