कैलाली कारागारमा क्षमताभन्दा बढी कैदी

कैलाली, पुस २९ गते ।  जिल्ला कारागार कैलालीमा क्षमताभन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।  कारागारको क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी हुँदा खानपिन, शौचालय, सुत्नेलगायत भौतिक व्यवस्थापनमा समस्या भएको कारागारले जनाएको छ ।
वर्षौँ पुरानो जिल्ला कारागार कैलालीमा अहिले क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी राखिएको छ ।  जीर्ण अवस्थाको कारागारको स्तरोन्नति हुनसकेको स्थितिमा क्षमताभन्दा बढी कैदी बन्दी भएकाले सुरक्षालगायत व्यवस्थापनमा समस्या भएको हो ।
एक सय २५ जना क्षमताको जिल्ला कारागारमा हाल नेपाली र विदेशी गरी ३ सय ९० जना कैदी बन्दी छन् जसमा २ सय ५० जना नेपाली पुरुष कैदी छन् भने २२ जना भारतीय नागरिक पनि कैदी जीवन व्यतित गरिरहेका छन् ।  कारागारका जेलर पुष्कर खडकाका अनुसार दुई जना दृष्टिविहीन अपाङ्ग, ३ जना आश्रित बालबालिका र ६ जना ६५ वर्ष उमेरभन्दा माथिका वृद्ध कैदी, बन्दी छन् ।
खानपिन, शौचालय र सुत्न निकै समस्या हुने गरेको कैदी बन्दीहरूले बताएका छन् ।  एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि लाइन लाग्नुपर्ने अवस्था हुँदा समस्या भएको उहाँहरूको भनाइ छ ।
कारागारको क्षमता बढी कैदी बन्दी हुँदा उहाँहरूको उपचारमा समेत समस्या हुने गरेको कारागार व्यवस्थापनले जनाएको छ ।  कैदी बन्दीहरूलाई सरकारले नेपाल खाद्य संस्थानमार्फत दैनिक ७०० ग्राम चामल तथा अन्य खाद्यान्न र प्रतिदिन ४५ रुपियाँ नगद उपलब्ध गराउँदै आएको भए पनि व्यवस्थापन गर्न गाह्रो भएको हो ।
कारागारमा क्षमताभन्दा कैदी बन्दीहरू बढी भएपछि व्यवस्थापन मिलाउन नसक्दा गत महिना मात्रै एक जना कैदी तरकारी ल्याउने बहानामा फरार भएका थिए ।  जसको अहिलेसम्म पत्तो छैन भने त्यसबेला डिउटीमा रहनुभएका एक प्रहरी हबल्दारसहित केही प्रहरीहरू कारबाहीमा परेको बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना