स्वस्थानी कथाको सान्दर्भिकता

bhawani khatiwadaभवानी खतिवडा


समाज विकासको इतिहासलाई हेर्दा धर्मकै माध्यमबाट समाजको विकासले गति लिएको पाइन्छ ।  त्यस समयमा धर्म नै कानुन पालनाको आधार बन्दथ्यो ।  मानिसलाई स्वतःस्पूर्mत रूपमा गलत कार्य गर्नबाट रोक्ने माध्यम धर्म नै थियो ।  समाजको विकासमा धर्मको स्थान उच्च थियो ।  त्यो समयदेखि आजसम्म पनि धर्म र संस्कारले मानिसलाई अनुशासित र मर्यादित बनाएको छ ।  धर्मले नै मानिसको विचारलाई समृद्ध र परिस्कृत गराउने, सत्मार्ग देखाउने तथा सत्कर्मतर्फ डोहो¥याउने कार्य गर्छ ।  धर्मले संस्कार निर्माणमा सहयोग गर्छ भने संस्कारले मानव व्यवहार र समाजलाई दिशानिर्देश गर्छ ।  मानिसले आफू जन्मिएको, हुर्किएको आफ्नो परिवेश र समाजको संस्कारभित्र आफूलाई समाहित गरेको हुन्छ ।  धर्म र संस्कारकै कारण मानिसमा सामाजिक भावना, सकारात्मक सोच र धारणाको विकास हुन्छ ।  श्रीस्वस्थानी व्रतकथालाई पनि हिन्दुहरूलाई धार्मिक चिन्तन दिलाउने यिनैमध्येको एक कडीको रूपमा हेर्नुपर्ने देखिन्छ ।     
नेपाली समाजमा हिन्दु धर्मावलम्बीहरूको लागि माघमहात्म्यको रूपमा श्रीस्वस्थानीको महिमा हरेक घर–घरमा वाचन गरिने धर्मगाथा मानिँदै आएको छ ।  पुर्खादेखि आजसम्म कैयौँ महिलाले यसैको महिमा सुने, महिनाभर व्रत बसे र यसले देखाएको बाटो र मार्गदर्शनलाई अङ्गीकार पनि गरे ।  पतिको मृत्युमा पत्नीको सत्कर्म र पतिव्रता धर्मसँग जोडेर हेर्ने पितृसत्तात्मक समाजले चलाएको संस्कारलाई आफ्नो कर्म र भाग्यको परिणाम हो भन्ने ठाने ।  श्रीस्वस्थानी कथाको माध्यमबाट पतिको वचनको पालना गर्न दिएको उपदेशलाई महानवाणी सम्झिएर पूर्ण पालना गरे तर यही समाजमा पुरुष वर्गले गरेका बहुविवाहलाई पतिहरूको अधिकार जत्तिकै ठाने र चुपचाप स्वीकार्दै आए ।  जहाँ नवराज ब्राह्मणको रूपमा होस् या जालन्धर र विष्णु वा महादेवजस्ता अनेक रूपमा प्रस्तुत गरिएका पुरुष पात्रलाई भने पत्नीव्रताको पाठ सिकाउन कथाले भुलेको छ ।  मानिसको मृत्यु कालगतिले या विभिन्न कारणले अकालमै पनि हुन सक्छ तर पुरुष पात्रको मृत्युको कारण पत्नीको कर्मसँग जोडेर समाजले थोपरिदिएका सम्पूर्ण दोषका भागिदार उदार दिलका धनी नारीहरू नै बनिदिए ।  पुरुषलाई जन्मको आधारमा मालिक र महिला दासीको रूपमा जीवन जिउने बाटो देखाउने र महिला–पुरुष एकअर्काको परिपूरक पात्र, जीवनभरका सहयात्री र सहधर्मी हुन् भन्ने यथार्थलाई यस कथाले प्रस्तुत गर्न सकेको पाइँदैन ।   
श्रीस्वस्थानी महात्म्यको सुरुवात कहिलेबाट भयो भन्ने यकिन प्रमाण नपाइए पनि यस कथाले त्यस बेलाको समाजलाई दिएको शिक्षाको बारेमा वर्तमान सन्दर्भमा प्रश्न उठ्न जरुरी छ ।  आज समाज वैज्ञानिक चरणमा प्रवेश गरिसकेको छ ।  हिजो वेद मन्त्र वाचन गर्दा बोक्सी बनिने महिलाका प्रतिनिधिपात्र आज हाम्रो देशको सर्वोच्च पदमा आसिन हुन पुगेका छन् ।  संविधान निर्माण गर्ने, देश र जनताको भाग्य र भविष्यको खाका कोर्ने र अन्यायमा परेकालाई न्याय दिने सर्वोच्च अदालतको नेतृत्व पनि आज महिलाले नै गरिरहेका छन् ।  नारीहरू हरेक क्षेत्रको जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न तयार र सक्षम छन् भन्ने उदाहरण नेपाली महिलाले प्रस्तुत गरिसकेका भए पनि श्रीस्वस्थानीको कथामा कुनै परिवर्तन र परिमार्जन भएको छैन ।  महिनाभरि नारी जातिले पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै कठोर तपस्या गर्न मार्गदर्शन गर्ने यो कथाले पूजाको प्रसादको रूपमा तयार भएका रोटी, नैवेद्य आदि पतिलाई दिनु, पति नभए छोरालाई, छोरा नभए मित छोरालाई र मित छोरा पनि नभए गङ्गामा बगाइदिनु भनिरहेको छ तर कठोर तपस्या गर्न सक्ने ती नारी शक्तिलाई सन्तानको रूपमा स्वीकार गर्न र प्रसाद खाने हैसियतसम्म पनि प्रदान गर्न सकेको छैन ।  छोराको जन्मलाई सत्कर्मको फल हो भन्ने निष्कर्ष निकालेको छ भने छोरीको जन्मलाई पटक–पटक तिरस्कृत गर्दै आत्मबल कमजोर बनाउने खालको सन्देश कथावस्तुमा अन्तर्निहीत छ ।
यति हुँदाहुदै पनि कथामा सकारात्मक पक्ष र सिक्नैपर्ने कुरा भने धेरै छन् ।  नारीहरू कमजोर छैनन् भन्ने सन्देश पनि यस कथाले दिन खोजेको छ ।  पार्वती, गोमा, चन्द्रावतीको रूपमा नारीशक्ति र तिनले गरेका कठोर सङ्घर्षको गुनगानले पुरुषमा भन्दा सङ्घर्षशील क्षमता महिलामा नै बढी हुन्छ भन्ने कुरा स्वस्थानी कथाको सारबाट प्रस्ट रूपमा बुझ्न सकिन्छ ।  उनीहरूले निर्वाह गरेको भूमिका र साहसपूर्ण जीवनकथाले वर्तमान अवस्थामा पनि महिलालाई “ए महिला हो, तिमीभित्र अद्भूत क्षमता अन्तर्निहीत छ मन, वचन, र कर्मले त्यसको उपयोग गर्न प्रयत्न गर अवश्य सफलता हासिल गर्न सक्नेछौ” भनेर प्रयत्नशील रहन सदैव उत्प्रेरित गरिरहेको छ ।  त्यति मात्र होइन, कथाले जालन्धर र भगवान् विष्णु मात्र होइन महादेवको रूपका पुरुषको महिलाप्रतिको आशक्ति र महिलाको चारित्रिक शुद्धतामाथि प्रकाश पार्दै महिलालाई महान् पात्रको रूपमा प्रस्तुत गर्न समेत यो कथा चुकेको छैन ।  जसको उदाहरण स्वरूप परस्त्रीका पतिव्रता धर्म नष्ट गरेर विजय प्राप्तिको दुष्साहस गर्ने कार्य, सात वर्षकी बालिकालाई सत्तरी वर्षका वृद्ध सन्यासी रूपका शिव शर्माले जबर्जस्ती गरेर विवाह गर्ने जस्ता कार्यलाई लिन सकिन्छ ।     
यस कथामा भगवान्का अनेक नाम र रूपहरूबारे जति वर्णन गरे पनि शक्तिको सर्वोच्च रूप र क्षमता नारीपात्र (देवीशक्ति वा श्रीस्वस्थानी) मै निहीत गरिएको कुराले महिलाको क्षमताको उच्च मूल्याङ्कन गरेको बुझ्न सकिन्छ ।  भगवान्का रूपमा प्रस्तुत गरिएका पुरुष पात्रबाट पटक–पटक गल्ती भएको वा गल्ती दोहोरिएको पाइन्छ तर कर्तव्यनिष्ठ, अनुशासन र इमानदारीको पर्यायको रूपमा नारीपात्रलाई प्रस्तुत गरिनुले त्यस समयको पितृसत्तात्मक समाजको नजरबाट हेर्दा पनि महिला वर्गको व्यवहारको इमानदारीमाथि प्रश्नचिह्न खडा गर्न सकेको छैन ।  यसबाट बुझ्न सकिन्छ, विगतदेखि नै महिलाले सत्य र इमानको बाटो कहिल्यै बिराएनन् ।  वर्तमानमा पनि महिलाले त्यही विश्वास जितेका छन् ।  जसका कारण महिलाप्रति समाजको सोच फराकिलो बन्दैछ र अधिकारका क्षेत्र पनि विस्तार हँुदै गएका छन् ।  त्यसैले हाम्रा धर्मगाथालाई समयसापेक्ष परिस्कृत गर्दै धार्मिक क्षेत्रमा जकडिएको पुरातनवादी सोचलाई बदल्न आवश्यक छ ।  
वर्तमान राष्ट्रपतिले जानकी मन्दिरमा पूजा गर्दा गरिएको निन्दनीय घटना होस् या बोक्सीको रूपमा नेपाली आमा, दिदी–बहिनीले व्यहोर्नुपरेका अमानवीय घटना समाज विकासको चरणसँगै धार्मिक मूल्य, मान्यता, विचार र संस्कारलाई समयसापेक्ष परिवर्तन गर्न नसक्दा र हाम्रो समाज तथा धार्मिक क्षेत्रमा लैङ्गिक समानतालाई स्वीकार गर्न नसकेका कारण निस्किएका परिणाम हुन् ।  
आज एक्काइसौँ शताब्दीको नेपाली समाज र गणतान्त्रिक युगमा प्रवेश गरिरहँदा जसरी नयाँ संविधानमार्फत सबै वर्ग, क्षेत्र, लिङ्ग, जातजातिको अधिकारको रक्षा गर्दै समतामूलक समाज निर्माण गर्ने दिशातर्फ उन्मुख हँुदैछौँ, त्यसरी नै प्राप्त भएको उपलब्धिको रक्षा गर्ने, लैङ्गिक विभेदको अन्त्य गर्ने, समतामूलक र समुन्नत समाज निर्माण गर्ने र वर्तमान समाजलाई सही मार्गदर्शन गर्ने गाथाको रूपमा श्रीस्वस्थानी महात्म्यलाई पनि समय सापेक्ष परिस्कृत गर्दै पुनःलेखन गर्नु अपरिहार्य भइसकेको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना