प्रेस काउन्सिलको २४ घण्टे अनुगमन आचारसंहिता उल्लङ्घन घट्यो

लक्की चौधरी

काठमाडौँ, माघ १ गते ।  नेपाली पत्रकारिता क्षेत्रको अनुगमनका लागि प्रेस काउन्सिल नेपालले उच्च प्रविधियुक्त मेसिन प्रयोगमा ल्याई २४ घण्टे अनुगमन सुरु गरेपछि अहिले आचारसंहिता उल्लङ्घनका घटना कम भएका छन् ।  यसअघि टेलिभिजनहरूले गरेका उल्लङ्घनका घटना धेरै हुने गरे पनि अनुगमनपछिको पछिल्लो पाँच महिनायता गम्भीर प्रकृतिको उल्लङ्घन शून्यमा झरेको छ ।  
छापा माध्यममा भने यस अवधिमा गम्भीर असावधानीका घटना भएका छन् ।  नेपाल समाचारपत्र दैनिकको पुस १५ गतेको अङ्कमा ‘रहेनन् साहित्यकार दीक्षित’ शीर्षक दिएर कमलमणिको निधनमा मदनमणि दीक्षितको तस्बिर राखेर समाचार प्रकाशित भयो ।  मदनमणि दीक्षित जिउँदै रहेको मान्छेलाई तस्बिरसहितको श्रद्धाञ्जलि दिइनु आचारसंहिताको गम्भीर उल्लङ्घन भएको ठहर काउन्सिलको छ ।  काउन्सिलले सो पत्रिकालाई पत्राचार गरिसकेको छ ।  
पुस १९ गते हेटौँडाको ‘क’ वर्गको ‘साझा कुरा’ दैनिक पत्रिकाले पनि कमलमणि दीक्षितको निधनमा कनकमणि दीक्षितको तस्बिर राखेर भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान मकवानपुर संस्थाको नाममा समवेदना प्रकाशित ग¥यो ।  जिउँदो मान्छेको समवेदना प्रकाशित गरेर सो सञ्चारमाध्यमले गम्भीर प्रकृतिको आचारसंहिता उल्लङ्घन गरेको ठहर काउन्सिलको छ ।  सो संस्थालाई काउन्सिलले तत्काल पत्राचार
गरिसकेको छ ।  
प्रेस काउन्सिल नेपालले २०७३ साल वैशाखदेखि मङ्सिरसम्म अनलाइन न्युज पोर्टल र छापामाध्यमले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरे पनि टेलिभिजन प्रसारणमा भने आचारसंहिता उल्लङ्घन शून्य देखिएको काउन्सिलको प्रतिवेदनले देखाउँछ ।  प्रतिवेदन अनुसार पछिल्लो पाँच महिनामा गम्भीर प्रकृतिका घटनामा टेलिभिजनतर्फ शून्य, अनलाइन न्युज पोर्टलतर्फ गम्भीर प्रकृतिका १६ घटना, ध्यानाकर्षण गराउने खालका १८, नोटिसमा राख्नुपर्ने ७२ घटना भएका छन् ।  
काउन्सिलका सूचना अधिकृत रामशरण बोहराका अनुसार गम्भीर प्रकृतिका घटनामा तत्काल काउन्सिलले पत्राचार गर्छ र फेरि त्यस्तो घटना हुन नदिन आग्रह गर्छ ।  अटेर गरेर पटकपटक गम्भीर उल्लङ्घन गरेमा सो सञ्चारमाध्यमलाई कालो सूचीमा राख्ने गरेको छ ।  ध्यानाकर्षण गराउने खालका घटनामा भने चिठी काटेर सम्बन्धित सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराउने र सो मिडियाको प्रतिक्रिया अनुसारको व्यवहार काउन्सिलले गर्ने गरेको छ ।
अनलाइन न्युज पोर्टल ‘रातोपाटी डट कम’ले भदौ १० गते ‘त्रिशूलीमा बस खस्यो, २१ जनाको मृत्यु’ भन्ने शीर्षकमा लासको वीभत्स तस्बिरसहितको समाचार प्रकाशन गरेको थियो ।  सो समाचारलाई पनि काउन्सिलले गम्भीर प्रकृतिको उल्लङ्घनको सूचीमा राखेको छ ।  वीभत्स लाससहितको तस्बिर राखेर अनलाइनका विभिन्न न्युज पोर्टलले समाचार प्रकाशन गर्दै आएका छन् ।  ती सबै घटनालाई काउन्सिलको प्रतिवेदनले गम्भीर प्रकृतिमा राखेर पत्राचार गरिसकेको छ ।  
प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत झविन्द्र भुसालले नियमित अनुगमन र ध्यानाकर्षणको सकारात्मक प्रभावले आचारसंहिता उल्लङ्घनको घटना क्रमशः कमी हुँदै गएको दाबी गर्नुभयो ।  टेलिभिजन र छापामाध्यममा कमी भएको देखिए पनि अनलाइन न्युज पोर्टल र न्यु मिडियामा उल्लङ्घनको घटना अझै व्यापक रहेको उहाँले बताउनुभयो ।  त्यसलाई पनि अनुगमन गरी व्यापक प्रचारप्रसारकै माध्यमले उल्लङ्घनको घटना न्यूनीकरण गर्न सकिने उहाँको तर्क छ ।
प्रेस काउन्सिल नेपालको मिडिया अनुगमन प्रमुख तथा सञ्चार अधिकृत बोहरा पनि काउन्सिलको नियमित अनुगमनको परिणाम पछिल्लो पाँच महिनाको प्रतिवेदनमा आचारसंहिता उल्लङ्घन रोक्ने कुरामा सकारात्मक अवस्था देखिएको बताउनुभयो ।  
उच्च प्रविधियुक्त मेसिनको माध्यमले २४ घण्टासम्म मिडियाको प्रसारण सामग्रीलाई रेकर्ड गरेर अनुगमनको काम भइरहेको जानकारी बाहिर गएपछि सञ्चारमाध्यममा सतर्कता आएको बुझाइ उहाँको छ ।  
“गम्भीर प्रकृतिका घटनामा तत्काल काउन्सिलले पत्राचार गर्छ, सुध्रिन आग्रह गर्छ, तीन पटकसम्म पनि नसुध्रिए अवज्ञा सूचीमा सूचीकृत गरेर सार्वजनिक गर्ने कार्यक्रम भइरहेकाले सञ्चारमाध्यम र सञ्चारकर्मीहरू सचेत भएको अनुभूति भएको छ”, अधिकृत बोहराले बताउनुभयो ।  टेलिभिजन र छापा माध्यममा क्रमशः सुधार भए पनि अनलाइन र न्यु मिडियामा अझै समस्या विकराल रहेको बुझाइ उहाँको छ ।
प्रेस काउन्सिल नेपालले करिब डेढ करोड रुपियाँ लगानीमा कार्यालयबाटै २४ घण्टे अनलाइन अनुगमन गर्नसक्ने उच्च प्रविधि मेसिन भिœयाएर पुस ३ गते सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीबाट उद्घाटन गराएको थियो ।  काउन्सिलले देशभरका मिडियाको अनुगमन कोठामै बसेर गर्नसक्ने प्रविधि प्रयोगमा ल्याएको छ ।  नेपालमा अहिले ८५ वटा टेलिभिजनले अनुमति लिएका छन् तर १६ वटा टेलिभिजनको अनुगमन भइरहेको छ ।  ६५० रेडियो, ५०३ वटा अनलाइन काउन्सिलमा सूचीकरणमा रहेको बोहराले बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना