सुरु भयो माघी पर्व

अविनाश चौधरी

धनगढी,माघ १ गते   ।  तराईमा बसोबास गर्ने थारु समुदायमा माघी पर्वको रौनक छाएको छ ।  पुस अन्तिम दिनबाट सुरु भई माघ दुई गतेसम्म यो पर्वलाई थारु समुदायले उल्लासपूर्वक मनाउने गर्दछन् ।  विगतको गतिविधिको समीक्षा गर्दै नयाँ अध्याय सुरु गरिने भएकाले माघीलाई थारु समुदायले नयाँ वर्षको रूपमा लिने गरेका छन् ।  
माघीमा मिठोमिष्ठान खाने, नाचगान गरी रमाउने चलन छ ।  पुस अन्तिम दिन माछा मासुको परिकार खाने र मघौटा नाच नाचिने गरेको पहलमानपुर–५ जवलपुरका भलमन्सा योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।  उहाँले पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर धमार गाएर जाग्राम बस्ने चलन पनि रहेको बताउनुभयो ।  
माघ १ गते बिहानै तलाउ, नदी, दहमा नुहाउने चलन रहेको जनाइएको छ ।  यसरी बिहानै स्नान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।  यही दिन ठूलाबडा, मान्यजनको आशीर्वाद लिने र इष्टमित्र आफन्तलाई भेटघाट गर्ने चलन रहेको छ ।  maghi
माघ १ गतेका दिन आपसी वैमनस्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुललगायतका परिकार खाने र खुवाउने चलन रहेको जवलपुरकै महाराजा कठरियाले बताउनुभयो ।  ‘यो दिनमा धेरै रमाइलो हुन्छ’, उहाँले भन्नुभयो– ‘बालबालिकादेखि वृद्धवृद्धासम्म रमाएका हुन्छन् । ’
माघी पर्वको तेस्रो दिनलाई खिचरहुवा भन्ने गरिएको छ ।  यही दिन गाउँ चलाउनका लागि भलमन्सा, अघरिया, चौकीदारलगायत गाउँका नेतृत्वकर्ता चयन गर्ने गरिएको भोलाराम कठरियाले बताउनुभयो ।  उहाँले यसलाई भुरा खेल भनिने गरेको बताउनुभयो ।  कठरियाका अनुसार यसैदिन प्रत्येक घर–घरमा माघी देवानीसमेत हुने गरेको छ ।  विगतमा घरको कामकाजको समीक्षा गर्दै आगामी कार्यक्रम पनि यही बेला तय हुने गरेको जनाइएको छ ।  जसलाई खोज्नी बोज्नी भन्ने गरिएको छ ।  
माघी पर्वसँगै थारु समुदायमा विधिवत रूपमा विवाह, अंशवण्डालगायतका कार्यको थालनी हुने गरेको जनाइएको छ ।  पहिले–पहिले माघी पर्वको बेला कमैया मुक्त हुने र इच्छाएका व्यक्ति कमैया बस्ने चलन रहे पनि यो प्रथालाई हाल सरकारले नै हटाएको छ ।  हाल कमैया राख्ने र बस्ने दुवै कार्यलाई नेपालको कानुनले बन्देज लगाएको छ ।  त्यस्तै, माघी पर्वमै कमलरीको मोलमोलाई हुने कार्यलाई पनि नेपाल सरकारले बन्देज लगाइसकेको छ ।  
माघी पर्वको अवधिभर ‘माघ लहैली सुरज पाइँ लग्ली रे हाँ, सखिये हो बाबाकी सगरम मुरिया लहान’ जस्ता बोलको कोरस गाउँदै बूढापाका, तन्नेरीहरू नाचगान गर्ने गर्दछन् ।  यसलाई ‘मघौटा नाच’ भन्ने गरिन्छ ।  अचेल माघीको गीतलाई ठट्यौली पारामा ‘माघ लहैली सुरिक शिकार खैली रे हाँ, सखिये हो माघक पिली गुरीगुरी जाँर’ गीत गाउँदै युवापिढीहरू नाचगान गर्ने चलन पनि छ ।  
माघी पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक महìव रहेको थारु समुदायका मानिसले बताएका छन् ।  थारु समुदायमा परिवारको हैसियत जस्तोसुकै रहे पनि सबैले माघीलाई मनाउने चलन रहेको छ ।  यो पर्वमा सबैको घरमा सुँगुरको मासु पाकिएको हुन्छ ।  गाउँ–गाउँमा माघीको रौनक देखिएको छ ।  थारु गाउँ माघीमय भएका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना