थारू माघीे

Luckyलक्की चौधरी

 

“सखिए हो ! माघीक् पिबी गुरी जाँर ...”
(साथीसंगी हो ! माघीमा पिऔंला गुलियो जाँड) यो गीतको श्लोकले माघीको पहिचानलाई अहिलेसम्म भरथेग गर्दै आएको छ ।  थारू माघीपर्वको दायरालाई फराकिलो बनाउन सकिएको छैन ।  सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएर यसको बहुआयामिकतालाई खुम्च्यायौं ।  गैरथारूको मानसपटलमा माघी भनेको थारूले जाँडदारु खाने, ढिक्री, मासु परिकार खाएर रामरमिता गर्ने पर्वमात्र हो भन्ने बुझाई छ ।  तर नयाँ वर्षको प्रारम्भका रूपमा मनाइने माघी पर्वलाई किन थारू समुदायले फराकिलो बहस गर्न सकेनन् ? पहिलो, पश्चिमा थारूले बौद्धिक बहस र पर्वको बहुआयामिक पक्षलाई ध्यानै दिएनन् ।  दिन सकेनन् ।  रामरमाइलो गरी मात्रै मनाउने प्रयास गरे ।  दोस्रो, पूर्वीया थारूका लागि यो माघीपर्वले खास अर्थ नै राख्दैन ।  गैरथारू समुदायले जसरी माघ १ गतेलाई माघेसंक्रान्ति मनाउँछन्, त्यतिमात्र हो पूर्वीया थारूले मनाउने ।  न उनीहरूले बडघर चयन गर्छन्, न गुरुवा, वैदवा, सूचीकार, चौकीदार नै चुन्छन् ।  पूर्वी थारू समाजमा त्यस्तो कुनै प्रचलन छैन, जुन पश्चिमका थारूले माघीमा गर्छन् ।  माघीलाई नयाँवर्ष मान्न पनि उनीहरूलाई धौ–धौ छ ।  कारण, यसको महìव उनीहरूले बुझ्दैनन् ।  अहिले ठाउँ ठाउँमा महोत्सव गरेर माघीको महìवलाई अलि फराकिलो ढङ्गले पूर्वका थारूले बुझ्ने प्रयास गरे पनि आफ्नै घरमा उनीहरूले पश्चिमका थारूलेझैं माघी मनाउँदैनन् ।  चाडपर्वमा मीठा परिकार बनाएर खाने त सबैको घरमा हुन्छ ।  
एकाअपसमा रमाइलोका साथै, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारू समुदायको नयाँ वर्ष हो ।  नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँट गर्ने काम माघीमै हुन्छ ।  यस पर्वमा गएको वर्षभरिको कामको समिक्षा समेत हुन्छ ।  यो काम पूर्वका थारूले गर्दैनन् ।  एकवर्षे अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा भए ।  वार्षिक योजना सफल भए कि भएनन् समीक्षा गर्ने चलन बडो राम्रो काम हो तर यी बहस र समीक्षा सतही रूपमा हुनेगर्छ गाउँघरमा ।  छलफलको नाममा रीति पु¥याउनेमै सीमित छ ।  
थारू जातिको मौलिकता बोकेको चाड माघी आत्मीय पर्व पनि हो ।  यसले ‘मेरो हैन हाम्रो’ भन्ने भावनाको विकास गर्छ ।  पुर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको विकास गर्छ ।  विवाह गरी पराईघर गएका चेलीबेटीलाई उपहार दिने र उनीहरूको सुख–दुःखको कुरा अभिभावकबाट जानकारी लिइन्छ ।  चेलीबेटीले आफूले भोगेका समस्या खुलेर राख्छन्, मन हलुङ्गो पार्छन् ।       
किन गर्ने बौद्धिक बहस
माघी पर्वमा देखिएका राम्रा पक्षको अनुसरण र गलत विकृतिजन्य प्रचलनको अन्त्यका लागि बहसको खाँचो छ ।  माघी पर्वलाई परम्परागतरूपमै मनाउने कि त्यसको समयानुकुल परिमार्जन गर्ने, बहसले तय गर्नुपर्छ ।  माघीपर्व कसरी शुरुभयो ? किन नयाँ वर्षको रूप लियो भन्ने तर्क पनि किंवदन्तीमै आधारित छन् ।  ‘पुर्खाले यसो भनेका थिए’ भन्ने आधारबाहेक अन्य वैज्ञानिक तर्क थारू अगुवाहरूसँग छैन ।
थारू समुदाय नेपालको आदीबासी हो ।  सरकारका प्रशस्त ऐन कानुन र नियमहरू छन् ।  थारूले पनि ती ऐन नियमको पालना गरेकै छन् ।  फेरि किन गाउँमा अलग बडघरको आवश्यकता प¥यो ? किन गाउँ चल्ने ऐन नियम र कार्यविधि फरक बने ? कहिलेदेखि बने ? अरू समुदायमा किन बनेन ? बडघरका निर्देशन र नियम किन मौखिक चलनचल्तीमा रहे ? थारू गुरुवाले जप्ने मन्त्र पनि सबै अलिखित किन ? माघीमा स्नान गर्दा किन पैसा चढाइन्छ ? छोरी चेलीलाई निसराउ दिनुको महìव के हो ? मेलमिलापको पर्व भन्ने तर माघीमै थारू घर फुट्नुको कारण के हो ? यस्ता पक्षसमेत बौद्धिक बहसमा उठाइनुपर्छ, जुन आजका युवाले शुरुवात गर्नुपर्छ ।  
मयल पखाल्ने पर्व
माघी पर्वमा थारू समुदायका सदस्यहरू सकेसम्म अनिवार्य स्नान गर्छन् ।  तनमन सफा स्वच्छ बनाएर पूर्खाको आशीर्वाद लिन्छन् ।  माघेसंक्रान्तिका दिन नदी, पोखरी तथा जलाशयमा गएर नुहाउँदा जानीनजानी वर्षभरि गरेको पाप र शरीरको मयल पखालिन्छ भन्ने विश्वास छ ।  अरू दिन निःशुल्क भए पनि त्यो दिन सशुल्क स्नान गर्छन् थारूहरूले ।  जलदेवतालाई पैसा चढाएर मात्र नुहाउने चलन छ ।  माघीलाई थारू समुदायले मिलनको पर्व मान्छन् ।  रिसराग त्याग्ने र नयाँ सम्बन्धको शुरुवात गर्ने पर्वको रूपमा लिन्छन् ।  
नयाँ नेतृत्वकर्ता चयन
देशको नेतृत्व प्रधानमन्त्रीले गरेजस्तै, थारूगाउँको नेतृत्व एकजना बडघरले गर्छ ।  जसलाई थारू समुदायले माघीमै लोकतान्त्रिक प्रक्रियाबाट चयन गर्छन् ।  गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति
तोक्ने ? निक्र्यौल गर्छन् ।  गाउँको नेतृत्वकर्ता
(बडघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको काम गर्ने (चौकीदार) को नयाँ व्यवस्था गरिन्छ ।  उनीहरूको वर्षभरिको पारिश्रमिक र जिम्मेवारी गाउँघरका सदस्यहरूको सामूहिक बैठकले तोक्छ ।  घरको नेतृत्वकर्ता एकजना घरमुलीको पनि चयन गरिन्छ ।  वर्षभरि घरको नाफा नोक्सानको समीक्षा गरी चित्तबुझ्दो भए घरमुली पुनः एक वर्षका लागि नियुक्त गर्ने, नभए अर्को व्यवस्था गर्ने प्रचलन छ ।  घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको अनुशासन बडघरले ।  वर्षभरिको कामको जिम्मा लिएको बडघरले काम चित्तबुझ्दो नगरे छलफलबाटै उसलाई बीचैमा परिवर्तन गर्नसक्ने विकल्प पनि खुला हुन्छ ।  गाउँको साझा नीतिनियम बमोजिम निर्वाचित पदाधिकारीले काम गर्नुपर्ने हुन्छ ।  बडघर छनौट गर्दा गाउँको सक्षम व्यक्ति चयन हुन्छ ।  पुरुष या महिला जो भए पनि हुन्छ ।  थारू गाउँमा महिलाहरू बडघर हुने प्रचलन उहिलेदेखिको हो ।  तर संख्यात्मक रूपमा महिला बडघर भएको निकै कम उदाहरण छ ।  केही गाउँमा गैरथारू पनि बडघर भएका छन् ।  
माघीदेखि थारूहरूको नयाँ खाताको सुरुवात हुन्छ ।  ऋण चुक्ता गर्ने र नयाँ कामको प्रारम्भ गर्छन् ।  कुलोपानीको उचित व्यवस्थापनको प्रबन्ध मिलाउँछन् ।  
चेलीबेटीलाई निसराउ
माघीमा थारूहरू आफ्ना चेलीबेटीलाई गच्छअनुसार उपहार टक्रयाउँछन् ।  चेलीबेटीका लागि नछुट्याएसम्म आफू केही खाँदैनन् ।  कुखुरा बासेपछि शुद्ध जलाशयमा स्नान गरी घर आएर चेलीबेटीका नाममा नुन, चामल, दाललगायतका खाद्यान्नहरू छुट्याएर बाँकी कामको शुरुवात हुन्छ ।  त्यसको अतिरिक्त नगद, लत्ताकपडा तथा अन्य सामग्री पनि विहे भएका चेलीबेटीलाई उपहारको रूपमा दिइन्छ ।  यसलाई थारूमा ‘निसराउ’ भनिन्छ ।  माघीको निसराउ नपाए चेलीबेटीहरू आफू माइतबाट उपेक्षित भएको महसुस  गर्छन् ।  
तर अहिले सो उपहारलाई समानतासँग तुलना गर्न थालिएको छ ।  महिला–पुरुष बराबरीको नाराले सधैँभरि चेलीबेटीलाई माइतीवालाले उपहार दिनुपर्ने पक्षमा प्रश्नचिन्ह लगाउन थालिएको छ ।  आर्थिक अवस्था दयनीय रहेका माइतीले पनि चेलीबेटीलाई उपहार दिनुपर्ने बाध्यात्मक परिपाटीलाई बदल्नुपर्ने आवाज उठ्ने गरेको छ ।  निसराउ दिने प्रचलन सांकेतिक सहयोग हो ।  विहाबारीमा थारू समुदायले चेलीबेटीलाई कुनै दाइजो दिँदैनन् ।  सामान्य खर्चले विवाह सकिन्छ ।  तर माइतीपक्षकाले समस्या परेका बेला चेलीबेटीलाई जस्तोसुकै सहयोग गर्न अघि सर्छन् ।  यही थारू समुदायको उदाहरणीय पक्ष हो ।  
थारूहरू माघीको अतिरिक्त, दशैँ, तिहार, होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका चाडहरू धुमधामसँग मनाउँछन् ।   
रूपान्तरण आवश्यक
    थारू समुदायमा जाँड र दारु नभए पाहुनाको सत्कार हुँदैन भन्ने बुझाइ छ, जुन अहिलेको सन्दर्भमा उपयुक्त छैन ।  थारूको देवताले पनि जाँड र दारु लिन्छन् भन्ने भ्रम सिर्जना गरिएको छ ।  त्यस्ता विकृतिलाई हटाई त्यसलाई सुधार्नुपर्ने खाँचो छ ।  कयौँले जाँड दारुको ठाउँमा मिठाइ, लवाङ, अक्षताले पूजापाठ गर्न सुरु गरेका छन् ।  यसलाई सुधारको सुरुवात मान्न सकिन्छ ।  विस्तारै यसलाई विस्तार गरी देवीदेवता पूजा गर्ने  प्रचलन र सामग्रीमा रूपान्तरण आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना