माघी पर्वको महिमा

kamala regmiकमला रेग्मी

 

हाम्रो देश नेपाल संस्कृतिको सङ्ग्रहालय हो, पाठशाला हो अनि ज्ञानको अपार सागर हो ।  धार्मिक सहिष्णुताको सुन्दरसङ्गम, चाडपर्व, भेषभूषाको सज्जासज्जा, त्यसमा रोमाञ्चकारी परिवेशमा रम्ने मनोविज्ञानसँग नेपाली स्वाभिमान र पहिचान गाँसिएको छ ।  सगरमाथाको शिर, चन्द्र सूर्य फहराएर दिएको रातो दिनको दिव्य ज्योति र शितलतासँग वीरताको पुख्र्यौली इतिहास हाम्रा लागि नासो हो ।  एकातिर बहुजातीगत पहिचान, अर्कातिर प्रकृतिको विश्वगुणको सङ्गम नेपाली अनेकताको एकतामा ब्रह्मशक्ति समाहित छ ।  
पर्वका गर्वमा गाँसिएको सांस्कृतिक पाटो रहेछ– माघ महिनाको समावेशी महिमा ।  माघी पर्वसँग अलिकति मन जोड्दा त्यहाँ धार्मिक सन्दर्भ, एकताको सुन्दर इतिहास गाँसिदो रहेछ अनि सुकोमल अभिव्यञ्जना निर्वाध झल्किन्छ ।  माघी पर्व, मकर सङ्क्रान्ति या माघे सङ्क्रान्तिका नामले चिनिने माघ महिनाको पहिलो दिनलाई हेर्दा त्यहाँ जातिगत एकताको अनौठो सङ्गम रहेछ ।  शास्त्र, पुराणभरि धार्मिक र सांस्कृतिक महिमाले युक्त भएर माघी महात्म्यसँग कर्णप्रीय कथा बोल्दो रहेछ ।  
ज्योतिष शास्त्रअनुसार सौर तिथिको हिसाबमा यो महिनाबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेर उत्तरायण सुरु हुने दिन रहेछ मकर सङ्क्रान्ति ।  पूर्वीय शास्त्रमा नदी, जलाशय, तलाउमा मकर स्नान गर्ने अनि देवी देवताको पूजा आराधना गरी ईश्वरका भजन कीर्तन गर्ने यो दिनको महिमाको रौनकसँग नेपाली पवित्रताको दृष्टान्त झल्किन्छ ।  हुन त सूर्यले सबै राशिसँग सम्बन्ध गाँसेको भए पनि साउनको कर्कट सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई धार्मिक रूपले महìवपूर्ण मानिन्छ ।  समय परिवर्तनका हिसाबमा सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्पm जाने हुनाले दिन लामा र रात छोटा हुँदै जाने तथा हिउँद सकिएर वर्षायामको सुरुवात हुने आधारमा यो पर्व बढी चर्चित छ ।  उत्तरायणका दान, पुण्य तथा विशेष पूजाअर्चना कार्य शुभ मानिने धार्मिक नीतिअनुसार पुसमा नभएका विवाह र व्रतबन्धका मुहूर्त सुरु हुन्छन् ।  पुसको पूर्णिमाबाट प्रारम्भ भएको श्री स्वस्थानी व्रतको समापन माघको पूर्णिमामा हुने हुनाले माघ आपैmँमा पावन छ ।  
दोलालघाट, पनौती, देवघाट, कावेरी, तमोर नदीजस्ता जलाशयका आस्थासँगै भारतका गङ्गासागरलगायतका नदी तटमा स्नान, दान श्राद्धद्वारा पितृस्मरण तथा सम्मानले मकर सङ्क्रान्ति पावन पर्वका रूपमा लिइन्छ ।  शास्त्रमा यस दिनमा गरिने  गङ्गासागर र प्रयागका स्नानलाई महास्नान भनिन्छ ।  पौराणिक इतिहासलाई नियाल्दा महाभारतका भिष्म पितामहले यही दिनमा आफ्नो इच्छा मरणका लागि मृत्युलाई रोजेको कथ्य झनै प्रेरणाप्रद लाग्छ ।  त्यस्तै गरेर भगिरथले गङ्गालाई आजैका दिनमा सागरमा मिलाएको हिन्दु धार्मिक विश्वास छ ।  यो दिनसँग जातिगत एकताको सङ्गम प्रष्टिन्छ ।  थारू जातिका लागि माघी पर्वले नयाँ वर्ष तथा मुख्य पर्वको उपमा लिन्छ, तराईका मैथिलीका लागि तिला पर्व माघ १ गते नै पर्छ अनि नेवारका लागि घिउ चाकु पर्व हुँदै मगर जातिसँग आफ्नै मान्यता र संस्कृतिको सम्बन्ध जोड्छ ।  मगरका लागि चेलीबेटीलाई मिस्रोले पूज्ने पर्वको रूपमा बढी मानिएको बुझिन्छ ।  तीन दिनसम्म मनाउने मगर जातिका बालकहरूले धनुर्वाण खेल्ने, घर तरुल र वन तरुल खन्ने तथा चेलीबेटीलाई पूजा गरेर दक्षिणा दिने चलनसँग यो पर्व जोडिएको छ ।  बुढापाकाले पैसारु÷पैचारु नाच नाचेर रमाइलो गर्ने चलन छ भने अन्तिम दिनमा तारो हान्ने चलनमा मगर जाति रम्छ ।  धेरै नेपालीका लागि यो तरुल खाने पर्वको रूपमा स्थापित छ ।  
नेपाली बहुल जातिलाई एकै दिन विविध मूल्य मान्यताले जोड्ने माघी पर्व नेपाली एकताको सबल उदाहरण बन्दै गएको छ ।  शिशिर ऋतुको पहिलो महिनाको रूपमा रहेको यो महिनामा मास हालेर पकाएका तेल, तिल, घिउ चाकु र खिचडीजस्ता परिकार खानाले चिसोबाट मुक्त भई शरीरका छालाजन्य रोग कम हुने वैज्ञानिक तथ्य गाँसिएको छ ।  तिलका सिठाको आगो ताप्ने चलनसँग लुकेको विज्ञान अनि सरसफाई गरेर शुद्ध बस्नु पर्ने परम्परालाई नियाल्दा चिसोका कारण शरीरबाट फाल्न नसकिएका र बाँकी रहेका मयल धोइने वैज्ञानिक पाटोलाई यसले समेटेको छ ।  
जातिगत, सामाजिक, भौगोलिक र सांस्कृतिक महìव बोकेको यो पर्व नेपाल र नेपालीको आस्था र विश्वासको केन्द्र हो ।  विभिन्न वर्गले भिन्नभिन्न रूपमा मनाउने यो पर्वसँग हाम्रो सान, हाम्रो पहिचान अनि एकताको स्वाभिमानी वैशिष्ट्यता रहेको अनुभूति हुन्छ ।  गाउँघर तिरका केटाकेटीलाई त झन् जङ्गल, भीर, पाखामा वनतरुल खनी खोस्री खाने आफ्नै बाल उमङ्ग सागर जाग्छ ।  सार्वजनिक विदा परेकाले विशेष गरेर वनभोज जाने, रमाइलो गर्ने तथा विभिन्न नाचगानका कार्यक्रमसँग आजभोलि यो पर्व निकै नै रोमाञ्चकारी बन्दै गएको अनुभूत हुन्छ ।  
माघ एक गतेका दिनमा इलामको माईबेनीमा लाग्ने मेला, रुरुको रिडीमा तीन दिनसम्म लाग्ने मेला मात्र नभई सुनसरीको बराहक्षेत्र जस्ता विभिन्न स्थानमा हुने पूजा आराधनाले नेपाली सांस्कृतिक पहिचानलाई उच्च बनाएको छ ।  ऋषिकेशको भीड, कालीगण्डकी, देवघाटजस्ता स्वदेशी भूमि तथा भारतका थुप्रै क्षेत्रमा यो पर्वले हाम्रो सांस्कृतिक गौरवको गाथालाई कसेको छ ।  यो पर्वलाई आर्थिक हरहिसाब मिलाएर नयाँ आर्थिक वर्ष सुरु गर्ने पर्व मानिन्छ ।  त्यस्तै घरको कार्यभार सुम्पने र ग्रहण गर्ने जस्ता मर्मज्ञ विषय जोडिएका कुरा इतिहास, पुराणका व्यावहारिक संस्कार र अनमोल खजाना हुन् ।  अतः धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक, वैज्ञानिकलगायतका विषयसँग यो पर्वले नातो गाँसेको स्पष्टै हुन्छ ।   





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना