युवा वर्गमा भुत्ते वैचारिक धार

bibas wosti विवश वस्ती

 

हरेक राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक क्षेत्रको उन्नयन र परिवर्तनको अग्रलहरमा युवापङ्क्ति हुन्छ ।  समाजभित्र हुने सानातिना फेरबदल होस् वा राष्ट्रिय जीवनका ठूला–ठूला परिवर्तनकारी घटना नै किन नहोऊन््, युवापङ्क्तिको सक्रियता र तिखो हस्तक्षेप विना सफल भएका दृष्टान्त कमै छन् ।  युवापङ्क्तिले आफू बाँचेको समाज र राष्ट्रलाई नयाँ दिशातिर उन्मुख तुल्याउन एवं परिवर्तनका डोब खन्न सदैव अग्रसरता देखाइरहेका हुन्छन् ।  तसर्थ, युवालाई परिवर्तनको संवाहक शक्तिका रूपमा स्वीकार्नुपर्ने र हरेक परिवर्तनकारी घटनामा उनीहरूका भूमिकालाई सर्वोपरि ठान्नुपर्ने अवस्था रहनुलाई स्वाभाविक मान्नुपर्ने हुन्छ ।  
पछिल्लो समय राजनीतिमा युवाको हस्तक्षेप र उपस्थिति बढ्दै गएको छ तर अपेक्षाकृत रूपमा युवाले राजनीतिमा सहभागिता दर्साउन भने सकिरहेका छैनन् ।  हुन त हरेक राजनीतिक शक्तिले युवापङ्क्तिलाई राजनीतिमा जिम्मेवार ढङ्गले उतार्ने मनसाय बनाएको देखिन्छ र युवालाई राजनीतिमा नसार्ने हो भने राजनीतिक क्षितिजमा केवल रिक्तता र भयावह शून्यता छाउने त्रासदस्थिति कायम रहेको तथ्यबाट नेतृत्व वर्ग अपरिचित पनि छैन ।  सम्भवतः यही पक्षलाई विचार गरेर नै राजनीतिमा
युवापङ्क्तिको भूमिकालाई अपरिहार्य ठान्ने संस्कृति विकास हुँदै गइरहेको छ र सोही अनुरूपका जिम्मेवारीबोध युवा पङ्क्तिलाई गराउने कार्यमा राजनीतिक शक्तिका नेतृत्व वर्गले चासो र तत्परतासमेत देखाइरहेको देख्न सकिन्छ ।  
निःसन्देह, युवाको मनोविज्ञान बुझ्न गाह्रै पर्छ ।  प्रायः युवा आफ्नो भविष्यप्रति चिन्तित हुन्छन्, भविष्यलाई सुरक्षित बनाउन चाहन्छन् ।  राजनीतिमा सक्रिय भएर देश र समाजलाई बदल्ने चाहना हुँदाहुँदै पनि प्राथमिकताको पहिलो लहरमा भने उनीहरूले आफ्नो जीवनलाई कसरी सुखद, सुरक्षित र आर्थिक रूपले सबल बनाउने भन्ने चाहनालाई नै राखेका हुन्छन् ।  राजनीतिको कठिन र प्रतिस्पर्धी बाटो रोज्नुभन्दा सहज, सरल र सुरक्षित बाटो हुँदै अघि बढ्ने इच्छा र आकाङ्क्षा पाल्नु नै युवापङ्क्तिका निम्ति पहिलो दायित्व बन्न पुग्नुलाई अन्यथा ठान्न सकिँदैन ।  तसर्थ, राजनीतिमा युवाको उपस्थिति पातलो हुनुका पछाडि अरू केही कारण जोडिएको देखिँदैन ।  राजनीति सरल रेखा हुँदै कहिल्यै बग्दैन, यसको बाटो नै बाङ्गोटिङ्गो र कठिनाइले भरिपूर्ण हुन्छ ।  राजनीतिमा
युवापङ्क्तिको दह्रो हस्तक्षेप नहुनुमा यिनै कारणले भूमिका खेलेको ठान्न सकिन्छ ।  
लामो समयदेखि युवाले अधिकार प्राप्तिको आन्दोलनमा आफूलाई समाहित तुल्याए ।  जेल, नेल भोगे ।  बलिदान दिए ।  राणा शासनको अन्त्य गरेर देशमा प्रजातन्त्र ल्याउन युवाले नै भूमिका खेले ।  प्रजातन्त्र स्थापना भएको दशक नबित्दै देशमा भित्रिएको निरङ्कुश शासन प्रणालीलाई चुनौती दिन युवा नै अग्रसर भए ।  २०३६ सालको जनउभार र त्यसकै जगमा उम्लिएको २०४६ सालको जनआन्दोलनले सफलताको शिखर आरोहण गर्न पनि युवाकै सक्रियताले भूमिका खेल्यो ।  बहुदलीय व्यवस्था स्थापना भएपछि पनि देशमा निरङ्कुशतन्त्रको पुनः उदय भयो र २०६२÷०६३ को जनआन्दोलनलाई सफल तुल्याएर देशबाट सदाका निम्ति राजतन्त्रलाई बिदा गरेर गणतन्त्रको दिशातिर राष्ट्रलाई उन्मुख तुल्याउने कार्यमा पनि युवाकै भूमिका रह्यो ।  
विगतका अधिकार प्राप्तिका आन्दोलनमा युवा शक्तिले पूरा गरेको भूमिका अतुलनीय छँदैछ तर अब समय बदलिएको छ ।  नेपाली जनताले सबैखाले राजनीतिक बन्धनबाट मुक्ति पाएका छन् र देशले गणतन्त्रका मार्गतिर पाइला चाल्दैछ ।  अब राजनीतिक शक्तिमा पनि युवा शक्तिलाई बदलिँदो परिस्थितिअनुरूप सञ्चालन गर्नुपर्ने दायित्व थपिएको छ र युवा शक्तिले पनि समयको पदचापलाई बुझ्दै नयाँ परिस्थिति र सन्दर्भमा कस्तो कदम चाल्नु उपयुक्त हुन्छ ? दिमाग खियाउनुपर्ने देखिएको छ ।  किनकि, विगतमा जनता अधिकारबाट विमुख भएका हुँदा अधिकार प्राप्तिको कुरा गर्नु र त्यसकै निम्ति सङ्घर्ष गर्नु स्वाभाविकै थियो÷ठानिन्थ्यो तर अब भने युवाले देशको आर्थिक समृद्धिको खाका कोर्नेतिर आफूलाई केन्द्रित तुल्याउनु उपयुक्त देखिन्छ ।  अधिकार प्राप्तिका आन्दोलनमा सफलता पाएपछि हरेक देशका नेतृत्वपङ्क्ति र आमजनताले आर्थिक समृद्धिकै परिकल्पना गर्ने हो ।  आर्थिक समृद्धिका सोपान उक्लिने कार्यमा अग्रसरता नलिने हो भने जनपङ्क्तिमा नैराश्यता, नेतृत्व पङ्क्तिप्रति अविश्वास र प्राप्त उपलब्धि लथालिङ्ग हुने स्थिति सिर्जना हुन पुग्छ ।  तसर्थ, युवा शक्तिले अब आर्थिक समृद्धिको खाका कोरेर देश र जनतालाई कसरी समृद्ध, खुसी र उपलब्धिका रक्षकका रूपमा उभ्याउन सकिन्छ ? यो दिशातिर ध्यान दिनु उपयुक्त हुने देखिन्छ ।  
त्यसो त युवा आलोचनाको घेराबाट बाहिर छैनन् ।  राजनीतिमा लागेका युवाले आफूलाई वैचारिक रूपले तिखार्ने कार्यमा शून्य प्रतिशत प्रगति हासिल गरेका कुरा बेलाबखत उठ्ने गर्छ ।  युवामाथि थोपरिने यस्ता आक्षेपमा सत्यताका अंश मौजुद देखिन्छन् ।  निश्चय नै, राजनीतिमा भविष्य खोज्ने युवामा अध्ययनशीलताको खडेरी घनीभूत रूपमा लाग्दै जान थालेको छ ।  टापटिपे र छिपछिपे अध्ययन गरेर दृष्टिकोण निर्माण गर्ने एवं वैचारिक रूपले तिख्खर बनाउने कार्यमा अल्छीपन देखाउने प्रवृत्ति युवामा बढ्दो छ ।  हुन त, यो नेपाली राजनीतिमा भित्रिएको एउटा विसङ्गत पक्षको प्रतिविम्बकै रूपमा स्थापित हुँदै गइरहेको छ ।  किनकि, पछिल्लो समय वैचारिक रूपले समृद्ध नेताहरूभन्दा अरू नै क्रियाकलाप र सक्रियता देखाउन खोज्ने नेताहरूको राजनीतिमा हालीमुहाली चलिरहेको हुँदा त्यसको प्रतिविम्ब युवापङ्क्तिमा पनि पर्न पुग्नुलाई अनौठो मान्न सकिँदैन ।  राजनीति गर्नेले विद्वान् बन्ने होइन, हुलको नेतृत्व गर्ने क्षमता विकास गरे पुग्छ भन्ने मान्यता नेपाली राजनीतिमा फक्रिँदै गइरहेको हुँदा नेतृत्वपङ्क्तिमा समेत अध्ययनशीलताको टुसो मर्दै गइरहेको छ र युवामा पनि नेतृत्व तहकै सिको गर्ने प्रवृत्ति झाँगिदै गइरहेको छ ।  
युवामा आफूलाई वैचारिक रूपले तिख्खर तुल्याउनेतिर होइन, कुन तरिका र बाटाहरू अपनाउँदा राजनीतिमा सफल हुन सकिन्छ भन्ने प्रवृत्ति आम रूपमा स्थापित हुन पुगेको छ ।  त्यसैले युवाले राजनीतिमा स्थापित हुनका लागि सही बाटो अपनाइरहेका छैनन् ।  उनीहरूले वैचारिक नभई शारीरिक क्रियाकलापमा जोड दिँदै आइरहेका छन् ।  तर्कको होइन, मुढे बलको सहारा लिइरहेका छन् ।  आर्थिक रूपले सबल नबनी राजनीतिमा स्थापित हुन सकिँदैन भन्ने गलत चिन्तन र सोचको सिकार बनिरहेका छन् ।  तसर्थ, कुनै पनि राजनीतिक दलको केन्द्रदेखि गाउँ तहसम्मकै युवा नेतृत्वमा देखिएको यस्तो मानसिकता र मनोवृत्तिले राजनीतिको परिभाषा नै बदलिन पुगेको आभास हुन्छ अचेल ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना