वेद विज्ञानमा महर्षि वामदेव

kamal rijalकमल रिजाल

वैदिक वैज्ञानिकहरूमा महर्षि वामदेवको स्थान पनि उत्तिकै वैशिष्ठ्यपूर्ण छ ।  गर्भज्ञानी यी महर्षि ऋग्वेद चतुर्थ मण्डलको द्रष्टा ऋषि मानिन्छन् ।  उनीद्वारा दृष्ट मन्त्रहरूको सँगालो भएकाले यस मण्डललाई वामदेव मण्डल भन्ने गरिएको पनि पाइन्छ ।  यद्यपि यस मण्डलमा केही अन्य ऋषिद्वारा देखिएका मन्त्र पनि छन् ।  तथापि अधिकांश उनैद्वारा देखिएका मन्त्र रहेकाले वामदेव मण्डल भनिएको हो ।  यस मण्डलमा जम्मा ५८ वटा सूक्त र ५८९ मन्त्र रहेका छन् ।  यी मन्त्रहरूमार्फत महर्षि वामदेवले अग्नि, इन्द्र, वरुण, सोम, ऋभु, दधिक्राष्ण आदि देवताको स्तुुति गरेका मात्र छैनन्, यसैमार्फत आधुनिक विज्ञान र प्रविधिको उत्कृष्टतम ढोका खोल्ने कामसमेत गरेका छन् ।  कतिपय मामिलामा आधुनिक विज्ञान उनले त्यतिबेलै देखाएका वैज्ञानिक संसारको छेउछाउसम्म पुगिरहेका छन् भने कतिपय प्रसङ्गका वरिपरि पुग्नसम्म पनि सकिरहेका छैनन् ।  उनले ऋग्वेद ४ ।  ३६ को मन्त्र एक, दुई र पाँचमा जुन किसिमको विना घोडा र विना लगाम आकाशमा उड्ने तीन पाङ्ग्रे रथ तथा मानसिक शक्तिमा चल्ने रथका साथै युद्धक विमानको चर्चा गरेका छन्, त्यस्तो चमत्कार आधुनिक वैज्ञानिक प्रयोशालामा हालसम्म भएको छैन र सम्भवतः त्यस्तो चमत्कार अझै धेरै लामो समयसम्म पनि हुन सक्ने छैन ।  
ऋग्वेदसंहिता ४ ।  ४ ।  ११ मा उल्लेख भए अनुसार उनी गौतम ऋषिका छोरा हुन् ।  उनले यस मन्त्रमा आफूलाई महर्षि गौतमको छोराको रूपमा प्रस्तुत गर्दै अन्धकाररूपी असुर नाशका लागि अग्निसँग प्रार्थना गरेका छन् ।  न्यायादर्शनका प्रणेता गौतम र यी गौतम एउटै हुन् कि अलग हुन् भन्नेबारे विद्वान्बीच संशय भेटिन्छ ।  तैपनि उनी वैदिक मन्त्रद्रष्टा ऋषि रहेका भने कत्ति शङ्का गर्नुपर्ने ठाउँ छैन ।  ऋग्वेद १ ।  १८३ ।  ५ का अनुसार उनी स्वर्गका वैद्य अश्विनिकुमारको आह्वान कर्ता देखिएका छन् ।  यस मन्त्रमा उनी तथा अत्रि र पुरुमीढ आदि ऋषिले अश्विनिकुमारको प्रार्थना गर्दै उनीहरूलाई आफ्नो रक्षार्थ आउन आग्रह गरेका छन् ।  यसबाहेक ऋग्वेद प्रथम मण्डलका ७४ देखि ९३ सम्मका सूक्तहरू र नवौँ मण्डलका सूक्त ३१, ३७ र ३८ का द्रष्टा ऋषि पनि उनी नै देखिएका छन् ।  वामदेका बाबु मात्र होइन उनका छोरा वृहदुक्थ समेत वैदिक मन्त्रद्रष्टा ऋषिमै पर्छन् ।  ऋग्वेद दशौँ मण्डलका सूक्त ५४ र ५६ उनैद्वारा देखिएका सूक्त हुन् ।  यी सूक्तमध्ये उनले ५४ मा जगत् रक्षार्थ इन्द्रको प्रार्थना गरेका छन् भने ५६ मा पञ्चभूतबाट बनेको शरीर मरेपछि तिनीहरूमै कसरी मिन्छन् भन्नेबारे राम्रो चित्रण गरेका छन् ।  
महर्षि वामदेवको गर्भवास तथा जन्मवृतान्त पनि बढो विचित्रको छ ।  ऋग्वेद ४ ।  २७ ।  १ र २ मा उल्लेख भए अनुसार उनले मातृगर्भबाटै आत्मज्ञान प्राप्त गरेका थिए ।  इन्द्रीय, त्यसको वृत्ति र त्यसले खडा गर्ने संसारको स्वरूप लगायत समग्र विश्वब्रह्माण्डको गतिविधि सम्बन्धी ज्ञान उनलाई गर्भभित्रै भएको थियो ।  त्यसैले उनलाई कतिले जातिस्मर भन्ने गरेका छन् भने कतिले ब्रह्मज्ञानी भन्ने गरिएको पनि पाइन्छ ।  संसारका सबै प्राणीको जन्म योनी मार्गबाट हुने गर्छ तर उनी भने यसको समेत विपरीत देखिएका छन् ।  उनले मातृगर्भबाट बाहिर आउँदा योनीमार्ग नभई कुक्षीमार्ग प्रयोग गरेका छन् ।  यद्यपि यतिबेला इन्द्रले प्रकृति विपरीत भन्दै उनलाई रोक्न कम्ती प्रयास गरेका थिएनन् ।  तैपनि उनले कत्ति हिम्मत हारेनन् ।  उल्टै इन्द्रलाई छक्याउँदै पक्षीको रूप धारण गरी वयु वेगले कोखाबाट फुत्त बाहिर आउन सफल भएका थिए ।  त्यतिबेला आफ्नो अवज्ञा गरेको भन्दै इन्द्र रिसाएका भए पनि चाँडै नै उनको विद्वताको अघि झुक्न बाध्य भएका थिए ।  उनले इन्द्रलाई यति बढी प्रभावित बनाएका कि एक किसिमले इन्द्र पहरेदार जस्तो बनी उनको अङ्ग र यज्ञको संरक्षक बन्न पुगेका थिए ।  ऋग्वेद ४ ।  १६ ।  १८ मा यसको सम्यक विवेचन भेटिन्छ ।  यसबाहेक उनलाई अश्विनिकुमारहरूको पनि राम्रो संरक्षण मिलेको थियो ।  यसको पनि कारण उनको विद्वता नै थियो ।  
उनी जुन मात्रामा पराक्रमी देखिएका छन् सोही मात्रामा परोपकारी र गुणग्राही पनि पाइएका छन् ।  नजन्मदै देवराज इन्द्रसँग टक्कर लिन परेको भए पनि उनको सेवा र सहयोग देखेर उनी चाडै नै इन्द्रसित राम्रै प्रभावित हुन पुगेका देखिन्छन् ।  उनले ऋग्वेद ४ ।  १८ ।  १३ मा गरेका इन्द्रको प्रशंसालाई यसैभित्र लिन सकिन्छ ।  यहाँ उनले इन्द्र समान पराक्रमी र सहयोगी अर्को कुनै देवता छैनन् भन्ने कुरालाई बढो रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।   
ऋग्वेदकै ४ ।  २ ।  १४ तथा १५ का अनुसार सर्वप्रथम आगोको खोज समेत उनैबाट भएकोे देखिन्छ ।  यी मन्त्रहरूमा उनले अंगिरा आदि छवटा ऋषिहरूको समूहमा रहेर आफूले आगो खोज गरेको प्रसङ्ग प्रस्तुत गरेका छन् ।  यस बाहेक उनी वार्ताशास्त्र, कृषिशास्त्र, क्षेत्राकर्षण तथा हलो आदि कृषि उपकरण विज्ञानका समेत ज्ञाता मानिएका छन् ।  उनले ४ ।  १६ ।  को १० तथा ११ र १२ औँ मन्त्रमा देवराज इन्द्र र राजर्षि कुत्सको विशेषता जसरी वर्णन गरेका छन् त्यो पनि उत्तिकै वैज्ञानिक छ ।  
ऐतरेय ब्राह्मण ४ ।  २ मा उल्लेख भए अनुसार उनी विश्वामित्र विज्ञानको प्रचारकसमेत देखिएका छन् ।  विश्वामित्रद्वारा दृष्ट गायत्री मन्त्रको २४ अक्षरमध्ये पाँचौँ अक्षरको ऋषि उनी नै मानिएका छन् ।  तप, स्वाध्याय, अनुष्ठान तथा आत्मनिष्ठाका बेजोड सङ्गम मानिएका यी ऋषिले खास गरी सूर्य र अग्निलाई उपास्यदेव बनाएका छन् ।  ऋग्वेद ४ ।  ४० को पाँचौँ मन्त्रलाई सौरी ऋचा भनिन्छ ।  विशेषगरी सूर्यनारायणको विराट स्वरूप र शक्ति विवेचन गरिएको यस ऋचाले वैदिक ग्रन्थहरूमा यति बढी महŒव पाएको छ कि यसलाई यजुर्वेदको काण्व र माध्यान्दिन दुवै शाखा, कृष्णयजुर्वेदको तैत्तिरीय शाखा र तैत्तिरीय आरण्यक तथा ऐतरेय ब्राह्मण आदि ग्रन्थमा जस्ताको तस्तै उल्लेख गरिएको छ ।  प्रज्ञा चक्षुद्वारा ऋषित्व प्राप्त गरी ऋषिमण्डलीमा अति सम्मानित स्थान सुरक्षित गर्न सफल यी महष्लििे अनेक किसिमका यज्ञ अनुष्ठान सम्पन्न गराएका छन् ।  बाल्मिकीय रामायणमा उल्लेख भए अनुसार उनी राजा दशरथका कुलपुरोहित समेत रहेका देखिन्छन् ।  दशरथको दरबारमा गुरु वशिष्ठको जुन स्थान र मान थियो सोही स्थान र मान उनले पनि पाएका थिए ।  
वैदिक मन्त्रहरूद्वारा सतत् लोककल्याणको कामना गर्ने वामदेव महर्षिले बाँझो जमिन फोरेर दुनियाँलाई कृषिकर्ममा प्रवृत्त गराउने काम मात्र गरेका छ्रैनन् हलो, जुवा आदि कृषि उपकरण बनाएर देखाउने र प्रयोगमा ल्याउन सिकाउने कामसमेत गरेका छन् ।  त्यस्तै उनले अग्नि र सूर्यको शक्ति देखाएका मात्र छैनन्, त्यसबाट सहयोग लिन समेत सिकाएका छन् ।  आज उनको भौतिक शरीर त हामी माझ छैन तर उनको देनको भने अहिले पनि प्रयोग गरिरहेका छौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना