भूकम्पबाट बच्ने आफैँ हो

lok bijaya adhikariलोकविजय अधिकारी

हरेक वर्ष पृथ्वीमा करिब पाँच लाख भूकम्प भूकम्प मापन यन्त्रले रेकर्ड गर्छन् भने करिब एक लाख भूकम्प मानिसले थाहा पाउँछन्, जसमध्ये करिब एक सयवटा भूकम्पले क्षति पु¥याउँछन् ।  धेरैजसो भूकम्प पृथ्वीको सतहबाट करिब ८० किलोमिटरको गहिराइसम्ममा जाने गर्छन् तर केही भूकम्प भने पृथ्वीको सतहबाट करिब ७५० किलोमिटरको गहिराइसम्ममा जान्छन् ।  भूकम्प जाने सही कारण पहिलो पटक सन् १७६० मा ब्रिटिश इन्जिनियर जोन मिसेलले पृथ्वीको सतहमुनी चटन सर्दा जान्छ भनी लेखेका थिए ।  हालसम्म रेकर्ड भएको सबैभन्दा ठूलो सन् १९६० मा चिलीमा गएको ९.५ म्याग्नेच्युडको भूकम्पका तरङ्ग पृथ्वीको वरिपरि यात्रा गरेका थिए भने ती भूकम्पका तरङ्गले सम्पूर्ण पृथ्वीलाई नै धेरै दिनसम्म कम्पन गराएका थियो ।  
“भूकम्पीय सुरक्षाको बलियो आधार, भुइँचालो थेग्ने घर र भौतिक पूर्वाधार” यो यसवर्ष मनाइने भूकम्प सुरक्षा दिवसको नारा हो ।  विगत १८ वर्षदेखि वि.सं. १९९० साल माघ २ गते नेपालमा गएको महाभूकम्पले गरेको विनाशको सम्झनामा हरेक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।  उक्त महाभूकम्पलाई विश्वमा बिहार–नेपाल भूकम्पको नामले चिनिन्छ ।  यस भूकम्पमा परी नेपाल र भारतमा गरी जम्मा १६ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो भने नेपालमा मात्रै आठ हजार ५१९ मानिसले ज्यान गुमाउनुपरेको थियो ।  यस्ता ठूला विनाशकारी भूकम्प नेपालमा विगतमा पटक–पटक आइरहेका छन् र भविष्यमा पनि आउने नै छन् ।  हालसम्मको विज्ञानले गरेको प्रगतिको आधारमा भन्ने हो भने भूकम्पको सटिक रूपमा पूर्वानुमान गर्न अझै कति समय लाग्ने हो त्यसको पत्तो छैन ।  आजकै दिनलाई पारेर सन् १९४४ मा अर्जेनटिनामा ७.४ म्याग्नेच्युडको भूकम्प गएको थियो, जसमा आठ हजारभन्दा बढी मानिसको मृत्यु हुन पुग्यो ।  यसैगरी आजकै दिन सन् १९९३ मा जापानमा ७.६ म्याग्नेच्युडको भूकम्प परी दुई जना मानिसले ज्यान गुमाएका थिए भने ६१४ जना मानिस घाइते भएका थिए ।  
वि.सं. १९९० पछिको नेपालको सबैभन्दा ठूलो भूकम्प २०७२ वैशाख १२ गते गयो ।  गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको यस भूकम्पले झण्डै नौ हजार मानिसको ज्यान लियो भने करिब बीस हजार मानिसलाई घाइते बनायो ।  यसबाट करिब सात खर्ब रुपियाँ भौतिक क्षति भएको छ ।  उक्त भूकम्पको कम्पन नेपाल बाहेक भारत, बङ्गलादेश, पाकिस्तान, भुटानलगायत भूकम्पको केन्द्रबिन्दुबाट करिब दुई हजार किलोमिटर टाढा चीनसम्म महसुस भएको थियो ।  करिब यस्ता विनाशकारी भूकम्प भविष्यमा जुनसुकै बेला आउन सक्ने र फेरि यस्तै अपार धनजनको क्षति हुन सक्ने कुरा सबैमा घाम जत्तिकै छर्लङ्गै छ ।  त्यसैले हामीले भूकम्पको बारे गर्न सक्ने भनेकै भविष्यमा आउने भूकम्पका कारणले कमभन्दा कम धनजनको क्षेति हुने निर्माण तथा तयारी गर्ने हो ।  हामीलाई थाहा नै छ भूकम्पले मानिसलाई मार्ने होइन बरु मानिसले नै बनाएका कमजोर भौतिक संरचनाका कारण मानिसको मृत्यु भइरहेको छ ।  यो कुरालाई यस वर्षको नाराले पुष्टि गरेको छ ।
भौतिक संरचनाको क्षतिको कारणले हुने मानवीय क्षतिबाहेक मानवीय स्वभाव, बानी, व्यवहारका कारण उल्लेख्य क्षति हुने गरेको छ ।  भूकम्पले भौतिक रूपमा मात्रै असर गर्ने नभई मानसिक रूपमा पनि मानिसलाई कमजोर र विक्षिप्त बनाउँछ भन्ने कुरा गोरखा भूकम्पको समयमा हामी सबैले महसुुस गरेकै कुरा हो ।  यसै सन्दर्भमा धेरै समय पहिले बेलायतमा भूकम्प जाँदा सडकमा चटक देखाइ औषधि बेच्ने मानिसले केही औषधिका गोलीलाई भूकम्पको औषधि अर्थात् जुन औषधि सेवन गरेपछि भूकम्पबाट बच्न सकिने भनी बेच्ने गरेको कुरा याद आयो (जोसेफ एडिसन) ।  यसले भूकम्पको अगाडि मानिस कतिसम्म निरीह हुँदोरहेछ भन्ने देखाउँछ ।
आजभन्दा करिब दुई महिना पहिला सन् २०१६ नोभेम्बर १४ का दिनमा न्युजिल्यान्डमा नेपालमा २०७२ साल वैशाख १२ गते गएको भूकम्प जत्रै ७.८ मोमेन्ट म्याग्नेच्युडको काइकुरा भूकम्प गयो ।  उक्त भूकम्प धेरै दृष्टिकोणले गोरखा भूकम्प जस्तै थियो ।  एउटै म्याग्नेच्युड, करिब उस्तै गहिराइमा भकम्पको उद्गमबिन्दु (१५ किमी), भूकम्प एक छेउबाट सुरु भई करिब १०० किलोमिटर टाढासम्म रप्चर भएको, केन्द्रबिन्दु भन्दा टाढा बढी हल्लाएको, मुख्य भूकम्पपश्चात् हजारौँ साना मझौला भूकम्प गएको, न्युजिल्यान्डको राजधानी बेलिङ्गटनमा भूकम्पको तीव्रता आदि ।  उक्त काइकुरा भूकम्पले बेलिङ्गटनमा जति हल्लाएको थियो गोरखा भूकम्पले पनि काठमाडौँमा उत्तिनै हल्लाएको थियो तर त्यस भूकम्पले गरेको क्षति हामी अनुमान पनि गर्न सक्दैनौँ ।  उक्त भूकम्पले आर्थिक रूपमा न्युजिल्यान्डमा धेरै क्षति गरे पनि मानवीय क्षति भने निकै न्यून थियो ।  त्यस भूकम्पमा परी जम्मा दुई जना मानिसको मृत्यु भएको थियो भने करिब ६० जना मानिस घाइते भएका थिए ।  जबकि उक्त भूकम्पले सबैभन्दा बढी न्युजिल्यान्डको केही ठाउँमा  सबैभन्दा बढी १५ गुणासम्म हल्लाएको थियो ।  जमिन फाटेका थिए, धाँजा परेका थिए ।  सुनामी आएको थियो ।  लाखभन्दा बढी पहिरो गएका थिए ।
यसरी हामी जब गोरखा भूकम्पलाई न्युजिल्यान्डको काइकुरा भूकम्पसँग दाज्दछौँ अनि हामी भन्न सक्छाँै भूकम्पबाट हुने क्षति हामी न्यूनीकरण गर्न सक्छौँ र भूकम्पबाट बच्ने हामी आफैँ हो ।  हामीले गर्न, सिक्न र सिकाउन अनि बुझ्न बुझाउन नसकेका कति कुराका कारण अनावश्यक रूपमा थप मानवीय क्षति हुन पुगेको छ भूकम्पको बेला ।  जस्तो भूकम्प आउँदा घरभित्र टेबुलमुनी वा खाटमुनी बस्नुपर्छ भन्ने कुरालाई सही रूपमा सर्वसाधारणमा बुझाउन नसक्दा केही मानवीय क्षति भएको कुरा सञ्चार माध्यममा आयो ।  गोरखा भूकम्पलगायत उक्त भूकम्पका पराकम्प गएका बखत मानिस अत्तालिइ घरबाट भागदौड गर्दा त्यस्तै क्षति हुन पुगेको कुरा सञ्चार माध्यममा आए ।  वास्तवमा भूकम्पको बेला सम्भव भएसम्म खुला स्थानमा जानुपर्छ जस्तै घरको आगन, चौर, सडकको बीचभागमा आदि ।  त्यसकारण घर बाहिर हँुदा हामी कहिल्यै पनि भूकम्पको बेला घरभित्र जानु हुँदैन तर घरभित्र छौँ र तुरुन्त बाहिर सम्भव छैन भने घरभित्रकै सुरक्षित बलियो स्थान टेबुल, कुर्सि, खाट मुनी वा ढोकाको संघार वा भित्रपट्टीका भित्तामा टाँसिदा, हल्लिँदा माथिबाट खस्ने वस्तुबाट टाउको वा शरीरलाई बचाउन सकियोस्, जुन कुरा घर बलियो भएको वा सुरक्षित भएको अवस्थामा मात्र काम लाग्छ अर्थात् घर नै बलियो छैन भने ती कुराले मात्र बच्न सकिँदैन ।  भूकम्पमा मानवीय क्षति करिब ९० प्रतिशत भवन वा भौतिक संरचना भत्किँदा नै हुने गर्छ ।  त्यसकारण हाम्रो जस्तो भूकम्पीय जोखिम युक्त मुलुक वा जहाँ भविष्यमा जहिले पनि ठूला भूकम्प जान सक्छन्, त्यहाँका मानिसले भूकम्पको बेला गर्नुपर्ने सबैभन्दा उत्तम उपाए भनेको नआत्तिने र भूकम्पको लागि सधँै हरेक किसिमले तयार रहनु नै हो तर विडम्बना नै भन्नुपर्छ गोरखा भूकम्पपछि अझैसम्म भूकम्पले आंशिक क्षेति गरेका केही भवनमा मानिस काठमाडौँलगायत सबै स्थानमा बसोबास गरेको देख्न सकिन्छ ।  त्यस्ता स्थान भविष्यमा आउने मझौला खालका भूकम्पले मानवीय तथा भौतिक क्षति पु¥याउन सक्छन् ।   यसले के देखाउँछ भने बिस्तारै भूकम्पको त्रास कम हँुदैछ तर विपरीत तरिकाले ।  यस्ता मानवीय गलत व्यवहार वा मुर्खताले फेरि भविष्यमा जाने भूकम्पले अपार धनजनको क्षति पु¥याउन मद्दत गर्छ ।
नेपालमा गोरखा भूकम्पका पराकम्प जाने क्रम यद्यपि जारी नै छ ।  नेपालमा भविष्यमा कुनै पनि बेला गोरखा भूकम्प जत्रै वा सोभन्दा पनि ठूलो म्याग्नेच्युडको भूकम्प जान सक्ने कुरालाई नकार्न सकिँदैन ।  तसर्थ भूकम्पको कारणले हुने क्षति न्यूनीकरण गर्न हामी सबैले आफ्नो क्षेत्रबाट कार्य गर्न ढिला भइसकेको छ ।  
लेखक राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख हुनुहुन्छ

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना