स्वदेशी रोग, विदेशी उपचारको असर

Narayan p paudelनारायणप्रसाद पौडेल

नेपाली राजनीतिको बजारलाई स्वदेशी रोगमा विदेशी उपचारले खायो ।  त्यसैले यसो गर्दा पनि हुन्न, उता सर्दा र तल झर्दा पनि हुन्न ।  आदेशका भरमा निहुँ खोजेर बिसन्चो भएर सुतेकालाई जस्तै औषधिले पनि छुन्न ।  साँच्चैको रोग लागेको भए पो परम्परागत औषधिले पनि सन्चो हुन्थ्यो, बीसबाट उन्नाइस हुँदै क्रमशः सुधार हुन्थ्यो ।  प्रायोजित रोगले उपचारका लागि पनि आदेश कुर्छ ।  त्यो आदेश लैनचौर, बालुवाटार, महाराजगन्ज, पुल्चोक आदि धेरै ठाउँबाट आउनुपर्छ ।  दिल्ली, बेइजिङ, वासिङ्टन, संयुक्त राष्ट्रसङ्घीय निकायसहित जेनेभा र युरोपियन युनियन आदि शक्तिकेन्द्रका स्रोत र सम्पर्कस्थान हुन् ती ।  जो दृश्यमा छन्, निर्णय गर्छन् र वक्तव्य पनि निकाल्छन् ।  पढ्न, सुन्न र हेर्न पाइन्छ ।  तीबाहेक अरू अदृश्य शक्तिकेन्द्रका तर्फबाट भित्रभित्रै अति सूक्ष्म तरिकाले आउने आदेश त हेर्न, पढ्न र सुन्न पनि पाइन्न ।  देखिनेभन्दा नदेखिने, सहमति र सम्झौतामा नलेखिने तर सधैँ पूरा गर्नपर्ने त्यस्ता बाध्यकारी र अनिष्टकारी आदेश झन् खतरनाक हुन्छन्, हुने गरेका छन् नेपालका लागि ।
सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वका कुरा आन्तरिक रोगको उपचारका लागि आएका हुन्, अपनाइएका हुन् ।  तिनको विज्ञापन सुन्दा जति कर्णप्रिय र चित्ताकर्षक थिए, व्यवहारमा प्रयोग गर्दै जाँदा उत्तिकै घातक, उन्मादक र विद्वेषक भए ।  मात्रा पु¥याउन नसकेर जात्रा भएको छ दिनदिनै ।  घरको व्यवहार मिलाउन अलि परको कुरा सुन्दा समस्या परेको हो ।  त्यसैले अलौकिक चिकित्सकको पुर्जी बोकेर धाउन परेको छ, छ कहिले उत्तर र कहिले दक्षिण, कहिले पूर्व र कहिले पश्चिम ।  जहाँ गए पनि रोग यहाँ छ ।  उपचार गर्नका लागि आवश्यक औषधि पनि यतै छन् ।  तर, यताको जडीबुटी खुवाउन नपाइने र तोकिएको विदेशी बहुराष्ट्रिय कम्पनीकै औषधि प्रयोग गर्नैपर्ने भन्ने अलिखित एवम् अदृश्य कबुलियतनामा गरेकाले समस्या परेको हो ।  बहुराष्ट्रिय कम्पनीको कमिसनको चक्करमा परेर आफ्नै आँगनको तुलसी, बारी र टारीको नीम र टोप्रेझारभन्दा चिहानघारीको चक्कीले सबै ठीक पार्ने भन्दै ल्याएको औषधिले आफ्नो असर देखाइहाल्यो ।  पहिले तराई बन्द गरायो, नाकाबन्दीसमेत लगायो, अहिले अलि उत्तरतिर सरेर पहाडमा पहिरो जान थालेको छ ।  हिजोसम्म मिलेर बसेका मान्छे आज जात, धर्म, भाषा, भेष र संस्कृतिका भरमा मारमुङ्ग्री गर्न थालेका छन् ।  जवानी, जुवा, यौवन, गाँजा, भाङ, धतुरोलगायतका लागूऔषधि र रक्सीको नसाभन्दा राजनीतिको नसा कति चर्को हुन्छ भन्ने कुरा देखिँदै छ ।  सुधार्ने भन्दै उधार्दै छ जताततै ।  सम्हाल्नै गाह्रो, सकस अति साह्रो ।
संविधानसभा पनि जातिबित्ती राम्रो र अचुक औषधिका रूपमा वर्णन गरिएको थियो ।  सबै रोगको उपचार हुने एउटै चक्की वा रामवाण भनिएको थियो ।  त्यसपछिको लोकतान्त्रिक गणतन्त्र नामको अर्को रसायनले त सारा रोग निवारण हुने र सिङ्गै देश निरोगी बन्ने भनियो ।  काखमै राखियो, जिब्राका टुप्पाले चाटेर चाखियो, देखियो, भोगियो त्यसको पाइन पनि ।  जुन औषधि जति राम्रो भनेर ल्याए पनि उनै चिकित्सकले, उही अस्पतालमा, उस्तै तरिकाले उपचार गर्ने भएपछि के फरक पथ्र्यो र ? परेन ।  त्यसैले अहिले मुलुक आफ्नोपन गुमाएर अर्काको अक्कलविनाको नक्कल गर्दाको परिणाम भोग्दै छ ।  आपूmसँग न पुरानो पद्धति बाँकी छ कतै, न आयातीत नौलो औषधिको असरबारे जानकारी छ पूरै ।  छैन ।  अँध्यारोमा ढुङ्गा वर्षाउँदै अगाडि बढ्दै हिँडेको छ, छ ।  कुन बेला कहाँको भीरमा पुगेर गुल्टिने हो पत्तो छैन ।  केहीले पछुतो मानेको पनि देखियो ।  हातको माछो छाडेर प्वालमा हात घुसार्दा सर्प समात्न पुगेजस्तो भएको छ तिनीहरूलाई ।  अगाडि न पछाडि ।  कतै सर्न र केही गर्न पनि सकेका छैनन् ।  राजनीतिक मादकताको उन्माद र रन्कोमा फन्को मारेका छन्, छन् पाखुरा सुर्कंदै ।  तर, कहीँ पनि गएको÷पुगेको हैन, कत्ति उपलब्धि छैन ।  आदेशबेगर केही गर्न सक्दैन ।  आफ्नो अधिकार पनि अरूलाई सुम्पेर बनेका शासक आफैँ विनाशक भएका छन् ।  अदृश्य आदेश आए, पाए चल्छन्, नत्र चटपटाउन र फटफटाउन पनि सक्दैनन् ।  कस्तो बिजोग ! दुर्योग !!
    अदालतको आदेश आएपछि अलिकति तङ्ग्रिन खोजेका हुन् ।  तर पनि रोग त फेरि पनि प्रायोजित प¥यो ।  त्यसैले भुरुङजति नाचे पनि भुइँको भुइँ भनेजस्तै भएको छ ।  कोही कतै गएको छैन ।  फरक परेको देखिँदैन ।  एउटाको पद र कुर्ची अर्कोमा अदलाबदली हुँदा बोल्ने कुरा उस्तै छन् ।  गरिएका व्यवहार पनि दुरुस्तै देखिन्छन् ।  कटवाल काण्डपछि सत्ताच्यूत भएर उत्तेजित माओवादी कार्यकर्ताले तत्कालीन भारतीय राजदूत राकेश सुदमाथि जुत्ता प्रहार गरेका थिए, अहिले सत्ताबाट बाहिरिएका एमाले युवाले भारतीय राजदूतावासमा गएर नारा लगाए, रञ्जित रेलाई फिर्ता गरियोस् भनेका छन् ।  राष्ट्रवाद र राष्ट्रवादका शब्द र शैली उनै हुन्, बोल्ने मान्छेमात्रै फेरिएका छन् ।  हिजो एमाले–कांग्रेसका नेताले भन्थे– माओवादीको उत्ताउलोपनले बिगा¥यो ।  आज माओवादी केन्द्र, काँग्रेस र मधेसवादी दलका नेताले भन्दै छन्– एमालेको उत्ताउलोपनले बिगा¥यो ।  हिजो र आजको तिथि र मितिमात्र फरक परेको हो, अरू सबै गति र मति उही र उस्तै छ ।  एउटा बालकले खाँदै गरेको हातको चक्लेट खोसेर अर्कोलाई दिँदाको आक्रोश ।  काखाकोलाई पाखा र पाखाकोलाई काखा राख्दाको परिणाम ।  आक्रोशको तारोचाहिँ उही ।  दिँदा ठीक, लिँदा बेठीक ।
    आधुनिक उपचार पद्धतिको पारखी बन्दा हामीले योगी नरहरिनाथभन्दा स्वामी रामदेव जान्ने, गौतमबुद्धभन्दा रेयुकाईका पछि लाग्ने, मुक्तिनाथभन्दा बद्री–केदारनाथतिर धाउने ग¥यौँ खुबै ।  आयातीत उन्नत प्रविधि अपनाएर खेती गरेर आत्मनिर्भर हुने भनेकै दिनदेखि खाद्यान्नमा परनिर्भर हुन परेको छ ।  अनि विदेशी गुरुबाट तन्त्र र मन्त्र सुनेर तदनुसारको नयाँ संविधान लेखेपछि सुखी हुन खोज्दा झन् बढी दुःख खप्न परेको छ ।  यसरी धान र संविधान दुवैमा परनिर्भर भएपछि रासन र शासन कसरी आफ्नो हातमा हुन्छ ? भन्नेतिर पटक्कै ध्यान दिएनौँ ।  टेलिभिजनमा आउने विज्ञापन हेरेर, बजारको औषधि किनेर मुहारमा दलेर अति सुन्दर बन्न खोजेकी युवतीको अनुहार झन् बढी विद्रुप भएजस्तै भयो ।  जति प्रदेश बनाए वा जता सारे, झारे, पारे पनि आफैँ शासक बन्ने भएपछि के फरक पर्छ र ? भाडामा बुद्धि सापट लिएर बनाएको वा अपनाएको प्रणालीले काम नगरेपछि अब मान्छे पनि उतैबाट झिकाएर शासनको आसनमा बसाल्न खोजेको त हैन ? शङ्का गर्न र सोच्न बाध्य पारेको छ धेरैतिरबाट ।
    साथी फेर्न सकिए पनि छिमेकी फेर्न सकिन्न ।  हाम्रो उत्तर दक्षिण दुईतिर दुईथरी शासनशैली छ ।  एउटा अर्कोसँग मिल्दैन ।  दुवैको तानातान र भनाभनको बीचमा परेको हुनाले तप्केनीमुनिको बालीजस्तै हुन बाध्य छौँ नेपाली ।  एउटाले बोलेर, हकारेर, खकारेर, डकारेर, भकारेर सताएको छ ।  अर्कोले नबोलीकन भित्रभित्रै मुसारेर हात घुसारेर मताएको छ ।  अलि परकाले दुवैको हेपाइ र चेपाइबाट उम्कने अर्ती दिने नाममा आकाश पातालका उपदेश दिन्छन् ।  सुन्न अभिशप्त छौँ हामी ।  हाम्रा आन्द्राभुँडी, दिल र दिमाग त्यसरी बिगारे आँत छामीछामी ।  जसको अर्ती सुन्यो, उसैको कारिन्दा हुँदा हाम्रो आफ्नोपन गुम्यो ।  यताका न उताका भयौँ ।  सामान्य रुघाखोकी लाग्दा पनि रोगीलाई बोकीबोकी हिँड्न प¥यो ।  अब त अदालतको आदेशले पनि काम गर्न छाड्यो ।  सुधार्नका लागि विदेशी उपचार खोज्दाको परिणाम हो यो ।  सबैको मानमर्दन भयो ।  अस्तित्व कागजमा मात्र बाँकी रह्यो ।  त्यो पनि कति दिनका लागि हो भन्न पर्ने अवस्था आयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना