हिमालकी रानीको संरक्षण, नेपालमा संंरक्षणविद्को जमघट

काठमाडौँ , माघ ३ गते  । संसारकै दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु हिउँ चितुवाको संरक्षणसम्बन्धी हालसम्म भइरहेको सफल तथा प्रभावकारी कार्यबारे छलफल गरी आगामी कार्यदिशा निर्धारण गर्न काठमाडौँमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । माघ ४ गतेबाट सुरु हुने सम्मेलनमा विश्वभरिका हिउँ चितुवा पाइने १२ वटा राष्ट्रका सरकारी उच्च अधिकारीको सहभागिता रहने आयोजक वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ । अधिकांश राष्ट्रबाट वन तथा वातावरण मन्त्रीहरूको सहभागिता रहने छ भने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने कार्यक्रम रहेको छ । नेपाललगायत अफगानिस्तान, भुटान, चीन, भारत, काजकिस्तान, किर्गिजिस्तान, मङ्गोलिया, पाकिस्तान, रुस, ताजिकस्तान र उज्वेकिस्तान देशमा हिउँ चितुवा पाउने गरेको छ । हिउँ चितुवालाई हिमालकी रानी भन्ने गरिन्छ । विश्वको कुल सङ्ख्याको कम्तीमा दस प्रतिशत नेपालमा पाउने गरेको सरकारी अधिकारीले दाबी गरेका छन् । विश्वका १२ देशमा पाँच हजारदेखि सात हजारको सङ्ख्यामा पाउने गरेको बताइएको छ भने नेपालमा तीन सयदेखि पाँच सयको सङ्ख्यामा पाउने गरेको वन तथा भू संरक्षण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले बताउनुभयो । hiu chitwa

जलवायु परिवर्तनको असर, चोरीशिकार, मानव समुदायसँगको द्वन्द्व, आहाराको अभावलगायतका कारणले यसको हिउँ चितुवाको अस्तित्व सङ्कटमा पर्दै गएको प्रतिविश्व समुदायले चिन्ता व्यक्त गरिरहेका बेला हिउँ चितुवा पाइने राष्ट्रका सरकारी प्रतिनिधिले हालसम्मका सफल कार्यक्रम, रणनीति, कार्यनीति बारे छलफल गर्नेछन् । हिमाली पारिस्थितिकीय प्रणाली (बासस्थान) को सुधार तथा संरक्षणका लागि साझा अवधारणा बनाउन यो जमघट महìवपूर्ण हुने कुरा मन्त्रालयका सहसचिव डा. ढकालले बताउनुभयो । अत्यन्तै सुन्दर देखिने बिरालो प्रजातिको हिउँ चितुवा बाघभन्दा अलि सानो आकारको हुन्छ । हिउँ र हिउँ नजिकै रहेको भूमिमा अधिकांश बिताउन मन पराउने हिउँ चितुवाको सुरक्षित बासस्थान सुनिश्चित गर्न हिउँ चितुवा पाउने १२ वटै राष्ट्रमा २३ वटा भू–दृश्य (ल्यान्डस्केप) को पहिचान गरिएका छन् । हाल नेपालमा भइरहेको सम्मेलनले पहिचान गरिएको हिउँ चितुवा पाउने ल्यान्डस्केप सुरक्षित गर्न के कुन रूपमा सफलता मिलेको छ ? कुन कार्यक्रम बढी असफल भए भन्ने बारे पुनरावलोकन गरिने र आगामी दिनमा लिनुपर्ने कदम र प्राथमिकताको पहिचान गरिनेसमेत आयोजक समितिका सदस्य सचिव रहनुभएका सहसचिव डा. ढकालले बताउनुभयो । सम्मेलनले सन् २०१७ को मध्यतिर कार्गिजिस्तानमा हुन थालेको हिउँ चितुवासम्बन्धी शिखर सम्मेलन र हरित लगानी मञ्चका लागि समेत एजेन्डा तयार पार्ने भएको छ ।
सम्मेलनका मुख्य कार्यसूची
- हिउँ चितुवाको व्यवस्थापन योजनाका लागि स्रोत परिचालन रणनीतिको पहिचान गर्ने ।
- हिउँ चितुवासम्बन्धी अनुसन्धान, अनुगमन सार्थ ल्यान्डस्केप स्तरमा सहभागिता अभिवृद्धि गर्न संयुक्त रणनीति विकास गर्ने ।
- हिउँ चितुवाको चोरी शिकारविरुद्ध साझा अवधारणा विकास गर्ने ।
हिउँ चितुवासम्बन्धी जानकारी
- कम्तीमा २७ केजीदेखि बढीमा ५५ केजीसम्मको बजन ।
- सानो चिटिक्क परेको शरीर, टाउकोदेखि पुच्छरसम्म ७५ देखि १५० सेमिको लम्बाइ ।
- पुच्छर ८० देखि १०० सेमीको लम्बाइ ।
- हिमाली रानीको सज्ञा ।

संरक्षणका लागि कोशेढुङ्गा 

डा. महेश्वर ढकाल

सहसचिव, वन तथा भूसंरक्षण मन्त्रालय

हिउँ चितुवाको संरक्षणमा जलवायु परिवर्तन लगायतका थुप्रै चुनौती देखा परिरहेका छन् । संसारबाटै लोप हुन थालेको दुर्लभ वन्यजन्तु हिउँ चितुवाको संरक्षणमा नेपालभित्रै एक किसिमको र विश्व जगतमा पनि जनमत सिर्जना गर्न जरुरी छ । त्यसैले हाल नेपालमा हुन लागेको विश्वभरिका हिउँ चितुवा पाइने देशका सरकारका उच्च अधिकारी, विज्ञ तथा अनुसन्धानदाताको जमघटले नेपालले हाल संरक्षणमा गरिरहेको प्रयासको बारेमा छलफल र बहस हुने छ भने विश्वका अन्य मुलुकले अपन्याएको विधिका बारेमा पनि नेपाललाई जानकारी हुने हुँदा संरक्षणका लागि यो कार्य कोशेढुङ्गा हुने अपेक्षा गरिएको छ ।

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना