पिस्कर काण्डको अन्तर्य

madhav nepalमाधव नेपाल            

सिन्धुपाल्चोकको पिस्करमा माघ १, २०४० को रातमा भएको घटना पिस्कर काण्डको नाममा चर्चित छ ।  पिस्करलाई क्रान्ति, वीर शहीदको बलिदानको आधारभूमिका रूपमा मानिन्छ ।  त्यो घटनालाई पञ्चायतकालीन बर्बरताका रूपमा लिइन्छ ।  पिस्कर राजनीतिक दमन र प्रतिरोधको विम्ब हो ।  पिस्कर परिवर्तनका पक्षधर सम्पूर्ण जनताको अविस्मरणीय प्रेरणाको स्रोत हो ।  सङ्घर्षका क्रममा ईली थामी र वीरबहादुर थामीजस्ता योद्धाहरूले पिस्करको भूमिमा जीवनको आहूति दिए ।  धेरैले जेलनेलका कठोर यातना भोगे ।  राज्यविप्लवको आरोप लागेर कतिले बासस्थान छाड्नुप¥यो ।  गाउँ रित्तो भयो ।  गाउँमा पुलिसका बुट र लाठीहरू बर्सिए ।  विनाकारण पाएको यो पीडाले थप मानिसमा आक्रोश पनि बढ्यो र यसले तत्कालीन शासन व्यवस्थाका विरुद्ध आवाज चर्काउन थप ऊर्जा मिल्यो ।  
बत्तीस वर्षअघि भएको यो घटनाले अहिले पनि पिस्करको यो महादेवस्थान मन्दिर आसपास भयभित भइरहन्छ ।  यसलाई पञ्चायती शासकको क्रूरताको नमुनाको रूपमा लिइन्छ ।  स्थानीय रूपमा बृहत् मेला लाग्ने भएका कारण पनि तत्कालीन नेकपा मालेले यो ठाउँमा सरकारविरोधी चेतना फैलाउने कार्यक्रम राखेको थियो ।  माघेसङ्क्रान्तिको यो घटना हुनुभन्दा पाँच दिन पहिले तत्कालीन मालेका नेताहरू अमृत बोहरा र माधव पौडेल पिस्कर पुगी कार्यक्रमको आवश्यक व्यवस्था मिलाएर काठमाडौँ फर्कनुभएको थियो तर प्रहरीले पार्टीका उच्च नेतृत्व नै सो कार्यक्रममा सहभागी हुने सूचनाका साथ आक्रमण ग¥यो ।  स्थानीय धेरै व्यक्तिलाई गिरफ्तार ग¥यो ।  त्यसबेलाका स्थानीय नेताहरू हाल एमाले पोलिटब्यूरो सदस्य अरूण नेपाललगायत मेघनाथ पौडेल, शरेस नेपाल, छत्रबहादुर बोहरा, मानबहादुर थामीलाई सरकारले जेल हाल्यो ।
पिस्कर सिन्धुपाल्चोक जिल्लाको एउटा सानो र विकट गाउँ हो ।  यो गाउँमा आर्थिक रूपमा निम्न वर्गीय जनजाति समुदायको बाक्लै बस्ती छ ।  स्थानीय रूपमा नै माथिल्लो वर्गबाट पीडित उनीहरूमा राजनीतिक चेतना भने अब्बल थियो ।  यही चेतनाका कारण पनि तत्कालीन भूमिगत राजनीतिक मोर्चालाई सरकार विरोधी क्रियाकलापका लागि यो ठाउँ उपयुक्त थियो ।  पिस्करका मान्छेले पनि आफूमाथि भइरहेका वर्गीय शोषण र उत्पीडनका विरुद्ध आवाज उठाएका थिए ।  स्थानीय सामन्त र तिनका अनुयायीको अचाक्लीका कारण पनि यस ठाउँमा व्यवस्था विरोधीको सङ्ख्या बढ्दै गएको थियो ।  सरकारको आडमा स्थानीयतहमा सामन्तले व्यापक दमन गरेका थिए ।  त्यसका विरुद्ध आवाज उठाउने उपयुक्त मौकाको खोजीमा शोषित र पीडित जनता थिए ।  त्यही आवाजको एउटा रूप ०४० सालको माघेसङ्क्रान्तिका दिन पिस्करका जनसमुदायको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम थियो ।  त्यही कार्यक्रममा पञ्चायती शासकहरूले आक्रमण गरेर दमन गरे ।  गोली हानी निहत्था, निर्दोष दुई जना थामीको निर्मम हत्या भयो ।  
यो घटना भएलगत्तै तत्काल नेकपा (माले) को राजीतिक ब्यूरोको आकस्मिक बैठक बोलाइएको थियो र हत्या दमनको देशव्यापी विरोध र प्रतिवादको योजना अघि सारिएको थियो ।  मानव अधिकारको व्यापक हनन भएको निचोडसहित सञ्चार तथा मानवअधिकारवादी संस्थाहरू परिचालित भए ।  यस हत्याकाण्डको देशव्यापीरूपमा विरोध भयो ।  यसलाई अन्तर्राष्ट्रियकरण गर्ने काममा पनि लागियो ।  जसले दरबारलाई समेत समस्या पारेको थियो ।  त्यसबेलाका राजाका निकट मानिनेहरूले पनि घटनाको विरोध गरेका थिए ।  पत्रकार गोपाल थपलिया, किशोर नेपालगायतले स्थलगत रिपोर्टिङ गरेर त्यो अत्याचारको सार्वजनीकरण गरे ।  देशव्यापी पर्चा, पोष्टरिङ र विरोध प्रदर्शन हुनथाले ।  सङ्घर्षको परिणाम स्वरूप पिस्कर क्षेत्रमा गरिएका नाकाबन्दी हटाउन र केही मात्रामा भए पनि दमन खुकुलो पार्न सरकार बाध्य भयो ।  त्यस घटनाको छ वर्षभित्रै देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो ।  
मन्दिरमा लागेको मेलामा प्रहरीले दमन गरेर मान्छे मारेको यस्तो घटना त्यसअघि नेपालमा भएका थिएनन् ।  त्यसकारण पनि यसले तत्कालीन व्यवस्थाप्रति जनमानसको धारणा नकारात्मक बन्दै गयो ।  
पिस्करका जनताले खेलेको ऐतिहासिक भूमिका र सङ्घर्षको गौरवगाथा त्यसपछिका हरेक आन्दोलनको प्रेरक बनेको छ ।  अनि मुलुकमा ठूलो परिवर्तन भइसकेको छ ।  प्रजातन्त्रका लागि लडेका पिस्करका जनताले अहिले गणतन्त्र पनि देख्न पाएका छन् ।  राजनीतिक चेतना उँचो भएका उनीहरूले व्यवस्था परिवर्तनसँगै समाज परिवर्तन, समृद्धिको आशा राखेका थिए तर त्यो उनीहरूको आशा त्यत्तिकै छ ।  प्रजातन्त्रको स्थापनासँगै गाउँसम्म मोटर बाटो त पुगेको छ तर त्यसको उचित व्यवस्थापन हुन सकेको छैन ।  पञ्चायती वयवस्थाका विरुद्ध लड्ने त्यो बेलाका मोर्चाले एक भएर समाज परिवर्तनमा लाग्ने उनीहरूको विश्वास थियो तर प्रजातन्त्र स्थापनासँगै हिजो सङ्घर्ष गर्नेहरू विभक्त भए र उनीहरू बीच नै लुछाचुँडी भएपछि उनीहरूको सपना पूरा नभएको सार्वजनिक अभिव्यक्ति नै आउन थालेका छन् ।  
अझ प्रजातन्त्र स्थापना भएको छ वर्ष पुग्दा नपुग्दै सशस्त्र द्वन्द्वका नाममा तत्कालीन नेकपा माओवादीले अर्को परिवर्तनको सपना देख्यो र पिस्करका धेरै मानिसलाई व्यवस्था विरोधी गतिविधिमा सामेल गर्ने प्रयत्न भयो ।  आफ्नै आँखाले महादेव मन्दिरमा नरसंहार देखेका केही आमाले काख रित्तो पनि बनाए ।  माघेसङ्क्रान्तिको रातमा बारीका कान्ला फालहालेर ज्यान जोगाएका बाबुहरूले अर्को परिवर्तनका नाममा दोहोरो बन्दुकको मार खेप्नुपर्ने बाध्यता भयो ।  पञ्चायती व्यवस्थाका विरुद्ध लागेको आरोपमा जेल पर्नुभएका पिस्करका छत्रबहादुर बोहोरा नै गाउँबाट लखेटिनुभयो ।  उहाँको घर जमिन नै कब्जा गरियो ।  मुलुकमा शान्ति स्थापना भएपछि मात्र उहाँले आफ्नो घरको आँगन टेक्न सक्नुभएको थियो ।  यसरी हिजो दमन र पीडामा परेका व्यक्ति नै परिवर्तनका नाममा थिचिएपछि जनतामा राजनीतिक वितृष्णा बढ्यो ।  
समयसँगै पिस्करको माटोमा पनि केही परिवर्तन त भएको छ तर एकपछि अर्को व्यवस्था परिवर्तन भए पनि विकासको छलाङ मार्न सकेको छैन पिस्करले ।  इलाका हेल्थपोष्ट गाउँमा स्थापना भएपनि पनि वर्षौसम्म पियनका भरमा सञ्चालन हुनु, माध्यमिक विद्यालयमा पूर्ण शिक्षक नहुनु, आँगनमा धारो भए पनि पानी नहुुनु यहाँको पुस्तौनी समस्या भइसकेको छ ।  राजनीतिक चेतनाले मात्र विकासको पूर्वाधार नहुने कुराको एउटा साक्षी पिस्कर बनेको छ ।  थामी बस्ती होस् या अन्य समुदायका मानिस कसैले पनि हिजोको बलिदानीको उपलब्धि हासिल गर्न सकेका छैनन् ।  व्यवस्था परिवर्तनका नाममा प्राणको बलिदानी दिएका ईली र बिरे थामीका सन्तानले पनि अहिलेको जस्तो मात्र पिस्करको स्वरूप हेर्न पक्कै चाहेका छैनन् ।  सम्भावनाका प्रशस्त मार्ग हँुदाहुँदै पनि त्यसको समुचित उपयोगिता नहुँदा टाक्सिनुपरेको छ पिस्कर ।  पिस्करलाई जगाउन र आशावादी बनाउन तत्कालीन भूमिगत नेता अमृतकुमार बोहराको ठूलो योगदान छ, सो बेला राज्य विप्लवका अरोपमा जेल पर्नुभएका अरूण नेपाल भन्नुहुन्छ– यस क्षेत्रमा विकासको पूर्वाधार खडा गर्ने पनि बोहोरा हुनुहुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना