फौजी किराको प्रकोपले १२ हजार हेक्टर गहुँ बाली नष्ट

लक्ष्मण पौडेल
भैरहवा, माघ ६ गते । पmौजी किराको प्रकोपले रुपन्देहीमा करिब रु.छ करोड ९० लाख बराबरको गहुँ बाली नष्ट भएको छ । करिब १२ हजार हेक्टर गहुँ बालीमा फैलिएको प्रकोपले तीन हजार चार सय ५० मेट्रिक टन बराबरको गहुँ नष्ट गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

दुईसाता अघिदेखि सुरु भएको फौजी किराको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन । सुरुमा रुपन्देहीको पूर्वी गाविसहरुबाट सुरु भएको प्रकोप पश्चिमतर्फ फैलिंदै गएको छ । अहिले रुपन्देहीको १ नगरपालिका सहित १० गाविसमा प्रकोपका रुपमा फैलिएको फौजी किरा सामान्य रुपमा जिल्लाभरि नै फैलिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सहसराम चौधरीले बताउनुभयो ।
जिल्लाको पजरकट्टी, बोधबार, छिपागढ, पट्खौली, पोखरभिण्डी, वसन्तपुर, बगाहा, सिक्टहन, मैनहिया, छोटकी रामनगर गाविस र तिलोत्तमा नगरपालिकामा बढी प्रकोपका रुपमा फैलिएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखरा र जिल्ला कृषि विकास कार्यालय रुपन्देही प्रकोप नियन्त्रणमा जुटे पनि नियन्त्रणमा आउन नसकेको हो ।

कृषि प्राविधिकहरु गाउँ गाउँमा गएर बिषादी प्रयोगका लागि किसानहरुलाई प्राविधिक सल्लाह दिइरहेका छन् । कम जनशक्तिका कारण सबै क्षेत्रफलमा भने प्राविधिकहरु पुग्न सकेका छैनन् । कार्यालयले करिब ७० हजार बराबरको विषादी बढी प्रकोप भएका गाविसहरुमा वितरण गरेको छ । गहुँ बालीमा किरा नै लाग्दैन भन्ने सोँचले बालीमा ध्यान नदिंदा प्रकोपको रुप लिएको कृषि विज्ञहरुको भनाई छ । फौजी किराले काटेको धान हेर्दा बाख्रा चरेजस्तो देखिने हुँदा पनि किसानहरु झुक्किने गरेका छन् ।

राष्ट्रिय गहुँ बाली कार्यक्रम भैरहवाकी किट विज्ञ विनिता शर्माका अनुसार रातको मौसम परिवर्तनले गर्दा किराको प्रकोप बढेको हो । गहुँ सिजनमा रातको बेला पहिले पहिले ३, ४ डिग्रि तापक्रम रहन्थ्यो, तर यो वर्ष १३, १४ डिग्रि सम्म तापक्रम छ । जसले गर्दा कम तापक्रम भएको ठाउँबाट किराहरु आफ्नो प्रजनन बढाउन आउने गर्दछन् । रुपन्देहीमा पनि मौसमकै परिवर्तनले प्रकोपका रुपमा फैलिएको किट विज्ञ शर्माको भनाई छ ।
फौजी किरा मार्न साइपरमेथ्रीन ५ प्रतिशत र क्लोरोपाइरिफस ५० प्रतिशत मिश्रण भएको विषादी २ एमएल प्रति लिटर पानीमा घोल्नुपर्छ । सो विषादी एक कट्ठा खेतका लागि १५ लिटर अर्थात् बिरुवा र माटो राम्रोसँग भिज्ने गरी छर्न विज्ञहरुले सुझाव दिएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना