शनिबारसम्म चिनियाँ जहाज काठमाडौँ आउने






काठमाडौँ, माघ ११ गते । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ ।

चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले जानकारी दिनुभयो ।

शनिबार एम ए ६० र वाइ १२ जहाज ल्याउन लागिएको हो । एम ए ६० जहाज बढी यात्रु हुने सुगम क्षेत्रमा उडानका लागि प्रयोग गरिनेछ भने वाइ १२ जहाज पहाडी क्षेत्रमा उडान गरिनेछ ।

यसअघि ल्याइएका दुईवटा जहाजको प्राविधिक रुपमा विभिन्न समस्या उत्पन्न भएपछि यसपटक प्राविधिक उपकरण तथा स्पेयर पार्टससमेत काठमाडौँमा नै उपलब्ध गराउने चिनियाँ पक्षको प्रतिबद्धता आएको महाप्रबन्धक कंशाकारले जानकारी दिनुभयो ।

चीनको अनुदानमा दिएको दुईवटा जहाज यसअघि नै आइसकेको छ भने अब आउने जहाज भने ऋण सम्झौतामा ल्याउन लागिएको हो । एम ए ६० जहाजमा ५६ सिट तथा वाइ १२ मा १८ सिट रहेको छ ।

यस्तै निगमको अन्तर्राष्ट्रिय उडानका लागि अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग निगमले प्रारम्भिक सम्झौताका लागि आवश्यक गृहकार्य गरिरहेको छ । यसै साताभित्र प्रारम्भिक सम्झौता गर्नेगरी तयारी गरिएको छ । सो सम्झौतालगत्तै निगमले बैना रकम पठाउने महाप्रबन्धक कंशाकारले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना