वैदेशिक रोजगारीमा जीवनबीमा रकम दोब्बर

सीता शर्मा

काठमाडौँ, माघ १२ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई अबदेखि (म्यादी) जीवन बीमाबापत प्रतिव्यक्ति २० लाख रुपियाँ उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।  यसअघि पाउँदै आएको रकमभन्दा यो दोब्बर हो ।  
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको स्वास्थ्य बीमा सुविधा साबिकको भन्दा विस्तार गरी जीवन बीमा, आयको नोक्सानीलगायत सुविधाका साथै मिर्गौला फेल, क्यान्सरजस्ता १५ प्रकारका घातक रोग लागेमा थप पाँच लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्था गरिएको छ ।  यी व्यवस्थासँगै बीमा रकम २० लाख रुपियाँ पुगेको हो ।  
प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरूङ र बीमा समितिका प्रतिनिधिहरूको उपस्थितिमा मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार पत्रकार सम्मेलनमार्फत यस्तो निर्देशन दिनुभएको हो ।  साथै उहाँले यो व्यवस्था आउँदो फागुन १ गतेबाटै कार्यान्वयन गर्न निर्र्देशन दिनुभयो ।  
पत्रकार सम्मेलनमा उहाँले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले हाल १० लाख रुपियाँ म्यादी बीमाबापत रकम पाउने गरेकोमा पाँच लाख रुपियाँ घातक रोग बीमा थप गरेकोे पनि जानकारी गराउनुभयो ।  प्रधानमन्त्री प्रचण्डले माघ १५ गतेदेखि लागू हुनेगरी घातक रोगबापत पाँच लाख बीमाङ्क बराबर बीमा हुने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।  उक्त रकम अस्वस्थताको अवस्थामा पनि घातक रोग प्रमाणित भएमा पनि बीमा रकम पाइने व्यवस्था गरिएको छ ।
साथै, घातक रोग लागेर मृत्यु नभएको तर शारीरिक रूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा किरिया खर्च र शव ल्याउने खर्चबाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट तीन लाख र घातक रोगबापत पाँच लाख गरी कुल १८ लाख रुपियाँसम्म पाउन सक्नेछन् ।  प्रधानमन्त्री प्रचण्डले यसअघि नै बीमा गरिएको तर म्याद नसकिएकाहरूको हकमा घातक रोग बीमा र पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुविधा लिन चाहेमा समानुपातिक थप शुल्क बुझाएर लिन सकिने पनि स्पष्ट पार्नुभयो ।  
साथै प्रधानमन्त्रीले तीन महिनाभित्र मानसिक रोगलाई समेत घातक रोगको सूचीभित्र समावेश गरी क्षतिपूर्ति दिलाउने सम्बन्धमा आवश्यक गृहकार्य गर्नसमेत बीमा समितिलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले यसअघि नै बीमा गरिसकेका तर म्याद नसकिएका नागरिकहरूले घातक रोग र बीमाको पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुुविधा लिन चाहेमा समानुुपातिक थप शुुल्क बुुझाएर लिन सकिने व्यवस्था गरिएको पनि जानकारी गराउनुभयो ।  
उहाँले रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनुपर्ने व्यवस्था गर्ने गरी तयारी भएको जानकारी गराउनुभयो ।  अहिले भारतमा लाखौँ नेपाली रोजगारीमा जान्छन् तर वैदेशिक रोजगारीमा गएकाले अनुमति लिनुपर्ने थिएन र कति भारत गएका छन् भन्ने पनि स्पष्ट तथ्याङ्क छैन ।  
यो व्यवस्था लागू भएपछि भारतमा रोजगारीका लागि जाने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुमतिपत्र लिनुपर्नेछ ।  यो अनुमतिपत्र दिनुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउने छ ।  यसका लागि एक कार्यविधि बन्ने तयारीमा रहेको र अबको महिनाभित्र छुट्टै कार्यविधि बनाएर लागू गरिने पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउनुभयो  ।
उहाँले आजको मितिदेखि आउँदो वैशाख १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका कुनै नागरिकको बीमा नवीकरण नहँुदै मृत्यु, अङ्गभङ्ग वा बिरामी लगायत बीमा दाबी गर्न योग्य क्षति पुगे बीमाले स्वतः रक्षावरण गर्ने पनि जानकारी गराउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट कामदारलाई प्रदान गरिने रकमको अवधिसमेत सोहीबमोजिम हुुनेगरी माघ १५ गतेभित्र वैदेशिक रोजगार नियमावली संशोधन गरी लागू र दक्षिण कोरियाबाट शव ल्याउन दिने राहत रकमको विद्यमान व्यवस्थामा परिमार्जन गर्न गर्नसमेत श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिनुभयो ।  
उहाँले बीमा कम्पनीहरूले बीमकको परिवारको समेत चालू फोन नम्बर राख्ने र म्याद गुुज्रनुु अगावै नवीकरण गर्न सूचित गर्ने व्यवस्था गरिनुपर्ने र नगरेको अवस्थामा बीमा फेल भएमा, बीमकले क्षतिपूर्ति तथा राहत पाउनबाट वञ्चित भएमा सम्बन्धित बीमा कम्पनी नै जवाफदेही हुुने व्यवस्था मिलाउनसमेत बीमा समितिलाई निर्देशन दिनुभयो ।  
प्रधानमन्त्री प्रचण्डले मलेसियासहित खाडी मुलुकमा नेपाली कामदार लाने विदेशी कम्पनी स्वयम्ले नै व्यहोर्ने गरी कम्तीमा २० लाख नेपाली रुपियाँ बराबरको चौबीसै घण्टा बीमा व्यवस्थाका लागि प्रक्रिया अघि बढाइएको पनि जानकारी गराउनुभयो ।  प्रधानमन्त्री प्रचण्डले अर्को एक प्रसङ्गमा वैदेशिक रोजगारीमा हाम्रा कामदार असुरक्षित बन्दै गएको भन्ने सुनिएको छ, त्यो रोजगारीदाता देशका कारणभन्दा पनि हाम्रा देशका कर्मचारी र वैदेशिक रोजगारी कम्पनीका कारण भएको पाएँँ भन्नुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना