२२ हजार गरगहना जोखिममा

काठमाडौँ, माघ १४ गते ।  बाइस हजार थान गरगहना राखिएको वसन्तपुर गद्दी बैठकमुन्तिरको ढुकुटी जोखिममा छ ।  गृह मन्त्रालयअन्तर्गत समारोह प्रबन्ध फाँट प्रमुख मणिराम पौडेलका अनुसार भूकम्पले गद्दी बैठक भत्काएर तहसनहस पारिसक्दा पनि यसै बैठकमुन्तिर रहेको ढुकुटीलाई कसैले चासो दिएन ।
 ढुकुटीमा सुन, हीरा, जवाहरात, देवी देवताका आभूषण, प्रशस्त असर्फी छन् ।  प्रमुख पौडेल भन्नुहुन्छ, ‘‘ढुकुटीमा रहेका अमूल्य गरगहनाको संरक्षणार्थ पनि गद्दी बैठकको पुनःनिर्माण जतिसक्यो छिटो हुन जरुरी छ ।  गद्दी बैठकमुन्तिरको सामान्य छिँडीमा थन्क्याइएका यी गरगहना कतै भग्नावशेषमा नपुरिऊन्् भन्ने पिरलो छ । ’’
गुठी संस्थान केन्द्रीय लगत कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार  ढुकुटीको साँचो केन्द्रीय लगत कार्यालयमै छ तर ढुकुटीमा लगत कार्यालय एक्लैको पहँुच छैन ।  २०६८ सालमा सेतो मच्छिन्द्रनाथको गहना झिक्ने राख्ने क्रममा ढुकुटी खोलिएयता ढुकुटी सामुन्ने कोही पुगेका छैनन् ।   उहाँका अनुसार सरकारका विभिन्न निकायको रोहवर नभई ढुकुटीमा केही गर्न सकिन्न ।  उति बेला ढुकुटी राम्रै हालतमा पाइएको हो, भूकम्पपछि के अवस्था छ, थाहा छैन, दाहाल भन्नुहुन्छ ।  
उहाँले लगत कार्यालय नै भत्किएर कर्मचारी पुरिएलान् भन्ने पीर त कसैले लिएन ढुकुटीतिर कसले ध्यान देला भन्दै जोड दिनुभयो, ‘ढुकुटीभन्दा लगत कार्यालय रहेको भद्रकालीको भवन पुनःनिर्माण हुनुपर्छ ।  जोखिम ढुकुटीको हैन, भत्कन लागेको भवनमा काम गरिरहेका कर्मचारीको छ । ’
ढुकुटीमा मानदेवदेखि त्रिभुवनकालीन असर्फी, मणिमाणिक्य, सुनका घण्ट, शङ्ख मुरली, सुनैका देवताका मूर्ति, सुनका पादुका लगायत प्रशस्त सुन तथा हीराका हार रहेको र ती हारलाई २०४७ सालमा रुजु गरिएको अभिलेख छ ।  
समारोह प्रबन्ध फाँट प्रमुख पौडेलका अनुसार ढुकुटी र आसपासका भग्नावशेष हेर्दा अत्यासलाग्दो अवस्था छ ।  फाँटमा रहेका सयौँ गैँडाका खाग र खुर भने तत्कालीन फाँट प्रमुख भगवानप्रसाद ढुङ्गानाको कार्यकालमा गृह मन्त्रालयलाई बुझाइएको छ ।  ढुकुटी भने यसै अलपत्र छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना