ल्होसार विशेष मौलिक पर्व

ladhuram tamangलाधुराम तामाङ





नेपाल विविध जातिहरूले सिङ्गारिएको देश हो ।  यसर्थ पनि नेपालमा वर्षभरि नै कुनै न कुनै चाडपर्व हुने गर्छ ।  हरेक वर्षको माघ महिना पनि वास्तवमै माघी, माघे सङ्क्रान्ति तथा ल्होसारमय बन्दै गएको छ ।  यस अवधिभरि एकपछि अर्काे राष्ट्रिय पर्वहरू मनाइने गरिन्छ ।  त्यसमध्येको माघ महिनामा मनाइने सोनाम ल्होसार पर्व तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो ।  उनीहरूको जीवनमा ल्होसार परम्पराको आधारबाटै सांस्कृतिक, धार्मिक तथा सामाजिक संस्कार पनि परिचालित हुने गर्छ ।  नेपालमा यो पर्वलाई ल्होसारप्रेमी समुदायहरूले नयाँ वर्षको शुभारम्भका रूपमा मात्रै नलिई आफ्नो सांस्कृतिक पर्वको रूपमा समेत लिने गर्छन् ।  तामाङ जातिका लागि त सोनाम ल्होसार पर्वले नयाँ वर्षको सुरुवात मात्रै नभएर विशेष मौलिक पर्वको उपमा लिने गर्दछ ।
नेपालमा परापूर्वकालदेखि नै मान्दै आएको परम्परागत धार्मिक तथा सांस्कृतिक चाड सोनाम ल्होसार प्रत्येक वर्षको माघ शुक्ल पक्ष प्रतिपदाको दिनदेखि अर्थात् वर्षको “प्रथम चन्द्र महिना” को पहिलो दिन (परेवा) देखि प्रारम्भ हुन्छ ।  यस वर्षको २८५३ औँ सोनाम ल्होसार चरा वर्षको रूपमा २०७३ माघ १५ गते बाँदर वर्षलाई बिदाइ गर्दै पदार्पण भएको छ ।  यो ल्होसार परम्परा तामाङ जातिले कहिलेदेखि सुरु गरे भन्न कठिन छ तापनि यसलाई चिनियाँ सभ्यतासँगै करिब चार हजार सात सय वर्ष अगाडि विकास भएको कुरा चिनियाँ ज्योतिष शास्त्रमा वर्णित छ ।  नेपालमा ल्होसार पर्व प्रत्येक वर्षको माघ शुक्ल पक्ष प्रतिपदाको दिन सोनाम ल्होसारका रूपमा मनाइन्छ भने ताइवान, हङकङ आदि धेरै देशमा यही समयमा नै मनाउने परम्परा छ ।  ल्होसार पर्वले एउटा खास जीवजन्तुको रूप लिन्छ ।  
चन्द्र संवत् पात्रोमा २४ घण्टालाई हरेक दुई–दुई घण्टामा विभाजित गरी १२ घण्टाको एक दिन हुने गर्छ ।  यसको हरेक खण्ड एक निश्चित पशुपंक्षी वर्षद्वारा शासित हुने गर्दछ ।  यो संवत् र चक्र ६० वर्षमा पूरा हुने गर्छ भने यसलाई १२÷१२ वर्षमा विभाजन गरी पाँच भाग लगाई १२ थरिका पशुपक्षीहरूलाई हरेक वर्षका चिह्नका रूपमा लिइने परम्परा छ ।
नेपालमा ल्होसार मान्ने समुदायहरूको एकै प्रकारको भाषा बनोटको कारण पनि ल्होसार या ल्होसारको शाब्दिक अर्थ एउटै लाग्ने गर्छ ।  ल्होसार र ल्होसार भन्नु शाब्दिक अर्थ एउटै हो ।  ल्होसारले नयाँ वर्ष भन्ने अर्थ लाग्छ भने ल्होसारले नयाँ वर्ष फुल्नु, फल्नु तथा फक्रनु आदि अर्थ लाग्छ ।  भाषाविद्का अनुसार तमु, तामाङ, मनाङ्गी, थकाली, शेर्पा र अन्य ल्होसारप्रेमी समुदायबीच ल्होसारको शाब्दिक अर्थ एउटै हुनु र करिब ७५ प्रतिशतभन्दा बढी एक अर्का समुदायको भाषामा एकरूपता हुनाका कारणले पनि यो ल्होसार पर्वले सबै ल्होसारपे्रमी समुदायबीच गहिरो आत्मीयता भातृत्व तथा भावनात्मक सम्बन्ध गाँस्ने अवसर प्रदान गर्छ ।  मुख्य गरेर तमु, तामाङ, योल्मो शेर्पा आदि समुदायको भाषामा ल्हो शब्दले संवत्, साल, वर्ष, ऋतु, उमेर आदि बुझाउने तìवीय वर्ष चक्रमा रहेका १२ वटा जीवजन्तुको नामकरणका साथै वर्ष, साल फेरिने दिन या नयाँ वर्षलाई बुझाउँछ ।  (ल्हो) परम्पराका १२ वटा जीवजन्तुहरू क्रमशः १. मुसा (नम्यूङ, जीवा), २. गोरु (लाङ), ३. बाघ (ताग), ४. खरायो (ऐ), ५. ड्रागन (डुग), ६. सर्प (डुल), ७. घोडा (ता), ८. भेँडा (लुग), ९. बाँदर (टे), १०. चरा (झ्या), ११. कुकुर (नगी, खी), १२ बँदेल (फाग, ड्वा), हुन् ।  यही वर्ष चक्रको एउटा जीव सङ्केतको एउटा वर्षबाट अर्काे जीव सङ्केतको वर्षमा फेरिने दिनलाई नै ल्होसार भनिएको हो ।  यति मात्र नभएर चन्द्र खगोल शास्त्रमा प्रत्येक वर्षसँग तिनीहरूलाई प्रभाव पार्ने पाँच तìव भाले, पोथी (यिङ, याङ) को रूपमा १. काठ, २. आगो, ३. माटो, ४. धातु, ५. पानीका आधारमा सिर्जना भएको ६० वर्र्षे चन्द्र पात्रो चक्र हुने गर्छ ।  १२ वर्षपछि वि.सं. २०८४ मा बाँदर वर्ष नै फेरि नयाँ वर्षको रूपमा प्रारम्भ हुने छ ।  यसरी नै अन्य जीवजन्तु पनि १२ वर्ष पछि आफ्नो–आफ्नो वर्ष, (ल्हो) मा फर्कने छन् ।  

ल्हो (वर्ष) परम्परामा चरा वर्गलाई दसौँ श्रेणीमा गणना गरिन्छ र चरा वर्ग बाह्रौँ जीवजन्तु वर्गमध्येमा एक हो ।  तामाङ परम्पराअनुसार सुनौलो चरा सूर्यमा बास गर्छ र यसले पूर्वबाट सूर्याेदय गराउन बिहान सबेरै सूर्यलाई ब्युँझाउने गर्छ भन्ने कहावत छ ।  तसर्थ पनि यो चरा वर्षमा जन्मेको व्यक्ति कुनै पनि कार्य गर्दा फुर्तिलो, छरितो, सुखी, उत्तरदायित्व बहन गर्न सदैव उत्साहित हुने विश्वास गरिन्छ ।  यसर्थ पनि यो वर्ष देशमा शुभ समाचार सम्प्रेषण हुने विश्वास गर्न सकिन्छ ।  
विगतमा तामाङ जातिमा ल्होसार पर्वको अवशेषकै रूपमा पिठोले बनाइएको १२ वटा जीवजन्तुको सानासाना आकारको मूर्ति दोबाटोमा माघे सङ्क्रान्तिकै दिन मन्साउने रूपमा मात्र केही स्थानमा देखिन्थ्यो ।  
नेपाल सरकारले २०६४ सालदेखि सोनाम ल्होसारलाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिई सार्वजनिक बिदा दिने गरेको छ ।  राज्यले नेपालमा बस्ने सम्पूर्ण जातजातिको भाषा, धर्म तथा संस्कृतिको जगेर्ना तथा कदर गर्ने परम्पराको विकास गरेको छ ।  नेपालीपन भनेकै विविधतालाई स्वीकारी उनीहरूको आत्मसम्मान बढाउनु पनि हो ।  यसबाट मात्र नेपाल अझ दरिलो हुँदै जानेछ ।  नेपाल यसै दिशातर्फ उन्मुख हुनुपर्छ र यो देशको सर्वाङ्गीण विकासको लागि यो एउटा प्रमुख सर्त पनि हो ।  आज यहाँको पिछडा वर्ग, आदिवासी तथा जनजातिको संस्कृतिलाई गणतन्त्रपश्चात् राष्ट्रिय पर्वको मान्यता दिइए पनि यो पर्याप्त भने छैन ।  यसको सम्बद्र्धन गर्न सरकार तथा सम्बन्धित समुदायको नै विशेष पहल आवश्यक छ ।  राष्ट्रिय सांस्कृतिक नीति बन्न सके सबै पिछडिएको समुदाय, जाति, सम्प्रदायको सांस्कृतिक पर्वलाई पनि समान मान्यता प्रदान गर्ने र आपसी भातृत्वको विकास हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना