शहीदको परिभाषा र अवस्था

jb dhaulakotiजे.वी. धौलाकोटी

नेपालमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानवअधिकार तथा कानुनीराज्य स्थापनालगायत सबैखाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हुँदै जीवनको बलिदान दिने वास्तविक शहीददेखि विभिन्न घटना, दुर्घटना, व्यक्तिगत रिसइबी, भ्रष्टाचारी, तस्करी मुठभेडमा मारिएकालाई समेत राजनीतिक पार्टीहरूले आस्थाको आधारमा शहीद बनाइएका करिब १८ हजारभन्दा बढी नाम शहीदको सूचीमा छ ।  यसबाट देश, जनता र परिर्वतनका लागि छिन्ताङ्गकाण्ड, पिस्करकाण्ड, सुर्खेतको दशरथपुर घुम्नेकाण्ड लगायतका विभिन्न आन्दोलनमा जीवनको बलिदान दिएका शहीदका परिवारले शहीदको अवमूल्य भयो भन्ने गुनासो गरिरहेका छन् ।  शहीदको परिभाषा बनाई वास्तविक शहीदलाई राज्यका तर्फबाट शहीद घोषणा गरी सम्मान दिन शहीदका विधवा, छोराछोरीहरूले लामो समय आन्दोलन गर्न बाध्य भए ।  
यसै सन्दर्भमा पछिल्लो समयमा तीन वटा आयोग, कार्यदल गठन भए ।  लोकतन्त्र स्थापना भएपछि नेपाल सरकार मन्त्रिपरिषद्को २०६६ मङ्सिर १६ गतेको निर्णयानुसार मोदनाथ प्रश्रित संयोजक भएको कार्यदलले शहीदको वर्गीकरण तीन प्रकारले गरेको छ ।  १. आदर्श शहीद– सामाजिक तथा राजनीतिक परिर्वतनको निम्ति घोषित सिद्धान्त, नीतिको विरुद्ध अघि बढ्दा जनविरोधी निरकुङश राज्यद्वारा पक्राउ परी भय, त्रास र चरम यातना दिँदा पनि विचलित नभई गोली, फाँसी लगाई शहादत प्राप्त गर्ने व्यक्ति आर्दश शहीद मानिन्छ ।  २. शहीद– जनविरोधी निरङ्कुश सरकारविरुद्ध निशस्त्र रूपले जुलुस, प्रदर्शनी, सभा समारोह आदिमा जाँदा राज्यबाट मारिएका, निरङ्कुश शासन व्यवस्था हटाएर लोकतन्त्र, प्रगतिशील व्यवस्थाको स्थापना गर्ने क्रममा सेना वा प्रहरीको गोली लागि मैदानमा मारिएका वा घटनाबाट पक्रेर यातना दिएर थुनामा, जेलमा मारिएका व्यक्तिहरू शहीद हुन् ३. राष्ट्रिय वीर– आफ्नो राष्ट्रमाथि अर्को राष्ट्रद्वारा सैनिक आक्रमण हँुदा त्यसको प्रतिकारमा देशभक्तिको दृढ भावनासहित युद्धमोर्चामा भिड्दा जीवन बलिदान गर्ने राष्ट्रिय वीर विरङ्गना हुन्छ भनिएको छ ।  
अर्को, नेपाल सरकार वि.सं. २०६८ फागुन ४ को निर्णयले शहीदको परिभाषा तथा शहीद घोषणाको मापदण्ड निर्धारणसम्बन्धी उच्चस्तरीय कार्यदलका संयोजक नवराज सुवेदीको कार्यदलले परिभाषित गरेअनुसार विभिन्न आमूक पार्टी, जातीय, धार्मिक, सामुदायिक वा क्षेत्रीयवादी आन्दोलनसँग जोडेर गरिने आतङ्क, हत्या र विस्फोटक घटनामा परी मृत्यु हुनेहरू शहीदको सट्टा पीडित हुने, यस्तो अवस्थामा शहादत भएमा त्यस्ता विशेष वीर अमरत्व, देशभक्त, बहादुरजस्ता पदावली दिँदा उपयुक्त हुन्छ ।  सबै शहीद वीर हुन्, सबै वीरहरू शहीद होइनन् भन्ने सत्यका आधारमा आफ्नो आस्था वा विश्वासका लागि सबै प्रलोभन स्वार्थ र भयलाई जित्दै जीवन र मृत्युमध्ये मृत्यु रोज्न, फाँसी वा गोली खाई उद्देश्यका लागि अन्य तरिकाले मर्न तयार हुने शहीद हुन्छ ।  त्यस्तै आस्था विश्वासका निम्ति निरङ्कुश तानाशाही शासन सत्ताबाट विभिन्न ढङ्गले पीडित, कुटपिट यातना भोग्दाभोग्दै मर्ने, गुप्त हत्या वा विष प्रयोग गरी मारिएका व्यक्तिहरू शहीद हुन्छन् भनिएको छ ।  
२०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा २०४८ असोज २१ गते को मन्त्रिपरिषद्ले अधिकार सम्पन्न राजनीतिक पीडित सहायता समिति गठन ग¥यो ।  यो समितिले २०१७ साल पुस १ देखि २०४६ सालसम्मको अवधिमा एकाधिकार वा पञ्चायती शासनकालमा सशस्त्र वा निशस्त्र राजनीतिक विरोध जनाएको कारण राजनीतिक दमन वा प्रतिशोधका शिकार भएका व्यक्तिलाई राजनीतिक पीडित परिभाषित गरेको थियो ।  राजनीतिक कारणबाट अथवा राजनीतिक प्रतिशोधको कारणबाट मारिएका शहीदका परिवार, राजनीतिक अभियोगमा अथवा रानीतिक प्रतिशोधका कारणबाट लगाइएको अभियोगमा कारागार बसेको प्रमाणित व्यक्तिहरू र कम्तीमा सात वर्ष वा सोभन्दा बढी प्रवासमा बसेका वा भूमिगत रहेका प्रमाणित व्यक्तिलाई निश्चित रुपियाँ सहयोग दिने निर्णय पनि त्यतिखेर गरियो ।
नेपालका राजनीतिज्ञ, विज्ञ, विशेषज्ञ विद्वान्हरूले शहीदको परिभाषा आआफ्नै ढङ्गले गरेको देखिन्छ ।  
शक्ति तथा सेवा परायणताको स्रोत हो ।  शहीद गहिरिएर विचार ग¥यो भने पत्ता लाग्ने छ ।  काम गर्ने कर्ता हो जनता, शहीद हुनु साधन तथा लक्ष्य हो ।  – स्व. खड्गमान सिंह, लेखक एवं राजनीतिज्ञ
राष्ट्रियता र प्रजातन्त्रका लागि मन, वचन र कर्मले प्रतिबद्ध भएर सङ्घर्षमा होमिई सङ्घर्षको त्यही मैदानमा प्रत्यक्ष वीरगति प्राप्त गर्ने देशका सपूतहरू नै अमर शहीद हुन् ।  – सर्वमान्य नेता, गणेशमान सिंह ।  
शहीदलाई सस्तो भाषामा प्रयोग गरिनुहुँदैन ।  देशका लागि मर्ने अनगिन्ती हुन्छन् तर शहीद विरलै हुन्छन्, जसले आफ्ना बालबच्चा परिवार सारा छोडेर एकै छिन तिनको ख्याल नगरेर सधैभरि राष्ट्रिय स्वार्थ मात्र देख्ने व्यक्ति नै वास्तविक शहीद हो ।  – स्व. साहना प्रधान, नेतृ नेकपा एमाले  ।
२०१७ सालपछि प्रजातन्त्र पुनस्र्थापनको लागि जसले जीवन आहूति दिए ती नै सबैलाई शहीद भनिन्छ ।  – शैलजा आचार्य, नेतृ नेपाली काँग्रेस ।
सद्मार्गमा समर्पित हुँदा हाँसी–हाँसी मृत्युवरण गर्ने शहीद हुन् ।  – पूर्व सभामुख एवं मानवअधिकारकर्मी दमननाथ ढुङ्गाना ।
आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिको लागि बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति नै शहीद हो ।  – नेपाल प्रज्ञा प्रतिष्ठान ।
यी यस्ता विभिन्न शहीदसम्बन्धी परिभाषा हुँदाहँुदै पनि नेपालका राजनीतिक पार्टीहरूले शहीदको सम्मान ताउलोमा पाकेको भात पस्के जस्तै बाँड्न थाले ।  जो सत्तामा पुग्छ, उसले आफू अनुकूल शहीदको परिभाषा बनाउँदै शहीद घोषणा गरी राज्यको अर्बौं सम्पत्ति हिनामिना गरेका छन् ।  
राणाविरोधी आन्दोलनमा एक सय एक जना मारिए, हामी चार जना गङ्गालाल, धर्मभक्त, दशरथचन्द र शुक्रराजलाई चिन्छौँ ।  त्यस्तै पञ्चायतविरोधी ३० वर्ष लामो अनवरत सङ्घर्षमा ३८२ जना मारिए र त्यही बीचम ३६ जना सर्वश्वहरण सहित बेपत्ता भए जो आजसम्म मरे वा जिउँदो कुन हालतमा छन्, उनीहरूको बारेमा राज्य र राजनितिक पार्टीहरू बेखबर छन् ।  राणाविरोधी सङ्घर्ष र पञ्चायतविरुद्धको तीस वर्षे अनवरत सङ्घर्षमा मारिएका शहीद जम्मा ५१९ जनामध्ये के.पी. शर्मा ओली प्रधानमन्त्री भएको बेला तत्कालीन उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलले २०७२ फागुन १९ गते वास्तविक शहीद दुर्गानन्द झा, ऋषि देवकोटा आजात, भिमदत्त पन्तलगायत २२ जनालाई शहीद घोषणा ग¥यो, जसको तमाम शहीद परिवारले स्वागत गरे तर जसले राणाहरू, पञ्चायतविरुद्धमा जीवनको बलिदान दिए, तिनका विधवा र टुहुरा परिवारलाई राज्यले अहिलेसम्म सम्मान गरेको छैन ।  
लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र, मानवअधिकार, कानुनी राज्य स्थापना गर्न, देशवासीलाई न्याय दिन बलिदान दिए तिनै शहीदका परिवार आज अन्यायमा परेका छन् ।  पशुपतिनाथ मन्दिरमा २०१८ सालमा शहीद भएका बलमान मोक्तानकी श्रीमती हाल १०२ वर्षकी हुनुहुन्छ, जो अहिले पशुपतिमा मागेर खानुहुन्छ ।  यही हो शहीद र तिनको भावनाको सम्मान र परिर्वतन ?
विभिन्न आन्दोलनका शहीद परिवार विभिन्न आन्दोलनमा घाइते, सशस्त्र विद्रोहमा एउटा छोरा विद्रोहीले मा¥यो अर्को छोरा राज्यले मा¥यो, बाआमा वृद्धाश्रममा छन् ।  कोही विभिन्न ठाउँमा मागेर खाएका छन् ।  परिवर्तनका लागि लड्दा गोली लागेर घाइते भएका उपचार गराउँदा गराउँदै घरबारविहीन भएका छन्, यसको उचित न्याय कसले कहिले
दिने ? हजारौँको बलिदानले आएको लोकतन्त्र कसका लागि ? अझ दुःखद पक्ष त, राजनीतिको नाममा देशलाई अंशबण्डा गरी विलय गराउने र शहीदको इतिहास समाप्त पार्ने खेल हुँदैछ, सबैले खबरदारी गरौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना