वैदिक विज्ञान र महर्षि अङ्गिरा

kamal rijalकमल रिजाल







वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा महर्षि अङ्गिराको स्थान सर्वोपरि देखिन्छ ।  ऋग्वेदका अधिकांश मण्डलमा उनका वंशज तथा गोत्रजमध्ये कसै न कसैको कुनै न कुनै रूपमा उपस्थिति भेटिन्छ ।  अङ्गिरा परिवारका सदस्य भएकाले उनीहरूलाई सामूहिक रूपमा आङ्गिरस भन्ने गरिएको छ ।  नवौं मण्डल त यसै पनि पूरै उनैसित सम्बधित छ ।  कल्याण वेदकथामा उल्लेख भए अनुसार यस मण्डलका द्रष्टा ऋषिहरू प्रायः सबै उनकै वंश तथा गोत्रभित्रका सदस्य रहेका छन् ।  जम्मा ११४ वटा सूक्त रहेको यस मण्डलमा एक हजार १०८ मन्त्र छन् ।  यस मण्डललाई पवमान मण्डल पनि भनिन्छ ।  पवमान सोमको स्तुतिपरक ऋचाहरू भएकाले यस मण्डलका ऋचाहरूलाई पवमानी ऋचा भन्ने गरिएको पनि पाइएको छ ।  यस बाहेक प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौँ, सातौँ, आठौँ र दशौँ आदि अन्य मण्डलमा पनि आङ्गिरसहरूको मनग्ये उपस्थिति भेटिन्छ ।  
ऋषि परिवारमा पनि महर्षि अङ्गिराको ठूलो गोल छ ।  सम्पूर्ण वेदमा अङ्गिरा परिवारको जति उल्लेख भेटिन्छ त्यति अरूको छैन ।  विद्वानहरूले ऋषि परिवारमा आङ्गिरसहरूको सङ्ख्या ५६ उल्लेख गरेका छन् ।  यिनमा विशेषगरी कुत्स, हिरण्यस्तुप, सप्तगु, शङ्कपूत, नृमेध, प्रियमेध, सिन्धुक्षित, कक्षीवान, दीर्घतमा, वीतहव्या, अभिवर्त, बृहन्मति, बृहस्पति, संवर्त, हविर्धान, शश्वत्याङ्रिस, रहुगण आदि मुख्य मानिन्छन् ।  यसपछि आत्रेय परिवार सङ्ख्या ३८, काण्वपरिवार सङ्ख्या ३३, ऐन्द्र परिवार सङ्ख्या १४, भागर्व १४, वासिष्ठ १३, वैश्वामित्र १२, भारद्वाज ११, काश्यप १०, प्रजापत्य नौ, यामायनः सात, वातरशनः सात, वर्षागिरः छ, आगस्त्य पाँच, आग्नेय चार, गौतम चार, गौपायनः चार बार्हस्पत्य चार, मानवः चार आदि हुँदै क्रमशः गोत्रीय परिवार सङ्ख्या घट्दै आएका छन् ।  कुल मिलाएर परिवारिक ऋषिको सङ्ख्या भने ३१५ गणना गरिएको छ ।  
आत्मज्ञान, योगबल, तपः साधना र मन्त्रशक्तिका बेजोड सङ्गम मानिने महर्षि अङ्गिरा विशिष्टतम वैज्ञानिक पनि हुन् ।  ऋग्वेद मण्डल चार, सूक्त दुईका पन्ध्रौँ मन्त्रमा उल्लेख भए अनुसार उनी सहितका अङ्गिरा समूहले प्रकृतिको गर्भबाट अग्नि उत्पन्न गराएका हुन् ।  यसै सूक्तको चौधौँ मन्त्रमा यस कुरालाई महर्षि वामदेवले समेत पुष्टि गरेका छन् ।  यस मन्त्रमा उनले अग्नि खोजकर्ता सात सदस्यीय अङ्गिरा समूहमा आफू पनि रहेको घोषणा गरेका छन् ।  कल्याण वेदकथाङ्कमा उल्लेख भए अनुसार एकपटक महर्षि अङ्गिराको उपासना शक्ति देखेर अग्नि पनि डराएका छन् र पानीभित्र लुकेर तपस्या गर्न लागेका देखिन्छन् तर जति नै कठोर तपस्या गर्दा पनि अङ्गिराको तेजलाई परास्त गर्न नसकेपछि हार खाई अङ्गिरालाई प्रथम र आफूलाई दोस्रो अग्नि स्वीकार्न बाध्य भएका छन् ।  
अङ्गिराले पनि उनलाई पुत्र रूपमा स्वीकार गरी देवताहरूलाई हवि पु¥याउने जिम्मा दिएका रहेछन् ।  पछि तिनै अग्नि नै अङ्गिराको पुत्र बनेर बृहस्पतिको रूपमा जन्मन पुगेका हुन् भन्ने वैदिक कथन छ ।  यस वैदिक प्रसङ्गले पनि अग्नि उत्पादक अङ्गिरा नै रहेको प्रस्ट पार्छ ।  अङ्गिराका बृहस्पति बाहेक उतथ्य र संवर्त अन्य दुई छोरा समेत देखिन्छन् ।  पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार कर्दम प्रजापतिकी छोरी श्रद्धासित विवाह गरेका यी महर्षिका सिनीवाली, कुहु, राका र अनुमति गरी चारवटा छोरी समेत देखिएका छन् ।
ब्रह्माजीका मानसपुत्र मानिएका महर्षि अङ्गिरा गुणका हिसाबले ब्रह्माजी जत्तिकै देखिएका छन् ।  उनलाई कतै कतै प्रजापति नै भन्ने गरिएको पनि पाइन्छ ।  कतिपय विद्वानहरूले उनलाई सप्तऋषिको पङ्क्तिमा समेत गणना गरेका छन् ।  यद्यपि सप्तऋषिको पङ्क्तिमा उनको नाम उल्लेख भएको भने पाइँदैन ।  तथापि देन भने उनी एक्लैमा सप्तऋषिको भन्दा कम देखिँदैन ।  मन्त्रद्रष्टा, योगी, सन्त र भगवत भक्त आदि अनेक विशेषणले सुसज्जित यी महर्षि अथर्व वेदको प्रवर्तक समेत मानिएका छन् ।  यसैको आधारमा उनलाई कतै कतै अथर्वा ऋषि भन्ने गरिएको पनि पाइएको छ ।  
सर्वभूतमा समानभाव राख्न सक्नुपर्छ भन्ने मान्यता राख्ने यी महर्षिका दिव्य सन्देश वेद, पुराण र उपनिषद्मा प्रशस्तै छन् ।  उनको वैदिक ग्रन्थहरूमा जुन उचाइ भेटिन्छ इतिहास र पुराणमा पनि त्यति नै देखिन्छ ।  मुण्डक उपनिषद्को उनी प्रवक्ता नै मानिएका छन् ।  ऋग्वेद मण्डल तीन सूक्त ५३ को सातौँ मन्त्रमा उल्लेख भए अनुसार सूर्यवंशी राजा सुदासको पुरोहित समेत रहेका यी महर्र्षिका केही स्मृति ग्रन्थहरू समेत फेला परेका छन् ।  अङ्गिरा धर्मशास्त्र पनि भनिने उनका स्मृति ग्रन्थमा कुल ७२ श्लोक छन्, जसले आश्रम धर्मको व्याख्यान दिँदै खाद्याखाद्य विषयको विवेचन गरेका छन् ।  त्यस्तै उनको अर्को स्मृति ग्रन्थ पनि फेला परेको छ ।  कुल १६८ श्लोक रहेको यस ग्रन्थको केही श्लोक अघिल्लोको जस्तै छन् भने विषयवस्तु पनि करीब मिल्दोजुल्दो नै छ ।  साथसाथै कल्याण धर्मशास्त्राङ्कमा उल्लेख भए अनुसार उनकै नामबाट अन्य दुईवटा बृहद् स्मृति ग्रन्थ पनि फेला परेका छन् ।  यसमध्ये पूर्व आङ्गिरस स्मृतिमा एक हजार १३२ श्लोक छन् भने उत्तर आङ्गिरस स्मृतिमा १२ अध्याय र १७५ श्लोक रहेका छन् ।  
अङ्गिरा मात्र होइन उनका परिवार आङ्गिरसहरू पनि उनी जत्तिकै ज्ञान र विज्ञानले समन्वित देखिएका छन् ।  ऋग्वेद मण्डल प्रथम सूक्त ९५ को तेस्रो मन्त्रमा उल्लेख भए अनुसार यी आङ्गिरसहरूले आकाश, अन्तरिक्ष र समुद्रमा समेत अग्नि रहेको प्रसङ्ग उठाएका छन् ।  त्यसैले भौगर्भिक अग्नि मात्र होइन पानीभित्रको विद्वत अग्नि र अन्तरिक्षको विद्युत् अग्नि पत्ता लगाउने व्यक्ति पनि उनीहरू नै देखिन्छन् ।  यसबाहेक उनीहरूले यसै मण्डलको सूक्त ५२, मन्त्र ११ मा भूगर्भमा प्रशस्त खजाना रहेको कुरा उल्लेख गरेका छन् भने ऐ.ऐ. सूक्त ७९ को दोस्रो मन्त्रमा आकाशका बादल एकआपसमा ठोक्किँदा बिजुली चम्कने र पानी पर्ने गर्छ भनेका छन् ।  त्यस्तै ऐ.ऐ. सूक्त ११० को छैटौँ मन्त्रमा अन्तरिक्षमा अन्न उत्पादन गर्न सकिने कुरा गर्न समेत भ्याएका छन् भने ऐ.ऐ. सुक्त १११ को पहिलो मन्त्रमा व्योेमयान निर्माण गर्ने ऋभु वैज्ञानिकहरूको चर्चा गर्न पुगेका छन् ।  यसको आधारमा भन्नुपर्दा भूलोकदेखि द्युलोकसम्मका हालका वैज्ञानिक अनुसन्धानका कतिपय अध्याय उनीहरूले त्यतिबेलै पूरा गरेका प्रस्टै अनुभूत गर्न सकिन्छ ।  
आङ्गिरसहरू परोपकारको पनि जीवन्त प्रतिमूर्तिका रूपमा रहेका देखिन्छन् ।  ऋग्वेद १ ।  ५१ ।  १४ मा उल्लेख भए अनुसार उनीहरूले पणिहरू (अनार्यहरू) द्वारा अपहरण गरिएको गाईको उद्धार गरेका मात्र छैनन् ऐ.ऐ. सूक्त ६२ को मन्त्र २–४ मा उल्लेख भए अनुसार त्यस्ता आतङ्कवादी समूहलाई समूल नष्ट गरी तत्कालीन समाजमा शान्ति स्थापना समेत गरेका छन् ।  उनीहरूले गरेका आतङ्कवाद विनाश सम्बन्धी कार्यको प्रशंसा यथावसर ऋग्वेदका अन्य मण्डलहरूमा पनि भएका छन् ।  ऋग्वेदकै विभिन्न मण्डलमा उनीहरू कतै राक्षस नाशका लागि इन्द्रलाई सघाइरहेका देखिन्छन् भने कतै महिनौँ लगाएर सम्पन्न गर्न सकिने ठूला ठूला यज्ञ अनुष्ठानमा भाग लिएर द्यावा–भूमि सर्वत्र शान्तिको कामना गर्न पुगिरहेका पाइन्छन् ।  त्यस्तै कतै सङ्गीत (छन्द) का स्वरहरू खोज गरिरहेका देखिन्छन् भने कतै सामगानको अगुवाइ गरिरहेका भेटिन्छन् ।  
निःसन्देह महर्षि अङ्गिरा ज्ञान–विज्ञान तथा धर्म–संस्कृति र संस्कारको त्रिवेणीकै रूपमा रहेका देखिन्छन् ।  उनले त्यतिबेलै हामीलाई जुन संस्कार र संसारको ढोका खोलिदिएका थिए आज हामी त्यसैको वरपर घुमिरहेका छौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना