अधुरै छन् शहीदका सपना

hasta bdr kcहस्तबहादुर के.सी.

 

‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’
कवि भूपी शेरचनको कविताको अंशको यो सामयिक र सारगर्वित उक्तिसँग शहीदहरूको जीवनदर्शन राम्ररी दृष्टिगत गर्न सकिन्छ ।  शहीदहरू राष्ट्रका अमूल्य निधि त हुन् नै उनीहरू समाज र राष्ट्रलाई नयाँ दिशा र अग्रगामी परिवर्तनको विचार र मार्गदर्शन गरिरहने, कहिल्यै नअस्ताउने तारा पनि हुन् जसले संसारलाई उज्यालो प्रदान गरिरहन्छन् ।  
दिन जान्छ, रात पर्छ, रातपछि दिन आउँछ, धर्तीमा हजारौँ परिवर्तन हुन्छ, उतारचढाव हुन्छ, कोही जन्मन्छन् कोही मर्छन्, यस्तै छ प्रकृतिको नियम तर शहीदहरू कहिल्यै नमर्ने, अँध्यारोमा पनि प्रकाश दिइरहने, भविष्यप्रति आशावान बनाइराख्ने आकाशपुञ्ज हुन् ।  त्यो अमूल्य जीवन प्राप्त गर्न सफल शहीदहरू चकमन्न अँध्यारोलाई पनि विचार र साहसले चिर्दै समाज र राष्ट्रलाई परिवर्तनको दिशामा डो¥याउन सक्ने अग्रज हुन् ।  यस्तो अमूल्य जीवन प्राप्त गर्नेहरूलाई हाम्रो लाखौँ लाख अभिवादन र मनमन्  ।  समाज र राष्ट्रको मुक्ति र स्वतन्त्रताका लागि जीवन दिने महान् विचार र भावनाको हामीले हृदयदेखि नै कदर र सम्मान गर्नुपर्छ अन्याय र अत्याचारका विरुद्ध लड्ने समाजका शोषण र उत्पीडनका विरुद्ध लड्दालड्दै जीवन अर्पण गर्ने अग्रज शहीदहरूप्रति हामीले हृदयदेखि नै श्रद्धासुमन टक्रयाउनै पर्छ ।  
आज माघ १६ गते ।  आजको दिन नेपालको प्रजातान्त्रिक आन्दोलनमा एउटा ऐतिहासिक दिन हो ।  आजैका दिन अर्थात् वि.सं. १९९७ साल माघ १६ गते जहानिया राणा शासनविरुद्ध आवाज उठाउने, करिब एक शताब्दी लामो क्रूर जहानिया राणा शासनको जग भत्काएर त्यस शासन व्यवस्थालाई जरैदेखि उखेलेर नेपाली धर्तीमा सुशासन सहितको प्रजातान्त्रिक लोकतन्त्र, समानतामूलक शासन प्रणाली स्थापना गर्नका निम्ति कुनै प्रवाह नगरी जीवन उत्सर्ग गर्ने महान् शहीदह शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल  श्रेष्ठ ।  नेपाली आमाका यी चारजना होनहार युवालाई क्रूर राणा शासकले फाँसीको सजाय दिएर रुखमा झुन्डयार गोली ठोकी निर्मतापूर्वक हत्या गरेको दिन ।  यसै दिनलाई हामीहरू शहीद दिवसको रूपमा मनाउँदै आएका छौँ ।  
वि.सं. १९९७ माघ १० गते राति १२ बजे शहीद शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकू,  पचलीमा बकाइनोको रुखमा झुन्डयाएर फाँसी दिइएको थियो ।  त्यस्तै अर्का महान् शहीद धर्मभक्त माथेमालाई वि.सं. १९९७ साल माघ १२ गते राति काठमाडौंँको सिफलमा रुखमा झुन्डयाएर फासी दिइएको थियो ।  अर्का अमर शहीदहरू दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई वि.सं. १९९७ साल माघ १५ गते राति काठमाडौंँको शोभा भगवतीमा गोली हानेर हत्या गरिएको थियो ।  यी चार जना महान् तथा अमर वीर शहीदहरूको फाँसीको घटनाले करिब एक शताब्दी लामो नेपालमा निरङ्कुश तथा जहानिया राणा शासनलाई जरैदेखि उखेर फ्याकेर त्यस ठाउँमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको नेपालमा शासन व्यवस्था स्थापना गर्ने कार्यमा कोषे ढुङ्गाको काम गरेको थियो र २००७ साल फागुन ७ गते ।  यस दिनदेखि १०४ वर्षे जहानिया राणा शासन सदाका लागि अन्त्य भई प्रजातान्त्रिक बहुदलीय शासन व्यवस्थाको जग खडा गर्ने कामको सुरुवात भएको थियो ।  
आज यी चार जना शहीदले अमरत्व प्राप्त गरेको ७६ वर्ष पूरा भएको छ भने १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको आगामी फागुन ७ गते ६६ वर्ष पूरा हुँदैछ ।  यस अवधिमा नेपालमा धेरै किसिमका राजनीतिक परिवर्तन भइसकेका छन् ।  २००७ सालको जनक्रान्ति, २०४६÷०४७ सालको जनआन्दोलनले ल्याएको परिवर्तन र २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगै नेपाली समाज यहाँसम्म आइपुगेको छ ।  २४० वर्षे शाहवंशीय राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।  दोस्रो संविधानसभामार्फत घोषणा गरिएको नेपालको संविधानले धर्म निरपेक्षता, सङ्घीयता, समानुपातिक निर्वाचन प्रणाली तथा समावेशीताजस्ता जनताका मौलिक हक र अधिकार सुनिश्चित गर्न सफल भएको छ ।  यति भएर पनि यस संविधानप्रति फरक विचार राख्ने र विरोध गर्ने राजनीतिक शक्तिहरू क्रियाशील छन् ।  
यसरी वि.सं. १९९७ सालदेखि आजसम्म करीब ७६ वर्षका बीचमा राजनीतिक क्षेत्रमा जुन उथलपुथल र परिवर्तनहरू भए आर्थिक क्षेत्रमा पनि मुलुकमा धेरै परिवर्तन आएको छ ।  सामाजिक, सांस्कृतिक क्षेत्रमा ठूलै रूपान्तरण हुनु स्वाभाविक हो ।  बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा २०१७ साल र २०६१ साल गरी दुई पटक आक्रमण भयो ।  राजनीतिक पार्टीहरूको अगुवाइमा र नेपाली जनताको अपार शक्तिले ती निरङ्कुश शासनहरूलाई पल्टाएर बहुदलीय प्रजातान्त्रिक शासन प्रणाली पुनःस्थापना गर्न सम्भव भयो ।  यो ज्यादै ठूलो उपलब्धि हो सिङ्गै नेपाल राष्ट्र र नेपाली जनताका लागि ।  यस परिवर्तनलाई संस्थागत गर्न र थप विकास गर्न नेपाली जनताले अझै पनि कुर्वानी गर्न पर्नेछ ।  एउटा विडम्बना के रह्यो भने यसबीचमा राजनीतिक परिवर्तनहरू भए ।  आर्थिक विकास भयो ।  सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा पनि बढोत्तरी नै भयो ।  नेपाली जनताको चेतनास्तरमा ठूलो विकास भयो, व्यवस्था फेरियो ।  धेरै पटक सरकार फेरिए, प्रधानमन्त्री फेरिए, मन्त्रीहरू फेरिए तर उनीहरूको आचरण फेरिएन, संस्कार र संस्कृति फेरिएन, व्यवहार आदत र बानी व्यहोरा फेरिएनन् ।  जनताको जीवनस्तरमा खासै परिवर्तन भएन ।  हाम्रो देश अहिले पनि आर्थिक भ्रष्टाचार गर्नेमा नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्छ ।  ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१६ मा नेपाल विश्वका भ्रष्ट मुलुकको सूचीमा २९ औँ अङ्क पाएर १३१ औँ नम्बरमा परेको छ ।  
मुलुकमा भ्रष्टाचार मौलाएको छ ।  यसले राम्ररी मलजल पाइरहेको छ ।  मुलुकले सुशासनको अनुभूति गर्न पाएको छैन ।  तस्करी कालो बजारीले सीमा नाघिसकेको छ ।  महँगीले आकाश छोएको छ र नेपाली जनताको ढाडै सेकिएको छ ।  देशमा जुनसुकै सरकार आए पनि यी कुरीति र विसङ्गतिमा सुधार आउन सकेको छैन ।  अभाव गरिबी, अशिक्षा र पछौटेपन कुसंस्कार नेपाली समाजमा व्याप्त छ ।  आजको जमानामा पनि बोक्सीको आरोपमा जघन्य तरिकाले ज्यान गुमाउन विवश छन् नेपाली महिलाहरू ।  बढ्दो बेरोजगारीका कारण लाखौँको सङ्ख्यामा नेपाली युवा विदेश पलायन हुन बाध्य भइरहेका छन् र रेमिटेन्सले मुलुक चल्ने अवस्थाको सिर्जना भएको छ ।  
हाम्रा महान् शहीदहरूले यस प्रकारको समाज र राज्यव्यवस्था स्थापनाको निम्ति आफ्नो ज्यादको आहुती दिएका थिएनन् ।  उनीहरूले कल्पना गरेको आदर्श नेपाली समाज र राजनीतिक व्यवस्था हाम्रो देशमा स्थापना हुन सकिरहेको छैन ।  यस कारणले पनि ती महान् शहीदहरूका सुन्दर सपनाहरू साकार हुन सकिरहेका छैनन् ।  शासकहरूले सरकार, प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरूले शहीद दिवसका दिन शहीद गेटमा पुगेर शहीदका शालिकमा फूलमाला चढाएर गोहीका आँसु चुहाउनेबाहेक अरू केही गर्न सकिरहेका छैनन् ।  शहीद दिवसका दिन महान् शहीदहरूका शालिक अगाडि उभिएर गोहीका आँसु चुहाएर शहीदहरूका सुन्दर सपनाहरू पूरा हुँदैनन् र उनीहरूले कल्पना गरेको आदर्श समाजको स्थापना पनि सम्भव छैन ।  शहीदहरूले कल्पना गरेको आदर्शवादी सभ्य र समुन्नत नेपाली समाजको निर्माण गर्न त ती महान् शहीदहरू हिँडेको बाटोबाट अगाडि बढ्न जरुरी छ ।  उनीहरूले जस्तै त्याग र बलिदानको अझै पनि आवश्यक छ ।  गोहीका आँसु चुहाएर मुलुक बदलिदैन र देशले कोल्टे पनि फेर्दैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना