जङ्गली हात्ती आतङ्कबाट जोगिन नयाँ प्रविधि

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, माघ १७ गते ।  मात्तिएको हात्ती बस्तीमा पसेर बर्सेनि मानिसको ज्यान लिन थालेपछि सरकारले हात्ती आएको सूचना स्थानीय बासिन्दालाई दिने प्रविधिको विकास गर्न थालेको छ ।  यो प्रविधि सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हात्तीको आतङ्कबाट जोगिनसक्ने अपेक्षा सरकारी अधिकारीले लिएका छन् ।  
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार हात्तीले बढी दुःख दिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका समुदायलाई हात्ती आएको सूचना मोबाइलमा प्रवाह गरिने भएको छ भने मोबाइल नहुने व्यक्तिलाई साइरनका माध्यामबाट सूचना प्रसारण गरिने बताइएको छ ।  बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार पहिलो चरणमा निकुञ्जको मध्यवर्ती क्षेत्र सूर्यपटुवा गाउँ विकास समितिको खाता जैविक मार्गको पत्थरबोझीमा परीक्षणका रूपमा यसलाई सञ्चालनमा ल्याइएको छ ।  
विशेष गरेर खाता जैविक मार्गमा हात्तीको ओहोरदोहोर हुने र कहिलेकाहीँ बस्तीमा पसेर हात्तीले धनजनको क्षति पु¥याउने गरेकाले यहाँका बासिन्दाको माग र निकुञ्जले गरेको अध्ययनबाट परीक्षणका रूपमा यो प्रविधिको विकास गरिएको संरक्षण अधिकृत थापाले बताउनुभयो ।  
यो प्रविधि सफल भएपछि निकुञ्ज वरिपरिका सबै क्षेत्रमा सञ्चालन गरिने भएको छ ।  यो प्रविधिको विकासले हात्ती लगायतका अन्य वन्यजन्तु बस्तीमा प्रवेश गर्दा स्थानीय समुदायलाई पूर्वसूचना प्राप्त हुँदा हरेक व्यक्ति सतर्क र सजग रहनसक्ने अपेक्षा गरिएको छ ।  
गत २०७३ साल वैशाखदेखि हालसम्म जङ्गली हात्ती गाउँमा पस्दा पाँच जनाको ज्यान गइसकेको छ भने ३०० भन्दा बढी घर क्षति भएको निकुञ्ज कार्यालयले जनाएको छ ।  यो अवधिमा करिब १०० घरमा भण्डारण गरिएको अन्न क्षति भएको छ । elephant
यसैबीच बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा हात्तीलाई लठ्याउने औषधि नहुँदा बर्दियाका अन्य भागमा हात्ती मानव बस्तीमा पसेर उपद्रो मच्चाउन थालेको छ ।  स्थानीयवासीका अनुसार मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती नियन्त्रणका लागि निकुञ्जका कर्मचारी र नेपाली सेना सम्मिलित टोलीहरू खटिएका छन् ।  निकुञ्जको मध्यवर्ती क्षेत्र मनाउ, पाताभार क्षेत्रबाट हात्ती भगाइए पनि हाल शिवपुर, नेउलापुर क्षेत्रमा हात्ती नियन्त्रण गर्न नसकिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
प्रमुख संरक्षण अधिकृत थापाले भन्नुभयो, “पहिलापहिला आगो र बन्दुकको आवाजले भाग्ने हात्तीहरू अचेल भाग्न छोडेका छन् ।  मात्तिएको हात्तीलाई लठ्ठिने औषधिले हार्ट गरेर शिथिल बनाएपछि शारीरिक रूपमा कमजोर हुनासाथ भागेर जङ्गल पस्ने गरेका छन् । ”
बर्दियामा हात्ती आतङ्क निकै बढेको निकुञ्ज प्रशासनले जनाएको छ ।  शिवपुर, नेउलापुर क्षेत्रमा दैनिक पाँचदेखि सातवटासम्म घर हात्तीले भत्काउने गरेको छ ।  त्यो हात्तीलाई पनि लठ्ठिने औषधि प्रयोग गरेर धपाउने प्रयास भएको छ ।  तर, बर्दियामा औषधि र उपकरण सकिएको छ ।  डार्टगनमा प्रयोग हुने निडिल, प्लन्जर, टेलपिस छैन ।  यसभन्दा अगाडि विभागले चितवनबाट बर्दियाका लागि दुईपटक गरी ११ थान निडिल र प्लन्जर पठाएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट विभागमा औषधि उपकरण माग गरी पठाएकोमा विभागले सदर चिडियाखानामा पत्राचार गरेको र चिडियाखानाले औषधि उपकरण छैन भन्ने जवाफ पठाएको निकुञ्ज विभागले जनाएको छ ।  समस्याग्रस्त वन्यजन्तु नियन्त्रण गर्नका लागि सदर चिडियाखानामा औषधि, उपकरण र गाडीसहितको टोली राखिएको छ ।  बौलाएको हात्ती, नरभक्षी बाघ, घाइते तथा बिरामी गैँडा, बाघ, हात्तीलाई नियन्त्रण गर्ने आवश्यक उपकरण र औषधि उपलब्ध गराइदिन बर्दिया निकुञ्ज प्रशासनले विभागलाई पत्राचार गरिरहेको जनाएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना